मैले राजनीति गुमाँए, तर ज्ञानेन्द्रले त श्रीपेच गुमाए
जेपी गुप्ता, अभियन्ता, मधेस जागरण अभियान० राजनीतिमा अलग्गै व्यक्तित्व निर्माण गरिसकेको मान्छे, अहिले हराउनुभयो, के गर्दै हुनुहुन्छ ?
म एउटा जागरण अभियानमै छु । तराई मधेस रााष्ट्रिय अभियान अहिले पनि आफ्नो काम गर्दैछ । अघिल्लो मधेस आन्दोलनका दौरान मधेस आन्दोलनमा सक्रिय दुईवटा मोर्चा मध्ये एउटा मोर्चामा हाम्रो अग्रणी भूमिका रहेको थियो । तर पछि हाम्रा मोर्चामा रहेका साथीहरु संसद भित्र प्रतिनिधीत्व गर्ने भएको हुनाले उनीहरु भिन्न रुपमा संगठीत भए र तराई मधेस राष्ट्रिय अभियान अलग भयो । हामी अलग थलग पारियौं । त्यसपछि अहिले मुलत मधेसका जिल्लाहरुमा हामी मधेसका समसामयिक सवालहरुको शान्तिपुर्ण तवरबाट कसरी समाधान हुन्छ भन्ने दिशामा हामी क्रियाशील नै छौं । अब यही आउने ६ र ७ गते हाम्रो कार्यक्रम रौतहटको गौरमा हुँदैछ । मान्छेको खोजी खासगरेर सत्तामा रहेका राजनीतिक पार्टीहरुको बारेमा बढी हुने भएकोले तराई मधेस राष्ट्रिय अभियान अलिकति छेउ किनारा लागेको देखिन्छ । निश्चीत रुपमा त्यती सारो सक्रियता पनि छैन । तर हामी मधेसका सवालहरुलाई कसरी उठाउने, शान्तिपुर्ण तवरबाट कसरी यसको समाधान खोज्ने भन्ने दिशामा हामी अद्यावधि क्रियाशील नै छौं ।
० एक जमानामा राजनीतिमा निक्कै प्रभाव छोड्नुहुन्थ्यो, अहिले अवस्था फेरीएको छ, के लाग्छ तपाँइलाई आफ्नो भूमिका ?
मैले विचित्रको विशिष्ट परिस्थिति भोग्नु परिरहेको छ । म आजभोली आफुलाई अर्धनागरिक भन्ने गर्दछु । ममाथी भ्रष्ट्राचारको मुद्दा लाग्यो । मुद्दाको फैसला भयो । र, मैले जेल सजाँय पनि भोगे । तर यो सबैभन्दा पछिल्लो संसदीय निर्वाचन ताका राजनीतिक पार्टीहरुले राजनीतिक दलसम्वन्धी जुन कानुन बनाए, त्यो कानुनमा हामीजस्तो मान्छेहरुलाई आजिवन राजनीतिक पार्टी खोल्न नपाउने , राजनीतिक पार्टीको विधिवत सदस्यता पनि लिन नपाउने र निर्वाचन पनि लड्न नपाउने एउटा वाध्यात्मक परिस्थिति खडा गरिदियो । अहिले धेरै मानिसहरु जो पटक पटक र निरन्तर रुपमा चुनाव जितेर आएका छन्, तर म नियतिले ठगिएको छु ।
० तर आफ्नो समस्याबाट उम्किन कोशिस नगरेर हो, अरु सबै उम्किएकै छन् ?
मैले गिरीजाप्रसाद कोइरालाजलाई भेटेर अनुरोध गरें कि तपाँइलाई असफल पार्नका लागि, तपाँइलाई झ्यालखानामा हाल्नका लागि र संसदीय व्यवस्थालाइ समाप्त गर्नका लागि शाहि सत्ताले जुन षड्यन्त्र ग¥यो, हामी सबै त्यसबाट प्रताडित भयौं ।अहिले तपाँइ नेपालको राजनीतिमा कार्यपालिका र व्यवस्थापिका गरी दुइवटैको अधिकार प्रयोग गरिरहनुभएको छ, एकै दिनमा अत्यन्त संगिन अपराध लागेका मानिसहरु २२ सय जनाको तपाँइले मुद्दा फिर्ता लिनुभयो, जेलबाट एक रातमा रिहा गर्नुभयो । हामी कुन दर्जाको अपराधी हौं की हाम्रो चाँही मुद्दा फिर्ता नहुने ? आखिर त्यही शाही सत्ताको खिलापमा तपाँइका सारा क्रियाकलापहरु केन्द्रीत छ, त्यसकारण तपाँइले बुझ्नु प¥यो की राजाले आफ्नो अभिष्ट पुरा गर्नका लागि हामीलाई भ्रष्ट्राचारको पात्रका रुपमा प्रस्तुत गरे । यसलाई तपाँइले महशुस गर्नुप¥यो । र, तपाँइले हाम्रो मुद्दा फिर्ता लिइदिनु प¥यो भनें । जीवनभरी मैले गिरीजाप्रसाद कोइरालासग नजिक रहेर काम गरेको तर उहाँले हाम्रे कुरा सुन्नु भएन । उहाँले हामीलाई यस रुपमा लिनुभयो की तिमीहरु नेपाली काँग्रेसलाई विभाजित गर्ने प्रमुख व्यक्तिहरु हौं । तिमीहरु नै प्रजातान्त्रिक काँग्रेस बनाउने मुख्य व्यक्तिहरु हौं, त्यसकारणले म तिमीहरुलाई केही सहयोग गर्न सक्दीन भनेर भन्नुभयो । त्यो दीन त मेरो जिन्दगीको एउटा अत्यन्त दुखद दिन थियो । त्यसपछि मेरिटको आधारमा मेरो मुद्दा विशेष अदालतमा चल्यो र मैले सफाइ पाँए । दुर्भाग्यको कुरा हो, शुसीलाजीले मेरो मुद्दालाई पल्टाइदिनुभयो । त्यो एउटा अर्को पक्ष हो, म अहिले त्यसमा गइरहेको छैन । तसर्थ जुन परिस्थितिमा र जुन समयमा हामीमाथी मुद्दा चल्यो, जुन प्रकारले हामीमाथी मुद्दा चल्यो, त्यो राजनीतिक षड्यन्त्र नै हो । यो षड्यन्त्रको नियतीको प्रकोप स्वयम् राजा ज्ञानेन्द्र उपर पनि प¥यो । मैले त राजनीति गुमाँए होला तर उनले त श्रीपेच गुमाए । नियतीले उनलाई पनि आखिर आफ्नो पासोमा पा¥यो । यो शाही सत्ताकै षड्यन्त्र हो ।
० मधेसवादी भनिने जति पनि संघ, संगठन छन् ती वास्तविक मधेसीको हुन सकेनन्, सत्तामुखी भए भन्ने भनाइसंग सहमत हुनुहुन्छ ?
यो एउटा सामान्य मनोविज्ञान मात्र होइन यो एउटा कटु यर्थाथ हो । मैले सुरुदेखि नै भन्ने गरेको छु की चाहे उपेन्द्र यादवजीको संघीय समाजवादी फोरममा हुन्, या चाहे राजपा, मुलभुत रुपमा यिनीहरु सत्ता समपर्ण र मुद्दा विसर्जनके बाटोमा लागिसकेका छन् । यिनहिरुको लागि आजको मितिमा मधेसको सवाल भनेको जसरी भारतमा भारतीय जनता पार्टीले राम जन्मभुमिमा मन्दीर बनाउने मुद्धालाई अगाडि ल्याएको छ, मानिसको एउटा धार्मिक संवेदनालाई उपयोग गरेर आफ्नो राजनीतिलाई अगाडि बढाउने जुन सोच भारतमा भारतीय जनता पार्टीले गरेको छ, मलाई लाग्छ, नेपालमा अहिले संविधानको संशोधन वा मधेसलाई अधिकार सम्पन्न गर्ने कुराहरु त्यो प्रयोग जस्तै मधेसका पार्टीहरुले मधेसका मुद्दालाई उठाएर आफ्नो रोटी सेक्ने काम गरिरहेका छन् । यो त मैले धेरै ठाँउमा भन्दै आएको छु ।यिनीहरु यो समस्याको समाधान चाँहदै चाँहदैनन् । यसको शान्तिपुर्ण समाधान होस् भन्ने पनि चाँहदैनन् । र, त्यस दिशामा यिनीहरुको सार्थक प्रयास पनि छैन । अपितु यो मुद्दालाई प्रयोग गरेर कसरी सत्तामा रहने भन्ने नै यिनीहरुको मनशाय छ । अहिलेको घटनाक्रम हेर्नुभयो भने चाहे दुइ नम्बरको प्रादेशिक सरकारको दिशादृष्टि अथवा संघीय सरकारमा रहेका पार्टीको दिशादृष्टि अथवा संघीय सरकारबाट बाहिर रहेको राजपा जस्तो पार्टीको दिशादृष्टि हेर्नुभयो भने छर्लङ्ग रुपमा यही कुरा देखिन्छ ।
० मधेसतीर सिके राउतको गतिवधी बढेको छ, यसबारे तपाँइको धारणा ?
सिके राउतको गतिवीधीहरु निक्कै बढेको छ । खास गरेर धेरै युवाहरु त्यस विचारधाराप्रति आकर्षित भएको देखिन्छ । मैले यसलाई नेपालको राजनीतिमा एउटा अनिष्ठको प्रवेशको रुपमा लिएको छु । मेरो यसमा सहमति पनि छैन । मलाई के लाग्छ भने यदि शान्तीपुर्ण तरिकाबाट मधेसका सवालहरुको समाधान भएन भने निराशाले धेरै युवाहरुलाई सिके राउत प्रति उन्मुख गराँउछ । त्यसकारण यसलाई मधेसका सवालहरु पल्लो गाँउको समस्या हो, हामीलाई यो संग कुनै लेनादेना छैन भन्ने सोच राज्यले बनाउनु भन्दा पनि राज्यले यो समस्याको समाधान शान्तीपुर्ण तवरबाट मधेसका मेजर स्टेकहोल्डरहरुसंग बसेर समाधान खोज्नुपर्छ जस्तो मलाई लाग्दछ । त्यसकारण समयमै खोजीएन भने नेपालको राजनीतिमा एउटा अनिष्टको प्रवेशको रुपमा यसको प्रवेश भएको छ र यसले अत्यन्त नकारात्मक परिणामहरु दिन्छ ।
० अहिले तपाँइले पहिले काम गरेको मात्रृ पार्टी नेपाली काँग्रेसको महासमिति बैठकले राजनीतिक बजार गर्माएको छ, त्यसलाई कसरी हेरिरहनु भएको छ ?
काँग्रेसको महासमितिलाई मैले टाढाबाट फलो गरिरहेको छु । मलाई लाग्छ काँग्रेसले अहिलेको महासमितिको बैठकबाट अहिलेका राजनीतिका मुलभुत चुनौतहरुलाई बुझ्न सकिरहेको छैन । यो महाधिवेशन ३ वटा विषयमा बढी केन्द्रीत छ । एउटा त सरकारका क्रियाकलापहरुको बारेमा बढी केन्द्रीत छ र नकारात्मक रुपले केन्द्रीत देखिन्छ । ठिक छ, काँग्रेस प्रतिपक्षमा भएको हुनाले त्यसलाई हामी स्वभाविक नै मानौं । दोस्रो कुरा कम्युनिष्ट विचारधारा अथवा कम्युनिष्ट पार्टीृहरुको बारेमा बढी प्रहारलाई केन्द्रीत गरेको छ । सत्तामा कम्युनिष्ट पार्टीहरु भएको हुनाले त्यसलाई पनि हामीले स्वभाविक मानौं । तेस्रो नेपाललाई हिन्दु राष्टमा पुर्नरुपान्तरीत गर्ने विषयहरुमा केन्द्रीत छ । मलाई लाग्छ यि ३ वटा विषयमा काँग्रेसको महासमिति केन्द्रीत रहेर नेपाली काँग्रेसले आफुलाई रुपान्तरीत गर्न सक्छ की सक्दैन । नेपाली काँग्रेसको रुपान्तरण त वाश्तवमा उसले गुमाएको अथावा उसले समाउन नसकेका, भेउ पाउन नसकेको मुलुकको आर्थिक सामाजिक रुपान्तरणको विषय हो, त्यो हो । र, मलाई लाग्छ, त्यस विषयमा काँग्रेस त्यति केन्द्रीत भएको म देख्दिन । उसले उत्कृष्ट विधान नै बनाएर अथवा काँग्रेसले धर्मान्द हिन्दु खेमामा आफुलाई राखेर अथवा नेपाली काँग्रेस सरकारको खिलावमा ठुला ठुला एजेन्डाहरु पास गरेर नेपाली कँग्रेसको रुपान्तरण कसरी हुन सक्छ ? मलाई लाग्छ, उसले अहिले मुलुकका सामाजिक–आर्थिक समस्याहरुको सहि पहिचान गर्न सकेको जस्तो लाग्दैन । उसको डकुमेन्टहरुले अहिले त्यो कुरा बताइरहेको छैन । राम्रो भेला अथवा राम्रो एउटा सम्मेलनको रुपमा उ आफ्नो महासमिति बैठक गरेको जस्तो देखिन्छ ।
० वर्तमान सरकारको कार्यशैलिको कस्तो मुल्याङ्कन गर्नुभएको छ ?
यत्रो राम्रो अवसर र यत्रा राम्रा सन्दर्भहरु छ । संसदमा यत्रो शक्तिशाली बहुमतलाई सरकारले जसरी प्रयोग गर्नुपर्दथ्यो, सरकार पनि चुकेको छ । खासगरेर ओजीजी प्रति म पनि धेरै आशावादी थिँए । तर यतातिरका घटनाक्रमहरुलाई हेर्दा सरकार एउटा राम्रो अवसर गुमाउँदैछ । सरकारको गतिविधीबाट सन्तुष्ट हुने कामहरु भइरहेको जस्तो मलाई लाग्दैन । सरकारले आफ्ना कामहरुको पुर्नलेखाजोखा गर्नुपर्छ । सरकार यही रहने हो । नेपाली काँग्रेसले जस्तोसुकै प्रतिपक्षी भूमिका निर्वाह गरेपनि आउने समयमा सरकार परिवर्तनको संभावना वा संसदको यो संरचना परिवर्तनको संभावना छैन । तसर्थ सरकारले आफुलाई चुस्त दुरुस्त रुपमा अगाडि बढाउनु पर्दछ । जनअपेक्षाहरुलाई पुरा गर्ने दिशामा सरकार जानुपर्छ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply