21st May 2019, Tuesday

E-budhabar

विचारको बहसमा बाबुरामजी बढी भौंतारिनुभयो



विचारको बहसमा बाबुरामजी बढी भौंतारिनुभयो

० बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी र उपेन्द्र यादवहरू एकिकृत हुँदै छन्, यसलाई कसरी हेर्नुभएको छ ?
नेपालमा वास्तवमा विकास, समृद्धि र सुशासनको चरणमा प्रवेश गरेको हुनाले स–साना पार्टी बनाएर जनतालाई धेरै पार्टीको बोझ दिनुभन्दा आधारभुत उदेश्य र दृष्टिकोण मिल्ने पार्टीहरूका बीचमा धुवीकरण, एकता र समीकरण हुँदा राम्रै हुन्छ । धेरै टिप्पणी गर्नुभन्दा पनि वामपन्थी पृष्ठभूमिको दार्शनिक विचारभन्दा अलि फरकतिर पुगेर उहाँहरूले एकता गर्नुभएको छ । फेरि पनि उहाँहरूको सफलताको र पार्टीले देश र जनताको पक्षमा काम गर्ने आशासहित भविष्यको शुभकामना प्रकट गर्न चाहन्छु ।
० तपाईंले बाबुराम भट्टराईलाई धेरै प्रकारको सहयोग गर्नुभएको थिायो र उहाँसँग तपाईंको अत्यन्तै निकट सम्बन्ध पनि थियो, अब उपेन्द्रसँगको एकतापछि उहाँमा वामपन्थी रुझान त सकियो होइन ?
उहाँ अलिबढी पढेलेखेको र अलि साधारण स्वभावका साथै देश र जनताको पक्षमा काम गर्ने सोच भएको मान्छेका रूपमा मैले विगतमा पाएको हुँ । त्यही भएर कैयौं आलोचना र विरोधका बाबजुद पनि झन्डै ३०–३५ वर्ष मैले बाबुरामजीलाई राजनीतिक जीवनमा साथ दिएँ । कसैसँग सहकार्य गर्छु भन्दा पनि त्यति धेरै समय हुन सक्दैन । तर मैले उहाँको विचार, दृष्टिकोण र भावनाहरूलाई कहीँ न कहीँ निरन्तर सहयोग पु¥याइरहें । त्यसले मलाई व्यक्तिगत रूपमा केही नराम्रो गरेजस्तो लाग्दैन । जहाँसम्म पछिल्लो उहाँको यात्रा छ, उहाँको राजनीतिको सुरुआत, पृष्ठभूमि, उठान सक्रियता, सबै कुरा शब्दमा, कर्ममा, दर्शनमा, दृष्टिकोणमा कम्युनिस्ट पार्टी र वामपन्थी विचारधाराको वरिपरी नै थियो । तर पछि उहाँले अलिकति ट्र्याक आउट गरेर उहाँले आफूलाई प्रस्तुत गर्नुभयो । विगतको उहाँको सबै प्रकारका भूमिकाप्रति इतिहासमा गएर समीक्षा गर्नुपर्छ । मैले अरू धेरै कुरा भन्न चाहन्न । उहाँले आफैं समीक्षा गरेर नेपालमा वामपन्थी जनमतको यत्रो उर्वर स्थिति भएको बेलामा त्यो ट्र्याक छोडेर अर्कोतिर लाग्नु भनेको पृष्ठभूमिको सम्मान हो जस्तो मलाई लाग्दैन । तैपनि व्यक्तिगत रूपमा उहाँलाई हाम्रो सम्मान नै छ ।
० अब उहाँहरूकोे पार्टी कुन रूपमा जाला भनेर हामी विश्लेषण गर्न सक्छौं ? यसले कस्तो आकार ग्रहण गर्ला र नेपाली राजनीतिमा कस्तो प्रभाव पार्ला ?
पार्टी गठन भइसकेपछि केही न केही त प्रभाव पर्छ । त्यतिको व्यक्तित्वहरू सहभागी भइसकेर सक्रियतापूर्वक लागिसकेपछि यसको आफ्नो ढंगको आकार पक्कै लेला । तर नेपालमा जसरी कांग्रेस र कम्युनिस्ट नै यो वा त्यो रूपमा पक्ष वा प्रतिपक्ष भएर रहने नै स्थिति मैले देख्छु । तैपनि स–साना पार्टीहरू विस्तार विस्तार एकीकृत हुने क्रममा छन् । मधेसका केही जिल्ला र पहाडका केही ठाउँमा सांगठनिक आकारले अलि आयतन बढाएर अगाडि बढ्ने सम्भावना देखिन्छ ।
० धेरैले यो एकता नाटकीय ढंगले भए पनि ढिलो चाँडो मिल्नु नै थियो, पूर्वयोजनाअनुसार भारतीय डिजाइनमा नै गरिएको हो भनेर आरोप लगाउँछन् त ?
मैले त्यस्तो खालको आरोप लगाउँदिन । किनभने ती पार्टीहरूले आफ्नो देशलाई राष्ट्रिय सार्वभौमिकता र एकताको सम्मान गर्न चाहन्छन् । र, बाबुरामजी र उपेन्द्रजीलाई त्यो विषयमा लगाइएको आरोपहरू तथ्य संगत छैनन् । हाम्रो विचार नमिले पनि, विचार र देष्टिकोणका साथै सांगठनिक प्रक्रियामा हामी संगै नभए पनि उहाँहरू दुवैजना देशप्रति एउटा प्रतिबद्धता भएको व्यक्ति हुनुहुन्छ । त्यसकारण, त्यो भ्रम नराख्दा हुन्छ ।
० तेस्रो शक्ति, तेस्रो धार वा वैकल्पिक राजनीति पार्टीका रूपमा यो पार्टी आउन सक्ला त ?
पार्टी तेस्रो होला तर जुन उद्देश्यसहित बाबुरामजीले वैकल्पिक शक्तिको अभिलाषा गरेका छन्, त्यो हुन सक्ने सम्भावना छैन । जसरी उनले यो राजनीतक शक्तिको उदय भयो, अब समृद्धिको नेतृत्व गर्ने अर्कै प्रकारको पार्टीको परिकल्पना उहाँले आफूले व्यक्तिगत रूपमा सोच्नुभएको छ, त्यसको आयतन, त्यसको संस्कृति, त्यसको प्रभाव, त्यसको क्लस्टर, त्यसको दर्शन, त्यसको संगठनात्मक संरचना बन्न गइरहेको एकीकरणपछिको पार्टीले वैकल्पिक धारका रूपमा विकास गर्छ जस्तो मलाई लाग्दैन । एउटा शक्ति बन्न पनि सक्छ । तर वैकल्पिक धार भनेर उहाँले जसरी फरक दृष्टिकोण बोक्नुभएको थियो, त्यो त्यसले प्रतिनिधित्व गर्छ जस्तो मलाई लाग्दैन ।
० नेकपाको एकताका क्रममा पहिले बाबुरामजीको नयाँ शक्ति पनि आउने कुरा भएर हस्ताक्षर समेत भइसकेकोमा पछि उहाँ उपियाँ फड्किए जसरी फड्किएर जानुभयो, त्यसैले अहिलेको अवस्थामा उहाँमा कम्युनिस्ट पार्टीप्रतिको भाव र रुझानमा त स्खलन नै आइसकेको भन्न सकिन्छ त ?
सहकार्यको हिसाबले कहीँ न कहीँ तादाम्य नमिलेको त हामीले पहिले पनि महसुस नै गरेका हौं । त्यसमा मेरो कुनै टिप्पणी छैन । माओवादी आन्दोलनकै कारण त्यसपछि उहाँ प्रधानमन्त्री पनि हुनुभयो । त्यसपछि वैकल्पिक धार भनेर उहाँले फरक प्रकारको पार्टी घोषणा गर्नुभयो । केही सन्दर्भमा हामीले पनि उहाँलाई सहयोग गरेकै हो । त्यसपछि उहाँले लगत्तै फेरी तीनवटा पार्टीको एकता भनेर आउनुभयो । अब यसरी सँगै जाने हो भनेर आफ्नो कुरा पनि राख्नुभयो । एकाध कुरा नमिल्नेबित्तिकै उहाँ त्यसरी हिँड्न हुन्थेन । फेरि अहिले अर्को पक्षसँग एकता गर्ने कुराले दार्शनिक चरित्र र वैचारिक शृंखलाका रूपमा कहीँ न कहीँ सोचको तादम्यता नमिलेको हो कि भन्ने लाग्छ । उहाँले बुझ्नुभएन भन्ने कुरा होइन । कहीँ न कहीँ केही न केही नयाँ चुरो खोज्दै जाने क्रममा राजनीतिमा संस्थागत र धैर्यपूर्वक नरहेको हो कि भन्ने मैले महसुस गरेको छु ।
० वैचारिक रूपमा पनि बाबुराम भट्टराईमा अस्थिरता बढी पाइएको हो ?
मैले भन्न खोजेको पनि त्यही हो । सुरुमा कम्युनिस्ट पार्टी ठीक छ भनेर यसमा आबद्ध हुन खोज्नुभयो । पछि कतिबेला मन भड्काएर यी पार्टीहरू पुराना पार्टी भइसके । यिनबाट परिवर्तन हुँदैन भन्नेजस्ता अस्थिरता देखिए । कुनै बेला माक्र्सवाद ठीक छ भन्ने कुनै बेला अर्कै भइसक्यो भनेर अर्कै कुरा गर्ने तौरतरिका देखापरे । उहाँको बैद्धिकता र क्षमतालाई हामी सम्मान गर्छौ । जति पनि राजनीतिले संस्था, संस्थापन पक्ष र सानोठूलो पार्टी जे भए पनि त्यसका शृंखलाको अपेक्षा गर्छौं । त्यो कहिलेकाहीँ नबुझेर लागू गर्ने ठाउमा हुँदा पनि विचार बहसका नाममा अलिकति बढी भौंतारिएको जस्तो मैले महसुस गरेको छु ।
० भोलिका दिनमा नेकपामा बाबुरामजीलाई पनि ल्याउने र सहकार्य सम्भावना कत्तिको देख्नुभएको छ ?
सम्भावना त जे पनि रहन सक्छ । राजनीति भनेको सम्भावनाको खेल हो । हामीले सकारात्मक हिसाबले सोच्नुपर्छ । उहाँको योगदान र पृष्ठभूमि र आँटले के बताउँछ भने उहाँले अर्को चीज गर्छु भनेर भन्दा पनि नेपालको वामपन्थी जनमत यो परिस्थितिमा विकास र समृद्धिको पक्षमा छ । त्यसैले, उहाँ पनि यही महाअभियानमा होमिनु स्वाभाविक हुन्छ । यसो भए विगतमा उहाँले गरेको त्याग र योगदानको पनि कदर हुन्छ । आन्दोलनले उहाँको क्षमता पनि ग्रहण गर्न सक्छ । त्योभन्दा अन्यथा उहाँको लागि पनि त्यति राम्रो हुन्न । उहाँलाई यही महाअभियानमा काँधमा काँध मिलाएर हिँडेको हेर्ने आमचाहना भएजस्तै हाम्रो पनि चाहना छ ।
० नेकपामा जिल्ला तहको एकता टुंग्याएर राम्रो सन्देश दिए पनि जनसंगठन र तल्ला कमिटीहरू अझै एकिकृत हुन सकेको छैनन्, यसलाई कुन रूपमा हेर्नुभएको छ ?
यो एकता छिटोभन्दा छिटो टुंग्याउनुको विकल्प नै छैन । ढिलो नहुनुपथ्र्यो तर भइसक्यो । अब जिल्लाको संरचना बनिसकेपछि पालिकाहरूको संरचना र वडाहरूको संरचना प्रदेशले बनाउँछ । अब केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्युरोको चयन र जनवर्गीय संगठनको समायोजन र खासगरी कार्यविभाजन सकिएपछि एकताका यो चरणका सबै कुरा सकिन्छन् । सबै कुरा टुंगिँदै गएको हुनाले ढिलो चाँडो यो पनि टुंगिन्छ र पार्टीले अब गति लिन्छ ।
० आफ्नै पार्टीको सरकार छ तर सन्तुष्ट त्यति धेरै देखिँदैन नेताहरूमा, तपाईंलाई के लाग्छ ?
सरकार सापेक्षित रूपमा एउटा गतिमा अगाडि बढिरहेकै छ । सरकार किस्ताबन्दीमा राम्रो र लोकप्रिय कामहरू घोषणा गरेर छोडेर हिँड्ने प्रकृतिले गठन भएको सरकार होइन । यो सरकार पाँच वर्षका निम्ति गठन भएको सरकार हो । पहिलो चरणमा नियम, कानुन, ऐन र तीन तहका सरकार बनाउने कुरामा यो सरकारले यो वर्ष महŒवपूर्ण भूमिका खेल्यो । अब योपटकको नीति कार्यक्रम र योपटकको बजेटदेखि जनताका विकास निर्माण र रोजगारका कामहरूको सम्बोधन र केही लोकप्रिय कामहरूको सुरुवात योपटक सरकारले जसरी पनि गर्नुपर्छ । मैले बुझे अनुसार त्यही तयारी हुँदै छ । अरू कतिपय कामहरू जनताका बीचमा उठेका भए पनि विकास र निर्माणका काम विस्तारै परिणाममा पुग्छ । अलि बढी सच्चिन पर्ने र प्रत्याभूति दिलाउनुपर्ने क्षेत्र सुशासनको क्षेत्र हो । त्यसलाई पनि अलि गम्भीरतापूर्वक काम गर्नुपर्ने, जनताका गुनासाहरू सम्बोधन गर्नुपर्ने, आफ्नो पंक्तिलाई मजबुत बनाएर गतिका साथ काम गर्नुपर्ने चुनौती भएको मैले महसुस गरेको छु ।
० सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको छ, यसमा तपाईंको टिप्पणी के छ ?
यो गत सालको भन्दा अलि उन्नत पाइएको छ । योपटक बजेटलाई नै प्रत्यक्ष प्रभााव पार्नेगरी आएको छ । बजेटले नीति कार्यक्रम बोकेन र नीति कार्यक्रममा उल्लेख भएका कुराहरू बजेटमा समावेश भएनन् भने तादम्यता मिल्दैन । नीति कार्यक्रममा उल्लेख भएका कुराहरूसहितको बजेट बन्यो र त्यो बजेट भन्न मात्र होइन, कार्यान्वयन गर्न अगाडि बढाइएको हो भनेदेखि साच्चै नीति तथा कार्यक्रमले ठीकै कुरा सम्बोधन गरेको मैले पाएको छु ।
० नीति कार्यक्रम प्रस्तुत हुँदा राष्टपतिज्यूले प्रयोग गर्नुभएको शव्द मेरो सरकारले धेरै बजार लियो, यसलाई कुन रूपमा लिनुभएको छ ?
हामीले बाटोमा हिँड्दा एउटा ट्याक्सीमा लेखिएको नारा हे¥यौैं । म मरे पनि मेरो देश बाँचिरहोस् भनेर एउटा नागरिकले भन्छ भने एक राष्ट्रपतिले आफ्नो देशलाई मेरो देश, मेरो सरकार भन्न नमिल्ने शब्दका रूपमा पक्कै लिनुहुँदैन । अंग्रेजीमा प्रायजसो लोकतान्त्रिक प्रणाली भएको ठाउँमा माइ गर्भरमेन्ट शब्दले सम्बोधन गर्ने चलन छ । त्यसको नेपाली रूपान्तरण मेरो सरकार भनिएको छ । यसलाई फेरि राजै आएको अर्थमा हेरिनुहुन्न । तैपनि जनताको तर्फबाट यस्ताखाले बहसहरू, छलफलहरू हुनुले भोलिका दिनलाई एउटा बाटो पनि देखाएको छ । तैपनि, जसले यो ड्राफ्ट गरे उनीहरूले यस्ता उठेका प्रश्नहरूलाई अलि गम्भीरतापूर्वक हेर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

स्थानीयमा पुगेन किताबको पैसा

ShareTweet काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥यायौं’- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा