20th November 2019, Wednesday

E-budhabar
Header Right Side NTC Advertisement

हामीचाहिँ कुर्ची बोकेर आर्यघाटसम्मै जाने ?



हामीचाहिँ कुर्ची बोकेर आर्यघाटसम्मै जाने ?

० राजनीतिमा एकताका चर्चित नेता अहिले राजनीतिमा सक्रिय हुनुहुन्न नि ?
म राजनीतिमा अहिले निष्क्रिय देखिनुपर्ने एउटै मात्र कारण के हो भने सबै साथीले ‘तँ अब लेखपढ गर्’ भन्नुभयो । त्यसैले मैले सजिलै छोडें । मेरो रुचिको क्षेत्र नै अध्ययन गर्ने र लेख्ने हो ।
० स्वास्थ्यका कारण त होइन नी ?
छैन, म भन्दा धेरै बिरामी साथीहरू अन्य धेरै छन् । मलाई त अहिले के भएको छ र ? दाहिने खुट्टा अलि अलिखोच्याउन पर्छ । धेरै कार्यक्रममा घर बाहिर हिँड्न नपरे हुन्थ्यो जस्तो लाग्छ , तर बोलाएका जति सबै ठाउँमा गइराखेकै छु । त्यसैले त्यस्तो बिरामी भएको हुनाले नै मपछि परेको भन्ने मलाई लाग्दैन ।
० ६० वर्षपछि सक्रिय राजनीति गर्नुहुँदैन, नयाँ पुस्तालाई अगाडि सार्नुपर्छ भन्नुहुन्थ्यो, त्यही भएर त होइन ?
हो, त्योचाहिँ म निष्क्रिय हुनुपर्ने प्रमुख कारण हो । कति गर्नु हामीले ? शताब्दीसम्म नै हामीले गर्ने होइन नि । एकअर्कासँग मेरो फरक मत त्यही हो । बढीमा ६५ हो, त्यसपछि त गर्नैहुँदैन । कर्मचारीहरूलाई ६० वर्षपछि किन बिदा दिन्छन् त ? न्यायाधीशलाई पनि ६५ वर्षपछि काम गर्न दिइँदैन । हामीचाहिँ कुर्ची बोकेर आर्यघाटसम्मै जाने ? यो बेठीक हो । अर्को कुरा म कामको स्पिरिटको पनि पक्षपाती हुँ । म २२ वर्षमा पूर्णकालीन भएँ । दैनिक १८–२० घण्टा त म काम गर्थें । अहिले मलाई १० घण्टा काम गर्न पनि जाँगर लाग्दैन । थाकिन्छ नै ।
० नेकपाको कमिटीमा त हुनुहुन्छ नि, जिम्मेवारी के दिइएको छ ?
त्यही केन्द्रीय सदस्य छु । अरू तोकेर केही जिम्मेवारी दिनुभएको छैन ।
० नेताहरूले के काम दिऊँ भनेर सोधखोज गर्नुभएन ?
उहाँहरूले मलाई एक प्रकारले बिर्सनुभयो ।
० कस्तो अनुभूति भइरहेको छ त ?
मलाई केही भएको छैन । मैले जति गर्नु थियो, गरें । अब अरूले गर्नुपर्छ भन्ने मान्यताको मान्छे म ।
० तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको छ, बाहिर बसेर यो एकतालाई कसरी हेर्नुभएको छ ?
एकताको पहिलो प्रस्ताव त मेरै हो । तपाईंले गएर प्रचण्डलाई सोध्नुभए हुन्छ । पहिलो मान्छे म हुँ जसले ‘अब तपाईं एक्लै नबस्नुस्, म वरिष्ठ नेता बनाउँछु ।’ अहिले मेरो वरिष्ठ नेता बनाउनेसम्मको मात्र हैसियत छ, एउटै पार्टी बनाउनु भनेको थिएँ ।
० यो कहिलेको कुरा हो ?
मैले यसो भनेको चार वर्ष हुन लाग्यो । उहाँलाई सकारात्मक लाग्यो होला । तर, म त्यस्तो एक्टिभ छैन भन्ने उहाँलाई पनि थाहा थियो । उहाँ र मेरो जहिले पनि साहित्यिक कार्यक्रमहरूमा मात्रै भेट हुन्थ्यो । राजनीतिक कार्यक्रमहरूमा हाम्रो कहिल्यै भेट भएन । तर, उहाँ मलाई भन्नुहुन्थ्यो कि, ‘तपाईंले मलाई त्यो भनेपछि अबचाहिँ बाटो यही ठीक हो भनेर कुराकानी थालें अरू साथीहरूसँग ।’ त्यो कुराको श्रेय मैले लिन चाहिन पनि । एकचोटि भनेको हुँ ‘आउनुस् । राम्रो हुन्छ’ भनेर पछि विष्णु पौडेल, वामदेव गौतमलगायतले कुराकानी गर्नुभयो । जे गर्नुभयो, राम्रो गर्नुभयो ।
० एकले अर्कोलाई गर्ने आरोप–प्रात्यारोप कायमै थियो तर चमत्कारिक र नाटकीय ढंगले नै एकता भयो त ?
बाहिरबाट हेर्दा चामत्कारिक हुन्छ । भोग्नेलाई त्यस्तो हुँदैन । जस्तो हाम्रो र माक्र्सवादीको एकता हुँदा पनि चामत्कारिक नै भन्थे सबैले । तर बिस्तारै त्यो व्यवस्थित हुँदै गयो । यो पनि विस्तारै व्यवस्थित हुँदै जान्छ ।
० तर सिद्धान्त र कार्यनीतिमा एकरूपता आएको छैन, जनताको बहुदलीय जनवाद नै ब्युँताएर तलसम्म लैजाने भन्ने कुरा उठेपछि एकताको स्पिरिटमा पनि आशंका बढेको ढंगले हेरिँदै छ नि ?
मैले बुझ्दा एकताको स्पिपरटमा कुनै आशंका देख्दिनँ । किनभने, माओवादी केन्द्र भनेको केन्द्रीयता बलियो भएको पार्टी हो । झन्डैझन्डै एकल नेतृत्वको पार्टी हो । त्यसमा कमरेड प्रचण्डले जहाँ गए पनि जनताको बहुदलीय जनवादको पक्षमा बोल्नुभएको छ । अस्ति प्रतिवेदन बनाउँदा एक्काइसौं शताब्दीको जनवाद भन्ने परेछ । त्योचाहिँ पछाडि फर्किएको हो । जनवादबाट समाजवादमा पुग्न त दुईवटा स्टेप पार गर्नुपर्छ । त्यसैले पछि फर्किएकै हो ।
० भनेपछि जनताको बहुदलीय जनवाद अर्थात जवजमा आउनैपर्छ ?
त्यसको विकल्पै छैन । जनताको बहुदलीय जनवाद भनेर आउनुस् कि त जनताको जनवाद भनेर आउनुस् । जे भए पनि उहाँँ त अहिले पनि चुनाव छोड्न सक्नुहुन्न । अहिले चुनाव बहिष्कार गर्न कसैले सक्दैन । तपाईं कम्युनिस्ट भएर चुनावमा भाग लिनुहुन्छ र विधिको शासन मान्नुहुन्छ भने जनताको बहुदलीय जनवाद त्यही त हो नि !
० कम्युनिस्ट पार्टीको नेतृत्वमा लगभग दुई तिहाइको सरकार छ, तैपनि जनताको इच्छा आकांक्षाअनुरूप काम हुन सकेनन् भन्ने गुनासो सुनिन्छ, सरकारको मूल्यांकन कसरी गर्नुभएको छ ?
अरू कुनै सरकारले भन्दा यो सरकारले धेरै राम्रो काम गरेको छ । तर, यसले जनताको बहुदलीय जनवादको स्पिरिटअनुसार काम गर्न सकेको छैन । नेपालमा समाजवाद आउन अझै सय वर्ष लाग्छ ।
० भनेपछि अहिले त त्यो एउटा कल्पना मात्रै हो ?
कल्पना होइन । किनभने, समाजवादमा जानका लागि तीनवटा कामहरू हुनुपर्छ ।
० के–के होलान् ती काम ?
एउटा– देश आर्थिक रूपमा आत्मनिर्भर र स्वतन्त्र हुनुप¥यो । त्यो नेपालमा छैन । नेताहरूमा अझै सामन्ती चिन्तन छ । दोस्रो– हामी ठूला हौं, तलका कार्यकता साना हुन् भन्ने भाव छ । त्यसलाई ठ्याक्कै उल्टाउनुपर्छ । तल बलियो हुनुपर्छ, माथि कमजोर भएर केही बिग्रँदैन । तेस्रो कुरा भनेको आममानिसमा यो भावना हुनुपर्छ । नेतामा मात्र भएर हुँदैन । आममानिसमा ऊ नै ठूलो हो, अरू सबै सानो हो भनेर बोध गर्ने शक्ति हुनुपर्छ ।
० तर पार्टीभित्रै आमकार्यकर्तामा त समान धारणा छैन, गुटपरस्त चिन्तन, निश्चित समूह र नाता–आफन्तलाई मात्र च्याप्ने प्रवृत्ति छ, आमजनताको धारणा एकै कसरी होला ?
होइन, होइन म यो गुटको चाहिँ विरोध गर्दिनँ । मान्छे जब क्षमता हुन्छ, त्यसमा अघि सर्छ । अरूचाहिँ गोठाला मात्र हुने होइन नि । हामी गर्छौंं भनेर गर्ने खोज्नेलाई अघि सर्न दिनुपर्छ । त्यसरी गर्न नसक्नुमा म बरु कार्यकर्तालाई नै दोष दिन्छु । उहाँहरू अर्थात् ठूला मान्छेहरूको जिन्दगी नै गुट हो क्या ।
० ए, त्यसो भए राजनीतिका लागि गुट अपरिहार्य भन्ने तपाईंको ठम्याइ हो ?
हो, मलाई त्यस्तै लाग्छ ।
० कम्युनिस्ट चिन्तन, आदर्श र कार्यशैली केही पाइँदैन तर नाममा कम्युनिस्ट शब्द जोड्दैमा तपाईंहरूको पार्टी सच्चा कम्युनिस्ट पार्टी हो त ?
पार्टीचाहिँ कम्युनिस्ट पार्टी नै हो । तर विचलन धेरै छ । यो सामाजिक जनवादी पार्टी होइन । यो कम्युनिस्ट पार्टी नै हो । तर यसले कम्युनिस्ट पार्टीले गर्नुपर्ने कामहरूचाँहि गरेको छैन । जस्तो अर्थतन्त्रमा निर्भरता भन्ने कुरालाई संघीयताले सघाउँथ्यो । तर त्यहाँ कसैको पनि ध्यान जाँदैन । संघीयता समाजवादका लागि त छिटो निम्त्याउने बाटो हो नि ।
० तर केहीले त संघीयता घाँडो भो, सेतो हात्ती भो भनेका छन् नि ?
हो, स्वाभाविक हो । नेपालले थेग्न सक्दैन भनेर तम उतिबेलै संघीयता विरोधी भएको हो नि । वैदेशिक ऋण मागी खाएर कसरी संघीयता बलियो हुन्छ । संघीयता त पुँजीवादको पनि सबैभन्दा माथिल्लो रूप हो ।
० भनेपछि नेपाललाई संघीयता आवश्यक छैन ?
आइसक्यो । अब के गर्नु त ? कतिपय निर्णयहरू बाध्यतावश स्विकार्नुपर्छ । यो पनि भत्कियो भने देश कहाँ जान्छ ?
० टिकाएर यही हिसाबले थेग्न सकिएला त ?
सकिन्छ । तर हिम्मत हुनुपर्छ ।
० तपाईं त युवाहरूप्रति भरोसा गर्ने मान्छे, सरकारमा रहेका युवामन्त्रीहरूको कार्यशैलीबारे कसरी समीक्षा गर्नुभएको छ त ?
व्यक्तिको कार्यशैलीबारे नजाऔं । अहिले सबैले बोल्ने भाषा एकै छ । सबैले भेट हुँदा हामीलाई तपाईंले नै बनाएको हो यो स्थानमा भन्छन् । उनीहरू सबैले मेरो कार्यकर्ता भएको दाबी गरिरहेका छन् । तसर्थ, मैले उनीहरूलाई हतोत्साही गर्दिनँ । उनीहरू आफैंले बुझ्नुपर्ने हो । सधैंभरि बाउको हात समातेर हिँड्न त पाइँदैन नि । एक दिन बाउलाई पनि बोकेर हिँड्नुपर्ने हुन्छ । जित्नुप¥यो त उनीहरूले मलाई । मेरो कार्यशैली सम्झनुप¥यो, जित्नुप¥यो ।
० विप्लवहरूको समस्यालाई कुन रूपमा लिनुभएको छ, के यो विकराल भएर जान्छ ?
जाँदैन, उहाँहरूलाई पनि अब थकाइ लाग्न थालिसक्यो । किनभने नेपालमा कुनै सशस्त्र संघर्ष सफल भएको छैन । पुष्पलाल भन्नुहुन्छ नि सात साललाई अपूर्ण क्रान्ति भयो । किनभने क्रान्तिलाई बीचैमा तुहाइयो । पूर्वबाट सुरु भएको आँधीबेहरी बनेपासम्म आयो, काठमाडौं छिर्न सकेन । ठूलो सेना गएर यहाँ ल्याएर राखियो हलचल गर्न नपाउनेगरी । त्यो पनि फेल भयो । कांग्रेसको, हाम्रो, माओवादी सबैको फेल भयो । अब विप्लवको चाहिँ कहाँबाट सफल हुन्छ ? उहाँलाई मैले फेसबुकबाट अपलोड गरेर कति मान्छे मार्ने हो, हतारहतारमा मारे हुन्छ, अनि त्यसपछि वार्तामा बस्नु, एउटा मन्त्री पाइहाल्नुहुन्छ भन्दिएको थिएँ । त्यो लडाइँ नै त्यत्ति हो । मन्त्री वा राम्रो मन्त्रालय भएपछि टुंगिन्छ ।
० नेकपामा एक व्यक्ति एक पद त लागुभएन नै, अहिले दुई अध्यक्षमध्ये एकले सरकार चलाउने र अर्कोले पार्टी चलाउन पाउनुपर्ने कुरा उठेको छ, यसमा तपाईंको अनुभवले के भन्छ ?
मेरो अनुभवले केही पनि भन्दैन । किनकि, त्यो काम नै गलत भएको छ । दुई व्यक्ति एउमा पदमा छन् । अनि तिनीहरूको कार्यविभाजन पनि भएको छैन । त्यो त स्वतः गलत हुन्छ । हाम्रो पार्टी भनेको तलबाट बनेको पार्टी हो । माथिबाट संगठन बनाउँदैबनाउँदै भुइँमा गएको होइन कि भुइँमा भएको मानिसहरूले संगठन बनाएका हुन् । म नढाँटी भन्छु हाम्रा दुइवटै अध्यक्षमा संगठनात्मक चेतना नै छैन । किनकि, केपी ओली जेल बस्दाबस्दा बूढो भएर आउनुभयो । हामीले जस्तो उहाँले गाउँगाउँमा गएर खाईनखाई संगठन गर्नुभएको छैन । १५ वर्ष त मेरो परिवारसँग सम्पर्कै भएन । सानो टिमसंग झापामा काम गरेको मान्छे उहाँ एकैचोटि पक्राउ परेपछि ठूलो माले पार्टीमा आउनुभयो । त्यस्तै संगठन कार्य कसरी हुन्छ भनेर माओवादी केन्द्रका धेरै नेतालाई थाहा छैन । त्यसैले यो अहिले विचित्र ढंगले चलिरहेको छ । चल्नचाहिँ चलिरहनेछ । माथि सबै स्वाहा भयो भने नि भित्रभित्र चलिरहन्छ । किनकि, हाम्रो संगठन भनेको तल छ । जिल्ला कमिटी, गाउँ कमिटी, टोल र वडा कमिटी नै हाम्रा मेरुदण्ड हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

अलपत्रै छाडियो कम्प्युटर ल्याब

ShareTweet काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अत्याधुनिक कम्प्युटर ल्याब राख्न देशभरिका करिब एक हजार विद्यालयसँग सम्झौता गरेको लामो समय बितिसक्दा पनि अझै काम- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कति दुख्छ कालापानी ?

ShareTweet यतिबेला राष्ट्रवादी स्वरलहरी गुन्जिइरहेका छन्, सर्वत्र । युवापंक्ति सडकमा ओर्लिएका छन् । आवाज घन्काइरहेका छन्– ‘लिपुलेक हाम्रो हो ।’ नेपालको भूभाग एकपक्षीय- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

आफ्नै ठगी बुद्धिले रूपज्योति फन्दामा

ShareTweet काठमाडौं । अर्बौंको कारोबार भएका चर्चित व्यापारी रूपज्योति करोड चानचुनको ठगीमा परेका छन् । जग्गा बेच्न भन्दै विज्ञेन्द्र मल्लसँग एक करोड २६ लाख बैना लिएर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा