18th January 2018, Thursday

E-budhabar

मै हुँ मुख्यमन्त्री भन्दै हिड्नु परिपक्वता भएन



मै हुँ मुख्यमन्त्री भन्दै हिड्नु परिपक्वता भएन

० निर्वाचनपछि पनि राजनीतिक डेडलक उस्तै छ, कहिले निकास पाउला यसले ?
– छिट्टै निकास निकाल्नुपर्छ । यसबेलासम्म जनताले निकास पाइसक्नुपर्ने हो । जनताको अभिमत र जे जनादेश छ, त्यसलाई आत्मसात् गरेर छिटो नयाँ सरकार गठन गरेर प्रतिनिधि तथा प्रदेशसभालाई सुचारु गराउनुपर्ने हो । बैठकहरू बसेर सरकार गठन गरेर अगाडि बढ्नुपर्ने हो, तर यो भावनाहरू हुँदाहुँदै पनि अझै अलमल र आलटाल भइरहेको छ । यो सरकार कामचलाउ भइसकेको छ । जनताले वामपन्थीहरूलाई जनादेश दिइसकेका छन् । त्यो हिसाबले पनि धेरै बखेडा झिक्नुहुँदैन । धेरै समस्या सिर्जना गरेर यसलाई अल्मल्याउनुहुँदैन । निकासको बाटो बन्द गर्नुहुँदैन । त्यति नैतिकता र संस्कारयुक्त बन्नैपर्छ राजनीतिक दलहरू । हामी लोकतन्त्रको धेरै कुरा गछौं तर आफैंभित्र लोकतान्त्रिक संस्कार र शैली विकास गर्ने कुरामा र त्यसलाई आत्मसात् गर्ने कुरामा समस्याहरू देखियो । यही कारणले गर्दा पनि ढिला हुन गएको हो । बहाना अनेकौं हुन सक्छन् । अहिले निर्वाचन आयोग जिम्मेवार ढंगले अगाडि आउनुप¥यो । छिटो गर्नुप¥यो । उसले ढिलाढाला गरिराखेको अवस्था छ । यति समयपछि भर्खर प्रदेशसभाको नाम छनोट गरेर बल्ल निर्णय गरेर गयो । प्रतिनिधिसभाको पनि त छिटो गर्न सक्ने अवस्था हो नि त ।
काम त्यही ढंगले रफ्तारमा गर्नुप¥यो । तर गरेको देखिन्न । अर्को कुरा निर्वाचन आयोग कसैको दबाबमा पर्नुहुन्न । ऊ अधिकार सम्पन्न छ, स्वतन्त्र ढंगले जनताको जनादेशलाई पुरै पालना गरेर शसक्त ढंगले अगाडि बढ्नुपथ्र्यो ।
० हरेक प्रदेश सरकारमा नेतृत्वको चर्चा चलेसँगै ३ नम्बर प्रदेशबाट तपाईंलाई मुख्यमन्त्रीका रूपमा हेरिएको छ, यसमा तपाईंको भनाइ के छ ?
– मुख्यमन्त्रीको यो कुरा प्रदेशसभाका लागि महŒवपूर्ण प्रश्न हो । गम्भीर कुरा पनि हो । म कम्तीमा पनि पार्टीको केन्द्रीय उपाध्यक्ष र अहिले ३ नम्बर प्रदेशको संयोजक भएको नाताले पनि स्वभाविक रूपमा कुरा उठेको होला । हाम्रो प्रदेश कमिटीको सचिवालयले पनि छलफल गरेर निर्वाचनअघि नै ‘यो प्रदेश अब हामीले नै बनाउने हो, तपाईं संयोजक पनि भएकाले तपाईंले नै सम्हाल्नुपर्छ’ भनेर सर्वसम्मत रूपमा निर्णय गरीकन प्रदेशको उमेद्वारका रूपमा काठमाडौं–८ को प्रदेशसभा (ख) बाट उमेदवारी दिँएको हो । जनताले जिताउनु पनि भएको छ । त्यसको लागि मतदाता तथा दिदिबहिनी दाजुभाइलाई धन्यवाद पनि छ । तर संस्थागत निर्णय नगरीकन मुख्यमन्त्रीको कुराहरू व्यक्तिगा रूपमा भन्दै हिँड्नु राम्रो होइन । म संस्थागत निर्णय र पार्टी पद्धति मान्ने व्यक्ति हुँ । मैले पाटींको संस्थागत र पद्धतिगत निर्णय र विधिलाई स्थापित गर्नुपर्छ, प्रत्येक नेताहरूले यसको अनुसरण गर्नुपर्छ भन्ने मान्यता राख्छु । त्यसो भएको हुनाले पनि स्थायी कमिटीले यसमा निर्णय गर्नुपर्छ । मलाई लाग्छ, स्थायी कमिटीले निर्णय गरिरहँदाखेरि मेरो बारेमा त्यस्तो खालको निर्णय सकारात्मक नै निर्णय होला भन्ने मैले सोचेकी छु ।
० तर ३ नम्बर प्रदेशभित्र अरू प्रदेशसदस्यले पनि आफुलाई स्वघोषित मुख्यमन्त्रीका रूपमा प्रस्तुत गर्दै हिँडेको देखिन्छ, नि ?
– जितेर आइसकेपछि सबैलाई मन्त्री, मुख्यमन्त्री अथवा कुनै महŒवपूर्ण जिम्मेवारीमा बस्न पाए हुन्थ्यो भन्ने लाग्नु त स्वाभाविक नै हो । त्यसैले केही कमरेडहरूले आ–आफ्नो ढंगले दाबी गरेको म पनि सुन्छु । तर, पार्टीका प्रत्येक नेताहरू पार्टीबाट हुने संस्थागत निर्णयमा बस्नैपर्छ । संस्थागत प्रणालीमा विश्वास गर्नैपर्छ । त्यसलाई आत्मसात् गर्नैपर्छ । पार्टीको संस्थागत निर्णयबेगर मै हुँ भनेर हिँड्नु अलि परिपक्वता भएन । र, राम्रो पनि भएन ।
० तर कसैले त ‘मलाई अष्टलक्ष्मीले नै मुख्यमन्त्रीमा अघि बढ्नुस् भनेर भन्नुभयो’ भन्ने ढंगले एकल प्रचार थालेको देखिन्छ त ?
– मलाई प्रदेश कमिटीले र त्यसको सचिवालयले तपाईंले नै सम्हाल्ने हो भनेर बैठकमै साथीहरूले प्रस्ताव गर्नुभएको हो । साथीहरूले नै मैले केही नबोल्दा प्रदेश सदस्यमा उठ्नुस्, मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुस् भनेर त्यो ढंगले प्रश्ताव राखेर स्थायी कमिटले निर्णय गरेर उम्मेदवारका रूपमा पठाइसकेपछि अब मैले अन्य कोही साथीहरूलाई के भन्थें होला र ? मैले म आफैं उठिसकेपछि र जितिसकेपछि त्यस्तो खालको कुरा कसैलाई भनेको छैन । त्यो भन्ने कुरा पनि भएन । मैले व्यक्तिगत रूपमा कसैलाई भन्दैमा हुन्छ र हरेक कुरा विधिमा टेकेर भन्नुपर्छ नि ? तसर्थ त्यो कुरा हुँदै होइन । त्यसरी जानुहँुदैन । कोही नेता विशेषले कसैलाई त्यस्तो भन्नुभएको रहेछ भने पनि त्यसैका आधारमा विवाद सिर्जना गर्ने काम गर्नुहुँदैन । मुख्य कुरा त संस्तागत निर्णयलाई पालना गर्नुपर्छ ।
० पछिल्लो समय समानुपातिक प्रणालीले प्रदेशसभाहरू पनि कमजोर भयो कि भन्ने गुनासो छ, जस्तो कि आरक्षणकै कारण ३ नम्बर प्रदेशमा अहिले एकजना पनि पुरुषहरू समानुपातिकमा परेनन् , यसबारे के भन्नुहुन्छ ?
– यस प्रणालीलाई एकदम करेक्सन त गर्न जरुरी छ । यो विधि प्रणाली नै ठीक लागिरहेको छैन । हामीले महिलाको सवालमा एक तिहाइ महिला प्रदेशसभामा पनि र प्रतिनिधिसभामा पनि ल्याउनुपर्ने संविधानमा व्यवस्था ग¥यौं । त्यो भनेको महिलाहरू पनि सँगसँगै अगाडि बढून् भनेर नै हो । तर, प्रत्यक्षतर्फ महिलाहरू जित्न सक्दैनन् भनेर उम्मेदवारी दिने सवालमै कटौती गरियो । त्यसो भएपछि सो कोटा पु¥याउन समानुपातिकबाट सबै महिला नै जाने स्थिति बन्यो । त्यही भएर यो तरिका मलाई पनि ठीक लागेको छैन । किनकि प्रतिस्पर्धामा पनि महिला जित्न सक्छन्, भूगोलमा पनि महिलाहरूलाई उम्मेदवारी दिइनुपर्छ, प्रतिस्पर्धामा उभ्याइनुपर्छ भन्ने सोच कमजोर भयो । महिला भनेपछि त सबै समानुपातिकमा छँदै छ नि भन्ने मनोविज्ञानले काम गरिरहेको छ । यो प्रणालीले महिला नेतृत्व विकासमै समस्या पार्छ । महिलाहरू समानुपातिकतर्फ बस्ने र प्रतिस्पर्धामा आउने नचाहने समस्या बढ्न सक्छ । उनीहरूमा प्रतिश्पर्धा गर्न सक्ने आत्मविश्वास कमजोर हुँदै जान्छ ।
० सामाजिक सञ्जालहरूमा समानुपातिक प्रणालीमा पनि नेताहरूका श्रीमती, आफन्त बढी रोजिए, वास्तविक उत्पीडितले उक्त कोटा उपभोग गर्न पाएनन् भन्ने तिव्र आक्रोश आइरहेको छ नि ?
– यो आक्रोशलाई पूर्ण रूपमा असत्य भन्नचाहिँ मिल्दैन । केही हदसम्म सत्य नै छ । अलिकति यसमा सच्याउन चाहिँ जरुरी छ । हामीले छानीराख्दा मापदण्ड त हेर्छौं । मापदण्ड बनाइराख्दा अलिकति योगदानको आधारमा, त्यागको आधारमा, दुःख गरेको आधारमा, निरन्तरताको आधारमा, उसको भूमिकाको आधारमा र क्षमताका आधारमा यी सम्पूर्ण कुराहरू सोचेर गर्नुपर्छ । त्यसो भयो भने काम गरिराखेकाहरूले स्थान पाँउछन् । त्यसो भनेर फेरि परिवारका मान्छे भएर पनि लामो समयदेखि काम गरिरहेकाहरूलाई पनि अवसरबाट वञ्चित गर्नुपर्छ भन्ने होइन । परिवारमा पनि त श्रीमान् श्रीमती सँगै खटिएका हुन्छन् । अथवा, दाजुबहिनी दाजुभाइ नै खटिराखेका होलान् । तर प्राथमिकताचाँहि योगदानलाई नै दिनुपर्छ । परिवार नहुनेहरू चाँहि जतिसुकै त्याग र योगदान गरे पनि सधैं पछि पर्ने, कहिल्यै अवसर नपाउनेमा चाहि ार्टीभित्र बन्नुहुँदैन । त्यसमाथि पनि कम्युनिस्ट पार्टी र अझ एमालेभित्र त बन्नै हुँदैन ।
० समग्र ३ नम्बर प्रदेशको समृद्धिको योजना तपाईंसग
के के छ ?
– ३ नम्बर प्रदेश १३ वटा जिल्ल्लाई समेटिएको एउटा बहुत् सुन्दर प्रदेश हो । यहाँ रहेका हरेक जिलाहरू अत्यन्तै महŒवपूर्ण, अत्यन्तै संभावना बोकेको, अत्यन्तै समृद्धिको ढोका खोल्न सक्ने र त्यो क्षमता राख्ने खालका छन् । राजनीतिक रूपमा नै हेर्ने हो भने पनि नेकपाका संस्थापक महासचिव पुष्पलाल कमरेड जन्मिनुभएको रामेछापको भँगेरीदेखि अन्य महत्वपूर्ण स्थान पनि यसै प्रदेशमा पर्छन् ।
राजनीतक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक र साधस्रोत लगायत सबै हिसाबले यो ३ नम्बर प्रदेश अत्यन्त राम्रो छ । म पदेशको संयोजकको हिसावले पार्टी हाँकीरहँदा मैले प्रदेशका सबै जिल्ला घुमेको छु । हेरेको छु । सिन्धुपाल्चोकको पिस्कर जस्ता कतिपय स्थानमा त मैले भूमिगत ढगले लामो समय काम पनि गरेको छु । यस्ता स्थानहरूले त म रूपान्तरण भएर यहाँसम्म आइपुग्न पनि निकै मद्दत गरेको छ ।
हामी यो प्रदेशलाई अत्यन्त विकसीत प्रदेश बनाउनेछौं । समृद्धिले भरिपूर्ण तथा शुसासनयुक्त प्रदेश बनाउनेछौं । आत्मनिर्भरताले भरिपूर्ण बनाउने सोच छ । ३ नम्बर प्रदेश कमिटीले निर्वाचनअघि नै समृद्धिको खाका पनि सार्वजनिक गरिसकेको छ । यो स्थान पर्यटकीय हिसावले अत्यन्त सम्भावना भएको ठाउँ छ । यहाँ ऐतिहासक धरोहरहरू, सांस्कृतिक धरोहरहरू र धार्मिक धरोहरहरू छन् ।
यसबाहेक यहाँ अपार जलस्रोतका छन् । जडीबुटीको त्यत्तिकै सम्भावना छन् । ठूलाठूला उद्योगहरू स्थापना गर्ने सपनाहरू हामीसंग छ । साना उद्योगलाई आफ्नै गाउँ घरभित्र स्थापना गरेर युवाहरूको विदेश पलायन रोक्ने सोच छ ।
० पछिल्लो समय एमाले र माओवादी केन्द्र एकताको कुरामा अलमलले आशंका बढाएको छ, किन यस्तो भइरहेको छ ?
– अलमलको कुरै छैन । आशंका पनि गर्नुपर्ने कुनै कारण छैन । हामीले चुनावमा वाम तालमेल गरेकै कारणले गर्दा जनतामा ठूलो उत्साह आयो । जनतामा ठूलो विश्वास पनि बढ्यो । अब वामपन्थीहरूलाई जितायो भने राजनीतिक स्थिरता कायम हुन्छ भन्ने आशाले यो परिणम आएको हो । जनादेश त्यही हिसाबले प्रकट भएको हो । हामीले जनतासँग मत माग्दा पनि यो देशमा एमाले र माओवादी भनेर दुई कम्युनिस्ट पार्टी अलगअलग रहँदैन भनेका थियौं । जनताले त्यसमा सहमति गरेर त्यो खालको जनादेश प्रकट गरिसकेपछि त्यो एकताको जानादेशललाई हामीले कुनै ढंगले तुषारापात हुन दिनुहुन्न । नेतृत्व तहले मनलाई फराकिलो बनाएर अघि बढ्नुपर्छ । एकतापछि मेरो के हुन्छ भनेर सोच्नुहुँदैन । पार्टी एकीकृत भयो भने सबैलाई सबैथोक हुन्छ ।
० पावर सेयरिङ र नेताहरूको व्यवस्थापनमा समस्या आएको भनिन्छ, कसरी मिलाउने त ?
– माओवादीभित्र पनि थुप्रै नेता हुनुहुन्छ । हाम्रा पार्टीमा पनि एकसेएक नेता हुनुहुन्छ । त्यो राम्रै कुरा हो । हुनु पनि पर्छ , विभिन्न नेताहरूको विभिन्न क्षमता छ । आ–आफ्नो खुबी छ । त्याग र योगदान छ । बलिदान र दुःख छ । कष्ट गरेर आउनुभएको छ । त्यो व्यवस्थापन त गर्नैपर्छ । तर, मलाई लाग्छ, त्यो पनि धेरै गाह्रो हुन्न । मन फुकाएर, मन फराकिलो बनाएर कसरी, कसलाई, कहाँ व्यवस्थापन गर्न सकिन्छ भनेर घनीभूत छलफल गरियो भने त्यो समस्या होइन, समाधान भइहाल्छ ।
० एमालेकै जिम्मेवार नेताहरूले फरकफरक व्यक्तिलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउँदा बहुकेन्द्र स्थापना हुने भन्दै एकै व्यक्तिको वकालत गरेपछि माओवादी अलि झस्किएको भन्ने छ नि ?
– अहिले यसरी बोलिहाल्ने स्थिति पनि छैन । आवश्यक पनि छैन । घनिभूत रूपबाट छलफल गर्नै बाँकी छ । कसलाई के जिम्मेवारी दिने र कसरी नेताहरूको व्यवस्थापन गर्ने कुरा छलmलबाट नटुंगिने होइन । मुख्य कुरा एउटै पार्टी हुने हो नि त । एकले अर्कोलाई अन्याय नहुने गरी उपाय निकाल्न सकिहालिन्छ नि । त्यसका लागि पनि बस्न जरुरी छ । मिलाउन जरुरी छ । मन फराकिलो हुनु जरुरी छ । सबैले मेरो लागि भन्ने भन्दा पनि देश र जनताका लागि उनीहरूका हकहितमा काम गर्न अब पार्टी बनाउनुपर्छ भनेर सोचिदिएमा आफैं समस्या समाधान हुन्छ ।
महाधिवेशन पनि छिट्टै गर्नुपर्ने हुन सक्छ । त्यो महाधिवेशन पनि समस्या समाधानको उपाय हो । यसमा साह्रै विवाद निकाल्ने, अलि संकीर्णता प्रकट गर्ने अथवा अप्ठ्यारो स्थिति सिर्जना गर्ने काम कसैले नगरौं भन्न चाहन्छु ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

मौका छोपेर कर्मचारीलाई स्थायी

काठमाडौं । लुम्बिनी विकास कोषमा सदस्य–सचिव नभएको मौका छोपेर कामु सदस्य–सचिवले जथाभावी रूपमा कर्मचारीहरूलाई स्थायी गराउने तयारी थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सुस्ताउँदै छ नारी लेखन

‘गुलाफ फुलिसकेछ । कति राम्रो दुईवटा मात्र फुलेछ । कहिलेदेखि पर्खेको मैले यो पहेँलो गुलाफलाई । अझ अरू त फुलेकै छैनन् । यी नफक्रेका कोपिलालाई कति आनन्द छ अहिले । एउटा प्रगाढ निद्रा,- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

नारी संवेदनाको आसपास

पुरुषहरूको वर्चस्व रहेको समाजमा नारीले अनेक पीडा, उत्पीडन र संकटहरू बेहोर्नु आमनियतिजस्तै बन्न पुगेको छ । प्राचीन समाजभन्दा भिन्न सामन्ती समाजमा नारीले पुरुषवादी मानसिकता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा