18th October 2019, Friday

E-budhabar
Header Right Side NTC Advertisement

विचौलियाको बिगबिगी चिर्न चुनौतीपूर्ण छ



विचौलियाको बिगबिगी चिर्न चुनौतीपूर्ण छ

० मुलुकको संघीय राजधानी तथा केन्द्रको पनि केन्द्र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी भएर आउँदा कस्तो लागिरहेको छ ?
जिम्मेवारीका हिसाबले यो मेरो पाँचौं पोस्टिङ हो । स्वाभाविक रूपमा प्रमुख जिल्ला अधिकारीको पद समन्वय गर्नुपर्ने हिसाबमा एकदमै टप हेबी नै हुन्छ । त्यसमा पनि राजधानीजस्तो ठाउँ, यहाँको बाक्लो जनघनत्व, सेवाप्रवाहको स्थिति सबै जटिल छ । दैनिक जनताको सेवाप्रवाह र जनजीवनको स्थितिमा बढी नै समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने रहेछ । त्यसकारण, अन्यत्र जिल्लाको तुलनामा राजधानीको जिम्मेवारी चुनौतीपूर्ण भएको मैले महसुस गरेको छु ।
० काठमाडौंको शान्ति सुरक्षा हेर्ने सीडीओलाई प्रतिष्ठित पद मानिन्छ, अन्य जिल्ला छाडेर यहाँ सीडीओ भएर आउँदा कस्तो अनुभूति गर्नुभयो ?
मेरो जिम्मेवारी शृंखलाबद्ध रूपमा बढोत्तरी हुँदै आएको छ । म सुरुमा पर्वत जिल्लामा बसें । त्यसपछि इलाम, त्यसपछि सिन्धुली र पछिल्लोपटक झापाको सीडीओ थिएँ । सोही क्रममा अहिले मलाई सरकारले काठमाडौंको जिम्मेवारी सुम्पिदिएको छ । सायद परिपक्वताको हिसाबले, अनुभवका हिसाबले यत्तिको जिम्मेवार व्यक्ति काठमाडौंको शान्तिसुरक्षाको प्रबन्ध रामै्र हुन्छ भन्ने अनुमान गरेर सरकारले मलाई जिम्मेवारी दिएको जस्तो लाग्छ । त्यसैअनुसार म अगाडि बढ्छु ।
० काठमाडौंको शान्ति सुरक्षामा के–कस्तो खालको सुरक्षा चुनौती रहेको पाउनभयो ?
सुरक्षा चुनौतीका विषयमा हामी एकदमै सचेत छौं । सुरक्षाको स्थिति के छ भन्ने कुराको हाम्रो मिहीन आँकलन छ । पहिचान र विश्लेषणका आधारमा हाम्रो संयन्त्रमार्फत हामी हरक्षण परिचालित छौं । जनताको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी राज्यको हो । त्यस हिसाबमा हामी एकदमै सचेत, सतर्क र संवेदनशील छौं । तसर्थ जनतालाई सुरक्षाको प्रत्याभूति दिने खालको प्रबन्ध हामी गर्छांै ।
० दसैं, तिहार, छठजस्ता प्रमुख चाडहरू पनि आउँदै छन् । चोरी, लुटपाट, कालोबजारीलगायत गतिविधि अब बढी देखिन थाल्छ । चाडबाडमा केन्द्रित भएर यसको निराकरणका लागि के योजना अघि सार्नुभएको छ ?
सुरक्षा भनेको वास्तवमा अनुभूति गर्ने विषय हो । त्यो अनुभूतिको प्रत्याभूति हामीले दिनुपर्छ । कार्टेलिङबाट जोगिने, कालाबजारियाबाट जोगिने, अनावश्यक हर्कतबाट बच्नेजस्ता कुराहरू नागरिकका अधिकारसमेत हुन् । यो अधिकारको प्रत्याभूतिमा राज्य संवेदनशील हुनुपर्छ । त्यस हिसाबमा चाडपर्वकेन्द्रित सुरक्षा योजना हामीले बनाइसकेका छौं । सुरक्षाको अवस्था पलपलमा फरक हुन सक्छ । कार्टेलिङ, ठगी र कालाकजारिया नहोस् भनेर हामीले उद्योगमन्त्रीज्यूको संयोजकत्वमा नै एउटा समिति क्रियाशील छ । त्यसले बैठकमार्र्फत योजना तय गर्दै वाणिज्य विभाग, हामी र सरोकारवाला निकाय बसेर छलफल गरी एकखालको निर्णय पनि हामीले गरिसकेका छौं । त्यसमा सबै सरोकारवाला निकाय र सँगसँगै उपभोक्ता पनि सचेत हुनुपर्ने देखियो । सरोकारवालासँग सहकार्य गरेर आमसर्वसाधारणलाई ठगिनबाट जोगाउने अधिकतम प्रयत्न हामी गर्छौं । त्यस हिसाबमा हामीले चरणबद्ध बैठकहरू पनि राखेका छौं ।
दसैंको बेला २५ लाखभन्दा बढी नागरिक उपत्यकाबाट बाहिरिन्छन् । त्यसैले टिकट बुकिङ आइतबारबाट सुरु भइसकेको छ । टिकटमा पनि ‘नक्कली हाउसफुल’ भयो भन्ने गुनासो आएको छ । यसपालि त्यसमा पनि थप सतर्क छौं । लाग्ने भाडा तिरेर जान सक्ने व्यवस्थाका लागि हामी प्रयत्न गछौं । यसमा यातायात व्यवसायीहरूले पनि एक खालको प्रतिबद्धता गसिक्नुभएको छ । यातायात विभाग पनि यसमा सर्तक छ । म आफैं पनि प्रकारान्तरले पब्लिक नै हुँ । मैले पनि टिकट काटेर घर जानुपर्ने हुन सक्छ । त्यसकारण, कोहीकसैलाई कुनै हर्कत नहोस् भन्ने हाम्रो चाहना हो ।
० चार्डपर्वकै बेला बढी दुर्घटना पनि हुन्छ नि ?
हो, यसप्रति पनि हामी सचेत छौं । चाडबाडका बेला मादक पदार्थ सेवनको मात्रा अलि बढ्ने गरेको छ । यो कुरा विगतको तथ्यांकले पनि देखाएको छ । यसकारण, थप निगरानी गर्ने, ठाउँठाउँमा चेकिङ गर्ने, दुई चालक बदल्ने कार्यमा कडाइ गर्ने र कारबाही गर्नेलगायत काममा अनुगमन गर्न अनुगमन संयन्त्र बनाउने काम हामीले गरिसकेका छौं । सबै व्यवस्थालाई सुव्यवस्थित गर्न हामी लागिपरेका छौं । यसबारे हामीलाई गृह मन्त्रालयको स्पष्ट निर्देशन पनि छ । जिल्ला सुरक्षा समितिको बैठक पनि हामीले राखेका थियौं । सरोकारवालहरूबीच पनि बैठक बसेका छौं । यसपालि टिकटबारे पनि जथाभावी मूल्य तिर्नुपर्ने र जनताले दुःखहैरानी बेहोर्नुपर्ने अवस्था आउँदैन भन्ने मेरो विश्वास छ ।
० त्यस्तो परिस्थिति आयो भने आमउपभोक्ताले के गर्ने त ?
भरसक त्यस्तो हुन दिँदैनौं । तैपनि कहीँकतै त्यस्तो अनियमितता पाइए तुरुन्त मलाई सिधै फोन गरेर जानकारी दिन सक्नुहुनेछ । त्यस्तो बदमासी भेटिए सिधै मेरो नम्बर ९८५१२०७७७७ मा फोन गर्न सक्नुहुन्छ । म दिउँसो–राति जतिखेर पनि फोन उठाउन तयार छु । किनभने, जनताको गुनासो सुन्ने कुरामा कुनै कन्जुस्याइँ हुनेछैन । फोकल पनि हामीले तोकेका छौं । ट्राफिकसँग राम्रो समन्वय छ । त्यसकारण, यदि कसैले ठगेको भन्ने कुरा प्रस्ट प्रमाण छ भने तत्कालै खबर दिनुस्, हामी ठाउँको ठाउँ कारबाही गर्छाैं ।
० जनतालाई दिने सेवा प्रवाहमा कुनै नयाँ योजना छ कि ?
हाम्रो साझा बुझाइमा अलिकति समस्या छ । किनभने सेवा प्रवाह गर्ने राज्यको दायित्व हो । राज्यका विभिन्न संयन्त्रमध्ये हामी एक हौं । जनताको करबाटै हामी चल्ने हो, त्यसैबाट हामीले तलब खाने हो । त्यसैले करदातालाई निर्बाध सेवा दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । तर, अलिअलि कुरा नबुझेर पनि यहाँ समस्या पर्ने गरेको छ । मानौं, नागरिकता लिन कुनै व्यक्ति आयो भने १० वटा कागजात चाहिन्छ । तर, कसैले पाँचवटा अपुरो कागजात लिएर आए भने कागजात नपुगेको हकमा यहाँबाट नागरिकता जारी गर्न सकिँदैन । डकुमेन्ट पूरा भएको खण्डमा हामीले १५ मिनेटमा नागरिकता जारी गर्ने गरेका छौं । यहाँ कुनै रोकावट हुँदैन । तर, यहाँ कागजात अपुरो आउने, अनावश्यक अनुरोध गर्ने, माथिबाट नेताको फोन लगाउने समस्या छ । ती विविध कारणले हामीप्रतिको विश्वास पनि कम भएर जाने गरेको छ । त्यसैले, म आइसकेपछि सेवाप्रवाह बडापत्र जारी गर्ने योजना बनाएका छौं । कार्यालय प्रमुखहरूको बैठकमा पनि मैले यो कुरा राखेको छु ।
सेवाप्रदायक निकाय आफूले विभिन्न काम गर्दा कुन कामका लागि कुन–कुन कागजात चाहिन्छ भनेर स्पष्ट पारेर सबै निकायमा पठाइदिने सोच छ । त्यो बडापत्र वडा कार्यालयमा जान्छ, वडाबाट नै सिफारिस लिँदा सेवाग्राहीलाई कुन कामका लागि कुन–कुन कागज चाहिन्छ भनेर स्पष्ट भयो भने सजिलो पर्छ । डकुमेन्ट पूरा भएर आइसकेपछि काम रोकिनुहुँदैन, रोकिँदैन । कार्यविधिले निश्चित गरेबमोजिमको कागजात नभएपछि हामीलाई पनि अप्ठेरो । पब्लिकले पनि कुरो बुझ्दैनन् अनि भन्छन्, ‘जसरी पनि मिलाइदिनुहोस् न ।’ कर्मचारीहरूले गरिदिँदा हुन्छ भन्ने भ्रम उनीहरूलाई पनि छ । त्यसैले आमपब्लिकको रेडिमेड जवाफ ‘कर्मचारीले घुस माग्यो’ भन्ने आउँछ । हामीलाई सेवाग्राही र बिचौलिया छुट्याउन पनि चुनौती छ । वास्तविक सेवाग्राहीको मर्का नबुझ्ने भन्ने कुरै भएन । तर, यहाँ बिचौलिया घुस्छ । बिचौलियाहरूले हाम्रो नाम बेचेर पनि त्यस्ता हर्कतहरू गर्ने गरेको छ । त्यसमा हामी सचेत छौं । त्यसलाई निर्मूल पार्न सेवा प्रवाह बडापत्र जारी गर्ने पनि हाम्रो प्रयास छ । मैले झापा र सिन्धुली दुवै स्थानमा नागरिक सेवा प्रवाह बडापत्र जारी गरेर आएँ । मेरो मान्यता पब्लिकले सेवा लिँदा लाग्ने दस्तुरभन्दा एक रुपैयाँ पनि बढी तिर्न नपरोस् भन्ने छ ।
० अन्यत्र र काठमाडौंमा फरक देखिएको र आवश्यक ठानिएको अरू गर्नुपर्ने कुरा केही छ ?
यहाँ विकराल ट्राफिक समस्या छ । यसको व्यवस्थापन अत्यधिक चुनौतीपूर्ण छ । त्यसकारण, ट्राफिक व्यवस्थापनका लागि छलफल हुन्छ, योजनाहरू पनि बन्छन्, तर अन्डर वे अन्डर पास गर्न सकियो भने पछिसम्मलाई सजिलो होला । किनभने, सवारीसाधन थपिएको थपियै छन् । सडकको क्षमता त्यही हो । त्यसकारण, करिडोरलाई पहिलो प्राथमिकता दिएर क्लियर गरिदिने र कलंकीमा जस्तै अन्डर वे सबैतिर बनाइदिने हो भने केही सहज हुने देखिन्छ । यसमा विज्ञहरूसँग बसेर अन्यत्रको अभ्यासलाई पनि हामीले अवलम्बन गर्न सक्छौैं । ट्राफिक जाम कम गर्न पाए हुन्थ्यो भन्ने मेरो एउटा चाहना छ भने अर्को कुरा यहाँ बिचौलियाको बिगबिगी छ । हरेक क्षेत्रमा बिचौलिया हाबी छन् । बिचौलिया चिर्न कस्तो संयन्त्र चाहिएला, यसलाई चिर्न पाए हुन्थ्यो भन्ने चाहना छ । नागरिकलाई निःशुल्क अर्थात् लाग्ने दस्तुरबाहेक अन्य केही शुल्क नलिई सेवा दिलाउन पाए हुन्थ्यो भन्ने लाग्छ । हुन त यो सामूहिक प्रयासको कुरा पनि हो ।
यस अभियानमा म प्रमुख जिल्ला अधिकारी इमानदार भएर मात्र पुग्दैन । बस व्यवसायी, पसले, व्यापारी सबैले वर्ष दिनका लागि कमाउने मेलो यही दसैं हो भन्ने सोच राख्नुभएन । सरकारले सुखी नेपाली, समृद्ध नेपालको जुन अभिष्ट अगाडि सारेको छ, त्यसलाई परिपूर्ति गर्न त सबै पक्ष इमानदार हुनुप¥यो । कसैको पनि इमानदारीमा प्रश्न आउनुभएन ।
० समुदाय–प्रहरी साझेदारी अभियान कत्तिको प्रभावकारी पाउनुभएको छ ?
भर्खरै सुरु गरेको कार्यक्रम भए पनि यो अत्यन्त प्रभावकारी भएको छ । यसमा ‘प्रहरी जनताको साथी’ भन्ने अवधारण छ । प्रहरी देखेर कोही डराउनुपर्दैन, आपत्विपत् पर्दा प्रहरीले नै सहयोग दिन्छ, विलखबन्दमा तपाईं पर्नुभयो भने त्यसको उद्धार प्रहरीले गर्छ भन्ने आशय हो । सबै नागरिक प्रहरीमैत्री भइदिँदा त्यस निकायले काम पनि प्रभावकारी ढंगले गर्दै आएको छ । प्रहरीलाई भइरहेका सूचना दिएर पनि नागरिकले सहयोग गर्नुपर्छ । प्रहरीसँग नागरिकको अन्तरघुलन भयो भने सेरेमोनियल रिलेसन बन्छ । सेरेमोनियल रिलेसन भएपछि गठिलो सम्बन्ध कायम हुन्छ । सुमधुर सम्बन्ध स्थापित हुन्छ । सुशासनको अनुभूति त्यतिखेर प्राप्त हुन्छ । राज्यले लिएको प्रवित्र उद्देश्य पूरा गर्ने सम्बन्धमा चालिएको यो अभियान हो । यसले सकारात्मक प्रतिक्रियाहरू दिइरहेको छ । आमसर्वसाधारणलाई शान्तिसुरक्षाको प्रत्याभूति गर्ने दायित्व हाम्रो हो । हामी त्यसैअनुसार अगाडि बढिरहेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

समान पीडा

ShareTweet शिव रेग्मीले सिंगो जीवन नेपाली भाषा–साहित्यको प्रवद्र्धनमा बिताए । भाषा–साहित्यसँग जोडिएका खोज–अनुसन्धानमूलक कार्यमा उनको गहिरो अभिरुचि रह्यो । त्यही- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा