24th June 2019, Monday

अहिलेको प्रहरी नेतृत्वले हामीलाई सम्झदैन



अहिलेको प्रहरी नेतृत्वले हामीलाई सम्झदैन

० केही समयअघि तपाईंले सामाजिक सञ्जालमा स्टाटस लेखेर प्रहरी नेतृत्वप्रति पुरै असन्तुष्टि पोख्नुभएको नि ?
मैले आफूले मनगढन्त कुरा भन्ने कुरा भएन । यो ३० वर्ष भनेको झन्डै आधा जीवन बिताएको संगठनको सम्बन्धमा कुरा, चर्चा र परिचर्चा आउँदाखेरि मन दुख्दो रहेछ । किनभने आफूलाई त्यही संगठनले हुर्कायो, बढायो, अनुभव र ज्ञान दियो । त्यसैले ती कुरा भुलूँ भन्दा पनि आइराख्दो रहेछ । संगठन किन यस्तो अवस्थामा पुगेको छ भन्ने चासोचिन्ता हुँदो रहेछ, त्यति मात्रै हो । मेरो आग्रह–पूर्वाग्रह केही पनि छैन ।
० पुराना र अनुभवी अवकाशप्राप्त अधिकारीहरूसँग संगठनले सल्लाह–सुझाव माग्दैन ?
अरूसँग त के गरेको छ, मलाई थाहा छैन । मसँग त खासै सोधपुछ भएको छैन । कोही साथीभाइले सम्झिएका छैनन् ।
० निर्मला पन्तको बलात्कार र हत्याको वास्तविकता पत्ता नलाग्दा सिंगो प्रहरी नेतृत्व नालायक भयो, भन्ने आरोपमा कति सत्यता छ ?
केही समययता महŒवपूर्ण सवालहरूमा हाम्रो संगठन नेपाल प्रहरीलाई सफलता मिलिरहेको छैन । त्यसमाथि पनि नेपाल प्रहरीको खासगरी सबैभन्दा महŒवपूर्ण काम भनेको अपराध अनुसन्धान हो । गहन किसिमका अपराध अनुसन्धानहरूमा कताबाट के भएर चुकिरहेको छ ? प्रश्न गम्भीर छ । अपराध रोक्ने काम त प्रहरीको हो, तर अपराध हुँदैमा प्रहरी असफल हुने भन्नेचाहिँ होइन । किनकि, संसारमा कहीँ पनि अपराधशून्य ठाउँ छैन । मैले सुनेअनुसार अपराधशून्य भएको स्थान अफगानिस्थानको कान्दहार छ रे ! तर पनि त्यो सहरप्रति कोही आकर्षित छैनन् । त्यस्तै अपराध सबैभन्दा बढी हुने ठाँउ अमेरिकाको न्युयोर्क सहर हो रे ’ तर त्यहाँ नै विश्वका सबैभन्दा बढी मान्छे जान चाहन्छन् । अर्थात्, त्यहाँ अपराध भए पनि विधिको शासन छ है भन्ने प्रत्याभूति दिइएको छ ।
अपराध भयो ठीक छ, त्यसमा प्रहरीको दोष छैन । अपराध अन्ुसान्धानका क्रममा सबैभन्दा महŒवपूर्ण कडी हुन्छ घटनास्थल । अनुसन्धानका थुप्रै प्रक्रिया, चरणमध्ये सबैभन्दा पहिलो आधारशिला नै घटनास्थल हो । मेरो अनुभवले के भन्छ भने अपराध–अनुसन्धनमा सबैभन्दा पहिले घटनास्थल स्थानीय प्रहरीद्वारा सुरक्षित राख्नुप¥यो । त्यसपछि विज्ञहरू गएर घटना स्थलको सूक्ष्म अनुसन्धान गर्नुपर्छ । शव भएको स्थानमा सम्भव भएसम्म चिकित्सकहरूलाई लगेर अनुसन्धानकर्ताले अनुसन्धान प्रक्रिया सुरु गर्नुभन्दा पहिले अध्ययन गराउनुपर्छ । यो अनिवार्यजस्तै भइसकेको छ । मैले त कहीँ पनि प्रचारप्रसार गरिनँ । तर काठमाडौंमा हुँदाखेरि १५ महिनाको अवधिमा जति पनि आत्महत्या वा हत्या भएका मृतकहरूका शव हुन्थे त्यस्ता स्थानमा तुरुन्त डाक्टरहरूलाई बोलाइन्थ्यो । त्यसका लागि मैले शिक्षण अस्पताल पोस्टमार्टम विभागका प्रमुख डा. प्रमोद श्रेष्ठसँग गएर मैले एक किसिमको सम्झौता नै गरेको थिएँ । उहाँहरू अनिवार्य रूपले सबैभन्दा पहिले घटनास्थल आउनुहुन्थ्यो । हामीले सुरु गरेको व्यवस्थाले उहाँहरू झनै उत्साहित हुनुभएको थियो । सबै घटनामा हामी त्यही कारण राम्रो अनुसन्धान गर्न सफल भएका थियौं । निर्मला पन्त प्रकरणमा त्यहाँ के–कसो भयो, मलाई थाहा छैन । तर मिडियामा आएको कुरा सुन्दा घटनास्थलको सूक्ष्म रूपले सुरक्षा गरेर विशेषज्ञबाट अध्ययन भएन कि भन्ने लाग्छ ।
० भनेपछि त्यहाँ प्रहरी अनुसन्धान चुकेको देखियो ?
प्रहरीहरू त्यहाँ चुकेजस्तो देखिन्छ भने अर्को कुरा यस किसिमको जघन्य अपराध भएको बेला तुरुन्तै सबै च्यानलमार्फत नेतृत्वसम्म रिपोर्ट गर्नुपर्छ । चाहे त्यो रातको १२ बजे नै किन नहोस् । चाहे झरी होस् वा चाहे बादल होस् । जघन्य अपराध भइसकेपछि तत्काल रिपोर्ट हुन्छ । रिपोर्टको च्यानल अर्थात् चेन अफ कमान्ड पनि कति छ भने घटना भएको क्षेत्रबाट इलाका प्रहरी कार्यालयले अनुसन्धान गर्छ । त्यसपछि जिल्ला प्रहरी कार्यालय भयो । त्यसपछि संघीय प्रहरी एकाइ कार्यालय छ, जुन पहिले अञ्चल प्रहरी कार्यालय थियो । त्यसपछि प्रदेश प्रहरी कार्यालय भयो । त्यसपछि प्रधान कार्यालयमा अनुसन्धान विभाग छ । सो विभागमार्फत नेतृत्व तहसम्म तुरुन्तै प्रारम्भिक जाहेरी हुन्छ । अनुसन्धान सुरु भएपछि २७ बुँदे वा ३५ बुँदेसहितको जाहेरी हुन्छ । त्यो जाहेरी र रिपोर्टिङ किन गरिएको हो भने तत्काल काम गर्दा तनावमा केही त्रुटि हुन गयो भने माथिल्लो तह र हाकिमकै तहबाट त्यसमा अनुगमन हुन्छ भनेर हो । अनुसन्धानको चरणमै माथिल्लो तहबाटै समयम अनुसन्धानको निर्देशन प्राप्त गर्न जाहेरी गर्ने गरिएको हो । अनुसन्धानमा कुनै त्रुटि नहोस् भनेर यस्तो जिम्मेवारी दिइएको हो । तर यहाँचाहिँ चुप लागेर रिपोर्टिङ थन्क्याउने काम भएको छ । घटना घटिसकेपछि माथिल्लो निकायबाट के–के निर्देशन भयो त ? त्यो कुरा आएको छैन । अहिलेसम्म गठन गरिएका छानबिन टोलीले माथिल्लो निकायको निर्देशन र गरेको काम ल्याउन सकेको छैन । अर्थात्, उनीहरू कामै नगरी बसेका हुन् भन्ने स्पष्ट छ ।
० अब हत्यारा पत्ता लाग्ने गुन्जायस छैन त ?
जग नै कमजोर भएपछि गाह्रो छ । घटनास्थल कस्तो थियो भनेर त्यसको राम्रो सुरक्षा भएन । गल्ती तल फिल्डकाले त गरे, तर फिल्डकालाई मात्रै थाप्लोमा हालिदिएर हँुदैन । त्यसो भएपछि भोलि तल्लो मान्छेहरूलाई काम गर्न गाह्रो हुन्छ । त्यसतर्फ पनि सरकार सचेत हुनुपर्ला । जिम्मेवार निकाय कुन कुन तह हो, कहाँ–कहाँ रिपोर्टिङ भएको थियो, रिपोर्टिङ लिने निकायले के–के निर्देशन ग¥यो, के काम ग¥यो भन्ने हेर्न यी छानबिन टोलीहरू चुकेजस्तो देखिन्छ । यो केसमा घटनास्थलको सूक्ष्म अनुसन्धान सुरक्षीत तवरले गर्न पाएको भए अहिलेसम्म पत्ता लागिसक्थ्यो । यो अनुसन्धान टेक्निकल्ली एकदमै कमजोर अवस्थामा देखियो । ‘मेनअली’ गर्नुपर्ने हुन्छ, त्यसो गर्दा कहिलेकाहीँ यस्ता घटना १०–१२ वर्षमा पनि पत्ता लागेका छन् । त्यसैले पत्ता लाग्दै लाग्दैन भनेर भन्न सकिन्न । तर कहिले पत्ता लाग्छ भनेर यकिन गर्न भने सकिँदैन । किनभने, घटनास्थल अनुसन्धानमै अहिलेसम्म मिडियामा आएअनुसार कमजोर देखिन्छ ।
० यसमा फिल्डमा पहिले नै प्रमाण लोप गराइएको र हरेक जाहेरी र रिपोर्टिङअनुसार चेन अफ कमान्डलाई निर्देशन नदिएकाले वर्तमान आईजीपीले नै नैतिक जिम्मेवारी दिनुपर्छ, होइन त ?
कि उनले हामीले यो निर्देशन दिँदादिँदै मानेनन् भन्नुप¥यो, त्यसो गर्दा दोष तलकालाई मात्र थोपर्न पाइन्छ । तर, त्यो कुरा स्पष्ट नभएसम्म अहिले जति कारबाहीमा परे उनीहरू दोषी त छन् नै होला, तर हामीले यो–यो गर भन्दाभन्दै नगरेर समस्या भएको हो भन्ने कुरा नआएसम्म तपाईंले भनेजस्तै जिम्मेवारी सबै तहतप्काले नै लिनुपर्छ ।
० प्रहरीमा व्याप्त भ्रष्टाचार भएको कुरा उठ्छ, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कुरा पनि यदाकदा आउँछ, तर उस्तै छ भन्छन् नि ?
भ्रष्टाचारको जालो तलदेखि माथिसम्म नै छ । प्रहरीमा मात्र होइन, सबैतिर छ, खालि मात्राको फरक हो । त्यसैले भ्रष्टाचारशून्य भनेर कसैले नारा दिन्छ भने नारा त राम्रो हो तर शून्य नै चाहिँ गर्न मैले बहुत गाह्रो देखेको छु । न्यूनीकरण नै हुन सक्यो भने ठूलो उपलब्धि हो । म जिम्मेवार तहमा काम गर्दा त्ससबेलाको नेतृत्वले पनि साथ दिएकाले केही सुधारको काम भएको पनि छ । रासनको व्यवस्थामा ठेकेदारी प्रथा गरुन्जेल उस्तै अनियमितता थियो । सरकारले सिपाहीले खाओस् भनेर छुट्ट्याएको बजेट ठेकेदारमार्फत प्रहरी अधिकारीले पनि दुरूपयोग गर्थे । सिपाहीलाई सरकारले जे–जति दिन्छ, त्यो रकम उसकै खातामा शतप्रतिशत पुग्नुपर्छ भन्ने अवधारणा साथ नगदमै दिने व्यवस्था ल्याइयो । तलब पनि पहिले लाइन लगाएर बाँड्नुपर्ने व्यवस्था थियो । कहिले खुद्रा भएन भनेर सधैं कम दिने गर्दा लेखापाललाई फाइदा हुने देखियो । यो अवस्थालाई पनि न्यूनीकरण गर्न बैंकिङ प्रणालीमा लगियो । त्यसबेलामा थुप्रै विरोधको सामना मैले नै गर्नुप¥यो । तल्लो तहकालाई त फाइदा नै हुन्थ्यो, त्यसकारण उनीहरूबाट विरोध थिएन तर माथिल्लो तहकाहरू जसको कार्यालय प्रमुख भएर बस्न योग्यता पुगेको थियो, उनीहरूले बैंकमा गएर खाता प्रणाली ल्याएर पुलिसलाई झन्झट गराइयो भन्थे ।
अहिले सिपाहीको एक पैसा पनि दुरूपयोग हुँदैन । त्यसबेलाको नेतृत्वले सिपाहीले पाउन चिज एक पैसा पनि नघटोस् भन्यो, अहिले पनि घटेको छैन । विचौलिया, ठेकेदार र कार्यालय प्रमुखहरूले दुरूपयोग गर्ने चलनचाहिँ न्यूनीकरण भएको छ । सरकारी निकायबाट प्रहरीले पाउने सुविधाहरू तलब, भत्ता, राशन र टीएडीए जे–जे हुन्, ती सबै सम्बन्धितकै खातामा जानुपर्छ भनेर जोड गरियो । त्यसैले अहिले कम्तीमा तलव, भत्ता र राशनमा भ्रष्ट्राचार छैन । तलब, भत्ता र टीएडीएमा समेत त्यसबेला भ्रष्टाचार भएको फाइल मैले अनुगमन गरेर पत्ता लगाएर कतिपय लेखापाल कारबाहीमा पनि परेका छन् । कार्यालय प्रमुखहरूको पनि छानबिन हुँदैथियो । अहिले के भइरहेको छ, मलाई थाहा छैन ।
० तर प्रहरीका कपडा, जुत्ता र हतियारहरूको खपत र खरिदमा त उस्तै भ्रष्टाचारको सेटिङ छ भन्छन् नि ?
यसलाई पनि न्यूनीकरण गरौं भनेर हामीले प्रयार ग¥यौं । पहिले गुणस्तरका सामान चाहिन्छ भनेर गुणस्तरका पारामिटरहरू हुँदा रहेछन् । नेपालमा त विशेषज्ञ कम छन् । अमेरिकन आर्मीको एउटा कपडाका लागि प्यारामिटरसहितको किताबै बनाउँदा रहेछन् । ती सबै प्यारामिटर पास भएपछि मात्रै गुणस्तर नियन्त्रण हुँदो रहेछ । हामीकहाँ अन्वेषण तथा योजना निर्देशनालयको डीआईजीको नेतृत्वमा टिम बनाइएको हुन्छ । त्यो टिमले कपडाहरूको गुणस्तरसम्बन्धी प्यारामिटरहरू तयार गर्छ । त्यो प्यारामिटर ठेक्का हुनुपहिल्यै पब्लिक गरिदिने ताकि सप्लायरहरूले त्यो प्यारामिटरअनुसारको तयारी गर्न खुला रूपमा पाऊन् । संसारमा जहाँ पनि किन्ने निकायले गुणस्तरको पारामिटरअनुसार जहाँ लगेर पनि जाँच गर्न सक्ने प्रावधान सार्वजनिक खरिद नियमावलीमा छ । केही संस्थाले गन्जी–कट्टुदेखि बोइङको समेत क्वालिटी कन्ट्रोल गर्छन् । हामीकहाँ पनि त्यस्ता संस्थाहरूमा जाँचका लागि पठाउने चलन थियो । त्यस्तोमा पठाउन सुरु गरेपछि थुप्रै सप्लाईहरू फेल भए । पहिले छनोटका क्रममै फेल हुन्थे । पछि झनै समस्या पर्न थाल्यो । त्यस्तो बेलामा एक दुई वर्ष अभावै पनि भयो र समयमा खरिद भएन भन्ने आरोप लाग्न थाल्यो । राम्रो काम गर्दा एकदुईपटक अप्ठ्यारो महसुस हुन्छ । बिस्तारै सिस्टममा जान्छ भनेर त्यो सुरु ग¥यौं । अहिलेचाहिँ के–कसो गरेको छ, मलाई थाहा छैन ।
० ३३ किलो सुन प्रकरण पनि त्यत्तिकै सेलायो, यसबारे केही बताइदिनू न ?
त्यो प्रकरण हुँदाखेरि म संगठनबाट बिदा पनि भइसकेको थिएँ । तर नेपालमा अहिलेसम्म पचासौं टन सुन बरामद हुँदा सुनधनी पक्राउ परेको थिएन । तर केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पहिलोचोटि ३५ केजी सुन एकैचोटि ठूलो परिमाणमा बरामद गरेको हो । त्यसबेला सीआईबीको नेतृत्वमा प्रकाश अर्याल हुनुहुन्थ्यो । म सेकेन्ड म्यान थिँए । सुन त बरामद ग¥यो, बाहिर गाडी र चालक मात्र छ । सीआईबीले सुन पक्राउ परिसकेपछि अनुसन्धान गर्ने हो । त्यसपछि को हो त यो तस्कर भनेर पत्ता लगाउन हामी जुट्यौं । मलगायतको टिम खाईनखाई सो अनुसन्धानमा फोकस भएर लाग्दा नेपालमा पहिलोचोटि सुन सप्लाई गर्ने चार तहका मान्छे पक्राउ गरिएको हो । पहिलो चालक, दोस्रो गाडीवाला क्यारियर फेला परे । तेस्रो किन्ने मान्छे, चौथो ल्याउने मान्छे मोहन अग्रवाल भन्ने, नाम्गेल बज्राचार्य भन्ने र ग्याम्जो लामा भन्नेहरूलाई हामीले पहिलोचोटि सुन मालिकसहित पक्राउ गरेका हौं । त्योभन्दा पहिले र पछिका पनि सुन बरामद गर्दा मालिक को हो भन्ने कुरा कहिल्यै आउँदैन । यो ३३ किलो सुनको पनि कोचाहिँ मालिक हो त भन्ने स्पष्ट छैन । मिडियामा आएअनुसार सबैलाई एउटै क्याटेगोरीमा लगियो । अपराधमा मुख्य अभियुक्त, सहायक अभियुक्त, अभियुक्त र मतियार जो–जो भए पनि सबैलाई एउटैमा अर्थात् सुन तस्करको क्याटेगोरीमा लगिएकाले कोही थुनामा छन् । ती छुट्दै छन् भन्ने सुन्छु । कोही फरार छन् भन्ने सुन्दै छु । तर, के हो यकिन भन्ने कुरा छानबिन समितिमा पनि छैन । तर, एउटा कुराचाहिँ के हो भने मुलुकभित्र अपराधको अनुसन्धान गर्ने निकाय भनेकै नेपाल प्रहरी नै हो । त्यसमा कमजोरी छन् भने सुधार्नुपर्छ । तर मुखले खाने ठाउँम नाकले खाएर अर्थ छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नेकपामा प्याकेज छलफल अनिश्चित

ShareTweet काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीले एकीकरणको बाँकी काम धकेलिँदै जाँदा नेकपाभित्र गुनासो र असन्तुष्टि चुलिँदै गएको छ । पार्टीभित्रको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

मसिना अक्षर, खँदिलो लेखन

ShareTweet अक्षर र लेखन मनोविज्ञानबारे मलाई खासै जानकारी छैन । राम्रा अक्षर हुनेहरूलाई परीक्षामा राम्रो अंक प्राप्त हुने कुराचाहिँ सर्वसिद्ध छ । अक्षर सिकाइका क्रममा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

वीरेन्द्रको प्रशस्ती

ShareTweet राजदरबारमा शाही पाश्र्ववर्तीका रूपमा १७ वर्ष बिताएका सुन्दरप्रताप रानाले रहस्यमयी दरबार हत्याकाण्ड भएको १८ वर्षपछि दरबारको दुःखान्त नामक पुस्तक बाहिर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा