18th October 2019, Friday

E-budhabar
Header Right Side NTC Advertisement

नर्सरीमै आगो लगाएपछि विरुवा कहाँबाट हुर्कन्छ ?



नर्सरीमै आगो लगाएपछि विरुवा कहाँबाट हुर्कन्छ ?

० नेपाली कांग्रेसको चालू केन्द्रीय समिति बैठकमा के–के विषयमा छलफल केन्द्रित छ ?
कांग्रेसको जारी बैठक समसामयिक राजनीतिक विषयका साथै कांग्रेसको संघात्मक राजनीतिक संरचनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रित छ । हामीले संघात्मक संरचनामा मुलुकलाई लगिसकेका छौं । त्यसअनुसार निर्वाचन पनि सम्पन्न भइसकेको छ तर कांग्रेस एकात्मक संरचनामै थियो । विधानलाई संघात्मक संरचनामा त लग्यौं तर ठ्याक्कै व्यवहारमा उतार्न निर्वाचन समिति गठन गरी जिल्ला–जिल्लामा पठाउने काम भइसकेको छ । सँगसँगै कांग्रेसको भ्रातृ संस्थाहरू एकदमै लथालिंग, भताभुंग छ । भ्रातृ संस्था भन्ने तर उल्टै मातृ संस्था वा कांग्रेस पार्टीले नै काँधमा बोकेर हिँडिदिनुपर्ने अवस्था छ । कति भ्रातृ संस्था त विघटन भएकै पाँच–सात महिना बितिसक्यो । यस्तो अवस्थाका विषयमा पनि पार्टीभित्र गम्भीर छलफल चलिरहेको छ । कांग्रेस अहिले आफ्नो संसदीय जुन भूमिकामा छ, त्यसबारे पनि हाम्रो छलफल जारी छ ।
० महाधिवेशन गर्नुपर्ने अवधि गुजारेर नेतृत्वले फेरि कार्यकाल लम्ब्याउने षड्यन्त्र गर्दै छ भन्ने आरोप छ नि ?
हाम्रो नियमित महाधिवेशनको मिति यही २०७६ फागुनभित्र गर्नुपर्छ । अघिल्लोपटक गएको १३औं महाधिवेशन हामीले फागुनको पहिलो हप्ता सम्पन्न गरेका थियौं । निर्वाचनको परिणाम हामीले १०–११ गते प्राप्त गरेका थियौं । यसरी हेर्दा पनि हाम्रो नियमित महाधिवेशन यही २०७६ फागुनको १२–१५ गतेभित्रै गर्नुपर्ने हुन्छ । तर विधानले विशेष परिस्थिति भएको अवस्थामा एक वर्ष थप गर्न सकिने व्यवस्था गरेको छ ।
त्यो व्यवस्थालाई हेर्दा पनि अब २०७७ फागुनभित्र त हामीले महाधिवेशन गर्नैपर्छ । फेरि अर्को कुरा पनि विधानले यो व्यवस्था गरिदिएको छ कि महाधिवेशन हुनुभन्दा अगाडि स्थानीय तहका कमिटीहरूको निर्वाचन भइसक्नुपर्ने भन्ने पनि उल्लेख छ । जसले गर्दा हामीले अब एक वर्ष थप्ने अवधिलाई हेर्दा पनि २०७७ फागुनमा महाधिवेशन गर्ने हो भने स्थानीय तहको अधिवेशनहरू माघभित्र गरिसक्नुपर्छ । यही कुरामा हाम्रो अभ्यास र गृहकार्यहरू अघि बढेको छ । तर तपाईंले लम्ब्याउने खालको आरोप भनेर जुन कुरा भन्नुभयो, अब त नलम्ब्याउँदा वा म्याद नथप्दा पनि हामीले भ्याउँदैनौं । अहिलेको विधानले जुन खालको सर्तहरू राखेको छ, त्योबमोजिम सकिने अवस्था छैन । त्यही भएर हामीले २०७४ सालको निर्वाचन सम्पन्न भएपछि तुरुन्तै १२–१३ जना केन्द्रीय सदस्यहरू मिलेर महाधिवेश सकिनासाथ ५२ पृष्ठको दस्तावेज केन्द्रीय समितिमा पेस गरेका थियौं । त्यतिखेर नै हामीले अब महाधिवेशनको सुरुवात गर्नुपर्छ भनेका थियौं । सदस्यता नै वितरण गर्न समय लाग्छ, त्यसैले हामीसँग समय छैन, क्रियाशील सदस्यता वितरण गरिसकेपछि गाउँगाउँ र टोल समितिदेखि अधिवेशनहरू गर्दै आउनुपर्छ, त्यसकारण हामीसँग समय छैन भनेका हौं । नियमित महाधिवेश गर्न पनि त त्यतिखेरै २०७४ सालबाटै सुरु गरिएको भए सायद नियमित रूपमा विधानले तोकेको चारवर्षे कार्यकालभित्रै २०७६ फागुनभित्रै हामीले महाधिवेशन गथ्र्यौैं । तर, त्यतिबेला हाम्रो कुरा सुनुवाइ भएन । त्यसैले अहिले हामीले बोलेर मात्र पनि महाधिवेशन समयमै हुन सक्ने अवस्था टरिसक्यो ।
० अर्को महाधिवेश आउने बेला भइसक्दा पनि कतिपय विभागले पूर्णता पाएका छैनन्, भ्रातृ संगठनको अवस्था अस्तव्यस्त छ, यसको जिम्मेवारी कसले लिनुपर्छ ?
सीधा कुरा छ, यसको जिम्मेवारी नेतृत्वले लिनुपर्छ । हामी त केवल केन्द्रीय सदस्य हौं । हामीले पटकपटक यसबारे कुरा उठाएका छौं । भ्रातृ संस्था चुस्त बनाउनुप¥यो, विभागहरू तुरुन्तै गठन गर्नुप¥यो भन्दै आएका छौं । जबकि, हाम्रो १३औं महाधिवेशनले पारित गरेबमोजिम महाधिवेशन भएको दुई महिनाभित्र सम्पूर्ण समिति र विभागहरू गठन गरिसक्नुपर्ने भन्ने थियो । अन्ततोगत्वा हाम्रो परिपाटी के छ भने निर्णय गर्ने बेलामा पदाधिकारीहरू बस्छन्, छलफल गर्छन् । हामीले राखेको सुझावलाई मनन गर्ने भनेर उहाँहरू बस्नुहुन्छ । तर, उहाँहरूले अहिलेसम्म मनन गर्न सक्नुभएन । यतिन्जेल गठन नगरेपछि अब त विभागको के अर्थ रह्यो र ? विभाग गठन भएको भए न केन्द्रीय सदस्यहरूले भूमिका पाउने हो । अब भूमिकाविहीन जस्तै देखियो । किनभने निर्णय गर्ने बेलामा सकेसम्म सर्वसम्मत गरौं भन्ने हुन्छ । सर्वसम्मत गर्ने भनेपछि पदाधिकारीहरू बस्ने हो । तसर्थ, यो त नेतृत्वको अपरिपक्वता हो । यसमा जस–अपजस दुवै नेतृत्वले लिनुपर्छ ।
० भ्रातृ संस्थाको हालत नि लाजमर्दो छ नि ?
हो, नेपाल तरुण दलजस्तो भ्रातृ संस्थालाई पोखराको महाधिवेशनमा सभापति पार्टी सभापतिको राख्ने र उहाँले नै चयन गर्ने, उपसभापति अर्को नेताले चयन गर्ने, महामन्त्री वरिष्ठ नेताको भागमा पार्ने भनेर यसरी भागबन्डा गरियो र चारजना नेताको नाममा राखियो । तर, अहिले अर्को तरुण दलको महाधिवेशन आउने बेलासम्म चारमा चार मात्रै छ । त्यसको विस्तार पनि हुन सकेन । यसमा त सबै नेता मिलेका हुन् नि त ।
० सिद्धान्ततः त्यसरी चार नेताले चार युवालाई टीका लगाउँदैमा नेतृत्व हुन्छ त ?
सिद्धान्ततः त्यसरी पाउने नै होइन । विधानत महाधिवेशन प्रतनिधिहरूको बीचबाट सहमति भए सहमति नभए बहुमतीय पद्धतिबाटै गर्नुपथ्र्यो । तर त्यतिखेर सहमति गर्ने भन्ने ढ्वाङ पिटेर चारजना पदाधिकारी राख्ने अनि अहिलेसम्म त्यसको विस्तार गर्न नसक्ने भनेको नेतृत्वको कुरा हो नि त । त्यस्तै नेपाल विद्यार्थी संगठन भनेको ऐतिहासिक संगठन हो । त्यस्तो ऐतिहासिक संगठनलाई अहिलेसम्म विघटन गरेर राखिराख्ने हो ? अझै नेविसंघ भनेको कांग्रेसको नर्सरी ब्याड हो भनिन्छ तर नर्सरी नै सुक्खा पारेर राख्ने, नर्सरीमै आगो लगाउने अनि कहाँबाट बिरुवा हुर्कन्छ ?
० पछिल्लो समय तेस्रो पुस्ताका युवाहरूले सशक्त आवाज उठाइरहेको बेला विश्वप्रकाश शर्मालाई प्रवक्ता बनाएपछि उहाँ सभापतिविरुद्ध जान सक्नुभएन त्यसैले यो आवाज झिनो भयो भन्ने कुरा पनि सुनिएको छ नि ?
यस सन्दर्भमा निश्चित रूपमा विश्वजी प्रवक्ता बन्नुभयो । उहाँ एउटा राम्रो, भरोसालाग्दो र उदीयमान नेता हुनुहुन्छ । त्यसकारण उहाँजस्तो व्यक्तिलाई प्रवक्ता बनाउनु राइट टाइम, राइट म्यान, राइट च्वाइस नै हो भन्ने मलाई लाग्छ । तर, प्रवक्ता बने पनि उहाँको भावना सायद हामीसँगै छ भन्ने मलाई अहिले पनि लाग्छ । बीचबीचमा हाम्रो कुरा पनि भइरहन्छ । प्रवक्ता भएपछि सभापतिको कुरा पनि बोल्नुप¥यो । हामीसँग जोडिएपछि हाम्रो कुरा पनि बोल्नुप¥यो ।
० ए त्यसो भए उहाँ धर्मकसंकटमा हुनुहुन्छ ?
धर्मसंकटभन्दा पनि कहिलेकाहीँ एउटै हिरोको डबल रोल हुन्छ । त्यस्तै हो । हाम्रो विश्वप्रकाश भनेको हिरो नै हो । अहिले हिरो नै भएका कारण उहाँले प्रवक्ताको पनि जिम्मेवारी पाउनुभएको हो । त्यसकारण, हिरोको कहिलेकाहीँ डबल रोल हुन्छ ।
० युवाहरूको आवाज मत्थर पार्न पार्टी सभापतिले एउटा तुरुपका रूपमा उहाँलाई तान्नुभयो भन्छन् नि ?
म तासै नखेल्ने मान्छेलाई यो तुरुपसुरुप भन्नेतिर लैजानुभन्दा उहाँ सभापतिजीलाई हामी तेस्रो पुस्ताले सहयोग नै गर्ने भनका हौं । पार्टी बिग्रँदै गरेको अवस्थामा, पार्टीले हार खाँदै गरेको अवस्थामा, आमनिर्वाचनमा पार्टी हारेको अवस्थामा हामीले चिन्ता ग¥यौं कि पार्टीलाई अब रिभाइब गर्नुपर्छ भन्ने लाग्यो । रिभाइब गर्ने चिन्ता कसका लागि ? पार्टीका लागि । कसलाई त्यसले फाइदा हुन्छ ? नेतृत्वका लागि । भनेपछि पार्टी सभापतिले त्यही कारणले गर्दा हाम्रो बैठक, भलाकुसारी आदिकै कारणले गर्दा तपाईंकै शब्द सापटी लिएर भन्दा तुुरुपकै रूपमा विश्वप्रकाशलाई प्रयोग गरेको भन्ने त मलाई लाग्दैन । तथापि, कुनैकुनै बेला हिरोको डबल रोल पनि हुन्छ । त्यस्तै भइआएको छ ।
० कांग्रेसको नयाँ महाधिवेशनको चहलपहल सुरु भएसँगै विभिन्न पदका आकांक्षीहरू देखिन थालेको पाइन्छ, तपाईं आफू यसमा के भन्नुहुन्छ ?
निश्चित रूपमा साथीहरूको कुरा आइरहेको छ । विश्वप्रकाशजीको कुरा नि आयो । गगनजीको कुरा पनि आयो । चन्द्र भण्डारीजीको पनि चर्चा चलिरहेको समाचारहरू म पढ्दै थिएँ । हामी युवाहरूले एकपटक सघन रूपमा छलफल गरेर मात्र अगाडि बढ्न पाएको भए राम्रो हुन्थ्यो । तथापि यसले नोक्सान पु¥याएको छैन । युवाहरूले हामीले कांग्रेस नचलाउने हो भने कसले चलाउने ? हामीले यत्रो वर्ष हेरिसक्यौं । उहाँहरूको घोषणा स्वागतयोग्य छ ।
० तपाईंको चाहिँ के पदमा दाबी छ ?
मेरो पनि प्रस्ट कुरा के छ भने साथीहरूले भनेझैं गरेर उपसभापति र महामन्त्रीमध्ये मैले कुनै एक पदमा उम्मेदवारी दिन्छु । त्यस्तै अवस्था आयो, नयाँ पुस्ताबाट सभापतिमा सबै डराए, सबै टाङमुनि पुच्छर लुकाएर हिँड्न थाले, हामीले भने जस्तो जुनजुन नेतृत्वबाट कांग्रेस चल्न सकेको छैन भनेर हामी भनिरहेका छौं । तर पनि फेरि हातखुट्टा छोड्ने अवस्था भयो भने मैले त छोड्ने अवस्था हुन्न ।
० भनेपछि युवाहरूको हस्तक्षेपकारी भूमिकाका लागि तपाईं उस्तै परे सभापतिमा पनि उम्मेदवारी दिनुहुन्छ ?
हो, किन नदिने ? बीपी कोइरालाले त ३०–३१ वर्षको उमेरमा पार्टी स्थापना गरेर क्रान्ति गर्नुभएको हो ।
० पारिवारिक लिगेसीको कुरा उठाएर कोइराला, सिंह वा निधि परिवारमध्येले पो नेतृत्व लिने कुरा उठाइँदै छ नि ? तपाईंहरूलाई त गणना नै गरिएको छैन ?
हो, गणना नै गरिएको छैन । लिगेसीको पाटोभन्दा पनि म के भन्छु भन्दा हामीभन्दा माथिको पुस्ता हातखुट्टा नै छोडिदिने हो भने हाम्रो पुस्ताले सभापतिको दाबी गर्नुपर्ने भयो नि त । तपाईंले जसजसको लिगेसीको नाम लिनुभयो, हामीले उहाँहरूलाई मानेकै छौं । तर उहाँहरूले थरथर काम्नुभएन । हातखुट्टा छोड्नुभएन । उहाँहरू अगाडि बढ्नुस्, हाम्रो शुभकामना छ । हामी साथ दिन तयार छौं । तर उहाँहरू पनि अघि नबढ्ने र पार्टी यस्तरी नै लथालिंग पार्न दिन त भएन नि । उहाँहरूले नसके तेस्रो पुस्तामा आउँछ । त्यसमा आउँदा हामीले नगरे कसले गर्ने ?
० कांग्रेस इतिहासमै कमजोर प्रतिपक्ष भयो भन्छन् नि ?
अब एउटा ठट्टा पनि गरौं । कांग्रेस अधिकांश समय कहिले आफ्नै नेतृत्वमा कहिले अन्यको नेतृत्वमा लामो समय सत्तामा बसेकै हो । सत्तामा बढी बसेका र बानी परेका साथीहरू अहिले हुनुहुन्छ कि के हो, नत्र प्रतिपक्षले यो वर्ष त होइन, सुरुकै वर्षमा सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समर्थन गरेर पास गरेको संसारमै पहिलोचोटि होला संसदीय परिपाटीभित्र । सुरुमै हामी प्रतिपक्षको भूमिकाबाट चिप्लियौं । त्यसपछि लगातार हामी चिप्लिरहेका छौं । मैले कुनै नेतालाई आरोप लगाएको होइन । प्रमुख प्रतिपक्ष भइसकेपछि आफूले राखेको एजेन्डामा संसदमा बुलन्दका साथ प्रस्तुत हुनुपर्ने होइन र ? अस्ति भर्खरै विप्लव कार्यकर्ता सर्लाहीमा मारिएको घटनामा राजपाले संसद्अवरुद्ध ग¥यो । कांग्रेस त्यही राजपाको एजेन्डाका होमा हो गर्दै पछि पछि कुद्छ । पछि त्यसमा फेस सेभिङ पनि भएन । सेफ ल्यान्डिङ पनि भएन । गोल मोटर खालको समिति बनाएर झारा टारियो । कांग्रेस त्यत्तिकै पछि हट्यो । प्रमुख प्रतिपक्ष दलले अरुका यस्ता कमजोर एजेन्डा बोक्नुहुँदैन । उसले त अहिले सरकारले गरेका कमीकमजोरी कोट्याएर देखाइदिने हो नि । चाहे भ्रष्टाचारका सन्दर्भमा होस्, चाहे सुशासन दिन नसकेका सन्दर्भमा होस्, चाहे महँगी नियन्त्रण गर्न नसेकको सन्दर्भमा होस्, चाहे जनतालाई करमाथि करको भार थोपरेको सन्दर्भमा होस्, थुप्रै छन् नी यस्ता एजेन्डाहरू । यस्तो एजेन्डामा टुलुटुलु हेरेर बस्ने अनि राजपाको एजेन्डामा बुई चढ्न जाँदा के हालत भयो ? तसर्थ, कांग्रेसले प्रतिपक्षीदलको भूमिका जसरी उपयोग गर्नुपथ्र्यो त्यसरी गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

समान पीडा

ShareTweet शिव रेग्मीले सिंगो जीवन नेपाली भाषा–साहित्यको प्रवद्र्धनमा बिताए । भाषा–साहित्यसँग जोडिएका खोज–अनुसन्धानमूलक कार्यमा उनको गहिरो अभिरुचि रह्यो । त्यही- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा