दोस्रो चरणको निर्वाचनमा पनि एमाले नै ठूलो हुन्छ
प्रा. डा. सुरेन्द्र केसी, राजनीतिक विश्लेषक
० स्थानीय तहको निर्वाचनको पहिलो चरणको नतिजा कस्तो लाग्यो ?
– राष्ट्रिय राजनीतिमा जे विधि व्यवहारहरु गएको एकाध वर्ष यो देशमा चलेर आयो, त्यसको प्रतिक्रियामा नेपाली जनता के चाहन्छन् भन्ने अभिमत नै यो नतिजा हो भन्ने मेरो बुझाई छ ।
० यो परिणाम अपेक्षित थियो वा अनपेक्षित ?
– यो एकदम अपेक्षित थियो किनभने नेपालमा राष्ट्रिय राजनीतिमा एमाले विरुद्ध जुन किसिमको मोर्चाबन्दी राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा भइरहेको थियो, त्यसमा नेपाली जनताको या त समर्थन छैन, होइन भने एमालले जे अभियान गरेको छ त्यसको पक्षमा हामीहरु छौं भन्ने जुन नेपाली जनताको मनशाय हो, त्यो मनशाय यो निर्वाचनमा व्यक्त भएको छ ।
० यो मतपरिणामले माओवादी केन्द्रलाई बढी फाइदा भयो भनिन्छ, के साँच्चै यो परिणमको माओवादीको अनुमानभन्दा बाहिरको हो ?
–त्यती पर त जानु मलाई उचित होला जस्तो लाग्दैन उसको जे उचाइ हो, त्यो त्यो उचाई अनुरुप नै यदाकदा यताउता जोडजाड गरेर एउटा आकार उसलाई प्राप्त भएको छ । त्यो आकार ठिक होइन भनेपनि हामीले त्यो साइज ठिक होइन भन्ने तर्कतिर जानु हुँदैन । किनभने एउटा राष्ट्रिय स्तरको र विभिन्न मुद्दाहरु लिएर आएको पार्टी हो माओवादी पनि । उसको व्यवहार राजनीतिलाई रुपान्तरण गर्ने क्रममा उसले अवशरवादी व्यवहार देखायो भन्ने कुरा छुट्टै मुल्याङ्कनको पाटो हो । समग्रमा हेर्दा त नेपालको राजनीतिक शक्ति जहाँ जे हुन्, नेपाली जनताले जे जसरी आफ्नो ठाँउबाट अभिमत दिनुपर्ने थियो, त्यसको अनुकुल नै भयो भन्ने लाग्छ ।
० तपाँइको विश्लेषण पनि एमाले यो चुनावबाट पहिलो हुन्छ भन्ने थियो त ?
– मैले त एमालेको ६० प्रतिशत हुन्छ, बाँकी ४० प्रतिशत अरुले बाँडेर लिन्छन् भनेर कतिपय प्रतिक्रियाहरु दिएको थिँए । अहिले ठिक्क प्रतिशतमा के आँउछ, त्यसका लागि पुरा निर्वाचन पर्खनुपर्ने हुन्छ, तर उसले अग्रता लिइराखेको छ र वर्चश्व देखाइराखेको छ । हाम्रो आँकलन जनताको मनशाय अनुरुप नै आइराखेको जस्तो देखिन्छ ।
० जेठ ३१ गते हुने निर्वाचनलाई पहिलो चरणमा आएको नतिजाले कस्तो प्रभाव पार्ला ?
– प्रभाव पार्ने कुरा प्रश्टै छ । आउने नतिजा पनि यसै अनुरुप आउला भन्ने अनुमान गर्न सकिन्छ । किनभने राष्ट्रिय राजनीतिमा एमालेको विरुद्ध जुन किसिमको राष्ट्रिय अन्तराष्ट्रिय मोर्चाबन्दी भयो त्यो मोर्चाबन्दी विरुद्धको यो जनताको प्रतिक्रिया हो । यस्तो राजनीतिको लागि दोषभागी एमालेलाई बनाइयो जुन दोष एमालेको किमार्थ थिएन । त्यसकारण प्रजातन्त्रमा राजनीतिक दलहरुको व्यवहार कस्तो ? भन्ने लेखाजोखा गर्ने माध्यम भनेको निर्वाचन हो । त्यसकारण पहिलो जस्तै राजनीतिक रुपमा सबै क्षेत्रमा एमाले पुगेको सन्दर्भमा राष्ट्रिय राजनीतिका जे परिघटनाहरु भइराखेको प्रतिक्रियाको रुपमा अहिलेको नतिजा आइरहेको सन्दर्भमा मलाई लाग्छ दोश्रो चरणको निर्वाचनमा पनि पहिलो चरणको जस्तै नतिजा आँउछ र त्यो उल्लेख्य रुपमा भिन्दै हुँदैन ।
० अब मधेसमा निर्वाचन हुँदैछ, मधेसमा एमाले बढारिन्छ भन्ने हल्ला छ नी ?
–मधेसका जनताको के चाहना रहेछ त्यो पनि एकातिर हेर्नुपर्नेछ भने अर्कातर्फ मधेसमै पनि एमाले कमजोर पाटी हो भन्ने मलाई लाग्दैन । राजवीराजमा जे घटना भयो, त्यो घटनामा पूर्ण शक्तिका साथ एमाले त्यहाँ पुगेको र उसलाई पुराका पुरा समाप्त पार्ने भन्ने हेतु लिइएको तर उल्टै आफु समाप्त भएको एउटा दृष्टान्त मान्ने हो भने पनि २ नम्बरमै पनि एमाले कमजोर हुन्छ भन्ने तर्कहरु विद्यमान छैनन् । तर तराइका जनताको के चाहना हो त जो विदेशी थिचोमिचो सिमाामा त्यत्तिकै बढेको छ, संगसंगै अंगीकृत नागरिकहरुको वर्चश्व त्यत्तिकै बढेको छ र वनसाङ्लाहरुले घरसाङ्ला उल्टो दुख दिएको, विश्थापित गर्न खोजेको भन्ने कुराहरु पनि छन्, ति कुराहरुमा मधेसका भूमिपुत्रहरुको, मधेसका नेपाली जनताहरुको के छ, पहाड मधेसको सन्दर्भमा जनता के चाहनछन्, यसको समष्टीगत अभिमत परिक्षण गर्ने मञ्चको रुपमा दोश्रो चरणको निर्वाचन हुन गइरहेको छ, । त्यसकारण एमाले आफ्नै संगठनात्मक कारणले २ नम्बर क्षेत्रमा बलियो देखिन्छ भने अर्कातर्फ मधेसका जनतालाई हेनुपर्ने परिक्षका रुपमा पनि यसलाई लिनुपर्नेछ । जुन कुराको अबको डेढ महिना जति पछि दुधको दुध पानीको पानी छुट्टीन्छ ।
० चुनावको लागि भएको तालमेल प्राकृतिक थियो कि अप्राकृतिक ?
– गठवन्धनलाई मतदाताले स्वीकारेनन् भन्ने प्रष्टै देखिन्छ र हामीले सुरुदेखि भन्दै आएका हौं, गठवन्धन लगायत चुनावी कुराहरुमा नेपाली राजनीतिक दलहरुमा जुन तालमेल भयो, त्यो पूर्णत अशोभनीय, असैद्धान्तीक र कतिपय अवस्थामा अनैतिक ढंगको देखिँदै आएको छ । जनताले पनि त्यसरी नै अभिमत दिएको देखिन्छ , जस्तो ललितपुरमा उपमेयरमा एमालेको उमेद्वार नै छैन तैपनि ठुलो संख्याको मत सुर्यमा गएको छ । भारतको दृष्टान्त लिँदा पनि त्यहाँ विजेपी र माक्र्सवादीबीच कहिल्यै कुनै पनि खालको तालमेल हुँदैन, बरु माक्र्सवादी र काँग्रेसकोबीचमा हुन्छ, अहिले पनि छँदैछ । नेपालमा चाँही कम्युनिष्ट भन्नेहरु सबैभन्दा पश्चगामी शक्तिसंग गएर गठवन्धन गर्ने ? अहिलेकै कुरा गर्नुहुन्छ भने पनि प्रचण्डको टाउकाको मुल्य तोक्ने पनि शेरबहादुर, प्रचण्डको सरकारको आधार अर्थात वैशाखी पनि शेरबहादुर । दोस्रो सत्ता हेरफेरको प्रक्रिया आँउदैछ भन्ने छ । त्यसमा माओवादी पनि सामेल हुने र समर्थन गर्ने शेरबहादुर प्रधानमन्त्री हुने । यो गठवन्धनले तात्विक रुपमा कसैलाई फाइदा गरेको देखिँदैन । यो अपवित्र गठवन्धनको रुपमा अगाडि आएको छ । नेपालका राजनीतिक दलहरुले यसबाट सिक्नुपर्छ । मुद्दा आधारीत एकताको पक्षमा, विचार र चरित्र आधारित एकताको पक्षमा गठवन्धनको पक्षमा, चुनावी तालमेलको पक्षमा यिनीहरुले पमिार्जीत भएर अगाडि बढ्नुपर्छ । होइन भने जनताले त्यसलाई अस्विकृृत गर्छन् । कतिपय अवस्थामा दण्डित पनि हुन सकिन्छ । राजनीतिक दलहरुले यसलाई कसरी लिन्छन्, त्यो हेनुपर्छ ।
० माओवादी र एमालेबीच भएको भए दुबैलाई फाइदा हुने खालको नतिजा आँउथ्यो त ?
– त्यस्तो खालको परिक्षण पनि हामीले मतदाताहरुको बीचमा गरेका छैनौं । त्यस्तो पृष्ठभूमि हाम्रो छैन । तर स्वभाविक कुरा के भने दार्शनिक रुपमा एउटा विचारमा रहेका संगठनहरुको बीचमा चुनावी लगायत अन्य तालमेलहरु भए भने त्यो अश्वभाविक हुँदैन । त्यो चाँही जनताको चाहनाको अनुकुल पनि हुन्छ र वामपन्थीकै कुरा गर्ने हो भने नेपालको अधिकांश मतदाताहरु वाम रुझानका छन् र गएको पहिलो संविधानसभामा ६२ प्रतिशत वामहरुको वर्चश्व आएको थियो । वामपन्थीहरुले ठिक ढंगले मिलेर भूमिका नखेलेपछि दोस्रोमा घटेको थियो । त्यसकारणले कसरी यो वाम रुझानलाई व्यवस्थापन गर्ने भन्ने चुनौती वामशक्तीहरुको बीचमा छ । तर समग्रमा यतिसम्म भन्न सकिन्छ की सैद्धान्तीक दार्शनिक आधामा ध्रुवीकरण हुनु र चुनावी गठवन्धन हुनु धेरै सहज र स्वभाविक लाग्छ । त्यो भन्दा पर गएर कुनैपनि किसिमको गठवन्धन हुनु चाँही अश्वभाविक र अनैतिक लाग्छ । त्यसप्रति आलोचनात्मक दृष्टिकोण नै राख्नुपर्ने हुन्छ ।
० वामहरु मिल्नुपर्छ भन्ने आम मतदाताको चाहना भएपनि मिल्न नसक्नुको के वाहिरी तत्वको प्रभाव हो ?
– राजनीतिक रुपमा वाहिरी प्रभाव भन्न मिल्दैन । राजनीतिक रुपमा भित्री प्रभाव नै सबै परिघटनाको कारक तत्व रहन्छ । तर वाह्य प्रभावको वर्चश्व हुने नेपालको आन्तरिक राजनीतिक परिवर्तनमा बाह्य तत्व निर्णायक र महत्वपूर्ण भएर रहँदै आएको पृष्ठभूमि छ । जस्तो २०४६ को आन्दोलन, २०६२–०६३ को जनआन्दोलन, माओवादी जनयुद्ध हरेक सन्दर्भमा बाहिरी पक्ष निर्णयक रहँदै आएको छ नेपालको राजनीतिक सन्दर्भमा । त्यो सन्दर्भमा यस्तो भनिएको हो । तर सैद्धान्ति रुपमा राजनीतिक शक्तिहरुको तालमेल र गतिविधीमा आन्तरिक राजनीतिक शक्तिले नै उल्लेख्य काम गरेको हुन्छ । नेपालको विशिष्ट परिस्थितिमा वाह्य राजनीतिक शक्तिको चलखेल र प्रभाव हस्तक्षेप हुनु राजनीतिक भन्दा पनि वाह्य परिघटना मात्र हो । यहाँको भूराजनीतिले गर्दा निर्णयक हुन पुगेको मात्र हो । तर राजनीतिक रुपमा त्यसो भन्न मिल्ने कुरा हुन्न ।
० स्थानीय निकाय बढाउने निर्णयलाई कसरी लिनुभएको छ ?
– यो विल्कुलै असुहाँउदो कुरा हो । तर असुहाँउदो कुराहरु नै यो देशमा भइरहेका छन् । गठवन्धनकै कुरा असुहाँउदो भइरहेको छ । त्यो अपवित्र र अनैतिक भइराखेको छ । प्रचण्डको अभिव्यक्ति नै मधेसवादीकै कारण म यहाँसम्म आए, उहाँहरुले मागेको कुरामा म सकारात्मक छु भन्ने किसीमले खुलमखुला आइरहेको छ । तर यो निर्णय आचारसंहीताको विपरीत हुन्छ । जसलाई जे चाहिन्छ, त्यसलाई दिँदै वितरण गर्दै जाने हो भने त्यसले राजनीतिक अन्यौल र अस्थिरता बढाँउछ । अविश्वास र समस्यालाई बढाँउछ ।
नेपाली राजनीतिक दलहरुले सत्ता स्वार्थका लागि विदेशी लम्पट भएको देखिन्छ, यो पनि त्यही एउटा लम्पटताको प्रमाण हो । यो आवश्यक पनि होइन, यसको औचित्य पनि छैन । विदेश भक्ति र राजनीतिक दलहरुलाई आफ्नो सत्तास्वार्थका निम्ति तुष्टीकरण गर्ने नीति मात्र हो ।
० स्थानीय चुनावसंगै सत्ता हस्तान्तरणको कुरा आएको छ, नयाँ कोर्षमा राजनीति जान्छ भन्नेहरु पनि छन्, चुनाव अब हुन्न भन्नेहरु पनि छन्, के विक्ष्लेषण गर्न सकिन्छ ?
– मधेसवादीहरुले चाहे अनुसार भयो भने चुनाव हुुन्छ, अन्यथा हुँदैन । यो मैले पहिले देखि नै भन्दै आएको छु । संगसंगै विदेशी शक्तिको चाहना भनेको अस्थिरता, अन्यौल र अस्तव्यस्थतालाई यथावत राखेर अझ नेपाल र नेपालीकोबीचमा द्धन्द र विषमता पैदा गरेर त्यही ग्रान्ड डिजाइन अन्तर्गत यो देश सिध्याउने खेल को राजनीति नेपालमा अहिले चलिराखेको छ । तसर्थ भुमाएर फिराएर चुनाव गरेपनि नगरेपनि राजनीति त्यहीतिर जान्छ भन्ने मेरो पुरानो दष्किोणमा म कायमै छु । अब यो सत्ता परिवर्तन गर्ने कुरामा गठवन्धन पक्षको भनिएको भद्र सहमति कायम रहे भने यो पनि सहज तरिकाले अगाडि बढ्छ, होइन भने एमाले र काँग्रेसको विगतको भद्र सहमति तोडिएजस्तै हुन पनि सक्छ । विगतमा शुसील कोइरालाले बेइमानी गरेर काँग्रेस एमालेको सहमति तोडियो, अहिले प्रचण्डले नै त्यसो गरे पनि कुनै अनौठो हुने छैन, तर अहिलेसम्मको आँकलन हेर्दा उनीहरुको भद्र सहमति कार्यान्वयन हुनेतर्फ नै राजनीति जानेजस्तो मदेख्छु ।
शान्तराम बिडारी
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply