ओली सरकार ढालेर वार्ता गर्ने कुरा नसोचे पनि हुन्छ
मणि थापा स्थायी कमिटी सदस्य, नेपाल कम्युनिस्ट पार्टी० पछिल्लो समय सरकारले नेकपाको विप्लप समूहलाई लगाएको प्रतिबन्धलाई कुन रूपमा हेर्नुभएको छ ?
राजनीतिक अन्तरविरोध प्रतिबन्धसम्म पुग्नुनपर्ने हो । त्यस्तो कदमले फाइदा सरकारलाई भन्दा विप्लव समूहलाई नै बढी हुन्छ जस्तो लाग्छ । किनकि जो खालको मूल्यांकन गरिनुपर्ने हो, त्यही खालको नै मूल्यांकन गरिनुपर्छ । मूल्यांकनमा अति गरियो भने त्यसको प्रभाव वातावरणमा अलि बेग्लै ढंगले पर्छ । त्यसैले प्रतिबन्धको बाटो हामी जान हुन्थेन । हामीले वार्ता, संवाद र भेटघाटकै बाटो जाँदा नै हामी सबै वामपन्थी आन्दोलन र वामपन्थी सरकारलाई फाइदा हुन्थ्यो भन्ने मेरो विश्लेषण रहेको छ ।
० तर सरकारले यो समूहलाई त लुटेरा समूह भनेको छ नि ?
कम्युनिस्ट आन्दोलनको त्यही खालको घटना दोहोरियो । हिजो ०२८ सालमा झापा संघर्ष भइरहँदा यता चौथो महाधिवेशनको मोहनविक्रम समूहले उग्रवादी, आतंककारी वा उग्रवामपन्थी भन्दै आएको थियो । पछिल्लो चरणमा जनयुद्धमा हामी आउँदा पूर्वएमालेले पनि यस्तै खालका शब्दहरू प्रयोग गरेको थियो । अहिले फेरि हामीले विप्लवजीलाई त्यस्तै खालको शब्द प्रयोग गरिरहेका छौं । र, विप्लवजीहरू पनि त्यस्तै शब्द प्रयोग गरिरहनुभएको छ । उनीहरूको मेन टार्गेट नै वामपन्थीको सरकार हो । त्यसैले यो कतै न कतै मिलेको छैन । कतै न कतै हामी अरूबाट प्रभावित छौं अथवा निर्णय हामीले आफ्नै ढंगले गरेका छैनौं भन्ने अर्थ लाग्छ । यसका निम्ति पश्चिम बंगाल र त्यहाँको माक्र्सवादी सरकार अनि त्यहाँको पिपुल्स वार ग्रुपबीचको जो झगडा भयो, त्यो झगडाका कारणले पिपुल्स वार पनि कमजोर भयो । त्यही झगडाका कारण पश्चिम बंगालको वाम आन्दोलन पनि कमजोर भयो । त्यसकारण साम्राज्यवादले हेर्दा हामीलाई एउटै बास्केटमा हेर्ने र हाम्रा कैयौं कुरा मिल्ने तर हामी भने एकले अर्कोलाई निषेध गर्ने तहमा जाँदा संसारमा कुनै पनि कम्युनिस्ट पार्टीलाई राम्रो भएको छैन ।
० अबको परिस्थितिमा विप्लवहरूको उद्देश्य र कार्यदिशाका कारण यस्तो ढंगले उनीहरू लक्ष्यमा पुग्न सक्लान् भन्ने लाग्छ ?
विप्लवजीहरूको मैले कुनै कार्यदिशा देखेको छैन । मैले यो कुरा त उनीहरूसंग पहिल्यैदेखि भन्दै आएको छ, उहाँहरूको पनि खासै नयाँ कार्यदिशा छैन । उहाँहरूले एकीकृत क्रान्ति भन्नुभएको छ, क्रान्तिको परिभाषा गर्दा । जनयुद्धलाई शान्ति प्रक्रियामा ल्यान्डिङ गर्ने बेलामा त्यो बेलाको सात पार्टी र त्यो बेलाको माओवादीबीचको ल्यान्डिङ हुने बेलामा त्यो पावर सेयरिङ सही ढंगले भएन भन्ने विप्लवजीको मान्यता हो । त्यसमा राजनीतिक पावर सेयरिङ, सेना समायोजनको कुरा, त्यो बेलाका कार्यकर्ता, सहिद परिवार, बेपत्ता परिवारहरूलाई राज्यले दिने सहुलियत आदि भएन भन्ने नै विप्लवजीहरूको भनाइ हो । उहाँहरू पनि शान्ति प्रक्रियामा आउनुभएकै हो । उहाँहरूका पनि धेरै साथी (उहाँबाहेक) मन्त्री पनि भए, सांसद पनि भए, चुनाव पनि उठे । प्रचण्ड बाबुरामले १२ बुँदे सहमति गरेर जो शान्ति प्रक्रियामा आए, त्यसमा कुनै विमति छैन । चुनवाङ बैठकमै पनि विमति छैन । तर पछि शान्ति प्रक्रियामा आउने बेलामा संसद् पुनःस्थापानको बाटोबाट संसद्मा गइयो । त्यहाँ पावर सेयरिङ भयो । सेनाको पावर सेयरिङ पनि सही ढंगले भएन । त्यति ठूलो आन्दोलनलाई दोस्रो मुभमेन्टका रूपमा लिइयो । त्यहाँ पहिलो मुभमेन्ट सात पार्टीकालाई नै लिइयो । त्यो खालको पावर सेयरिङले माओवादी आन्दोलनले सही निकास लिन सकेन भनेर विप्लवजीले भनिरहँदा उहाँहरू पनि बन्दुक बोकेर, बम ब्लास्टिङ गर्ने लेबलको पोलिटिक्स गरिरहनुभएको छ ।
त्यसैले यताबाट हामीले योबेला बढी नै प्रेसर ग¥यौं भने त लेफ्ट मुभमेन्ट हो । वारबाट आएको शक्ति हो । त्यसैले अलिकति ¥याडीकल्ली जान त खोज्छ ।
० यो बेला सरकारले चाहिँ के गर्नुपथ्र्यो ?
सरकारले अस्ति विप्लवजीलाई ट्रिट गर्ने बेलामा अरू जो वार्ता समिति बनाइयो सोमप्रसाद पाण्डेको नेतृत्वमा, त्यसमा विप्लवजीले अस्वीकार गरेको कुरा के हो भने हामीलाई अत्यन्तै नजरअन्दाज गरियो भन्ने रहेछ । मधेसमा भएका १०–१२ वटा सशस्त्र समूहलाई जस्तै विभिन्न नाम दिएर विप्लवजत्तिको व्यक्तित्वलाई पनि उही रूपमा हेरियो भन्ने रहेछ ।
० उनी के हुन् र ?
उनी अझै एज ए विप्लवकै रूपमा छन् । देशकै एउटा राम्रो नेता हो विप्लव । एज ए पर्सनल्ली विप्लवलाई कुरा गर्दा । राम्रो मान्छे, राष्ट्रवादी, वामपन्थी एउटा युवा हो विप्लव । उनको पार्टी के हो म जान्दिनँ । उनलाई पनि सँगसँगै गएर ट्रिट गरेपछि उनीहरू वार्तामा आएनन् । पछिल्लो चरणमा सीके राउतलाई एउटा ट्रिट र विप्लवलाई अर्को ट्रिट गर्दा उनीहरू अलिकति उत्तेजित भए । यसको मतलब विप्लवजीहरूको कमजोरी छैनन् म भन्दिनँ ।
० तर सरकारको भनाइचाहिँ त्योबेला पनि उनीहरूले जालझेल गरे, आफ्ना थुनुवा कार्यकर्ता निकाले, केही समय अल्मल्याए पछि धोका दिए भन्ने छ नि ?
एउटा विद्रोहीले त्यस्तो ट्याक्टिस गर्छ । तर हामी फस्यौं नि त । यसमा सरकार फस्यो नि त । उनीहरूलाई रिकग्नाइज गर्ने कुरा त सरकारले गर्नुप¥यो । मैले बुझेको कुरा के छ भने जो खालको वार्ता समिति त्यो समितिमार्फत हाम्रो अवमूल्यन गरियो भन्ने उनीहरूको कुरा रहेछ । अर्को कुरा विप्लवजीको असमझदारी माओवादी धारका विभिन्न नेताहरूसँग व्यक्तिगत इगो र टकरावहरू पनि हुन्छ्न्, छन् । विप्लव वामपन्थी आन्दोलनको एउटा धारा भएको र वामपन्थी नै अहिलेको सरकार भएको हुनाले हामीले उहाँलाई गर्ने ट्रिट र अरू पोलिटिकल पार्टीहरूलाई गर्ने ट्रिटमा भिन्नता देखाउनुपथ्र्यो, अपनत्व देखाउनुपथ्र्यो । वैज्ञानिकता अपनाउनुपथ्र्यो, त्यहाँ हामीले अपनाउन नसकेको हो कि भन्ने देखिन्छ ।
० राजनीतिक, वैचारिक कोणबाट हेर्दा भने उनीहरूको कार्यदिशा स्पष्ट नभएकाले विप्लवहरू पनि अलमल र गन्जागोलमा छन् ?
नयाँ धारको प्रस्टता त पक्कै उनीहरूमा छैन । उहाँहरूले अहिलेसम्मको समाजको जो व्याख्या गरिरहनुभएको छ, त्यो व्याख्या त्यति नयाँ छैन । उहाँहरूले नयाँ स्कुल बनाउन खोजिरहनु त भएको छ । तर त्यो नयाँ स्कुल अहिले रातारात बन्दैन । नबन्दाखेरि हुने त नक्कल नै हो । त्यसैले यसमा पनि त्यस्तै नक्कलजस्तै देखिन्छ । वार्तामा आउने, अल्मल्याउने, फेरि जनपरिचालन गर्ने, शक्ति सुदृढ गर्ने, फेरि बम ब्लास्टिङ गर्ने । यो सबै कोर्स नेपालमा भइरहेका पुराना कोर्सहरूको नक्कल गरेर अब क्रान्ति हुन्न । अस्ति प्रचण्डजीले पनि फेरि कोहीकसैले रहर गर्दैमा प्रचण्ड बन्न सकिन्न भन्नुभयो । हाम्रो सुझाव पनि के हो भने उही कुरा दोहो¥याएर अब मान्छेले मन पराउँदैनन् । त्यो युग सकियो । तर समाजमा जो विकृति, विसंगति एकदमै छ, त्यसलाई कतै न कतै लेफ्ट कोणबाट समाज सुधारका निम्ति आन्दोलनको जरुरी छ । यही हाम्रो लेफ्ट सरकारलाई पनि अलिकति दिग्दर्शन गर्ने खालको मुभमेन्टमहरू आवश्यकता छ । तर पनि बल ब्लास्टिङलाई चाहिँ जनताले डाइजेस्ट गर्दैन ।
० तर शीर्ष नेताहरूलाई सफाय गर्नेसम्मको माइन्युट र टोली खटाएको पाइएपछि सरकारले बाध्य भएर प्रतिबन्ध लगाइयो भनिएको छ नि ?
त्यो त होइन । हत्याको लाइन विप्लवजीको छैन । पुलिस र आर्मीमाथि आक्रमण गर्ने पनि विप्लवजीको लाइन छैन । बहुराष्ट्रीय कम्पनीलाई अलिकति ध्वंस गर्ने लाइन उहाँको हो । हो त्यही ध्वंस गर्दा अलिकति बढी क्षति भयो ।
० त्यसो भए प्रधानमन्त्री तथा अध्यक्ष ओलीले लुटेरा समूह नै भनिहाल्न हुन्थेन ?
हामीले शव्द चयन गर्नेबेला सही ढंगले चयन गर्नुपर्छ । हामी कम्युनिस्टहरू प्राय सबैजना सडक वा मञ्चहरू पाउँदा अलि बढी नै भावावेशमा आउँछौं । त्यहाँसम्म हामी पुग्नुहुँदैन । हिजोका दिनमा पनि यस्ता धेरै शब्द प्रयोग भएका छन् । त्यसो हुँदा त्यो लेवलको शव्द तौलेर बोल्ने पोलिटिक्स नेपालमा आइपुगेको छैन । तर विप्लवजी र अहिलेको नेकपाको सरकारबीच यो खालको द्वन्द्व हुनु राम्रो होइन ।
० तर यो खालको द्वन्द्व बढ्दै गएमा मुलुक त पुरानै अवस्थामा फर्किएला नि ?
त्यहाँसम्म जाँदैन । विप्लवजीहरूको त्यहाँसम्मको द्वन्द्व सिर्जना गरेर अहिलेको पार्टी वा अहिलेको परिस्थितिलाई लैजालान् भन्ने लाग्दैन । अहिले सरकार किन निरंकुश भयो भनेर एउटै क्लासभित्रबाटै हामीपट्टि नै प्रश्न उठेको भने पक्कै हो । हामीले बढी पेल्दै गयौं भने उहाँहरूप्रति भने सहानुभूति बढ्दै जान सक्छ । यसले सरकारलाई नै घाटा हुन सक्छ ।
० उनीहरूले केपी ओली र बादल नेतृत्वको सरकार बहिर्गमन भएपछि मात्र वार्ता सम्भव छ भनेर सार्वजनिक अभिव्यक्ति आएकोलाई कुन रूपमा लिन सकिन्छ ?
उहाँहरूले अहिले केपी ओली सरकारलाई बाइकट गरेर वार्ता गर्छु भनेर नसोचे पनि हुन्छ । जनयुद्ध गरेर आएको बेला प्रत्यक्ष आर्मीसँग लडाइँ थियो । पुलिस र ब्युरोक्रेसीसँग लडाइँ थियो । समानान्तर सरकार बनाएको स्थिति थियो । अन्तर्राष्ट्रिय समर्थन पनि थियो, विरोध पनि थियो । त्यो बेला सरकारमाथि प्रश्न उठाउँदा राजनीतिक रूपमा फाइदा हुन सक्थ्यो । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार विघटन भएपछि हामी वार्ता गर्छौं भन्नेजस्ता कुराहरू आएका थिए । अहिले पनि त्यस्तै फन्डातिर उहाँहरू घुम्नुभयो । तर उहाँहरूले अहिले हाम्रो प्रतिबन्ध फिर्ता लिइयोस्, हामी वार्तामा आउँछौं भन्नुपथ्र्यो । त्योचाहिँ राजनीतिक कुरा हुन्छ । अहिले केपी ओली सरकार ढालेर वार्ता गर्छु भन्नुभयो भने त्यो उहाँहरूको मूल्यांकन सही हुँदैन । त्यसले द्वन्द्वतिरै लान्छ ।
० पछिल्लो समय सरकारले राष्ट्र विखण्डनको लक्ष्य लिएर हिँडेको सीके राउतसँग सहमति ग¥यो, त्यसलाई कुन रूपमा हेर्नुभएको छ ?
विखण्डनको लक्ष्य राख्नेलाई शान्तिपूर्ण धारमा ल्याउनुहुँदैन भन्ने होइन । सबैलाई ल्याउनु सरकारको दायित्व नै हो । सबैलाई मूलधारमा ल्याउने प्रयत्न त सरकारले गर्नैपर्छ ।
० पछिल्लो समय यो सरकारको कार्यशैलीको कस्तो मूल्यांकन गर्नुहुन्छ ?
मैले त स्थायी समतिको बैठकमै सरकारको प्रस्तुति चित्तबुझ्दो भएन भनेर कुरा राखेके छु । जनता खुसी छैनन् । हुन त हामीले भित्रभित्र धेरै गृहकार्य गरेका छौं भनिएको छ । त्यो गृहकार्य बाहिर आएको छैन । आगामी बजेटमा भनिएका कुरा पुरा गछौं भनिएको छ । तर जनतामा आशा बढाउन सकेको छैन । यसअगाडि मनमोहन अधिकारीको सरकारको कामको सम्झना जनताले गरिरहेका छन् । तर अहिले नै आशा निराशामा परिणत भइसकेको भने छैन । तर मान्छेहरूले यो सरकारले यसो ग¥यो नि भनेर बोध गर्ने किसिमको काम भएको चाहिँ मैले देख्दिनँ ।
० दुई पार्टी एकता भई बनेको नेकपाले पनि यति लामो अवधिसम्म मूर्त रूप पाएन, सांगठनिक गतिविधि शून्य छ, यसो किन भइरहेको होला ?
एकताको महŒव नबुझेर हो । यो एकता कम्युनिस्ट आन्दोलन बनाउन नभई चुनाव जित्न गरिएको थियो । चुनाव जितियो । त्यसपछि लक्ष्य पूरा भइहाल्यो । नेपालको लेफ्ट मुभमेन्ट वा समाजवादी मुभमेन्टलाई बलियो पार्न कम्युनिस्ट पार्टी बलियो हुनुपर्छ । हामीले रातारात एकता ग¥यौं । त्यसले एउटा चुनावी परिणम दियो । विचारको बहस एमाले र माओवादीमा सिद्धिसकेको छैन । त्यसबारे जति गहन तरिकाले विचार विमर्शहरू हुनपर्ने थियो, भइरहेको छैन । दुई पार्टीका सकारात्मक चिजहरूलाई मिलाएर नेकपा बनाउने कोर्समा हामी पुगेनौं । हामी त्यती गम्भीर भएनौं । चुनावी एकताको कोर्समा हामी आफ्नो स्वार्थमा बढी केन्द्रित भयौं । यदि यो एकता चाँडै टुंगिएन भने यो पार्टी कन्स्ट्रक्टिभ होइन, डिस्र्टक्टीभ हुने खतरा छ ।
० तपाईं पनि स्थायी समिति सदस्य हुनुहुन्छ, यो काममा नेताहरूलाई दबाब सिर्जना गर्न किन सक्नुभएको छैन त ?
त्यसमा हाम्रो भूमिका नपुगेकै हो । दुईवटा एउटै टेबलमा आउन सक्ने स्थिति नै छैन । पृथक्पृथक्बाट चलौं फेरि हामी नै दरार पैदा गर्नेजस्तो हुने । दुईवटैले संयुक्त रूपले गरौं भन्ने स्थिति छैन । अझै ढिलो हुने हो भने हामी स्थायी समिति सदस्यहरूले पार्टी एकताको नयाँ अभियान सञ्चालन गर्ने र नेताहरूलाई सकारात्मक दबाब दिने चरणमा अब प्रवेश गर्दै छ । यो अति भइरहेको छ । एउटा कम्युनिस्ट पार्टी एक वर्षदेखि संगठनविहीन हुने भन्ने कुरा अग्रगतिको संकेत होइन, पश्चगमनकै संकेत हो । अथवा, विघटनतिरकै संकेत हो । त्यसका निम्ति हामी कम्युनिस्ट आन्दोलनप्रति जिम्मेवार हुनेहरूले सायद अलि नयाँ ढंगले बोल्ने बेला आँउछ पनि होला र बोल्नु पनि पर्छ होला ।
One response to “ओली सरकार ढालेर वार्ता गर्ने कुरा नसोचे पनि हुन्छ”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
राम्रो विश्लेषण !सही कुरा