18th January 2018, Thursday

E-budhabar

वाम गठवन्धन भयो भन्दैमा अधिनायकवाद हुन्छ भन्ने कुरा ठीक होइन



नीलाम्बर आचार्य, राजनीतिक विश्लेषक
० चुनावी परिणामलाई कसरी लिनुभएको छ ?
– चुनावी परिणामलाई मैले लोकतन्त्रको सुदृढीकरण, नेपालको सबलीकरण, संविधान कार्यान्वयनमा महŒवपूर्ण योगदान र साँच्चै भन्नुहुन्छ भने कार्यान्वयन सम्पन्नताका साथसाथै नेपाल इतिहासको नयाँ चरणमा प्रवेश गरेको रूपमा हेरेको छु ।
० वाम गठबन्धनका पक्षमा जसरी यो लहर आयो, त्यो प्रत्यासित नै हो कि होइन ?
– चुनावको परिणाम चाहिँ जे आयो त्यसले मुलुकमा तीनवटा पार्टीबीच राम्रो सम्बन्ध हुनुपर्छ, तीनवटा पार्टी नै मुलुकका मुख्य शक्ति हुन, यिनीहरूले अरूअरूलाई पनि साथमा लिनुपर्छ र मुलुकलाई एकताबद्ध गर्नुपर्छ भन्ने कुरालाई पुनःस्थापित गरिदिएका छन् । यी तीनवटा पार्टीका बीचका समीकरणचाहिँ फेरिएको छ । किनकि, एमाले पहिलो पार्टीका रूपमा देखियो, माओवादी दोस्रो पार्टी र कांग्रेस तेस्रो पार्टी भयो । वाम गठबन्धन पहिलो शक्तिका रूपमा देखियो भने कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन दोस्रो शक्तिका रूपमा देखियो । ऊ अब हुने सत्ता समीकरणका विपक्षी शक्तिका रूपमा देखियो । उनीहरूका बीचमा जे–जति ठूलो अन्तर देखियो, त्यति ठूलो अन्तर होला भन्ने मलाई लागेको थिएन । तर, वाम गठबन्धन अगाडि आाउँछ, सरकार बनाउन सक्छ भन्ने कुरा त प्रत्यासित नै थियो । त्यसैले त कांगे्रसको नेतृत्व आत्तिएको देखिएको थियो ।
० अब राजनीतिक कोर्स कसरी अघि बढ्ला जस्तो लाग्छ तपाईंलाई ?
– अब हामी सबै मिलेर संवैधानिक अभ्यास गर्नुपर्छ । त्योअनुसार नै राजनीतिक कोर्स अगाडि बढ्छ । संविधान कार्यान्वयन त भयो तर त्यो कार्यान्वयनलाई अभ्यासमा पनि ल्याउनुप¥यो । संरचनाहरू बन्लान् । जस्तो अहिले त प्रतिनिधीसभाको चुनाव भयो, राष्ट्रिय सभाको चुनाव होला । संघीय संसद आउला । प्रतिनिधिसभाबाट सरकार बन्ला । सरकारको नेतृत्व वाम गठबन्धनले नै गर्ने प्रस्टै छ । कांग्रेस विपक्षमा जाला । ऊ पनि एउटा बलियो शक्ति हो । संसदमा संख्या कम हुँदैमा काँग्रेस बलियो शक्तिका रूपमा रहेन भन्ने होइन । किनभने, देशव्यापी रूपमा उसका समर्थक तथा शुभेच्छुक रहेका छन् । त्यो उसले पाएको मतसंख्या ले नै बताउँछ । तसर्थ, लोकतान्त्रिक सम्बन्ध सत्ता पक्ष र विपक्षका बीचमा हुनुपर्छ । होला भन्ने आशा गरौं । पूर्वाधारहरू निर्माण होलान । प्रदेश र केन्द्रबीचको सम्बन्ध र व्यवहार परिभाषित गरिएला । किनकि नयाँ कुरा छ । चुनौतीहरू आउलान् । चुनौतीहरू प्रशस्तै छन् । तर, जसरी निर्वाचनको परिणाम आयो, बलियो शक्तिका रूपमा वाम गठबन्धन आएको छ । यसले विद्यमान चुनौतीहरूलाई पार गर्न सक्ला भन्ने आशा गर्ने ठाउँ छ । मुख्य कुरा गठबन्धनलाई व्यवस्थित गर्नुप¥यो । बलियो पार्नुप¥यो । पार्टीलाई बलियो पार्नुप¥यो । कांग्रेसले पनि पार्टीलाई बलियो पार्नुप¥यो । अब मुद्दालक्षित, उद्देश्यलक्षित, सिद्धान्तलक्षित, कार्यक्रमलक्षित बहस हुनुप¥यो । र, मुलुकलाई समृद्धितिर, विकासतर्फ, सामाजिक न्यायतिर र निर्माणलाई अगाडि बढाउनेतिर व्यवहारतिर अगाडि लैजानुप¥यो ।
० अब यो परिणामले राजनीतिक स्थायित्व र आर्थिक समृद्धि देला त ?
– त्यो व्यवहारबाट हेर्नुपर्छ । राजनीतिक स्थायित्व त आफैंमा उद्देश्य होइन । उद्देश्य त विकास हो, समृद्धि हो । जनताको जीवन स्तरमा सुधार हो । सामाजिक न्याय हो । जनताकेन्द्रित विकास हो । जो अशक्त छन्, पछाडि पारिएका छन्, चाहे मानिस समुदाय हुन्, चाहे भैगोलिक क्षेत्र हुन्, तिनलाई माथि उठाउने हो । आर्थिक समृद्धि ल्याउने हो । सांस्कृतिक समृद्धि ल्याउने हो । सामाजिक सद्भाव बलियो पार्ने हो । राष्ट्रिय एकता बलियो पार्ने हो । उद्देश्य त यी हुन् । त्यसैले, पाँच वर्षसम्मको सोच राखेर शासन चलाउने हो भने त्यसले यी सबै कुरामा ध्यानकेन्द्रित गर्न सक्छ । आफूलाई जोगाइराख्न, बाँचिराख्न मात्रै केन्द्रित गर्दा अन्य कुरा उपेक्षित हुन जान्छन् । अब त पाँच वर्षसम्म कुनै खतरा छैन अगाडि बढ्न सकिन्छ भनेर अन्य कुरामा पहिलो ध्यान दिन सक्छ भन्ने मात्रै हो । स्थायित्वका लागि स्थायित्व चाहिएको होइन कि परिणाम दिन स्थायित्व चाहिएको हो ।
० विपक्षीहरूले भन्दै आएको जस्तो वाम गठबन्धनले साँच्चै अधिनायकवाद ल्याउला त ?
– यो वाम गठबन्धन लोकतान्त्रिक अभ्यासका विरुद्ध आएको हो कि वाम गठबन्धन लोेकतान्त्रिक अभ्यास गर्न आएको हो ? लोकतान्त्रिक अभ्यासमार्फत बलियो हुने र फेरि लोकतन्त्रलाई खतरा पुग्ने भन्ने त कुरा मिल्दैन नि । त्यसैले वाम गठबन्धन लोकतान्त्रिक अभ्यासमार्फत सत्तामा जान सकिँदो रहेछ, लोकतान्त्रिक अभ्यासमार्फत विकासमा योगदान पुयाउन सकिँदो रहेछ, नेतृत्व गर्न सकिँदो रहेछ भन्ने देखिइसकेपछि ततपश्चात् लोकतान्त्रिक अभ्यासलाई छोडेर अन्यत्रतिर जाने भन्ने कुरालाई अब सैद्धान्तिक रूपमा चाँहि एकदम धेरै बलियो भयो भने वाम के दक्षिणपन्थी रूपमा प्राधिकारवादमा जान्छन् । अहंकार बढी भयो भने त्यो बेग्लै कुरा हो, तर वाम गठबन्धन भयो भन्दैमा त्यसमा अधिनायकवाद हुन्छ भन्ने कुरा ठीक होइन । वाम गठबन्धनमा माओवादीले त हिंसा छाडेर आएको हो नि । हिंसामार्फत सत्ता कब्जा गर्न सकिँदो रहेनछ भन्ने बुझेर नै उनीहरू शान्ति प्रक्रियामा आएको हो । संविधानसभाको निर्वाचनमा आएको हो । संसदीय निर्वाचनमा आएको हो । त्यसैले, अहिले त एउटा व्यवस्था छ हाम्रो । चुनाव मात्र होइन कि, एउटा राज्य प्रणाली छ, त्यो राज्यप्रणालीभित्र वाम गठबन्धन आएको हो । त्यो राज्यप्रणालीविरुद्ध वाम गठबन्धन आएको होइन । त्यसैले, वाम गठबन्धनकै कारणले असधिनायकवाद आउँछ भन्ने कुरा पुरानो कम्युनिस्ट सोच हो । त्यसैले वामपन्थीहरूले पनि हामी आयौं, अब सर्वहारा अधिनायकवाद लागू गर्न सक्छौं भन्छन् भने त्यो पुरातनपन्थी सोच हो । त्यस्तै, अरूहरूले पनि वाम गठबन्धन आयो, अब स्टालिनका अनुसार चलाउँछन् भन्ने हो भने तिनीहरू पनि पुराना सोचका हुन् । अब त एक्काइसौं शताब्दीअनुसार सोच्नुप¥यो । देशको अवस्थाअनुसार सोच्नुप¥यो ।
मुलुकमा फेरि वाम शक्ति मात्र छन भनेर अहंकार आयो भने त्यो सोच पनि गलत हुन्छ । एमाले र माओवादी मात्र छैनन । कांग्रेस पनि छ, अन्य छन् । नागरिक समाज छ, सञ्चारमाध्यम छन्, मुलुकको ऐतिहासिक शक्ति छ । पटकपटक जनताले आफ्नो शक्ति देखाएका छन् । त्यसैले जनताको चाहनाअनुसार वाम गठबन्धन अगाडि बढ्यो भने त त्यो लोकतान्त्रिक नै हुन्छ नि ।
० एमाले र माओवादी यो निर्वाचनपछि एकीकरणसम्मको हिसाबले अगाडि बढेको भनिएको छ, सम्भव छ तत्काल एकीकरण ?
– हामीकहाँ एउटै पार्टी त फुट र गुटमा विभाजित भएको देखेका छौं भनेपछि एमाले र माओवादीलाई सँगसँगै गठबन्धनलाई लैजान, अझ त्यसलाई एकीकृत पार्टीका रूपमा विकसित गरेर लैजान धेरै मेहनत गर्नुपर्ने हुन्छ । नेतृत्वले सुझबुझ र सहिष्णुता देखाउन सक्नुपर्छ । समझदारी देखाउन सक्नुपर्छ । त्यसैले नेतृत्वमा रहेका एउटा व्यक्तिले मात्र होइन कि कैयौं नेतृत्वमा रहेका प्रभावकारी व्यक्तिहरूको सुझबुझमा यो चुनौतिहरू पार लगाउनुपर्छ । यो गठबन्धन भत्किन्छ कि भन्ने, गठबन्धन रहिराखे पनि एकताका लक्ष्य पूरा हुँदैन कि भन्ने चुनौतीहरू नभएका होइनन् । तर, नेतृत्वमा रहेका प्रभावकारी व्यक्तिहरूले सुझबुझ देखाए भने त्यो सहज छ किनभने चुनावी तालमेल र चुनावी गठबन्धन पनि आखिर सहज थिएन नी । गरेर देखाए । र, त्यसले परिणम राम्रौ दियो । काँही बेइमानी भएको भन्ने आरोप लाग्न सकेन । एक अर्काप्रति धोका दिए, अन्तरघात गरे भन्ने आएन । त्यसैले अगाडिको कुरालाई अगाडिको व्यवहार, सुझबुझ र बुद्धिमतामा भर पर्छ । किनभने, चुनाव जितिसकेपछि शक्तिको बाँडफाँड, सुविधाको बाँडफाँड इत्यादि हुन्छन् । त्यस्तो बेला शासन गर्न होइन, सेवा गर्न गएका हौं, त्यहाँबाट केही सुविधाका निम्ति गएका होइनौं, जिम्मेवारी र मेहनत गर्न गएका हौं भन्ने धारणा बनाइयो भने भागबन्डामा पनि त्यति छिनझप्टी हुँदैन । त्यसैले कसरी अगाडि बढ्छ, त्यो हेनुपर्ने हुन्छ । नेतृत्वले सम्हाल्ला भन्ने आशा गरौं । मुलुकले धेरै कष्ट सहिसकेको छ । अब कष्टबाट मुक्ति पाउला । जेजति चुनौतीहरू आउँछन्, ती बिस्तारै पार लाग्लान् ।
० चुनौतीहरू के–कस्ता आउलान् ?
– हिंसाहरू छिटफुट आउलान । विभिन्नखाले उग्रपन्थी, दक्षिणपन्थी, पृथकतावादीहरू रहेका छन्, तिनलाई पनि सामना गर्नुपर्ने हुन्छ । जनता र समुदायका गुनासाहरू छन् । त्यसलाई पनि सम्बोधन गर्नुपर्ने हुन्छ । तसर्थ, एकता आवश्यक छ । वाम गठबन्धनमा मा त्र होइन, वाम गठबन्धन र कांग्रेसका बीचमा पनि समझदारी आवश्यक छ । मुलुकका हितका निम्ति । त्यो कुरा नेतृत्वले सोच्नुपर्छ ।
वाम गठबन्धनभित्र नेतृत्वहकारी व्यक्तिहरूमा अहंकार नआउला । त्यस्तै काँग्रेसभित्र निराशा र द्वेष नबढ्ला । दुईबीच कटुता नबढ्ला । त्यसका निम्ति सञ्चार माध्यमले, नागरिक समाजले जोड पनि
लिनुपर्छ । र, पार्टीहरू भित्रबाट पनि जोड दिनुपर्छ ।
० अब सहज रूपमा हामी संघीयतामा प्रवेश गरेका हौं ?
– होइन, चुनौतीहरू प्रशस्त छन् । तर, त्यसलाई सामना गरेर समाधान गर्ने, व्यवस्थापन गर्ने क्षमता मुलुकले विकास गर्दै छ । यो निर्वाचन परिणामले पनि देखाएको छ । चुनौतीबिना त विकास हुँदैन, जीवन हुँदैन ।
० अब अघि बढ्न के–के अप्ठ्यारा देख्नुहुन्छ ?
– पहिले त पूर्वाधारहरू निर्माण गर्नुपयो । भौतिक पूर्वाधार, कानुनी पूर्वाधार, प्रशासनिक पूर्वाधार त्यसपछि जनशक्तिको पूर्वाधार । यि निर्माण गर्नुपर्ने रहेको छ । दोस्रो , हामी संघीयतामा गएका छौं, संघीयतामा संस्कृति निर्माण गर्नुपर्ने आवश्यकता छ । लोकतान्त्रिक संस्कृति त अहिलेसम्म हामीले निर्माण गर्न सकेका छैनौं । संघीयतामा जानासाथ सब ठिक हुन्छ भन्ने अपेक्षा जो गरिएको छ, त्यो संभव भन्दा ठुलो अपेक्षा हो । संघीयता र गणतन्त्रमा जाँदैमा , लोकतन्त्र आँउदैमा आफैंमा सबैकुरा ठिक हुँदैन । नेतृत्वले, देशले परिणामदायी काम गर्नुपर्छ । केन्द्र र प्रदेशका सम्वन्ध कसरी सुचारु राख्ने, कसरी राम्रो पार्ने भन्नेमा पनि चिन्तनशील हुनुपर्छ । प्रदेशका नाम वा राजधानीबारे विवाद हुन सक्छन । पार्टी भित्रैबाट पनि विवाद आउन सक्छन । यि विवाद रहीराख्छन । समाधान हुँदै जान्छन । नयाँ नयाँ विवाद र चुनौतिहरू आँउदै जान्छन । त्यसको सामना गर्न सक्नुपर्छ । त्यसैले त विभिन्न दृष्टिकोणलाई सामेल गरेर उचित निष्कर्षमा ति दृष्किोणलाई संगै लैजान सक्नुपर्छ ।
० अन्त्यमा आम जनतासमझ के भन्नुहुन्छ ?
– अन्त्यमा जे निर्वाचन भएको छ, त्यो मुलुकका लागि जरुरी निर्वाचन थियो । संविधान कार्यान्वयन गर्नुछ । अब यह िप्रणालीभित्र हामीहरूले सुधार गर्दै जानुपर्छ । विकास गर्दै जानुपर्छ । राजनीतिक प्रणाली बारेकै विवादलाई टुङग्याएको रूपमा कम्तीमा पनि तिनवटा पार्टीले दृढताका साथ आफुलाइृ व्यवहारमा प्रस्तुत गर्नुपर्छ । त्यती भयो भने अन्य कुरातिर राजनीतिक पार्टीहरूले ध्यान दिन सक्छन र जनतासंगको आफनो सम्वन्धलाई गाढा पार्न सक्छन । र प्रतिश्पर्धालाई स्वस्थ तुल्याउन सक्छन । निर्वाचनमा जे जति कटुता देखियो त्यो कटुता अब अतितको कुरा भयो । अब अगाडि हेनुपर्छ । अर्को कुरा निर्वाचनलाई राम्रो पार्ने दिशातिर पनि पार्टीहरूले सोच्नुप¥यो । ज्यादै खर्चिलो भो, त्यो नहोस ।

सम्पादकीय
अब समृद्धि–यात्रा
विश्व–विख्यात दार्शनिक भिक्टर हयुगोको एउटा चर्चित कथन छ, ‘जुन विचारको समय आउँछ, त्यसलाई विश्वका कुनै पनि शक्तिले रोक्न सक्दैन ।’ दशकौंपूर्व आफना गहन विचार र दर्शन छाडेर गएका हयुगोको यो कथन वर्तमान नेपालको राजनीतिक सन्दर्भमा हुबहु लागू हुन पुगेको छ । अर्थात, जुन राजनीतिक विचार अहिले नेपाली राजनीतिमा हाबी हुन पुगेको छ, त्यसलाई कुनै पनि शक्तिले रोक्न सकेनन । अरु राजनीतिक शक्तिहरूले अनेक प्रलाप गरे पनि, मोटा–मोटा तगाराहरू उभ्याए पनि र वामपन्थी शक्तिहरूको अभियानलाई अवरुद्ध पार्न हरेक प्रयत्न गरे पनि ती सबै प्रयत्न असफल सावित भए । र, प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा वामपन्थीहरूको यस्तो प्रभावशाली लहर आयो, त्यो लहरका सामु अरु शक्ति रत्तिभर टिक्न सकेनन ।
बदलिँदो समयसँगै परिवर्तनका पक्षधरहरूको समय आएको छ अब । देश र जनताको आर्थिक समृद्धिको क्षितिजलाई फराकिलो र चम्किलो पार्ने अभियन्ताहरूको समय आएको छ । यस्तो परिवर्तनशील, अग्रगामी र समृद्धिको सपना देख्ने विचारको समय आएको छ, भिक्टर हयुगोले भनेजस्तै ‘अब त्यसलाई विश्वका कुनै पनि शक्तिले रोक्न सकेन ।’ निश्चय नै, परिवर्तनको सुनौलो रेखा कोर्ने शक्ति अरु कोही थिएनन, ती वामपन्थी शक्तिहरू नै थिए । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) जस्ता शक्ति नै थिए । यस पटक वामपन्थी शक्तिहरू एउटै आँगनमा मात्र उभिएनन, देशलाई समृद्धिको चुलीमा पु¥याउने संकल्पबोध साँचेर एउटै यात्रा तय गरे । विगतका फुट, बेमेल र मनमुटावलाई वामपन्थीहरूले चौतारीमा बिसाए र जनताको घरदैलोमा पुगेर एकै स्वर, एकै लयमा प्रतिबद्धता जनाए, ‘अब हामी मिलेर आएका छौं, देशमा स्थिर सरकार दिनेछौं र आर्थिक समृद्धिका सुनौला रेखाहरू कोर्नेछौं ।’
युगौंदेखि सामन्ती उत्पीडन, शोषण, विभेद, असमानताको साङलोमा बेरिएको नेपाली समाज यथार्थतः स्वतन्त्र एवं खुला परिवेशमा विचरण गर्ने प्रयास गर्दै थियो । स्वच्छ वातावरणमा सास फेर्ने प्रयत्नमा पाइलाहरू चाल्दै थियो । सामन्ती राज्यव्यवस्थाको अन्त्यसँगै देशले गणतन्त्रको दिशामा पाइला चालेयता नेपाली समाज र जनताले त्यस्तो अपेक्षा सँगाल्नु अन्यथा थिएन पनि । लामो एवं अथक संघर्षको परिणामस्वरूप नेपाली जनताले नयाँ संविधान पाएका थिए । संविधान प्राप्तिको उत्साहमा मग्न जनताले असल जनप्रतिनिधिहरू पाउने र ती जनप्रतिनिधिहरूले देशलाई समृद्धिको शिखरमा पु¥याउने अपेक्षा साँचेका थिए । अब जनताको अपेक्षाले फल्ने र फुल्ने अवसर पाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणामपछि वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएको छ । देशको कुनाकाप्चासम्मै वामपन्थी शक्तिहरूको पक्षमा आएको व्यापक लहरले दुई ठुला दल एमाले र माओवादी केन्द्रलाई विजयको सुनिश्चितता गराएको छ । मधेसको केही सीमित भूगोलमा वाम गठबन्धनले आशातित सफलता नपाए पनि हिमालदेखि मैदानी भूभागसम्मै वाम गठबन्धनको झन्डा फहराउन पुगेको छ । विगतमा वामपन्थी शक्तिबीचको बेमेल र फुटबाट फाइदा उठाउँदै आएको नेपाली कांग्रेसजस्तो पश्चगामी शक्तिलाई यस पटकको चुनावले ‘वामपन्थीहरू मिले भने कुनै पनि शक्तिको केही जोड चल्दैन’ भन्ने गतिलो पाठ मात्र सिकाएको छैन, देश र जनताको अहितमा उभिँदा त्यसको परिणाम धेरै चर्को र मूल्यवान हुने छ भन्ने सन्देश पनि दिएको छ ।
अधिक शक्ति प्राप्तिले उन्मादको दिशा खोज्ने छ । वामपन्थी शक्तिहरूले अहिले जुन रूपमा सफलता प्राप्त गरेको छ, त्यसलाई सही र ऊर्जावान रूपले सञ्चालन गर्नुपर्ने आवश्यकतालाई कदापि नकार्न सकिँदैन । जनताले सुम्पेको विश्वासलाई जनताकै हित र उन्नतिमा खर्चिने कार्यमा वामपन्थी शक्तिहरू अब चुक्नु हुँदैन । ठूलो कुरा त, हिजो निर्वाचनका क्रममा जनतासामु जेजस्ता प्रतिबद्धताहरू व्यक्त गरिएका थिए, त्यसलाई लागू गर्नेतिर नै एमाले र माओवादी केन्द्रजस्ता शक्तिको अबको यात्राका महत्वपूर्ण खुटकिलाहरू हुने छन ।
वामपन्थी शक्तिलाई जनताले विश्वासको मत सुम्पिनुका पछाडि जनतालाई उनीहरूले दिलाएको विश्वास नै मुख्य कारण मान्नुपर्छ । चुनावको पूर्वसन्ध्यामा नेपाली कांग्रेसले ‘वामपन्थीहरूले जिते भने अधिनायकवाद आउँछ’ भनेर त्रास फैलाइरहेको बेला एमाले र माओवादी केन्द्रले भने राजनीतिक स्थायित्वको कुरा उठाए, आर्थिक समृद्धिको नारालाई घनीभूत रूपमा घन्काए । आखिर, वामपन्थी शक्तिलाई जनताले विश्वास गर्ने आधार यी दुई विषय नै बने । स्थिर सरकारको अभावमा विगतमा देशले भोग्नुपरेको दुर्दशाप्रति परिचित जनताले वामपन्थीहरूले स्थिर सरकारको मुद्दा उठाउनुलाई जायज ठाने र आफूले खोजेजस्तै शक्ति प्राप्त गरेको ठाने । स्थिर सरकार बन्ने हो भने देशले समृद्धिको दिशातिर पाइला चाल्छन भन्ने यथार्थप्रति जनता विश्वस्त रहेकाले पनि वामपन्थीहरूलाई जनताले रुचाए ।
अब एमाले र माओवादी केन्द्रजस्ता शक्तिले जनताको विश्वासमा कुनै पनि अर्थमा कुठाराघात नगरी स्थिर सरकार दिनेतिर आफूलाई उन्मुख तुल्याउनुपर्छ । आगामी पाँच वर्षभित्र देशलाई आर्थिक समृद्धिको गोरेटामा डो¥याउने गरी आफूलाई दत्तचित्तपूर्वक देशको उन्नति र विकासमा ध्यान खर्चिनुपर्छ । जनताले समृद्धि, सामाजिक न्याय र सदभावको अपेक्षा राखेका छन, त्यसलाई पूरा गराउनेतिर वामपन्थी शक्तिहरू उद्यत हुनुपर्दछ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

मौका छोपेर कर्मचारीलाई स्थायी

काठमाडौं । लुम्बिनी विकास कोषमा सदस्य–सचिव नभएको मौका छोपेर कामु सदस्य–सचिवले जथाभावी रूपमा कर्मचारीहरूलाई स्थायी गराउने तयारी थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सुस्ताउँदै छ नारी लेखन

‘गुलाफ फुलिसकेछ । कति राम्रो दुईवटा मात्र फुलेछ । कहिलेदेखि पर्खेको मैले यो पहेँलो गुलाफलाई । अझ अरू त फुलेकै छैनन् । यी नफक्रेका कोपिलालाई कति आनन्द छ अहिले । एउटा प्रगाढ निद्रा,- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

नारी संवेदनाको आसपास

पुरुषहरूको वर्चस्व रहेको समाजमा नारीले अनेक पीडा, उत्पीडन र संकटहरू बेहोर्नु आमनियतिजस्तै बन्न पुगेको छ । प्राचीन समाजभन्दा भिन्न सामन्ती समाजमा नारीले पुरुषवादी मानसिकता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा