चिन्तनको फराकिलो आयाम
नेपाली समाज अर्ध–सामन्ती, अर्ध–औपनिवेशिकको माखेसाङ्लोबाट मुक्त भएर पुँजीवादको चरणमा प्रवेश गरेको कथन यदाकदा सुन्न पाइन्छ । तर, अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक समाज मूलतः पितृसत्तात्मक समाज हो र त्यस्तो समाजमा पुरुषवादी हैकम व्याप्त रहेको हुन्छ । पछिल्लो समय भने बढ्दो सहरीकरण, शैक्षिक क्षेत्रमा हरेक वर्गको पहुँच र सामाजिक मूल्य, मान्यताहरूमा आएको परिवर्तनका कारण परम्परागत पितृसत्ताका अंशहरू मेटिदै गएका छन् । युवाकवि राम बर्तौला ‘आँसु’ पितृसत्तात्मक समाजमा नारीले बेहोर्नुपर्ने दुर्दशा र पीडाको खात पल्टाउन चाहन्छन् । उनको सद्य प्रकाशित कविताकृति ‘राष्ट्र उद्गार’भित्रका एकाध कविताले नेपाली समाजमा नारीको अवस्था कस्तो छ भन्ने राम्रो चित्रण गर्दछ ।
कुनै पनि समाजको स्तर नाप्ने माध्यम त्यो समाजका नारीहरू कस्तो हैसियत बोकेर बाँचिरहेका छन् ? उनीहरूमाथि समाजले हेर्ने दृष्टिकोण, व्यवहार कस्तो छ ? त्यति हेरे पुग्छ भनिन्छ । ‘मनमाया अर्थात् मनमायाहरू’ले नारीमाथिको शारीरिक शोषण, उत्पीडन र हैकमको सजीव तस्बिर उतार्न चाहेको छ । सामन्ती समाजमा नारी उत्पीडनले सीमा नाघेको थियो । तर, आधुनिक भनाउँदो पुँजीवादी समाजमा नारी उत्पीडनका जल्दाबल्दा समस्याहरू देखिएका छन् । तर, यथार्थ के हो भने– जबसम्म सम्पत्ति र उत्पादनका स्रोतहरूमाथि नारी र पुरुषको समान अधिकार हुँदैन, तबसम्म पुरुषले नारीमाथि भावनात्मक शोषण र उत्पीडन गर्ने क्रम पनि रोकिँदैन ।
‘विष्णुमाया अर्थात् विष्णुमायाहरू’ भने सहरी परिवेशमा भिज्दै गएकी आधुनिक नारीको भावना समेटिएको कविता हो । सहरमा संघर्षशील जीवन बाँचिरहेका नारीहरू ग्रामीण भेगका नारीभन्दा केही हदसम्म भिन्न छन् । उनीहरूले स्वतन्त्रताको अनुभूति सँगाल्न पाइरहेका छन् । प्रविधिको उच्चतम विकासलाई सदुपयोग गर्न पाइरहेका छन् । फेसबुकमा मित्रहरू थप्न पाइरहेका छन् र ती मित्रहरूसँग संवादमा व्यस्त हुने अवसर पनि बटुलिरहेका छन् । कवि लेख्छन्, ‘विष्णुमाया अर्थात् विष्णुमायाहरू
हरेक साँझ, हरेक बिहान
जीवनसँग सौदाबाजी गरेर
आफ्नो निश्चल मायालुलाई
काल्पनिक फेसबुकसँग दाँजेर
आफैलाई बिर्सन पुगेकी छे’
हरेक मानिसको आफूलाई जन्म दिने आमाप्रतिको अनुभूति विशिष्ट हुन्छ । ‘आमा’ मा आमाप्रतिको तिनै विशिष्ट अनुभूति छताछुल्ल पोखिएको छ । हरेक आमाले आफ्ना सन्तानप्रति स्नेह, माया, सद्भाव अर्पण गर्नु सामान्य पक्ष हो, सन्तानप्रतिको दायित्वबोधलाई पनि उत्तिकै ग्रहण गरेका हुन्छन् । ‘आमाको मायाभन्दा ठूलो माया संसारमा अरु छैन’ भन्ने यथार्थलाई उक्त कविताले पछ्याउन चाहेको छ ।
कुनै पनि परिवर्तनपछि जनतामा अपेक्षा चुलिनु स्वाभाविक हो । तर, नेतृत्वले जनअपेक्षामाथि कुठाराघात गर्न थालेपछि भने चौतर्फी निराशाका बादल मडारिन थाल्ने गर्छन् । जनताले राजतन्त्रलाई चिहानमा पुरेर देशमा गणतन्त्र स्थापना गरेको पनि एक दशक नाघिसक्यो । एक दशकको अवधिमा हिजो परिवर्तनको पक्षमा उभिएका र परिवर्तनलाई लल्कार्ने दुवै शक्तिले सत्ताको मीठो स्वाद चाखिसकेका छन् । तर, कतिपय जनअपेक्षाहरू अझै पनि बन्धकीमा परेका खेतबारीजस्तै भएका छन् । हिजो परिवर्तनका पक्षमा उभिएकाहरू निराश बन्दै गइरहेको संकेत उनका दुई कविता ‘वीर सपुतहरूको सपना’ र ‘सत्ता मोह’ले गर्दछ । कवि लेख्छन्,
‘हजारौं दर्शनलाल यादवहरू
प्रद्युम्न खड्काहरू
हजारौं सेतु विकहरू
बितँतिरहेछन् मृत्युको चिहानबाट
तिम्रो सक्कली रूप नियालिरहेछन् र
पर्दाफास गरिरहेछन्’
‘फूलहरू’मा भने देशभक्तिका अंशहरू सल्बलाएका छन् । हिजोका दिनमा फूललाई स्याहार–सुसार गर्ने मालीहरूले कल्पना गरेका थिए, देशमा परिवर्तनको फूल फुल्नेछ, जनताले सुखद अनुभूति गर्न पाउने छन् । तर, परिवर्तनको चाहना राख्नेहरूले सोचेजस्तो परिवर्तनको अनुभूति गर्न पाएनन् । यही जनपीडालाई उजागर गर्ने कार्यमा कवि अग्रसर देखिएका छन् । ‘म र मेरो देश’मा पनि देशप्रतिको चिन्ता पोखिएको छ । परिवर्तनको मसाल बाल्नेहरूले गलत बाटो पछ्याएकोमा कवि चिन्तित मात्र देखिँदैनन्, निराशाका चाङहरू लगाउन पनि उत्तिकै तत्पर देखिएका छन् । निराशाबोधले भरिपूर्ण उक्त कवितामा उनी सिधै भन्छन्,
‘जनताको दिनचर्या नबदलिने
राज्यको समृद्धि र विकास नहुने
बेतालको मादलजस्तो
बेसुरको सारंगीजस्तो
आश्चर्यलाग्दो÷अचम्मलाग्दो
यो के भयो
म अर्थात् मेरो देश’
मूलतः कवि बर्तौला चिन्तन र चिन्ता दुवैमा डुब्ने सर्जक हुन् । उनको चिन्तनको आयाम फराकिलो छ । देश–प्रेम र चिन्ता, समाजका विकृति, शासनको नेतृत्वमा रहनेहरूको असक्षमता, राजनीतिक खिचातानी, नारीमाथि बढ्दो भावनात्मक शोषण र उत्पीडन– यिनै विषयहरूमा कविको चिन्तनको क्षितिज खुलेका छन्, कविले आफूलाई अभिव्यक्त गर्ने दिशा पहिल्याएका छन् ।
कृति ः राष्ट्र उद्गार
विधा ः कविता
कवि ः राम बर्तौला ‘आँसु’
प्रकाशक ः सनिता फुल्लेल
पृष्ठ ः ७८
मूल्य ः ३००।–
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply