बेला न कुबेला किन नेकपामा गएको ? भन्नेहरु धेरै छन्
देवेन्द्र पराजुली, नेता, नेकपा० अप्ठ्यारो परस्थितिमा पनि बाबुराम भट्टराईलाई साथ दिएको मान्छे, अहिले उनले पार्टी एकीकरण गरेर बृहत् बनाइरहँदा भने साथ छाडिदिनुभयो नि, किन ?
मैले माओवादीमा रहँदाखेरि उहाँलाई साथ दिएकै हो । उहाँलाई भन्दा पनि उहाँले अगाडि सारेका शान्ति र संविधानको जुन कार्यक्रम थियो, त्यो मुलुकका लागि आवश्यक थियो, एकदम उपयुक्त थियो, वैज्ञानिक थियो, त्यो लागेर समर्थन गरेको हुँ । जब संविधान जारी भयो, त्यसपछिको स्थितिमा हाम्रा प्राथमिकताहरू बदलिए । राजनीतिक अधिकार प्राप्तिको आन्दोलन अथवा चलनचल्तीको कम्युनिस्ट भाषामा भन्दा जनवादी क्रान्तिको चरण जे–जसरी भए पनि पूरा भयो । अब तीव्र आर्थिक विकास हुँदै समृद्धिको बाटोमा अगाडि बढ्नुपर्छ र समाजवादतर्फ जानुपर्ने आवश्यकता देखियो । त्यो हुँदा अब एउटा ‘नयाँ र वैकल्पिक पार्टी निर्माण गरौं’ं भन्ने कुरा उहाँले अगाडि सार्नुभयो । त्यो कुरा उपयुक्तै लाग्यो । राजनीतिमा धेरै विकृति–विसंगति थिए र छन् । त्यसलाई तोडेर जानुपर्छ, राजनीतिलाई पेसा होइन, सेवा बनाउनुपर्छ भन्ने सोचसहित हामी अगाडि बढेका थियौं । तर, तीन वर्षमा यहाँसम्म आइपुग्दा हामीले भनेजस्तो न नयाँ बन्यो, न वैकल्पिक बन्यो । यसका कामकारबाही, तौरतरिका र अब यसले पक्रने दिशा हेर्दा कुनै हिसाबमा नयाँ र वैकल्पिक शक्ति हुने छाँट देखिएन । त्यसकारण हामीले पार्टी छाडेका हौं । समाजवादमा जान उपयुक्त बहस, छलफल जरुरी छ । त्यसका लागि उपयुक्त ठाउँ नेकपा हुन सक्छ भन्ने लागेको हो ।
० केही आलोचकचाहिँ भनेजस्तो जिम्मेवारी नपाएकाले पार्टी छोडेको भन्दा रहेछन् नि ?
त्यस्तो होइन । हरेक विषयका मुख्य कारण र सहायक कारण हुन्छन् । अहिलेसम्म नपोखिएको पानी तपाईंले एक थोपा थपिदिनेबित्तिकै पोखिन्छ । त्यो एक थोपा तपाईंले पहिले नै हालेको भए त्यो थोपाका कारण पनि त पानी पोखिन्थे नि त । यस्तो त हुने गर्छ तर पदका कुराहरू भने सत्य होइनन् ।
० ‘एउटा बिरुवा रोपेर गोडमेल गर्नुको साटो अन्यत्रै लागेर त्यसले फल दिएन भन्ने ? फल देलाजस्तो लागेन भन्ने ?’ भनेर सामाजिक सञ्जालतिरसमेत तपाईंको आलोचना भएको देखियो नि ?
कतिपय साथीहरूले बुझेनन् होला । तपाईंले एकपटक सामाजिक सञ्जालमा राम्रोसँग हेर्नुहोला । मलाई खास गाली गरेका छैनन् । थोरै गुनासो भने गरेका छन् । त्यो त स्वाभाविक हो । किनभने म पनि त्यसको संस्थापक हुँ । गोलमेल गर्न छाड्यो भन्दा अलि सुहाएन कि ! म त निकै अप्ठ्यारो बेलामा पनि उभिएको मान्छे हो । के स्मरण गराऊँ भने नयाँ शक्तिको स्थापना भेला हुनुअघि नै म काठमाडौंमा बस्थें । लमजुङको मान्छे । पोखरामा गई डेरा बसेर नयाँ शक्ति निर्माणको अभियान चलाई अहिलेको गण्डकी प्रदेशको संयोजन नै मैले गरेको हुँ । एउटा ठूलो उत्साहका साथ हामीले पार्टी स्थापना ग¥यौं । तर त्यो उत्साहलाई हामीले टिकाइराख्न सकेनौं ।
० त्यसमा कमजोरी कसको रह्यो होला, बाबुरामजी आफैं असफल भएको हो कि ?
त्यसको पछाडिको कारण एउटा नेतृत्व तहमा रहेकाहरू कसका भागमा कत्राकत्रा जिम्मेवारी थिए, तिनले त्यत्रैत्यत्रै गुण र दोषको भागीदार हुनुपर्छ भन्ने लाग्छ । कसैलाई आरोपित नगरीकन भन्नुपर्दा हामीले सोचेको जस्तो सकेनौं । सामाजिक न्यायका मुद्दाहरूलाई बोकेर कम्युनिस्ट पार्टी स्थापना भएको हो । विभिन्न आरोहअवरोह पार गर्दै यो अवस्थासम्म आइपुग्दा हामीले जनतालाई विभिन्न सपना देखायौं । ती सपनाहरूमध्ये केही त दिनुप¥यो । त्यो दिने बेला नेकपामा आइपुगियो । आइसकेपछि एउटा अन्तरविरोधको अवस्था त जन्मने नै भयो ।
० तर नेकपा अहिले आफैं भद्रगोल अवस्थामा छ, गति लिन सकेको छैन, होइन र ?
यो त स्वाभाविक हो । अलिअलि दुइटै पार्टीमा भएका नराम्रा कुराहरू पनि मिसिए नि त । राम्रा कुराहरूले निरन्तरता पाउनेभन्दा संक्रमणमा नराम्रा कुराहरूको प्रभाव बढी नै हुँदो रहेछ । देशै संक्रमणमा छ । पार्टी एकताका बाँकी कामहरू पुरा गर्न सकिएको छैन । त्यो तत्काल गरिनुपर्छ । त्यसो भएकाले अलिकति जिम्माविहीन अवस्था भएको जस्तो देखिन्छ । तर बाहिर चर्चा गरेजस्तो भद्रगोल नै लागेन । पार्टीहरू यस्तै हुन् । मानौैं भद्रगोल नै रहेछ भने पनि हामी पहिले सँगसँगै संघर्षको मैदानमा भिडेका साथीहरू हौं । यही रत्नपार्क आसपास नारा जुलुस, ढुंगामुढामा सामेल भएका साथीहरू अथवा हतियार बोकेर युद्धको मैदानमा हिँडेका साथीहरू, हिजो सहकार्य गरेकै साथीहरू त छन् नि । उनीहरूसीत हामीले हिजो गरेका प्रतिज्ञाका कुराहरू पनि स्मरण गराइदिए मात्र पनि पुग्छ ।
० एकताले पूर्णता पाएको छैन, बाहिरीबाट हेर्दा अब नेकपा सधैं यसरी अघि बढ्न सक्दैन भनेर निराशा बढिरहेका बेला तपाईं यता आउनुभयो, नेकपाको भविष्य राम्रै देख्नुभएको छ ?
म राम्रो भविष्य देखेरै आएको हुँ । किनभने चुनावको बेला होइन । सांसद पाउने वा अरू केही पाउने बेला होइन । म यस्तो बेलामा किन आएँ भन्ने त हुन्छ नि । कोहीकोही बेला न कुबेला गइस् भन्छन् । मैले चाहिँ बेला यही हो भन्ने गरेको छु । किनकि, यही बेलामा हामीलाई एउटा अवसर आएको छ । कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार छ । हिजो जनताका बीचमा राखेका वाचाहरू अझै हाम्रो कानमा गुन्जिरहेको छ ।
० कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार छ, तर साँच्चै कम्युनिस्टकै सरकार छ भनेर आमजनतालाई कत्तिको अनुभूति छ ?
यो त यतिबेला जसको सरकार भएको भए पनि यस्तै हो । भर्खरै राज्य पुनःसंरचना भएको, कतिपय नीति र नियमका साथै कर्मचारीतन्त्रका पुनःसंरचनालगायत यावत् चिजहरू यही बेलामा हुने भए । राज्यको पुनःसंरचना पछाडिको एउटा संक्रमणमा हामी छौं । कुनै ऐन नबनेर, कुनै योजना नबनेर अलमलको स्थिति छ, तर त्यसबापत बन्न नसकेका कामहरूको अपजस पनि कम्युनिस्ट पार्टीको थाप्लोमा हालियो ।
० तर नीतिगत भ्रष्टाचार, माफियागिरी र कमिसनतन्त्र पनि उस्तै छ, कम्युनिस्टले त घटाउनुपर्ने होइन ?
शासनमा पुगेपछि शासकीय मानसिकताले पनि काम गरेको हुन्छ । अर्को कुरा राम्रो काम गर्न खोजे पनि विरोधीहरूले गर्ने आक्रमणमा चनाखो हुनुपर्ने अवस्था रह्यो । पहिले नै कसरी आक्रमण गर्छन् होला, त्यसको कसरी प्रतिवाद गर्ने होेला भन्ने योजनाबेगर राम्रा कामहरू गर्ने प्रयत्न गरियो । अनि ब्याक हुनुप¥या छ । त्यसले गर्दा राम्रा काम गर्दा डराउनुपर्ने अवस्था आएको छ ।
० आफैं आरोप प्रत्यारोप गर्ने प्रवृति बढ्यो, सत्ताका वरपर रहनेले अरूलाई निषेध गर्न थाले, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारकै अभिव्यक्ति विवादित बनेका छन््, यसलाई कुन रूपमा लिनुभएको छ ?
उहाँ प्रधानमन्त्रीको सल्लाहकार भएर मात्र हो । मैले त हेरें, मीठो कविताजस्तो रहेछ । फेरि कसैले प्रधानमन्त्रीको सल्लाहकार भएकाले दलाली गरेछ पनि भन्देलान् । उहाँको पोजिसनले गर्दा प्रश्न उठेको हो । शब्द मीठा छन् । राम्रो कुरो छ त्यहाँभित्र । त्यसले प्रवृत्तिलाई हानेको हो । तर जिम्मेवार मान्छेबाट त्यस्तो हुँदाखेरि मात्र प्रश्न उठेको हो । यसबाट अलि सन्तुलित ढंगले बोल्नुपर्छ भन्ने शिक्षा उहाँले लिनुपर्छ भन्ने लाग्छ ।
० बाहिर त अब नेकपा फुट्छ, यसैगरी यही रूपमा जान सक्दैन भन्ने हल्ला छ नि, तपाईंलाई के लाग्छ ?
यो बीचमा म धेरै घुमें । मैले फुट्नेचाहिँ अवस्था देखिनँ । किनभने यो फुटेर, टुटेर आफैं थिलथिलो भएर यहाँ जम्मा भएको छ । तसर्थ अब जनताले फुट्न दिँदैनन् । फुटपछिका पीडाहरूले, जनताले गरेका अपेक्षाहरू पूरा गर्नुपर्छ भन्ने भावनाले बहुसंख्यक कार्यकर्ताहरूले यसलाई जोगाउँछन् ।
० पूर्वएमाले पूर्वमाओवादीबीच नै राम्रोसँग अन्तरघुलन नभइरहेको सन्दर्भमा एउटा अर्कै पार्टीबाट आउनुभएको छ, कति समय लाग्ला अन्तरघुलित हुन ?
चिनेकै, हिजो सँगसँगै हिँडेकै साथीहरू त छन् । त्यही हिजोका नेताहरू त छन् । त्यसो भएर त्यस्तो केही पनि लागेको छैन । किनभने, हामी जुनजुन तहमा छौं, त्यहीत्यही तहमा हिजो पनि एउटा सम्बन्ध र सहकार्यमा बाँधिएका मान्छे हौं ।
० के के जिम्मेवारी दिने टुंगो भएको छ तपाईंहरूलाई ?
खासै त्यस्तो केही ठोस सहमति भएको छैन । अब गर्दै छौं । अस्ति भर्खरै आइयो । सायद अब त्यबारे कुराकानी हुन्छ । बीचमा भ्याइएको थिएन ।
० मान्छेहरू नयाँ शक्तिमा हिसिला र बाबुराम मात्र बाँकी रहन्छन् भन्थे, तपार्इंहरूले ठुलै डफ्फासहित छाड्नुभयो । त्यस्तै अवस्था हुने त होइन ?
बाबुराम भट्टराई मैले आदर गर्ने नेतामध्ये हुनुहुन्छ । देशविकासको भिजन भएको नेता हुनुहुन्छ । तर त्यो भिजन कार्यान्वयन गर्न संगठन, परिचालन र व्यवस्थापन उहाँसँग कमी रहेछ । त्यताबाट पनि केही समस्या पैदा भएका छन् । उहाँहरू दुईजना मात्रै बाँकी रहनेछन् भन्ने विषय त हाँसोठट्टाका विषय मात्र हुन् । तर अहिलेसम्मको मेरा अनुभवमा उहाँसित धेरै समय धेरै मान्छे रहन सक्दैनन् कि भन्ने लाग्छ ।
० नेकपामा यसले लिने वैचारिक बाटोको विषयमा पनि बहस र विवाद सुरु भएको छ, कस्तो हुनुपर्ला ?
मैले अहिले नै यसबारे बोल्नु छिटो हुन्छ जस्तो लाग्छ । म बाठो पल्टिएर बोलिहाल्न पनि चाहन्न । के–कसरी बहस चलेका छन्, बुझ्दै छु । मेरो पनि तीन वर्ष ग्याप भएको छ । एक्काइसौं शताब्दीको जनवाद र कमरेड मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद दुवै त्यो सन्दर्भमा उत्कृष्ट हुन् । मदन कमरेडले माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्नुपर्छ भन्ने मान्यतामै रहेर बहुदलीय जनवादको कुरा गर्नुभएको हो । यी दुई चिजमा धेरै कुरा मिल्छन् । को ठुलो भन्नेतिर लाग्नुहुन्न ।
० पहिला सिद्धान्त मिलाएर पाटी मिलाउनुपर्नेमा जबर्जस्त पार्टी मिलाए, सिद्धान्त अझै अन्योलमा छ नि ?
सबैभन्दा ठुलो कुरा जनताको चाहना हो । जति सिद्धान्तका कुरा गरे पनि नेता–कार्यकर्तालाई उपयुक्त जिम्मेवारी दिएर अघि बढाउने कुरालाई व्यवस्थित गर्न सकिएन भने राम्रो हुँदैन । कतिपय सन्दर्भमा त्यति सानातिना कुरा नमिलेर पार्टी फुट्नुपर्ने अवस्था आएको छ । अन्ततः यो संक्रमण काल हो । हामी त बहसमै जानुपर्छ । त्यो बेला पनि आउला नि त ।
० नेतृत्वबाटै मूल धमिलो भएर पार्टी गलत दिशामा जान लाग्यो भन्ने कार्यकर्ताको गुनासो छ, यसबारे के भन्नुहुन्छ ?
हरेक ठाउँमा समस्या नभएका होइनन् । तर छरिएर होइन कम्युनिस्ट क्रान्तीकारीहरू, हाम्रो समाजको प्रगतिशील रूपान्तरण चाहने शक्तिहरू एकै ठाउँमा आउनुपर्छ । बरु, यही संघर्ष गर्ने, आफू रूपान्तरीत हुने । अरूलाई पनि रूपान्तरण गर्ने । नेताहरू व्यवस्थापन भन्ने कुरा उठ्छ । नेताहरू आफैं सक्षम छन्, तसर्थ नेता होइन जनताको व्यवस्थापन गर्न जरुरी छ । डेलीभरीमा ध्यान दिनुप¥यो । अब छुट पाइँदैन । अब जनता निराश भयो भने यो निराशाले एकैचोटि कम्युनिस्टहरूलाई बढारीदिन्छ, लेखेर राख्नोस् । तसर्थ, त्यो निराशा हुन नदिन पार्टीभित्र प्रस्ट कुरा उठाउने हो ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply