हामीले प्रतिवाद गरेको भए ठूलो रक्तपात हुने थियो
भीम रावल, उपाध्यक्ष, नेकपा (एमाले)
० प्रदेश ७ को चुनावी परिणाम कस्तो पाउनुभएको छ ?
– प्रदेश ७ को चुनावी परिणमबाट हामी उत्साही छौं । त्यस प्रदेशको ७० प्रतिशत स्थानमा हाम्रो विजय हुने निश्चित थियो । तर गठबन्धन सरकारको तर्फबाट गुन्डागर्दी, बुथ कब्जा, आक्रमण र ज्यादती यति भयो, त्यसको परिणामस्वरूप हामीले कतिपय स्थानमा विजय हासिल गर्ने कुरा निश्चित भएर पनि थोरैथोरै मतले पराजय भोग्नुपरेको छ ।
० किन त्यसलाई प्रतिवाद गर्न सक्नुभएन ?
– हामीले त्यहाँ आफूले प्रतिवाद गर्ने बित्तिकै ठूलो रक्तपात हुने थियो । हामी कानुनको शासन, लोकतन्त्र र शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा विश्वास गर्ने भएकाले हामीले यथाशक्य प्रशासन र सुरक्षा अंगको सहयोगका लागि भूमिका ग¥यौं । अछाममै पनि एमालेले यदि नेपाली कांग्रेसले गरेका ज्यादती र अत्याचारविरुद्ध उत्रिने अवस्थामा हामी पुगेका हुन्थ्यौं भने त्यहाँ धेरै ठूलो रक्तपात हुन सक्थ्यो होला । जुन कुरा हामीले चाहेनौं । कतिपय अवस्थामा हामीलाई आइलाग्ने अवस्थामा एकदमै सामान्य प्रतिवाद कतिपय स्थानमा ग¥यौं । तर उनीहरू जुन स्थितिमा आएका थिए, हामी त्यसरी गएनौं ।
० आरोपका लागि आरोप हो कि तपाईंसँग ठोस उदाहरण छ ?
– त्यस्ता उदाहरण धेरै छन् । अछामको एक गाउँमा कांग्रेस र माओवादी समर्थक कर्मचारी पहिले नै खटाइएको रहेछ । पहिले नै डटपेनले धर्को तानिएका मतपत्र भेटिए । धर्को तान्नेबित्तिकै ती छाप लगाएका भए पनि मतपत्र स्वतः बदर हुन्छ । जुन गाउँमा एमालेको बहुमत आउनेवाला थियो, त्यो ठाउँमा दिइने मतपत्र त्यस्तो भेटियो । पछि हाम्रा साथीहरूले पत्ता लगाएर समात्यौं तर १५ मत गइसकेका थिए । त्यस्तै अछामकै सोडसा भन्ने गाउँपालिकाको एउटा वडामा हाम्रो पक्षमा धेरै मत खस्यो भन्ने परेपछि माओवादीका एक कार्यकर्ता गएर मतपेटिका आक्रमण गरेर फुटाउन खोज्नुभयो । हाम्रा साथीहरूले बीचमा रोक्नुभयो । त्यसपछि यति ठूलो हुलदंगा उनीहरूबाट भयो कि प्रहरीले अश्रुग्याँस छोड्नुप¥यो । सेना नै त्यहाँ तैनाथ भएर परिस्थिति साम्य पार्नुप¥यो ।
त्यस्तै मेरै साफे नगरपालिकाको वडा ७ को रिडीकोट भन्ने ठाउँमा नेपाली कांग्रेसका सभापति र पूर्वसांसद दुई जनाले प्रहरीलाई हात समातेर तानेर एकदमै अश्लील गाली गरेर फर्जी मत खसाल्न सम्पूर्ण प्रयत्न गरेर केही मत त्यसरी पनि खसालेर महिलाहरूलाई तल्लो दर्जाको व्यवहार गरियो । अश्लील गाली गरियो । अहिले मुद्दा परिराखेको छ । त्यहाँको निर्वाचनमा खटेका कर्मचारीलाई पनि गालीबेइज्जती गरेपछि तनावग्रस्त भयो थप सुरक्षकर्मी पठाएपछि मात्र निर्वाचन सम्भव भयो ।
त्यस्तै मंगलसेन नगरपालिका जहाँ हामीले जितिसकेका छौं, त्यहाँ पहिले नै मतदानमा प्रतिनिधि पठाउँदाखेरि हाम्रो पार्टीका तर्फबाट नगरपालिकाका प्रमुख पदका उम्मेदवार र अरूपार्टीका प्रमुख पदका उम्मेदवारलाई बराबरी प्रतिनिधित्व गराउनुपर्नेमा पार्टीगत प्रतिनिधित्व हुन्छ भनेर अल्मल्याइएको थियो । पछि हामीले विरोध गरेर मिलायौं ।
त्यसैगरी अछामकै पायल भन्ने ठाउँमा २ बजेसम्म मतदान भइसकेपछि आफूले हार्ने भन्ने भएपछि अग्लो ठाउँबाट गहिरोमा भएको मतदान केन्द्रमा ढुंगा गुडाएर मतदान नै हुन दिएनन् । पछि सेना गएपछि मात्र मतदान सुचारु भयो । यस्ता उदाहरण त पचासौं छन् ।
० तपाईं त पूर्वगृहमन्त्री र रक्षामन्त्रीसमेत भइसकेको मान्छे सुरक्षा स्थितिबारे आँकलन गर्नुभएको थिएन, तपाईंकै जिल्लामा किन यस्ता धेरै घटना भए त ?
– म त्यहाँ भएकै कारण र नेकपा (एमाले) का उपाध्यक्ष भएका कारण उनीहरूले बढी तारो बनाए भन्ने लाग्छ । त्यसैगरी खासगरी राष्ट्रियताको सवालमा स्पष्टसँग कुरा राख्ने, माओवादी र नेपाली कांग्रेसका राष्ट्रहितविपरीतका कुरा र गतिविधिहरूको आलोचना गर्ने, उहाँहरूलाई त्यस्तो काम गर्न रोक्ने भएकाले पनि हुन सक्छ ।
मैले त्यहाँका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखजस्ता व्यक्तित्वहरूलाई कुरा गरिरहँदा उहाँहरूले जसरी लाचार भएको जस्तो अभिव्यक्ति दिनुभयो, त्यस हिसाबले सम्भवतः प्रधानमन्त्री र गृहमन्त्री अर्थात् माथिल्लो तहबाटै योजनाबद्ध हुन सक्छ भन्ने लाग्छ । म आफैं स्थानीयदेखि केन्द्रका अधिकारीहरूसँग बारम्बार सम्पर्कमा रहेर जनताको मत शान्तिपूर्ण ढंगले अभिव्यक्ति हुन पाउनुपर्छ भनेर लागेकैले सम्भवतः यत्तिको मतदान हुन पायो । अन्यथा त्यहाँ अधिकांश ठाउँमा मतदान नै हुन नदिने, हार्ने भएपछि रोक्ने योजना रहेछ ।
० सुदूरपश्चिममै यति धेरै राज्य दुरुपयोग किन भयो होला ?
– सुदूरपश्चिम २०४८ सालमा पनि नेपाली कांग्रेसले सबैभन्दा बढी ज्यादती गरेको ठाउँ हो । पछि शेरबहादुरजी गृहमन्त्री हुनुभयो त्यही ठाउँबाट । उहाँ अहिले प्रधानमन्त्री हुनुहुन्छ र धनगढी जिल्लावासी हुनुहुन्छ । त्यसैगरी गृहमन्त्री पनि पहिले अछामकै हुनुहुन्थ्यो । त्यहीबाट बसाइँ सर्नुभएको हो । गठबन्धन गरेर पनि हार्छौं भन्ने लागेपछि यसरी प्रशासन र प्रहरीलाई निष्क्रिय बनाउने र आफ्ना कार्यकर्ताहरूलाई अत्यन्त उच्छृंखल क्रियाकलाप र गुन्डागर्दीमा उतार्ने काम भएको हुन सक्छ ।
० अछाम जिल्ला एमालेले आशा गरेको जिल्लामा पथ्र्यो, सरकारी ज्यादतीकै कारण हो र अपेक्षित सफलता हात पार्न नसकेको ?
– एकदमै हो । २०५६ सालको चुनावमा पनि मैले यस्तो परिस्थितिको सामना गरेको थिएँ । माथिबाटै जसले गृह प्रशासनको नेतृत्व गर्छन्, त्यो र सरकारको माथिल्लो तहबाटै नेकपा (एमाले)को आधार भत्काउन योजना बनाइएको रहेछ । प्रदेश सभाको चुनाव पनि आउँदो कात्तिमसम्ममा होला । त्यसलाई समेत ध्यानमा राखेर यो काम भएको देखिन्छ । अर्को कुरा समग्र जिल्लाभरि उनीहरूको संयुक्त बैठक बसेर एमालेको लहरबाट आत्तिएपछि तालमेल गर्ने निर्णय गरे । कांग्रेसले जित्नेजस्तो स्थानमा कांग्रेसलाई मत हाल्ने र माओवादीले जित्नेजस्तो स्थानमा माओवादीलाई मत हाल्ने काम भयो ।
० प्रदेश ७ का अरू जिल्लामा ज्यादतीका मात्रा कस्तो रह्यो ?
– बाजुरा र बझाङमा त्यस्तै भयो । बझाङमा हाम्रै भानुभक्त जैसी आफ्नै गाउँपालिकामा गएका बेला राति माओवादीबाट घेरिनुभयो । उहाँको हत्या गर्ने प्रयास भयो । पछि उहाँलाई नेपाली सेनाले बचायो । नेपाली कांग्रेसले २०४८ सालमा जुन वितण्डा मच्चाएको थियो, मलाई फेरि के महसुस भयो भने यसको चरित्रमा कुनै परिवर्तन भएको छैन ।
० बीचैमा सरकार परिवर्तन भएको मार सबैभन्दा बढी सुदूरपश्चिमले भोग्नुप¥यो ?
– हामीलाई त सबैभन्दा असर पुग्यो । २०४८ सालमा कांग्रेसले जुन ज्यादती गरेको थियो, त्यसको पुनरावृत्तिको महसुस भएको छ ।
० पार्टीका मुख्य नेताहरू रहेको कैलाली, बाजुरा र अछाममा पार्टीले किन राम्रो परिणाम आउन सकेन भन्ने जनताको गुनासो छ, के जवाफ दिनुहुन्छ ?
– कैलाली जिल्लामा त हामीले गएको निर्वाचनमा एउटा मात्र स्थानमा जितेका थियौं । त्यो तुलनामा धेरै नै सुधार भएको हो । बाजुरामा आततायी गतिविधि भयो । नेपाली कांग्रेसका मानिसहरूले हाम्रा कार्यकर्ताको हत्या गरे । अन्य ५÷६ ठाउँमा पनि निकै ठूलो गुन्डागर्दी भएको छ । सरकार संरक्षित गुन्डागर्दी भएको छ । यो कारणले मतदानमा प्रत्यक्ष प्रभाव प¥यो । अछाम जिल्लामा त उनीहरू दुई दल एकगठ भए पनि हामी पराजित गथ्र्यौं । तर त्यहाँ पनि सरकार संरक्षित यस्ता खालका क्रियाकलाप भए कि केही गाउँपालिकामा त सेना नै परिचालन गर्नुप¥यो । निर्वाचन सकिसकेपछि पनि कमलबजार नगरपालिकाका हाम्रा उम्मेदवार दीपक अधिकारीको घरमा गएर आक्रमण ग¥यो । ल भन्नुस्, यो कस्तो कांग्रेसी चरित्र होला ! उहाँलाई अहिले चार टाँका लगाइएको छ । भारतीय पक्षमा काम गर्ने केही व्यक्ति आएर नेपाली कांग्रेसको पक्षमा पैसा बाँडेको समेत सूचना छ ।
० पार्टी पंक्ति निर्वाचनका बेला सिंगो रूपमा परिचालन हुन नसकेर केही समस्या भएको त होइन ?
– हाम्रो पार्टी परिचालनमा केही समस्या थिए । प्रदेश ७ भरिकै एक महिनाअघि नै उम्मेदवारका नाम तय भएका थिए । हरेक क्षेत्रको कार्यक्रममा प्रदेश इन्चार्ज म आफैं पुगेको छु । परिचालन त राम्रै भयो । तर हामीले उम्मेदवार एक महिनापहिले नै घोषणा गरेकाले लामो समय थेगेर लैजान खर्च र प्रचारप्रसारको हिसाबले अलिकता प्राविधिक समस्या भने पर्दाे रहेछ । पहिले यसरी निर्वाचन सार्दै लैजाला भन्ने हामीलाई लागेन । असारको मध्यमा गएर आफूलाई जनताको सरकार भन्नेले खेतीपातीको बेलामा यति दुःख दिने तरिकाले निर्वाचन गर्ला भन्ने लागेको थिएन ।
दोस्रो मैले दुःखका साथ भन्नुपर्छ, हाम्रो पार्टी पंक्तिभित्रैबाट सबै उम्मेदवारहरूलाई विजय गराउन भूमिका खेल्नेभन्दा कतिपय ठाउँमा पराजित गराउने खालका गतिविधि भएको भन्ने पनि जानकारी प्राप्त गरेको छु । कहाँ कसले ग¥यो भनेर गहिरो गरी सबै ठाउँबाट प्रतिवेदन प्राप्त गरिसकेपछि त्यसको टुंगोमा पुगौंला । समीक्षा बैठक हुनै बाँकी छ । त्यसैमा सबै कुरा उठ्लान् ।
० एमालेले यो खालको सफलता पाउँदै आयो भने कात्तिक मंसिरमा चुनाव होला र ?
– नहुन पनि सक्छ । मैले निर्वाचन आयोगलाई उद्धृत गरेर आएका समाचार पढें । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन एकैचोटि हुन सक्दैन भनेर आयोगले जसरी भनेको छ, यो रहस्यमय छ । किनभने यो पटके निर्वाचनले स्थानीय तहमा कस्ता प्रकारका षड्यन्त्रहरू गर्न सरकारले मौका दियो, सरकारको माथिल्लो तहमा बसेकाहरूले कस्ता खालका कुकृत्यहरू गरे भन्ने कुरा हिजो हामीले देखिसकेका छौं ।
हामीसँग सर्वदलीय बैठक भएको छैन, छलफल गरिएको छैन अनि निर्वाचन आयोग एक कदम अगाडि बढेर त्यस्तो समाचार प्रभावित गरेको हो भने तपाईंको प्रश्नको संकेतका रूपमा त्यसलाई बुझ्न सकिन्छ । तर यो सरकारले जे गर्न खोज्छ, त्यहीत्यही गर्न दिने र लोकतन्त्रमाथि प्रहार भए पनि राष्ट्रियतामाथि प्रहार भए पनि उसले गरिरहने अनि अरूले सहिरहने भन्ने त छैन नि ? यो देशमा नेकपा (एमाले) पनि त छ सँगसँगै । त्यसकारण हामी जनताको मतदानको अधिकारलाई कुण्ठित गर्ने र फेरि जनतालाई रिक्तताको दिशातर्फ धकेल्ने र स्थानीय तह बनाइदिने केन्द्रमा गन्जागोल पार्ने काम भयो भने यो सरकारमा बस्ने प्रधानमन्त्री र तिनलाई टेको लगाउनेहरूले गरे भने नेकपा (एमाले) लाई त्यस्तो कुरा सह्य हुँदैन ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply