एमाले पहिलो पार्टी मात्रै हुँदैन, नयाँ रेकर्ड बनाउँछ
माधवकुमार नेपाल, वरिष्ठ नेता, नेकपा(एमाले)
० प्रदेश नम्बर २ को चुनावी व्यस्तता कस्तो छ ?
– निक्कै व्यस्त भइएको छ । अझै पुगेको छैन । हामी अझै व्यस्त हुनुपर्छ । मनोनयनको काम टुङ्गिएको छ । अब चुनावी अभियानले तिव्रता लिनेछ र यसैक्रमसंगै सिङ्गो क्षेत्रमा नेकपा एमालेको शक्ति परिचालित गर्ने सन्दर्भमा म पनि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्न प्रदेश नं २ मै सक्रिय छु ।
०विगतका दुई चरणको निर्वाचनमा एमालेको पक्षमा राम्रो परिणाम आयो, तेस्रो चरणको योे निर्वाचनमा एमाले अलि कमजोर छ भनिन्छ, स्थिति कस्तोहोला ?
–यो सिङ्गै चुनावलाई एकैचोटी गर्ने भनेर वैशाख ३१ गतेको मिति सरकारले घोषणा गरेको थियो । तर समग्र आँकलन गर्दाखेरी एमालले सबै देशभरीमा नै चुनावी परिणाम राम्रो ल्याउने भयो भनेर डराएर, तर्सेर सबैभन्दा कमजोर कहाँ हुन सक्दछ भन्ने ठानेर प्रदेश नम्बर ३, ४ र ६ को चयन गरियो । तर परिणाण उल्टो आयो । निक्कै ठुलो अन्तरमा एमाले जितेर आयो । फेरी अर्को चरणमा सम्पन्न गर्ने भनेर दुई चरणको कुरा ल्याइयो । मितिको बारेमा विचार गर्न नसक्नेले देश के हाँक्लान् ? त्यसपछि फेरी असारको पहिलो हप्ता तय गरियो, त्यो पनि भएन । फेरी त्यसलाई सारियो । कुनैबेला इदको समयमा प¥यो । क्यालेन्डर छैन । होमवर्क छैन । सल्लाह छैन । ह्वीमको भरमा तय गरिन्छ । त्यसपछि फेरी २–३ महिना पछि सारेर २ नम्बर प्रदेशको चुनाव तय गरियो । दोेस्रो चरणको हुने बेलामा पहिलोमा त्यस्तो भयो, यो पटक एमालेको पत्तासाफ हुन्छ भन्ने अनुमान गरियो । तर, पहिलो चरणको चुनाव भन्दा अझै राम्रो परिणममा आयो । एमालेको सफलताको उचाइ अझ माथि गयो । तेस्रो चरणको सन्दर्भमा एमालेको २ नम्बर प्रदेशमा त कुनै पहिचान नै रहने छैन भन्ने उनीहरुको अनुमान छ । तर मनोनयनको दिनमा मान्छेको सागर उत्रिएको हेर्नुस् । एमालेलाई तराई विरोधी पार्टी भनिँदैछ तर एमालेको पक्षमा त्यहाँ जनलहर देखिएको छ । गाउँ– गाउँमा, नगर–नगरमा सकारात्मक प्रतिक्रिया पाइरहेका छौँ । दुई नम्बरको चुनावमा एमाले पहिलो शक्ति भएर आउँछ । यसमा कसैले शंका नगरे हुन्छ । एमाले पहिलो पार्टी मात्रै हुँदैन, नयाँ रेकर्ड बनाउँछ ।
० टिकट वितरणमा पनि विवाद देखियो, यस्तो विवादकाबीच पनि कसरी पहिलो हुन्छ ?
–टिकट वितरणमा भएका कमजोरीबारे समय आएपछि समीक्षा हुन्छ तरअहिले मैदानमा आएका उम्मेदवारलाई जिताउन सबैले शक्तिका साथ लाग्नुपर्छ । अहिले एमालेलाई जिताउन सबैलाई जिताउन लाग्नुपर्छ । पार्टीको उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्छ ।
० स्थानीय निर्वाचपछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा हामी जाँदैछौ । त्यसका लागि तपाइँहरुको तयारी कस्तो छ ?
–संसदीय र प्रदेश निर्वाचनमा के हुन्छ भन्ने ‘कास्टिङ’ स्थानीय निर्वाचनले देखाइसकेको छ । एमालेले प्रदेशमा पनि जित्छ र केन्द्रमा पनि जित्छ । यस पटकको माहोल एमालेको पक्षमा छ । एमाले र अन्य पार्टीको भूमिकालाई जनताले मूल्याङ्कन गरेका छन् । अन्य दलहरु लम्पसारवादको नीतिमा चुर्लुम्म डुबेका छन् । राष्ट्रिय स्वाभिमान विपरित काम गरेका छन् । कांग्रेसले लोकतन्त्रको खिलाफ काम गरिरहेको छ । यतिखेर सरुवा बढुवा गरिरहेको छ । एउटै गतिलो काम गरेको छैन । एक मात्र महिला प्रधानन्यायाधीशमाथि विनाकारण महाअभियोग लगाएर बदनामी कमाए । यो मामिलामा कांग्रेस–माओवादी एउटै सिक्काका दुई पाटा हुन् ।
कांग्रेस अगतिलो पार्टी हो । अगतिलो पार्टीले अर्को अगतिलो माओवादीलाई खोज्यो । चिवतनमा गरेको भाँडभैलो देखिहाल्नुभयो । अहिले हाम्रा उम्मेदवारहरुलाई मार्ने धम्की आइरहेको छ । माओवादीको कुरै छाडौँ । काटमारको राजनीतिबाट आएको उसले कांग्रेससँग सहकार्य गर्दैछ । दुई नम्बर प्रदेशका तालमेल पनि उनीहरुको स्वार्थ नमिलेकाले सम्भव भएन । सबै कुरा हेर्दा लोकतन्त्र र जनताको हिसाबले हेर्दा पनि यी दुवै पार्टी गतिला छैनन् । नेकपा एमाले राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्न, परिवर्तनको एजेन्डा बोक्न र विकास निर्माणका काममा अघि बढिरहेको छ ।
० एमाले भित्रको गुट उपगुट, पक्ष र प्रतिपक्ष देखिँदैछ । एमालेमा प्रतिपक्ष कमजोर भएको बताइन्छ । के भन्नुहुन्छ ?
–पार्टी कमिटि प्रणालीमा चल्छ । मूल्यांकनका आधारमा व्यक्तिलाई हेर्नुपर्छ । राम्रो गरे नगरेको कुरा हेर्न सकियो भने पार्टीको लोकप्रियता बढ्छ, जनतामा साख पनि बढ्छ । यी नहुँदा दीर्घकालमा पार्टीलाई क्षति हुन्छ । एमालेले आफूलाई जिम्मेवार दलका रुपमा उभ्याउन सक्नुपर्छ । कुनै पार्टीसँग तुलना गर्नुभयो, एमाले ‘बेटर’ तर एमाले आफैँमा ‘पर्फेक्ट’ छैन । एमालेले आफ्ना कमजोरी सुधारेन भने जनताका सपना पूरा हुँदैनन् , मुलुकको विकास पनि हुन सक्दैन । जनताले एमालेबाट आशा गरेका छन् । एमालेले राजतन्त्र र पाटीविहिन पद्धतिविरुद्ध पनि लड्दै आयो । २०४६ को आन्दोलन र गणतन्त्रका लागि पनि एमालेले अग्रणी मोर्चामा भूमिका खेलेको छ ।
० पार्टी एकजुट हुनुपर्छ भन्नुहुन्छ तर पार्टी कार्यकर्ताहरु एउटा समूहको मात्रै पकड भयो भन्छन्, एउटा समूहलाई पाखा लगाउन खोजियो भन्छन् । तपाईँ के भन्नुहुन्छ ?
–पार्टी सिस्टमबाट चल्यो भने कार्यकर्तालाई काममा आधारमा मूल्याङ्कन गरियो भने यो किसिमको समस्या आउँदैन । जनतामा लोकप्रिय कार्यकर्तालाई जिम्मेवारी दिने परिपाटी भयो भने यस्ता समस्या देखिँदैनन् । पार्टीलाई जोगाउने हो भने असल व्यक्तिलाई जोगाउनुपर्छ । अहिले हामी चुनावमा केन्द्रित छौँ । चुनावी वातावारणमा हामीले पार्टीलाई कम्जोर बनाउने अभिव्यक्ति दिनुहुँदैन । चुनावका बेला काखा पाखा गरियो भने कार्यकर्ताले नै तिरस्कार गर्छन् । कहीँ भएको छ भने त्यस्ता कुरालाई सुधार्न जरुरी छ । मूल्यांकन पद्धति ठीक हुनुपर्छ, कसरी हुन्छ पार्टीलाई नम्बर एक पार्टी बनाउन र बहुमत दिलाउन लाग्नुपर्छ । एउटै किसिमको राय र विचारसहित हामी अगाडि बढ्नुपर्छ ।
० तपाँइ कोरीया भ्रमणमा गएको कुरा विवादमा आयो नी ?
–म उत्तर कोरिया पार्टीको प्रतिनिधित्व गरेर गएको होइन । केन्द्रीय कमिटिको प्रतिनिधित्व गरेर गएको होइन । नेपालका सांसदहरुको टोलीको प्रतिनिधित्व गरेर उत्तर कोरिया गएको होइन । दक्षिण कोरियाका मित्रहरुको चहानालाई ध्यानमा राखेर गएको हो । पिस फेडेरेसनले समेत उत्तर कोरियामा गएर शान्तिको आवश्यकताबारे सन्देश पु¥याइदिन भनेकाले म उत्तर कोरिया गएको हुँ । कोरियामा प्रत्येक ५ वर्षमा हुने कार्यक्रममा गएको हुँ । पार्टी केन्द्रीय कार्यालयमा जानकारी गराएको थिएँ । पार्टी महासचिवलाई पनि जानकारी गराएको हुँ ।
० उत्तर कोरिया जाँदा पार्टीको पनि प्रतिनिधित्व होस भन्ने थियो कि?
–विमलेन्द्रलाई मैले कुटनीतिको शिक्षा दिन जरुरी छैन । नेपालका परराष्ट्र सचिवलाई सोधेर गएको हुँ । मैले जाउँ कि नजाउँ भनेर सोधेको छु । दक्षिणकोरियास्थित राजदूतलाई पनि भनेको छु ।
० ट्रम्पले उत्तर कोरियामा आक्रमण गर्ने भनेका छन् ? उत्तर कोरिया पनि आक्रमक छ । त्यहाँ जाँदा सचेत हुनु जरुरी थियो कि थिएन ?
–दक्षिण कोरियाका राष्ट्रपतिले अहिले पनि शान्ति कायम गर्न उत्तर कोरिया जान्छु भनिरहनु भएको छ । त्यसो भए के त्यो गलत थियो । कुटनीतिक भाषमा ट्रयाक टु भन्छन्। पिपुल टु पिपुल । राज्यस्तरमा गरिनेलाई ट्रयाक वान भनिन्छ । चीन र अमेरिकाको सम्बन्ध तपाईँलाई थाहा छ । तर, पिङपङ डिप्लोमेसीलाई उनीहरुले अघि बढाए । युद्धका बेला पनि त्यहाँका राष्ट्रपतिले गोप्यरुपमा कुटनीतिज्ञ पठाएर वार्ता गरे ।
० तपाईँको उद्धेश्य शान्तिका लागि थियो त ?
–मेरो उत्तर कोरिया भ्रमण शान्तिका लागि थियो । अमेरिका र उत्तर कोरियाबीच जारी तनाव कम गर्ने प्रयासस्वरुप म उत्तर कोरिया गएको हुँ । कसैले पनि शान्तिको वातावारण भड्काउनु हुँदैन ।
० कसरी प्रभावित पार्न सक्नुभयो ?
–रुस, चीन, अमेरिका, उत्तर कोरिया र दक्षिण कोरियाबीच शान्तिका लागि वार्ता गर्नुपर्छ । एकअर्काको मामिलामा हस्तक्षेप नगर्ने ग्यारेन्टी खोजेको छ उत्तर कोरियाले । मैले पनि त्यो कुराका लागि अन्तराष्ट्रिय सम्बन्ब बढाउनु भनेँ । शान्तिवार्ताबाटै निकास खोज्न त्यहाँका माथिल्लो तहका नेतालाई आग्रह गरेँ ।
० उत्तर कोरिया भित्र माहोल कस्तो छ ?
–उनीहरु युद्ध गर्न तयार छन्, युद्धको मनस्थितिमा देखिन्छन्, हामीलाई तर्साउन खोजिँदा हामी डराउँदैनौँ भन्छन् । तर मैले अर्को पनि एभिन्यु बनाउनुस भने, वार्ता गर्नुस भने । एकअर्काका चासोका विषय के हुन् त्यसमा ध्यान दिनुस भनेको छु । अरुका कुरा पनि सुन्न अन्तराष्ट्रिय सम्बन्ध बढाउँदा राम्रो हुन्छ भनेको छु ।
मैले त्यहाँका दोस्रो ठुला नेता राष्ट्रपतिसँग भेटेँ, अनि अन्य नेताहरुसँग पनि भेट्न सकेँ । तर किम जोङ उनसँग भेट्न पाइन । किम इल सुङसँग मैले १९९० मा भेटेको थिएँ । कोरियाली जनता पनि शान्ति चाहन्छन् । कोरियाली जनता आर्थिक विकासतर्फ जान चाहे भने विकासमा फड्को मार्न सक्छन् । उनीहरुले संकल्प गरेपछि देशलाई अर्कै बनाउन सक्छन् ।
० फरक प्रसंग, अहिले एमालेले उठाइरहेको राष्ट्रवाद कस्तो हो ?
–नेपाल एउटा स्वतन्त्र र सार्वभौम सम्पन्न राष्ट्र हो कि होइन ? नेपालले आफ्ना समस्या आफैँ समाधान गर्न पाउने कि नपाउने । नेपालमा कसैले हस्तक्षेप ग¥यो भने नेपाली जनताको मनमा चोट पर्छ । घरको मामिलामा हस्तक्षेप गर्दा त स्वीकारिँदैन । नेपालको संविधानमा यो मिलाऊ, त्यो मिलाऊ भन्ने कुरा हामी स्वीकार्न सक्दैनौँ ।
० भारतको विरोध गर्दा मात्र राष्ट्रवादी भइने भन्न्ो मनोविज्ञान छ, यो सही हो र ?
–नेपालमा यो अवस्था आउनुमा भारतका गतिविधि जिम्मेवार छैनन् भन्ने खोजिनुपर्छ । सन् १९५० को सन्धि बेठीक भएको हो । नेपालले चीनसँग बाटो बनाउँदा भारतले हस्तक्षेप गर्दा बेठीक भएको हो । नेपालले काठमाडौँबाट धनकुटा जाने बाटो बनाउँदा बेठीक नहुने तर चीनसँग बाटो खोल्दा बेठीक हुने यो ठीक होइन ।
० कुनै सम्झौता भारतसँग गर्दा राष्ट्रघात हुने तर चीनसँग गर्दा राष्ट्रवाद हुने भन्ने हुन्छ र?
–भारतले नेपाललाई गर्ने व्यवहारमा परिवर्तन गर्नुपर्छ । भारतले नेपालमा नाकाबन्दी गर्दा नेपालीको मनोविज्ञानमा कति चोट पुगेको होला? नाकाबन्दीले तराई, पहाडका छोराछोरीले पढ्न पाएनन् । सबै कुरा अवरुद्ध भयो, नेपालीको जनजीवन अस्तव्यस्त भयो । यस्तो नराम्रो कुरालाई कुनचारै विश्व समुदायले स्वीकार्छ ? नेपालको संविधानमा समस्या भएमा नेपालले संशोधन गर्छ, भारतले किन टाउको दुखाउने ? भारतले नेपाललाई सानो भनेर नहेपोस, हामी भारतलाई ठुलो भनेर पनि धारेहात लाउँदैनौँ ।
(जनता टेलिभिजनसँगको कुराकानीको सम्पादित अंश)
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply