युवाको आवाजलाई सुन
यतिबेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी जटिल मोडबीच गुजिँ्रदैछ । पार्टी एकता कुनै निष्कर्षमा नपुग्दै चुलिएको अन्तरविरोधले सत्तारूढ दलले यतिबेला असहज र जटिल परिस्थितिको सामना गर्नुपरिरहेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शक्ति बाँडफाँटलाई लिएर प्रारम्भ भएको विवाद उत्कर्षमा मात्र पुगेको छैन, यसले कुनै अप्रिय घटना निम्त्याउने हो कि भन्ने त्राससमेत उब्जाएको छ । पछिल्लो समय त पार्टीलाई विधि र पद्धतिअनुरूप चलाउने वा कुनै व्यक्तिको इच्छा र लहडमा चलाउने भन्ने विषयले प्राथमिकता पाएको छ र अहिले विवादको केन्द्रबिन्दुमा यही विषय नै स्थापित छ ।
शक्ति बाँडफाँटलाई लिएर चुलिएको विवादले असामान्य परिस्थिति सिर्जना हुँदै गएपछि यसलाई मत्थर तुल्याउन दोस्रो पुस्ताका नेताहरू प्रयत्नरत छन् । मूलतः नेकपाको विवादमा पहिलो पुस्ताका नेताहरूको सक्रियता देखिएको हुँदा दोस्रो पुस्ताका नेताहरूले हस्तक्षेप गर्ने प्रयास गरेका हुन् । तर, दोस्रो पुस्ताका नेताहरूको अभिव्यक्ति र पहललाई ‘कौन पुछेगा खेसरी के दाल’ ठानेर पहिलो पुस्ताका नेताहरूले पूरै बेवास्ता गरिरहेका छन् र उनीहरू आ–आफ्नै डम्फु बजाउन व्यस्त देखिन्छन् । उनीहरूले डम्फुलाई यति घनीभूत रूपमा बजाइरहेका छन्, त्यसले अरू नेता, कार्यकर्ता र जनपंक्तिलाई दिक्दार तुल्याउने कामबाहेक अरू हुन सकिरहेको छैन ।
नेकपाभित्रको विवाद र गुटबन्दीले चरम रूप लिँदै गइरहेका बेला आगामी दिनमा पार्टी हाँक्ने क्षमता र हैसियत भएका तेस्रो पुस्ताका नेताहरू भने पार्टीलाई कुनै पनि हिसाबले फुट हुन नदिने संकल्पबोधसहित मैदानमा उत्रिएका छन् । संघीय संसद्मा ६१ जना सांसदले यस्तो संकल्पबोध गरेका हुन् । पार्टीभित्र अध्यक्षद्वय ओली र प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल समूहका भनेर चिनिने ती सांसदहरूले आइतबार मात्रै आफूहरू पार्टी एकताको पक्षमा एक ढिक्का भएर लागेको सन्देश प्रवाहित गरेका थिए । ती सांसदहरूको सन्देशले निराशाको तहमा पुगिसकेका कार्यकर्ता र जनपंक्तिलाई एक किसिमले उत्साह पैदा गरेको छ । उनीहरूका पहललाई सबैले स्वागत गरेका छन् ।
अध्यक्षद्वयको विवाद चरमोत्कर्षमा पुग्दै जाँदा पार्टीलाई एकताबद्ध राख्न प्रयत्न गर्ने कार्य दोस्रो वा तेस्रो पुस्ताका नेताहरूबाट हुनुपर्ने अपेक्षा धेरैले राखिरहेका थिए । तर, जमेको हिउँ फोर्ने साहस भने कसैले गरिरहेका थिएनन् । आइतबार भने हिउँ फोर्ने साहस ती सांसदहरूले गरे र उनीहरूले एउटा विज्ञप्ति निकाल्दै भने, ‘सिंगो नेपाली समाजको प्रगतिशील रूपान्तरण, मजबुत राष्ट्रिय एकता, सबल अर्थतन्त्र निर्माण, वैज्ञानिक समाजवादी दिशाको यात्रामा अविचलित पाइलाहरू अगाडि बढाउने यति ठूलो जनताको समर्थन, हजारौं सहिदहरूको सहादत र लाखौं कार्यकर्ताको त्याग र समर्पणलाई हेक्का नराखी पार्टीका आगामी नीति, कार्यक्रम, सिद्धान्त, लक्ष्य, उद्देश्य, संगठनात्मक संरचनासम्बन्धी बहसभन्दा अन्य विषयमा केन्द्रित भई शीर्ष नेतृत्वमा देखा परेको अन्तरविरोध कुनै पनि अर्थमा ग्राह्य र उपयुक्त नभएकाले हामी कार्यकर्ताको तहबाट साथ र सहयोग हुन सक्दैन ।’
सत्तारूढ दलका युवा–सांसदहरूको आवाज निकै मननीय एवं शीर्ष नेतृत्वले श्रवण गर्नैपर्ने खालका छन् । किनभने, नेकपालाई भोलिका दिनमा हाँक्ने तिनै युवाहरू हुन् । यदि शीर्ष नेतृत्वबीच चुलिएको विवादको व्यवस्थापन नभएर पार्टीले विभाजनको पीडा झेले भने संकटसँग जुझ्नुपर्ने अवस्था तिनै युवाहरूले झेल्नुपर्नेछ । अहिले शीर्ष नेतृत्वमा रहेकाहरू अवकाशको निकट पुगिसकेका छन् । अब उनीहरूले पार्टीलाई मुस्किलले एक दशक मात्रै नेतृत्व गर्न सक्छन् । त्यसपछि चाहेर पनि, नचाहेर पनि दोस्रो र युवा पुस्ताकै हातमा नेतृत्व आउने हो । यो यथार्थलाई मनन गरी शीर्ष नेतृत्वले युवाहरूको आवाजलाई सुन्नैपर्छ ।
शक्ति बाँडफाँटमा अल्झिएको शीर्ष नेतृत्वले अन्तरविरोधलाई चर्काउँदै लगे पनि पार्टीलाई एक ढिक्का राखेर अगाडि बढ्नुपर्ने गहन दायित्व युवा पुस्ताकै काँधमा छ । शीर्ष नेतृत्वलाई दन्तबझान नगर्न, अनावश्यक विवादमा नअल्झिन र विधि र पद्धतिअनुरूप पार्टी सञ्चालन गर्न दबाब दिने दायित्व युवा पुस्ताकै हातमा छ । तसर्थ, पार्टीलाई विभाजनको तहसम्म पु¥याउने अवस्था शीर्ष नेतृत्वबाट हुन पुग्यो भने त्यसमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने अवस्था पनि युवा पुस्तासामु आउन सक्छ । यतिबेला त्यसका निम्ति पनि युवा पुस्ता तम्तयार भएर बस्नुको विकल्प देखिँदैन ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply