आफ्नो क्षत्रमा एउटै पनि योजना नपर्दा मलाई कस्तो भएको होला ?
झपट रावल, सदस्य प्रतिनिधिसभा एवं युवा नेता, नेकपा० पछिल्लोपटक संसद्मा आरोप प्रत्यारोपको शृंखला चलिरहँदा तपाईं यसमा अगाडि हुनुहुन्छ, तपाईंले प्रमुख प्रतिपक्षी दलका नेताको नाम किन बिगारेर उच्चारण गर्नुभएको ?
संसद् भनेको आफैंमा नेपाली जनताको सार्वभौम अंग हो । त्यहाँ जनताले हामीलाई आफ्ना प्रतिनिधिहरूले के गर्छन् भनेर चनाखोपूर्ण ढंगले हेरिरहेका हुन्छन् । तसर्थ हाम्रा भाषाशैली, व्यवहारलगायत सबै कुरा सभ्य, शिष्ट र मर्यादित हुनुपर्छ भन्ने अर्थमा मैले नियमापत्ति मात्र गरेको हुँ ।
० तर तपाईंको शब्द पनि आपत्तिजनक थियो नि ?
खासगरी सदन भनेको प्रतिनिधिसभा नियमावलीमुताबिक चल्छ, चलाइनुपर्छ । नियमावलीमा राखिएका प्रावधान जे छन्, त्यहीअनुसार हुनुपर्छ । तर सदनमा पछिल्लो समय त्यस्ता प्रवधानहरूभन्दा ठ्याक्कै बाहिर गएर सदन सञ्चालन भइरहेको हुनाले र संसदीय मर्यादाभन्दा बाहिर गएर, हामीले बनाएका नियमहरूको विपरीतमा गएर कामहरू भइरहेकाले मैले नियमापत्ति गरेको हुँ ।
० जस्तै ?
जुन नियमावली छ, त्यो सर्वसम्मत ढंगले पास भएको हो । त्यसलाई उल्लंघन गरेर जुन अभिव्यक्ति आइरहेका छन्, जुन गतिविधि भइरहेको छ, त्यो संसदीय परम्परा, मूल्य–मान्यताका हिसाबले पनि र समाजलाई हामीले दिने सन्देशका हिसाबले पनि त्यो अमर्यादित, असभ्य र अशिष्ट भएको हुनाले त्यसलाई सच्चियोस् र रेकर्डबाट हटाइयोस् भनिएको हो । मेरो चासो पनि जनप्रतिनिधिहरूको भाषा मर्यादित हुनुपर्छ अझ संसद जस्तो मर्यादिन ठाँउमा त झनै जिम्मेवार हुनुपर्छ भन्ने नै हो । नियमावलीको धारा २१ को (ङ) मा प्रस्ट ढंगले शिष्टतासम्बन्धी विषय उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीले ‘म बोल्छु’ सदनलाई सम्बोधन गर्छु भन्दा बोल्न नदिने, बेल घेर्ने, यो एक प्रकारको संसदीय अभ्यासमा निष्कृट र अराजक काम हो । सदनलाई जवाफ दिनुपर्छ, बोल्नुपर्छ भनेर माग गरिनुपर्ने ठाउँमा बोल्छु भन्दा रोक्ने ?
० कांग्रेसले पछिल्लो समय किन यस्तो गरिरहेको भन्ने लाग्छ तपाईंलाई ?
कांग्रेस अहिले एजेन्डाविहीन छ । निर्वाचनबाट पराजित भइसकेपछि भीरमा लडेको गोरुले घाँस भेट्दा घाँस र रूख भेट्दा रूख समात्न खोजेजस्तै ताल छ कांग्रेसको । अर्को भाषामा भन्दा सत्ताबिनाको कांग्रेस पानीबिनाको माछा जस्तो छटपटाइरहेको छ । कहिले कोही धर्ना बसेपछि त्यसैलाई उसले समात्छ, कोही सडकमा आयो भने कांग्रेसले त्यसैलाई समात्छ । उसले एउटा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा त्यसो गर्न सकेको छैन । पाँच वर्षका लागि जनताले नेकपालाई विश्वास गरेको हो । तर, कांग्रेस छोटो समयमै अत्तालिइसक्यो । ऊ आफूलाई संसदीय परम्पराको हिमायती त भन्छ, तर उसका पछिल्ला गतिविधि सरासर संसदीय व्यवस्थाका मूल्य–मान्यताविरुद्ध छ । त्यही सन्दर्भमा उसले बोल्ने भाषा, शैली, शिष्टता हराउँदै गएका छन् । त्यसैले, आइतबार मैले बोल्ने क्रममा सचेत गराउन खोजेको हो ।
० तर केही दिनअघि पनि तपाईंले बोल्न भनेर समय लिएर रोस्ट्रममा गएपछी निकै बेरसम्म केही नबोली बस्नु भयो। यो चाहिँ संसदीय मर्यादाभित्र पर्छ ?
नेपाल सरकारको नीति तथा कार्यक्रममा राम्रै थियो । हामीले जनताका बीचमा कसम खाएका कुराहरूलाई समग्रमा समेटेर बजेट आउनुपथ्र्यो । चुनावी घोषणपत्रमार्फत हामी चुनाव लडेको र त्यसैको आधारमा झन्डै दुई तिहाइ आएकाले अहिले पनि घोषणापत्रअनुसार बजेट आउनुपथ्र्यो । बजेटमा समन्याय र सन्तुलनमा आधारित हुनेगरी प्रत्येक विभागीय मन्त्रालयहरूले कार्यक्रम बाँडफाँट गर्नुप¥यो । यदि यसो गरिएन भने त्यहाँ असमानता हुन्छ । विभेद हुन्छ । बजेटको सार निकाल्दा एकदमै राम्रो छ । अंशमा जाँदा विभेदकारी छ भनेर मैले बोलें । गएवर्षभन्दा राम्रो, जनताको पक्षमा र प्रगतिशील बजेट हुँदाहुँदै पनि केही त्रुटि भएका छन् । खासगरी सहरी विकास मन्त्रालयको वार्षिक कार्यक्रमका सन्दर्भमा मेरो असहति हो । र, मैले नबोलेर उक्त मन्त्रालय र मन्त्रीप्रति सांकेतिक विरोधका साथै असहमति प्रकट गरेको हुँ । उक्त मन्त्रालयबाट गत वर्ष पनि मेरो निर्वाचन क्षेत्रमा शून्य कार्यक्रम, यस वर्ष पनि त्यस्तै । त्यसपछि सो मन्त्रालयले ल्याएको वार्षिक कार्यक्रम विभेदकारी, अन्यायापूर्ण र नितान्त्र मन्त्रीकेन्द्रित भएको हुनाले म एउटा सत्तापक्षको सांसद हुनुको नातामा रचनात्मक विरोध तथा सांकेतिक विरोधको नमुना प्रस्तुत गरेको हुँ । यो संसदीय परम्पराभित्रको नयाँ ढंगको विरोधको थालनी हो भन्ने मलाई लाग्छ ।
० विरोधको नयाँशैलीका नाममा जे पनि गर्न मिल्छ ?
मलाई निर्वाचित गर्ने मेरा समग्र मतदाताको ध्यान आकर्षित गर्नु थियो । मैले मेरो पार्टीको ध्यान आकर्षित गर्नु थियो । मैले सरकारलाई घच्घच्याउनु थियो । मैले सरकारका समग्र मन्त्रीहरूले गरेको विभेदमा ध्यानाकर्षण गराउनु थियो । त्यस विचार गरेर मैले मलाई दिइएको ६ मिनेटमध्ये चार मिनेट मौनधारण गर्ने र दुई मिनेटभित्र सो मौनधारण किन गरें भनेर प्रस्ट पार्ने उद्देश्यका साथ म त्यहाँ गएको थिएँ ।
० समस्या समाधान भयो त ?
विडम्बना छ । भएन । सांसदहरूले योजना तथा कार्यक्रम पारिदिनुप¥यो भन्दै मन्त्रीहरूका ढोका ढक्ढक्याउन जाने परम्पराको नै अन्त्य हुनुप¥यो भन्ने मेरो माग छ । नत्र त्यस्तो काम गर्ने राष्ट्रिय योजना आयोग खारेज गर्दा हुन्छ । त्यहाँका पदाधिकारी के जागिर खान मात्र पठाइएको हो ? हरेक मन्त्रीकहाँ म आफैं पनि गए । योजनाहरू दिएँ । एउटा पनि नपरेपछि मलाई कस्तो हुँदो हो ? मन्त्रीहरूले सबै १ सय ६५ निर्वाचन क्षेत्रलाई नै आधार बनाएर ७ सय ५३ वटा पालिकालाई आधार बनाएर कार्यक्रम र बजेट विनियोजन गर्नुप¥यो । पहुँच हुनेहरूकोमा कार्यक्रम गएको गयै हुने अनि पहुँच नहुनेकोमा कार्यक्रम नजाने कुरा विभेदकारी हो । मैले मेरो क्षेत्रको मात्र कुरा गरिनँ । म प्रतिनिधि पात्र हुँ । मजस्ता थुप्रै सांसद हुनुहुन्छ त्यस्तो खालको । म चैतको ११ गते मन्त्रीलाई भेट्न गएँ । उहाँले ढिलो आउनुभयो, कार्यक्रम तय भइसक्यो भनेर जवाफ दिनुभयो तर त्यसको २० दिनपछि कुनै एकजना पत्रकार र मेरा साथीले मैले यो कार्यक्रमका लागि भेटेर मन्त्रीलाई अनुरोध गरें भनेर फेसबुकमा जानकारी दिनुभएको थियो । पछि हेर्दा सो कार्यक्रम समाविष्ट रहेछ । योभन्दा हदैको विभेदकारी कदम के हुन्छ ?
० सांसदहरू नीति र कानुन बनाउने हो, योजनाको फाइल बोकेर हिँड्नु र निर्वाचन क्षेत्रका आधारमा बजेट दिनु दुवै काम गलत हो, बजेट दुरुपयोग भैरहेको छ, विकास काम गाउँपालिकाले गर्ने हो भन्ने तर्क छ नि ?
गाउँमा जन्मिएका, काठमाडौं आएका र पछि काठमाडौंबाट कहिल्यै गाउँ नगएकाहरूले गर्ने कुतर्क हो यो । विकासविरोधी, जनविरोधीहरूको कुर्तक हो । विभिन्न एनजिओ आइएनजीओका प्रतिवेदन र कार्यपत्र लेख्ने, त्यहीका आधारमा खाएर बाँच्नेहरूले नबुझीकन गरिएको तर्क हो । किनभने, स्थानीय तहको जे मोडालिटी छ निर्वाचनको, प्रदेश र संघको पनि त्यही मोडालिटीमा गएर चुनाव गरिने र जित्ने हो । भोलि त्यतातिर पनि जान सकिएला तर अहिले बेला भएको छैन । हामीले घोषणापत्रमार्फत चुनाव लडेका छौं । यदि त्यो हो भने प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि यो कुरा लागू हुनुप¥यो नि । जाँदाजाँदै, पहल गर्दागर्दै त यो खालको विभेद छ, नजाँदा के हुन्थ्यो ? जो मन्त्री छ वा जो सत्तामा छ, त्यसका मात्र जनता हुन् । अर्को कुरा म नीति निर्माण मात्र गर्छु भनेर निर्वाचन लडेको होइन । मैले नीति निर्माण सँगसँगै विकासको नेतृत्व गर्छु पनि भनेको छु । टोल बनाउँछु भनेको छु । भौतिक पूर्वाधरमा ध्यान दिन्छु भनेको छु । सामाजिक विकृति विसंगतिलाई अन्त्य गर्नेगरी जान्छु भनेको छु । त्यसैले विकासँग हाम्रो अन्तरनिहीत सम्बन्ध छ । कुनै बाटो भत्कियो र हाम्रो ध्यान पुगेन भने तपाईंहरूले नै लेख्नुहुन्छ कि बाटोको यस्तो हालत छ, हिजो निर्वाचनमा आश्वासन दिने सांसद कहाँ सुतेको छ भनेर । कुनै देशको फोटोकपी जस्ताको तस्तै पेस्ट गर्नुपर्छ भन्ने काँही छैन । बरु, तीनवटै सरकारको योजना र विकासको समन्वय गर्न एउटा समन्वयकारी संयन्त्रको आवश्यकता छ । यो त जनप्रतिनिधिलाई कमजोर र अलगथलग बनाएर व्यवस्थालाई कमजोर बनाउने मानसिकताबाट आएको अभिव्यक्ति हो ।
० तपाईंकै पार्टीको झन्डै दुई तिहाइको सरकार छ, समग्रमा सरकारको भूमिका कस्तो मूल्यांकन गर्नुभएको छ ?
हामीले सरकार चलाइराख्दा जुन खालको हाम्रो र आमजनताको अपेक्षा थियो यस सरकारप्रति, त्यो अपेक्षामुताबिक काम भएको छैन । तर केही पनि हुँदै नभएको होइन । यो सरकार आउँदा र पहिलेको अवस्था तुलना गरौं न । आकाश जमिननको फरक छ । केही पर्फमेन्सहरू पुगेको छैन । जसको पर्फमेन्स भएन, जसले काम गर्न सकेन, त्यस्तालाई पार्टीले फिर्ता बोलाउनुपर्छ । त्यहाँ जागिर खान जाने होइन, काम गर्न जाने हो । त्यति मात्र होइन, संसदभित्र पनि केही सांसद यहाँ आउने तर हाजिर गरेर तलब लिनेबाहेक अन्य केही काम देख्दिनँ म केहीका । सुरुमै अपडेट सबै हुनुपर्छ भन्ने छैन । तर, यहाँ आइसकेपछि अपडेट त हुनुप¥यो नि ।
० दुई पार्टीबीचको एकता तलसम्म पुग्नमै यति ढिलाइ किन भयो ? दोष कसको छ यसमा ?
हरेक क्रान्ति र परिवर्तनसँगै त्यसको लक्ष्यअनुसार काम गर्न सकेनौं भने क्रान्तिसँगै प्रतिक्रान्ति पनि हुन्छ । जेठ ३ गते एकिकरण घोषणा भइसकेपछि त्यसको राप र ताप हामीले कायम गर्न सकेनौं । एक वर्षसम्म त्यसको सांगठनिक एकता हुन सकेन । नेतृत्वले ढिला ग¥यो । एक वर्ष पहिल्यै गर्न सक्ने कुरा जँुगाको लडाइँले एक वर्ष ढिला भयो । व्यक्ति कसको ल्याउने, को ल्याउने वा नल्याउने भन्ने मै हामी अल्मलियौं । पार्टी नेतृत्व त्योभन्दा माथि नउठेका कारण समस्या भएको हो । यो दोष सबैलाई दिन जरुरी छैन । सम्पूर्ण निर्णय सचिवालयले गरेको हो । सचिवालयका पनि निश्चित नेताहरूले गर्नुभएको हो । फेरि पनि तेरो मान्छे र मेरो मान्छे कतिजना रहने भन्ने कुरामा नेतृत्व अल्झिरहेको छ । यसले पार्टीलाई ऊर्जा दिन सकेको छैन । त्यस्ता स्वार्थका कारण आज कम्युनिस्ट पार्टी अनिर्णयको बन्दीको सिकार भइरहेको छ । यसले आमनेपाली जनताहरूलाई निराश बनाइरहेको छ ।
० तपाईंकै प्रदेशमा पनि भीम रावल र कर्ण थापाका स्वार्थ र टकरावका कारण पार्टी भताभुंग भयो भन्छन् नि ?
मलाई त्यस्तो लाग्दैन । अहिलेसम्म भीम रावलले कसैलाई निषेध गरेको वा दोषारोपण गरेको मैले कहीँ सुनेको छैन । सुदूरपश्चिम त्यस्तो ठाँउ हो, जो एकतापछि सबैभन्दा कार्यान्वयन गर्ने ठाउँ हो । पहिलो भेला पनि सुदुरुपश्चिमले सम्पन्न गरेको छ ।
पार्टी एकिकरणपछि प्रत्येक जिल्ला जिल्लामा नेताहरू पुग्नुभएको छ । कतिपय स्थानमा साथीहरूले आफ्नो पदीय जिम्मेवारी ख्याल नगर्दा केही समस्या आएको हुनसक्छ । त्यसरी पार्टी चल्दैन । नेतृत्व पंति जिम्मेवार बन्नुपर्छ । बरु आदरणीय नेता रावलले पार्टी नीतिविरुद्ध भएका गतिविधि, राष्ट्र र राष्ट्रियताविरुद्ध भएका गतिविधिबारे उहाँले चालेका स्टेपलाई असान्दर्भिक ढंगले टीकाटिप्पणी गर्ने, चर्चामा ल्याउने र अनावश्यक ढंगले निहँु खोज्ने विषय बनाइरहनुभएको छ, जुन असान्दर्भिक छ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply