राजपालाई चुनावबाट कांग्रेसले भड्काइरहेको छ
शत्रुघन महतो, पोलिट्व्युरो सदस्य नेकपा(एमाले)
० तपाइको प्रदेश नं २ मा स्थानीय तहको निर्वाचनको तयारी कस्तो छ ?
–पहिले नै चुनावको मिति तय भएको सन्दर्भमा टिकट वितरण प्रक्रिया थोरै बाँकी नै थियो । अहिले पनि बाँकी उमेद्वार निश्चीत भइसकेको छैन । अब चाँडै नै जहाँ जहाँ निर्णय गर्न बाकीँ छ, त्यहाँ उमेद्वारी निर्णय गर्नका लागि छलफल सुरु हुँदैछ ।
० प्रदेश नं २ मा एमालेको खासै उपस्थिति छैन, एमाले मधेस विरोधी पार्टी हो भन्ने हल्ला व्याप्त छ, खासमा त्यहाँ पार्टीको कस्तो अवस्था हो ?
–हाम्रो त्यस्तो बुझाई छैन । सुरुवातदेखि नै हामी त दुई नम्बर प्रदेशमा पहिलो चरणमै चुनाव होस् भन्ने पक्षमा थियौं । दोस्रो चरणमा पनि किन स्थगित भयो ? विशषवस्तु शंकाको घेरामै छ । हामीले स्थगित गरिनु हुँदैन भनेका थियौं । यदि एमाले मधेसविरोधी हो भने ठिकै छ नी चुनाव होस् । कसको के हैसियत हो जनताले देखाइदिन्छन् नी, एमाले मधेसविरोधी हो की के हो ? हामीले एमाले मधेसविरोधी होइन भनेर पटक पटक प्रष्ट पारिसकेपछि अरुले अनावश्यक हल्ला चलाएर हुन्छ ? मधेस एमालेले भूमिगत कालदेखि लिएर ठूला ठूला जनपक्षिय आन्दोलनहरु गरेको ठाँउ हो । हाम्रा पार्टीका शिर्षस्त नेताहरु त्यही भूमिगत बस्नुभएको हो । त्यहाँ हाम्रा नेताहरुले नै विशेष खालका आन्दोलनहरु उठाउनुभएको छ । एमालले भूमिगत बेलामा जाली तमसुक च्यात्ने आन्दोलन, त्यसपछि रे नहि जि कहो आन्दोलन लगायतका जनपक्षिय आन्दोलनहरु गरेको ठाँउ हो । यसैगरी ‘बनि’ आन्दोलन पनि हाम्रो पार्टीले मधेसमा चलाएकै हो । त्यसैले अहिले जुन आरोप लगाएको छ, ति सबै निराधार आरोप हो ।
२०६४ को कुरा लिनुस् या ०७० कै चुनावको कुरा लिनुस्, संविधानसभामा एमालेको उपस्थिति राम्रो छ । त्यसकारण अहिले कसैले एमाले मधेसविरोधी भयो भनेर आरोप लगाँउदैमा एमाले मधेसविरोधी हुनै सक्दैन । एमालेले मात्र जनपक्षिय कामहरु गरेको छ । अहिले पनि चाहे त्यो माधव नेपाल नेतृत्वको सरकारको बेलामा होस् वा झलनाथ खनालको नेतृत्वको सरकारको पालमा होस् वा पछिल्लो समय केपी ओली नेतृत्वको सरकारको पालामा होस् मधेसका हुलाकी सडक, बाँकी बाटाघाटा वा नगरमा विकास विनियोजन गर्ने सवालमा होस्, पर्याप्त बजेट हालिएको छ । त्यसकारण कुनै पार्टी विशेष वा व्यक्ति विशेषले भन्दैमा एमाले मधेसविरोधी हुँदैन । चुनाव हुन दिउन्, चुनावमा एमालेको राम्रो सहभागिता र उपलव्धी हुन्छ । हामी मधेसमा पनि ठुलो पार्टी बन्छौं ।
० मधेसमा घोषित चुनाव हुन करिव दुई महिना नै बाँकी छ, पहिले संविधान संशोधन गरेर मात्र चुनावमा जानुपर्ने कुरा पनि उठाइएको छ, तसर्थ एकाथरीले संविधान संशोधन भएन भने चुनाव हुँदैन भनिरहेका छन् नी ?
–हामीले सुरु देखि नै भनिरहेका छौं अहिले चुनाव को बेलामा संविधान संशोधनको एकोहोरो रट लगाएर हुँदैन । पहिले यो स्थानीय तहको निर्वाचन होस् । चुनाव हुन् दिनुस् । चुनाव भइसकेपछि संविधान संशोधन आवश्यकता अनुसार गर्ने कुरा हो । तर जतिखेर पनि त्यही कुरा निकालेर कसरी हुन्छ ? संविधान कार्यान्वयनको पाटोतिर पहिले हामी जानुपर्छ । हाम्रो पहिलो प्राथमिकता नै संविधान कार्यान्वयनको हुनुपर्छ । अहिले स्थानीय तहको चुनाव हुन दियौं । त्यसपछि विस्तारै आवश्यकता अनुसार संशोधन गरौंला भनेर हामी भन्दैछौं । अहिले जनताले यो कुरा बुझिसकेका छन् । संविधान संशोधनमा पहिलो चोटी जे ल्यायो, सरकारले किन फिर्ता लियो ?आफैं किन फिर्ता लिनुपर्ने स्थिति बन्यो ?हामी कुनै हालतामा लिँदैनौं, एक अक्षर पनि यसमा सच्याँउदैनौं भन्ने सरकार पछाडि किन अर्को फेरी दर्ता गराउन खोज्यो ? अहिले पनि जे दर्ता गराएको छ, त्यो पनि अहिलेको उचित समाधान होइन । यसकारण समाधान हुने गरी संविधान संशोधन हुनुप¥यो । उसले भन्दैमा, कसैले कुरा उठाँउदैमा अहिले त्यहाँको जनताको आवाज एकातिर छ, अनि दर्ता चाँही अकोतिर भएको छ । त्यसकारण हामी भनिरहेका छौं, पहिले चुनाव होस्,अर्थात संविधानको कार्यान्वयन होस् । संविधानको कार्यान्वयन भनेको अहिले स्थानीय तहको प्रदेश नम्बर २ मा बाँकी छ चुनाव, हायो होस् । त्यसपछाडि यो विषयमा छलफल गरौंला, हामी संविधान संशोधनको विपक्षमा छैनौं । आवश्यकता अनुसार पहिले जे काम छ त्यो काम गरौं भनिराखेका छौं ।
० प्रदेश नं २ बाहेक सबैतिर चुनाव भएर जनप्रतिनिधीहरुले काम नै सुरु गरिसके, तर त्यहाँ अझै अन्यौल छ, त्यहाँ जनप्रतिनिधी विहीन अवस्थाकाबीच राजनीतिकर्मीहरु चाँही के भन्छन् ?
–जुन पाटी अहिले संविधान संशोधनको कुरा उठाइरहेको छ, चुनावको विरोध गरिरहेको छ, त्यही पार्टीका कार्यकर्ताहरुजति सक्दो छिटो चुनाव होस्, हामी चुनावमा भाग लिन्छौं भनिरहेका छन् । त्यसकारण अब कुनै अन्यौल छैन । चुनाव हुन्छ । चुनाव हुन दिनुपर्छ । सरकारकै मनशाय गलत भयो भने त अर्कै कुरा हो, होइन भने त्यहाँ चुनावको वातावरण छ । मलाई त लाग्छ, दोस्रो चरणमै चुनावको वातावरण् थियो । सरकारले स्थगित गर्नै हुँदैनथ्यो । तर अहिले त झन् विभिन्न प्रदेशका अन्य मधेस क्षेत्रहरुमा एक नम्बर, ५ नम्बर प्रदेशका मधेसमा पनि झन् शानदार ढंगले चुनाव भयो । कहाँ अवरोध भयो ? त्यसकारण प्रदेश नम्बर दुइृमा पनि चुनावको वातावरण छ । जनता छिटो भन्दा छिटो चुनाव होस् भनी व्यग्रतापूर्वक बसेका छन् । राजनीतिक दलहरु पनि चुनावमा सहभागि हुन एकदम आतुर देखिन्छन् । कार्यकर्ताहरु पनि अत्यन्त उत्साहीत छन् । त्यसकारण अब सरकारमाथी चुनावको लागि दवाव छ । चुनाव रोकिँदैन । चुनाव असोज २ गते हुन्छ ।
० मधेसमा एमालले पहिलो स्थान हासिल गर्छ भन्ने आधार चाँही के दिन सकिन्छ ?
–कुन तथ्याँङक हो त्यस्तो ? पहिलेको डाटा छोड्दिएर तपाँइ ०५१ सालको डाटा लिनुस्, ०६५ सालको डाटा लिनुस् वा संविधान सभा निर्वाचन २०६४ र २०७० को डाटा लिनुस् । मधेस केन्द्रीत दलहरु पनि २०६४ मा अलिकति अगाडि थियो । तर २०७० को चुनावमा त काँग्रेसथोरै सिटले मात्र संख्यात्मक हिसावले अगाडि छ । भोटको हिसावले त धेरै जिल्लामा एमाले नै अगाडि छ । मत प्रतिशतको हिसावले भन्नुहुन्छ भने सिराहमा एमाले अगाडि, धनुषामा ०६४ मा एमाले काँग्रेसभन्दा ठुलो थियो, अनि अहिले बराबरको अनुपातमा ५ सय हजारको रेसियोमा मात्र कम छ । महोत्तरीमा एमाले, रौतहट, पर्सा जस्ता जिल्लामा संख्यात्मक हिसावले काँग्रेस बढी छ, तर एमालेको भोट त उसंगको हाराहारीमा नै छ । त्यसकारण कसैले यो वा त्यो भनेर हुँदैन । २०७० को आँकडा लिँदा एमाले राम्रो पोजिशनमा छ । चुनाव होस्, हामी राम्रोसंग व्यवस्थापन गर्न सक्छौं, र सोही आधारमा हामी पहिलो पार्टी बन्छौं ।
० काँग्रेसले राजपा समावेश नभइकन निर्वाचनमा सहभागि हुँदा त्यो जनमत एमालेतिर जान्छ भनेर राजपालाई ल्याएरै मात्र निर्वाचन गर्न खोजिरहेको अन्यथा निर्वाचन टार्ने दाउमा छ भन्छन् नी ?
–सबै राजनीतिक दलको आ आफ्नै विश्लेषण होला । व्यक्ति पिच्छे आ आफ्नो विश्लेषण होला । हामी त सकभर राजपालाई पनि ल्याएरै चुनाव गर्नुपर्छ भन्ने पक्षमा थियौं । यो कुरा त मैले लगातार बोलेको पनि छु । किनभने भित्री कुरा भन्नुहुन्छ भने राजपाले मधेस विरोधी एमाले हो भनेर हल्ला फिँजाएपछि चुनावमा उ आएन भने उसको भोट पक्कै पनि हामीलाइ आँउदैन । त्यो भोट ठाँउ हेरेर काँग्रेस वा कतै माओवादीलाई पनि जाला । सकभर राजपाले चुनावमा जाँदा उसले आफ्नो भोट मात्र लिइहाल्यो भने हामीलाई त झन् सजिलो हुन्छ नी । त्यतीमात्र होइन उनीहरुको वास्तविक हैसियत पनि देखिन्छ । मधेस केन्द्रीत दलहरु मै संघीय समाजवादी फोरम आइसक्यो, लोकतान्त्रिक फोरम आइसक्यो । त्यसकारण त्यस्तो अवस्था छैन । सकभर राजपालाई पनि चुनावमा ल्याएरै चुनाव हुँदा राम्रो । किन कसैलाई बाहिर राखेर चुुनावमा जाने ? उसको पनि एउटा स्थिति छ, आन्दोलन मै सधैं रहने, के छ अवस्था त्यो पनि नबुझिने । त्यसकारण सकभर सरकारले अन्य राजनीतिक दललाई पनि सहभागी गराएरै चुनाव हुँदा राम्रो । हुनत काँग्रेसको आफ्नै ढंगको विश्लेषण् होला । तर त्यो अवस्था छैन । चुनावमा गयो भने आफ्नो भोट त उसले आफैंलाई राख्छ नी ।
० तर माग माथि माग थोपर्दै जाने, चुनावमा आउने चाँही नियत नै छैन भने चाँही उनीहरुलाई कति कुरीरहने त ?
–मैले त राजपा आउन चाहन्छ तर काँग्रेसले नै उसलाई झन् झन् टाढा पारिरहेको बुझ्दैछु । उसलाई काँग्रेभित्रैबाट त्यो षड्यन्त्र भइरहेको अवस्था छ । कसैलाई लाग्या होला राजपा चुनावमा आएन भने मलाई फाइदा हुन्छ भन्ने । त्यसैले नजिक नजिक आउन थाल्छ, सहमतिको विन्दुतिर आउने वातावरण बन्छ, ठिक त्यहीबेला उसलाई काँग्रेसभित्रैबाट भड्काउने काम हुन्छ ।
० एमालले मधेसमा समानान्तर हेडक्वाटर स्थापना गर्ने, पार्टी गतिविधी बढाउने भन्ने सुनिएको छ, यो खासमा के हो र के फाइदा पुग्छ ?
–सबै प्रदेशको चुनाव सकियो । प्रदेश नम्बर २ को मात्र चुनाव बाँकी छ । पार्टीको पुरै शक्ति त्यसमा केन्द्रीत गर्नु पनि प¥यो । अनेक फ्याक्टरहरु होलान् ।त्यसकारण नेताहरुलाई खटाउने कुरा होलान् । यसमा सांगठानिक हिसावले कुरा भइराखेको छ । यो राम्रै कुरा हो ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply