नक्कली अनशन बसेर इमोसनल ब्ल्याकमेल गर्न पाइँदैन
प्रा.डा. रामप्रसाद उप्रेती पूर्वप्रमुख, त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान० डा. गोविन्द केसीको लगातारको अनशनका बाबजुद प्रतिनिधिसभाले चिकित्साशास्त्र शिक्षासम्बन्धी विधेयक पारित गरेको छ, यसलाई कुन रूपमा लिनुभएको छ ?
अहिलेको सरकारको र अहिलेको संसद्को यो मुभमेन्टलाई हार्दिक स्वागत गर्न चाहन्छु । यस्तो बोल्ड निर्णय अलि अगाडिका सरकारहरूले पनि गरेर अघि बढ्नुपथ्र्यो । अनशन कुनै पनि समस्याको समाधान होइन । अस्पतालमा डाक्टरले अनशन बसेर वा एक किसिमले भन्दा इमोसनल ब्ल्याकमेलिङ गरेर च्याँखेमा पारेर लिइने कदम गलत थियो । तर, योभन्दा अघिका सरकारहरू लुरुक्क पर्ने गर्थे । त्यहाँनेर मेडिकल एसोसिएसनको दादागिरी थियो । त्यसकारण अनशन सुन्दै गर्ने र सम्झौतामा जाने, पु¥याउनै नसकिने मागहरूमा सम्झौता गरिने चलन चल्यो । तर, यसपटकका निर्णयका खातिर म नेपाल सरकार, संसद र सम्पूर्ण सांसदज्यूहरूलाई यो विधेयक पारित गर्नुभएकोमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।
० तर तपाईंहरूको छाता संस्था नेपाल मेडिकल एसोसिएसनले नै विरोध गरिरहेको छ नि ?
यो बोल्ड निर्णयबाट हामी चिकित्सकहरू ज्यादै खुसी भएका छौं । नेपाल मेडिकल एसोसिएसनले राजनीतिक पूर्वाग्रह राखेको छ । हामी त्यो पूर्वाग्रही कदमको पनि विरोध गरेका छौं । म पनि मेडिकल एसोसिएसनको आजीवन सदस्य हुँ । म देशैभरिका चिकित्सकहरूलाई के विनम्र अनुरोध गर्छु भने ती बिरामी थिएनन् भने तपाईं–हामी डाक्टर हुन सक्दैनथ्यौं । तिनीहरूले जाँच्न दिएर, अप्रेसन गर्न दिएर नै आज हामी डाक्टर भएका हौं । त्यसैले हामीले कसैलाई मान्नुपर्छ भने बिरामीलाई मान्नुपर्छ । डाक्टर पढिन्जेल बिरामी जाँच्ने, बिरामी जाँच दिएको बापतबाट डिग्री दिने अनि पास भएर आइसकेपछि एउटा कोही व्यक्ति रहरले अनशन बसेको छ भन्दैमा त्यसका नाममा आफ्ना सेवाहरू बन्द गर भन्छ भने यसमा घोर आपत्ति छ । त्यसो गर्न पाइँदैन । गोविन्द केसीको जस्तै अरू विरामीको पनि ज्यान उत्तिकै हो । आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गर्ने भन्ने त्यो नाटक हो । अन्त्यमा इमरजेन्सी पनि प्रभावित हुन्छ । ओपीडीका बिरामीको लोड एमरजेन्सीमा जान्छ । इमरजेन्सीमा पनि हुन सक्दैन । त्यसबेला जे पनि हुन सक्छ । यो गम्भीर कुरा छ । यहाँ मेडिकल हकहितको कुरा आएको छैन ।
० डा. केसीसँग पहिले सरकारका तर्फबाट गरिएको सम्झौता तोडेर यो विधेयक पारित गरेको भन्दै प्रतिपक्षी दलले पनि तीव्र आलोचना गरेको छ नि ?
यहाँ केही पनि सम्झौता तोडिएको छैन । बुझाइमा भएको गल्ती हो । उहाँहरूले आफ्नै किसिमको व्याख्या गर्नुभएको छ । पहिलो कुरा त मलाई व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने यस किसिमका सम्झौताहरू गरिराख्नुपर्ने जरुरी थिएन । अस्पतालमा अनशन बस्छन्, जबकि सर्वोच्च अदालतले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा अनशन बस्नुहुँदैन भनेर परमादेश जारी गरिसकेको छ । कानुनको उल्लंघन गर्दै कोही मान्छे अनशन बस्छ भने त्यस्ता मान्छेलाई त्यहाँबाट मुन्ट्याउनुपथ्र्यो । अस्पताल भनेको बिरामी जाँच्ने ठाँउ हो । चिकित्सकहरूको पठनपाठन गर्र्नेे ठाउँ हो । त्यहाँ अनशन बस्न दिइयो, त्यो हामीलाई चित्त बुझेकै थिएन ।
० तर त्योबेला केही बोल्नुभएन त ?
हामी बोल्न सक्ने अवस्था नै थिएन । बोल्यो कि माफिया भनेर डाम्ने अनि केही बिग मिडिया हाउस र अरु ‘सो कल्ड’ केही मानवअधिकारकर्मीहरूको एकोहोरो पेलान थियो ।
० स्पष्ट भनिदिनुस् न ती को–को थिए ?
अस्ति इलाममा को–को जानुभएको थियो, स्पष्ट नै छ नि ! दमन ढुंगानाजीहरू, सुशीला कार्कीजीहरू, सुन्दै छु अनमिनका इयान मार्टिनहरू पनि पुग्नुभएको रहेछ । नेपाललाई कमजोर पार्ने निश्चित डिजाइनबाट यो खेल चालिएको रहेछ । नेपालका प्रमुख संवैधानिक निकायहरूलाई कमजोर पार्ने, मानमर्दन गरिदिने, अस्पतालमा अनशन बसेर ‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश माफिया हो, त्यसलाई निकाल्छु’, ‘प्रधानमन्त्री माफिया हो, त्यसलाई निकाल्छु’ भन्ने यस्तो अराजक किसिमको गतिविधि भइराखेको छ जुन गतिविधि हामीलाई पटक्कै चित्त बुझेको थिएन । मैले त अनशनको आठौंपटकदेखि टेलिभिजनमा सार्वजनिक रूपमा बोलेर अनशन छारस्ट पारिदिएको हुँ । र, यो अनशन पनि होइन ।
० किन अनशन होइन भन्नुभयो ?
अनशन होइन नि । यो अनशनको नाममा नक्कली अनशन हो । मजासँग बेडमा बस्ने, डिप लगाएको छ, भिटामिन्सहरू गएको छ, माइक्रोन्युटिन्सहरू गएको छ, मोनिटरीङ भएको छ, सबै डक्टरहरू, नर्सहरू वरिपरि राखेर मजासँग इन्टरनेट हेरेको छ । यस्तो पनि अनशन हो । त्यसलाई अनशन भनिन्छ ? अस्पतालको आइसीयू बेड भनेर गम्भीर बिरामीहरूका लागि हो । रहर गरेर बस्ने कोही डाक्टरका लागि होइन त्यो । उहाँलाई त प्रोटेक्सन छ ।
० गोविन्द केसीका मागबारे चाहिँ के प्रतिक्रिया छ ?
उहाँले मागहरू थप्दै लानुभएको छ । जनयुद्धका फलानालाई कारबाही गर, निर्मलाको हत्यारा पत्ता लगा भन्छ भने राजनीतिक कुराहरू उहाँले ल्याउनुभएको छ । त्यही राजनीतिक कुराका पछाडि यदि मेडिकल एसोसिएसन जान्छ भने सो एसोसिएसनको अहिलेको लिडरसिपमा हाम्रो प्रश्नचिह्न खडा हुन्छ । राजनीति नगरौं, आफ्नो व्यवसायीकताभन्दा बाहिर नजाऔं । यदि यस्तो संस्थामा बसेर पार्टी विशेषका लागि राजनीति गर्नुहुन्छ भने यो एसोसिएसन खारेज हुनुपर्छ । काम छैन यसको । विशुद्ध व्यावसायिक भएर मात्रै बस्ने हो यसमा ।
० डा. केसीलाई लोभलालच नगर्ने, सादगी भन्छन् त ?
त्यो होइन । भनाइ मात्रै हो । अहिलेका विग मिडीयाहरूले देखाएको भ्रम हो । हो, उहाँले बिहे गर्न सक्नुभएन । उहाँले घर व्यवहार जोडन सक्नुभएन । त्यो उहाँको कमजोरी होला, मलाई थाहा छैन । उहाँले मास्टर डिग्री स्कलरसिपमा बंगलादेशमा पढेको हो । यदि उहाँ नैतिकवान् हुनुहुन्थ्यो भने त्यतिखेरको स्वास्थ्य मन्त्रालयले उहाँलाई जिल्लामा खटाउन खोज्दाखेरी भागेर हिँडनुभएको हो । त्यसो हुनाले उहाँले त्यो पैसा नेपाल सरकारलाई तिर्नुप¥यो । भागेर टिचिङ हस्पिटलमा आउनुभएको हो उहाँ । खै त उहाँको नैतिकता ? अर्थोपेडिक सर्जन हो उहाँ । अहिले सिटामोल बाँड्दै खोला तरेका, लौरो टेकेका तस्बिरहरू निकाल्नुहुन्छ उहाँ । उहाँलाई इमोस्नल ब्ल्याकमेल गर्छु र यसरी सेलिब्रेटी पल्टिन्छु भन्ने लागेर योजना बनाएर नै उहाँले त्यसरी फोटा खिच्दै हिँडनुभएको रहेछ । देशमा थुप्रै यस्ता डाक्टरहरू छन्, जसले धेरै उदाहरणीय कामहरू गरेक छन् । कसैले पनि यसरी फोटो खिचेर रेकर्ड राखेका छैनन् । किनभने, डाक्टरको काम भनेको सेवा गर्ने हो, त्यसैका लागि हामी पढ्न आएका हौं । त्यसकारण कुनै पनि हिसावले उहाँ राजनीतिक ढंगले आइरहनुभएको छ । उहाँ के हो भन्ने कुरा उहाँको राजनीतिक पृष्ठभूमि पनि हेरौं । उहाँलाई मान्छेले निहित स्वार्थका लागि गोटी बनाएका छन् र उहाँ गोटी बन्नमा पनि मजा मान्नुहुन्छ । चुनावमा त सिधै गगन थापालाई भोट हाल । कांग्रेस ठीक हो भनिसक्नुभएको थियो । उहाँ कम्युनिस्टलाई देखिसहनुहुन्न । कम्युनिस्टको दुई तिहाइ बहुमत भएको हुनाले उहाँलाई जलन भएको छ ।
० त्यसो भए प्रतिपक्षी पार्टी कांग्रेसले उहाँलाई आगोको भुग्रोमा हालेर राजनीतिक दाउपेच पूरा गर्न खोज्दै छ ?
स्पष्ट हो नि । गोविन्द केसीजस्तालाई देखाएर विवेकशील साझा पार्टीजस्ता आएका हुन् नि ! अहिले बाबुराम भट्टराईजी पनि त्यहाँ मलजल गर्न पुग्नुहुन्छ । अहिले कांग्रेस पनि एजेन्डाविहीन भएको छ । धेरै जस्तो सरकार उसैले बनाएको हो, आफ्ना पालमा भुत्लोभाङ केही गर्नु छैन । देशका कलकारखाना, उद्योगधन्दा सबै माटोमा मिलाइएका छन् । यो कम्युनिस्ट सरकारले केही राम्रो काम गर्ला र ५० वर्षसम्म सत्ता नआउला भन्ने कुराको छटपटी हो त्यो ।
० राज्यबाट तलब खाइरहेको कर्मचारीलाई सरकारले पनि अलि पेल्न नसकेको हो कि ?
हो , पेल्नुपथ्र्यो । त्यसरी राज्यको काम नगरी सरकारको तलब खाएर सरकारलाई नै गाली गर्न उनले मिल्दैनथ्यो । उनले पहिलोपटकको अनशनको पहिलो दिनबाटै बिदा लिनुभएको छ । उहाँलाई बोक्ने केही मिडिया हाउसहरू छन् । विदेशी शक्तिहरूको एउटा समूह रहेछ, जसले नेपाललई तजसनहस पार्ने । त्यसैले उनीहरूले डा. केसीलाई प्रभावित पारेका रहेछन् । हिरो पनि हुन पाइयो । मिडियाले पनि ‘हाइ’ भन्छन् । जताततै उनको क्रेज छ । उनले त यती धेरै बोल्न थाले कि अहिले त प्रधानमन्त्री निकाल्छु भन्छन् । अस्पतालको बेडबाट सर्वोच्चको न्यायाधीशलाई यो माफिया हो, यसलाई निकाल्छु भन्न सक्नेलाई कानुन लाग्दैन । यदि कानुन छ भने उहाँलाई तुरुन्तै हस्पिटलबाट निकालियोस्, उनको ठाउँमा बेड नपाउने बिरामीहरूलाई त्यसमा राख्न सकिन्छ । त्यो अनशन गर्ने ठाँउ होइन । त्यसमा गम्भीरतापसर्वक ध्यान दिनुपर्छ । सरकारले त्यहाँबाट उनलाई तुरुन्त निकालिदिनुप¥यो । कहाँ लाने हो, लगे हुन्छ । तुरुन्त मानसिक अस्पताल लाने हो कि अन्यत्र लाने हो । इमोसनल ब्ल्याकमेल गर्न पाँइदैन । यो हाम्रो कुरा हो ।
० हिजो पनि डा. केसीको नाममा अर्को वक्तव्य आयो, यसलाई कसरी हेर्नुभएको छ ?
उहाँलाई चलाउने एउटा गिरोह छ । त्योचाँही देख्दा बहुतै आदर्शवादी बन्छ । मेडिकल शिक्षा निःशुल्कको कुरा उठिरहेको छ । विधेयकमा १० वर्षपछि त नाफारहित ढंगले खुल्दैनन् । देशैभरि हरेक प्रदेशमा सरकारले खोल्न चाहिरहेको छ । त्यसमा पनि उहाँहरूलाई औडाहा भएको छ । कसरी अवरोध गर्ने भन्ने मात्र उनीहरूको ध्यान छ । चिकित्सा आयोग बनाउ भन्नुहुन्छ । तर विरोध पनि गर्नुहुन्छ । किनकि उहाँले भनेको मान्छे आयोगमा नपर्न पनि सक्छ । सरकारले आयोगमा कसलाई राख्छ, त्यसकारण त्यसलाई ठेल्न उहाँले यो काम गरिरहनुभएको छ । अनि उपत्यकाभित्र नदेऊ भन्छ । केसीले भनेका मागमा अरू मान्छेले किन घुँडा टेकेको ? मनमोहनको नामबाट आउन खोजेको कलेजलाई किन आशयको चिठी दिएको ? व्यक्तिविशेषको मुनाफासहित भन्दा पनि त्यो सहकारीको अवधारणामुताबिक गर्न सजिलो थियो । किन नदिएको ? उहाँले नै घुँडा टेकाएको होइन ? त्यसमा घुँडा टेकाएपछि उहाँलाई आफूलाई आफुभन्दा मान्छे अरू राम्रो लागेन । अहिले डा. केसीको ध्यान पूर्वको बिएन्डसी र मनमोहन अस्पतालको कसरी रोक्ने भन्नेमै छ । उहाँले सिन्डिकेट खडा गर्नुभएको छ । हामीले त्यसलाई ब्रेक डाउन गर्नुपर्छ ।
० उहाँलाई आरोप लाएजस्तै माफियाको इसाारामा साँच्चै चलेका होलान् त, एक्लो मान्छेलाई के लोभलालच होला ?
उहालाई जता गएर जे गरे पनि हुनेजस्तो छ । उहाँलाई हेर्दा सिरियस डिप्रेसन भएजस्तो देखिन्छ । कसैलाई अन्य समूहलाई दुःख दिन खोज्दा मजा आउँछ । उहाँ त हिरो हुन पाउनुभएको छ । सत्रौ, अठारौं, बीसौं, पचासौं अनशन बस्दै यो मुलुक नै उहाँको हुन्छ । उहाँले अर्को कुरा राजनीति भयंकर नै गर्नुभयो नि त ।
अर्को साल त उहाँलाई चुनाव उठ्ने इच्छा पनि होला । जित्नुभयो भने मुलुककको प्रधानमन्त्री भए पनि भयो । तर उहाँले जसलाई माफिया भन्छुहुन्छ, त्योचाँही तत्कालै खोजी गर्नुपर्छ । अनशन कसरी सुरु भयो । उहाले डिन फलानोलाई नबनाऊ, फलानोले बनाऊ पनि भन्न भ्याउनुभयो ।
विगत ४४ वर्षदेखि म पनि त्यही कार्यमा छु । सबैतिर राम्रो पर्फर्मेन्स छ । म डिन हुन सक्ने एकदम मजाको मान्छे । तर उहाँलाई मजस्तो आउला कि भन्ने चिन्ता छ । म पनि ४३ वर्षदेखि संगसँगै छु । उहाँले भनेको डिनहरू आउँदै–जाँदै भए । विश्वविद्यालयले एउटा प्रक्रिया पु¥याएर योग्य मध्यकालाई डिन नियुक्त गर्ने हो । उहाँले भनेको मान्छे मात्र हुन्छ । उहाँले डिक्टेट गर्ने हो र ? हु इज हिम ? उहाँको विर्ता हो चिकित्सा शास्त्र अध्ययन संस्थान ? त्यसकारण, यसचोटि उहाँलाई त्यहाँबाट निकाल्ने । चुनावमा जितेको छ भन्दैमा पब्लिकलाई इमोसनल ब्ल्याकमेल पनि गर्नुपर्दैन । आदरणीय देशभरिका बिरामीहरू सबैलाई के अनुरोध गर्न चाहन्छु भने डाक्टरहरू सेवा ठप्प पार्न आन्दोलनको आह्वान गर्नुहुन्छ भने त्यस्ता डाक्टरहरूलाई ठीक स्थानमा ल्याउनुपर्छ । हुन्न भने तपाईंहरूले फेरि बिरामी छुन पाउँदिनँ भनेर आवाज निकाल्नुस् । एउटा संवेदनशील ठाँउमा बस्ने, अनि सक्दिनँ भन्ने ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply