13th December 2018, Thursday

E-budhabar

हिजोका मतभेद हेरेर व्यवहार गरिन्छ भने त्यो गलत हो



हिजोका मतभेद हेरेर व्यवहार गरिन्छ भने त्यो गलत हो

० नेपाल कम्युनिस्ट पार्टीको गठनपछि एकीकरणको बेलामा जस्तो उत्साह अहिले छैन र जनसंगठन तथा विभिन्न कमिटी समायोजनका काम पनि सुस्त गतिमा भइरहेको देखिन्छ नि, किन होला ?
– पहिलो कुरा त तपाईंको प्रश्न नै म सच्याउन चाहन्छु । नेपाल कम्युनिस्ट पार्टीको गठन अहिले भएको होइन । अहिले त पुनर्गठन पनि होइन, नेकपाका दुईवटा प्रमुख घटकहरूका बीचमा एकता भएर नयाँ कमिटी बनेको हो । एकीकृत कमिटी बनेको हो । एकीकृत पार्टी बनेको हो । जहाँसम्म उत्साहको कुरा गर्नुभएको छ, उत्साह त छ । कामहरू अघि बढिरहेकै छन् । तर, समयचाहिँ धेरै लाग्यो । समयमा हुन सकेन ।
० कार्यतालिकाअनुसार काम हुन नसक्नुको कारण के हो त ?
– एकता प्रक्रियालाई अगाडि बढाउने सन्दर्भमा सिफारिस गर्न भनेर विभिन्न कार्यदल बनेका थिए । ती कार्यदलले काम गर्ने क्रममा धेरै समय लागेको छ । त्यसैगरी, केन्द्रीय कमिटीको तर्फबाट सुरुमा सामान्य हिसाबले सिफारिस गर्ने भनियो । पछि गएर जनप्रतिनिधिहरूलाई पार्टी पदाधिकारीमा नराख्ने भन्ने एउटा निर्णय गरियो । त्यसले गर्दा काममा दोहोरोपन भयो । सुरुमा एक हिसाबले कार्यदलले काम अघि बढाएका पनि थिए । पछि जनप्रतिनधिहरूलाई नराखी गर भनेपछि एक प्रकारले त्यो काम उल्टियो, नयाँ ढंगले गर्नुपर्ने भयो । त्यो कारणले पनि ढिलाइ भएको छ । यसैगरी, हाम्रो कार्यशैलीका कारण स्पष्ट रूपमा मापदण्ड तय गरेर नगरिएको हुनाले धेरै ठाउँमा विवादहरू पनि भएका छन् । सहमति भएर नाम आउन सकिरहेको छैन । त्यसले गर्दा पनि रोकिएको छ । यस्तै, स्थायी कमिटीकै बैठक बसने भनिएको छ तर सारिएको छ । बैठक पटकपटक सारिरहने कारणले पनि काममा ढिलाढाला भएको छ ।
० कार्यदलले नाम प्रस्ताव गर्ने क्रममा केही ठाउँमा विगतकै गुटगत झल्कोको प्रतिविम्बन हुने गरी एकपक्षीय ढंगले बिनामापदण्डका नामहरू ल्याइएका हुन् र ?
– रिपोर्टहरू कसरी आएका छन्, ती प्रतिवेदनहरू हामीले हेर्न पाइएको छैन । ती रिपोर्टहरू सचिवालयमा बुझाइएको छ । सचिवालयकै साथीहरूले हेर्नुभयो होला । त्यसले गर्दा औपचारिक रूपमा सिफारिस कस्तो छ भनेर भन्न सकिँदैन । मापदण्ड भएन भन्ने तपाईंको एउटा कुराचाहिँ ठिकै हो । विभिन्न कमिटीका सदस्य र पदाधिकारी हुनका निम्ति पार्टीको विधानले मापदण्ड तय गरेको छ, नगरेको होइन । तर, अहिले एकता गर्ने क्रममा हामी कमिटीहरूलाई मर्ज गर्छौं वा के गर्छाैं भन्नेबारे अलिकति अलमल छ । स्पष्ट दिशानिर्देश भएन । त्यसले गर्दा विभिन्न ठाउँमा विवादहरू पनि देखिएका छन्, सुनिएका छन् । यो भनेको हाम्रो कार्यशैली र स्पष्ट मापदण्ड तय नगर्दा सिर्जना भएको समस्या हो ।
० प्रदेश नम्बर ५ मा चाँहि अलि बढी नै पूर्वाग्रहवश काम गरियो भन्ने रहेछ नि ?
– म कुनै व्यक्ति र क्षेत्रसँग जोडेर भन्दा पनि सिंगो प्रवृत्तिगत कुरा मात्र गर्न चाहन्छु । र, हिजोको समूहगत हिसाबले पनि म कुरा गर्न चाहन्नँ । किनभने, आज हामी पार्टी एकता गर्दै छौं । एकताबद्ध पार्टी बनाउँदै छौं । हाम्रो चाहना त्यो हो । अहिलेको हाम्रो लक्ष्य र उद्देश्य नै एकताबद्ध पार्टी बनाउने भन्ने हो । एकताबद्ध पार्टी बनाउँदाखेरि हिजोका हाम्रा आग्रह र पूर्वाग्रहहरूले काम गर्नुहुँदैन ।
० पार्टी एकता हुने क्रममा कार्यकर्ताहरूमा एक खालको उत्साह भइरहेको बेला नेताविशेषले त्यस्तै झल्को हुने गरी जुन काम गरेका छन्, यसमा के प्रतिक्रिया छ ?
– म फेरि पनि व्यक्तिलाई जोडेर कुरा गर्नै चाहन्नँ । कसैले व्यक्तिसँग जोडेर कामकुरा गरेको छ भने त्यो उसको कुरा हो । हिजोका हाम्रा बीचका विभिन्न खालका मत–मतान्तर एवं महाधिवेशनका बेलाका फरकधार तथा फरक टिमका आधारमा आज पनि काहीँकतै काम भएको छ भने त्यो बिल्कुल गलत कुरा हो । किनभने, जब हामीले व्यापक रूपमा पार्टीलाई एकताबद्ध गरेर लान खोज्दै छौं भने हिजोका हाम्रा खास परिस्थितिमा एवं महाधिवेशनको परिस्थितिमा रहेका मतभेद वा भिन्नताहरूलाई आधार बनाएर आज कसैबाट व्यवहार गरिन्छ भने त्यो बेठीक कुरा हो । त्यो पार्टी एकताको भावनासँग पनि नमिल्ने कुरा हो ।
० समग्र एकताको सम्पूर्ण काम कहिलेसम्म सकिएला ?
– यस्तो कुराको निश्चित भविष्यवाणी गर्न सकिन्न । काम गर्दै जाँदा कति समय लाग्छ भन्ने कुरा भन्न सकिँदैन । तर, निश्चित खालका मापदण्डहरू बनाएर ती मापदण्डका आधारमा गर्ने भनेर भनियो भने त्यसपछि चाहिँ धेरै समय लाग्दैन । मापदण्डअनुसारका मान्छेहरू को हुन्, को होइनन् भन्ने कुरा छानबिन गर्न १०÷१५ दिन समय भए पुगिहाल्छ । हामीसँग सबै अभिलेख पनि व्यवस्थित छँदै छन् । खासगरी पूर्वएमाले घटकको हिसाबले व्यवस्थित रूपमा हामीसँग अपडेट छ । त्यो अभिलेखका आधारमा एउटा निश्चित प्रकारका आधार तथा मापदण्ड बनाएर काम गर्दा यो काम एक हप्तामा सकिन्छ ।
० हामीले त्यसो भए प्रक्रियागत त्रुटि ग¥यौं अर्थात् मापदण्ड नबनाई काम सुरु ग¥यौं ?
– यो समायोजन भएकाले भएका मौजुदा कमिटीहरूलाई एकता गर्ने कुरा हो भन्ने हिसाबले पनि सोचियो । यसबारे धेरै छलफल भएन । पछि छाँटकाटका कुरा आए । त्यसपछि मापदण्ड चाहिएको हो । कसैलेकसैलाई त्यत्तिकै छाँट्न पाउँछ ? आधार त अवश्य चाहिन्छ । कसैलाई राख्ने के आधारमा ? कसैलाई नराख्ने के आधारमा ?
० शीर्ष नेताहरूको ट्युनिङ मिलेको देखिएन नि, प्रवक्ता नारायणकाजीले पद त्यागेको कुरा गर्नुभएको थियो ?
– मैले थाहा पाएअनुसार सचिवालयमा छलफल भएको थियो । छलफलकै दौरानमा उहाँले त्यसो भए म यो प्रवक्ताको जिम्मा लिन्न, तपाईंको प्रवक्ता तपाईं नै राख्नुस् भन्नुभएको हो भन्ने कुरा मैले सुनेको हो । यसबारे खास के हो भन्ने कुरा उहाँलाई नै सोध्दा राम्रो होला । कामको स्पिरिटका सम्बन्धमा स्वभावैले दुईवटा पार्टीका हिजोका हाम्रा दुई धारबाट हामी आएका छौं, काम गने शैली र तरिकाहरू एउटै किसिमको छँदै छैन । एक त हामी एउटै धारभित्र पनि दुईवटा थियौं, छौं अहिले पनि । अर्को कुरा, दुईवटा पार्टी फरकफरक धारबाट आएका हुन् । फरकफरक कार्यशैली र कार्यतरिकाबाट आएका पार्टीहरूका नेताहरूबीच केही भिन्नता हुनु स्वाभाविक कुरा हो । यसलाई हामीले कुनै अप्ठ्यारो र अनौठो मान्नुहुँदैन । त्यसलाई कसरी व्यवस्थापन गरेर जान्छौं भन्ने कुरा महŒवपूर्ण हो ।
० धेरैले यो एकता कुनै सैद्धान्तिक जगबाट भएको नभई प्राविधिक तथा नेताहरूको पद बाँडफाँडको मात्र एकता भएकाले दिगो ढंगले जाँदैन भन्ने आशंका गरिरहेका छन् नि ?
– त्यस्तो होइन, नेपालको कम्युनिस्ट आन्दोलन स्थापनाकालदेखि नै दुई धारबाट आयो । एउटा सशस्त्र संघर्षको धार र अर्को शान्तिपूर्ण संघर्षको धार । स्थापना भएको केही समयमै मनमोहन र पुष्पलालबीच एकखालको भिन्नता देख्नुहुन्छ । पुष्पलाललाई किन महासचिवबाट हटाइयो भन्दा उनको लाइन कडा मानियो र हटाइयो । त्यसकारण, कडा लाइन र नरम लाइन दुई धार सुरुबाटै आएको देखिन्छ । सुरुवातकै ती दुई लाइनमध्ये आजको तहमा आइपुग्दा सशस्त्र संघर्षको धारले शान्तिपूर्ण संघर्षको बाटोमा आएपछि यो एकता भएको हो । त्यसकारण, एकताको हाम्रो सैद्धान्तिक आधारशिला अब हामी नेपालको कम्युनिस्ट आन्दोलनलाई शान्तिपूर्ण संघर्षकै बाटोबाट अगाडि बढाउँछौं भन्ने हो । यसमा बहस भएर, छलफल भएर बकाइदा हाम्रा दस्तावेजमा हामीले एकता गर्दाका दिन घोषणा गरेको त्यो वक्तव्यमा, पार्टीको विधानको प्रस्तावनामा र राजनीतिक प्रतिवेदनमा यी कुराहरू त सार्वजनिक नै छन् । त्यहाँ स्पष्ट रूपमा लेखिएको छ– नेपालको कम्युनिस्ट आन्दोलनमा हामी अब शान्तिपूर्ण संघर्षको बाटोबाट नै श्रेष्ठता हासिल गर्दै अगाडि बढाउँछौं । यो हाम्रो मुल सैद्धान्तिक आधार हो । त्यही कुरा मानेर यो पार्टी एकता भएकाले यसको सैद्धान्तिक आधार छैन भन्ने कुराचाहिँ गलत हो ।
० सकार बनेको ६ महिना भयो, चुनावी घोषणापत्र र जनताको समृद्धिको चाहनाअनुरूप त कुनै पनि काम भएन भन्ने गुनासो छ नि ?
– गुनासो मैले पनि प्रशस्तै सुनेको छु । यद्यपि, यो सरकार पाँच वर्षसम्म ढुक्कसँग टिकेर काम गर्न सक्ने आधार भएको सरकार भएकाले पहिलो वर्षमा अलिकति आलोचना सहेर भए पनि आउने दिनमा हामी काम गर्दै जाउँला भन्ने सोच रहेको पनि पाइन्छ । तर, त्यो सोच राख्दाराख्दै पनि जनताले कमसेकम यो सरकारले सकारात्मक हिसाबले काम गर्न थालेको छ भन्ने खालको सन्देश दिन सकेको भए राम्रो हुन्थ्यो । अहिले त्यो खालको सन्देश गइरहेको जस्तो जनताले महसुस गरीरहेका छैनन् । योचाहिँ वास्तवमा ध्यान दिनुपर्ने पाटो हो । यसलाई ध्यान दिएर अब जनताले अनुभूत गर्ने गरी सरकारले कामलाई अगाडि बढाउनुपर्छ ।
० सरकारको कार्यशैलीबारे पार्टीमा कुरा उठेको छैन ?
– पर्याप्त उठेको छ । सरकारको कामकारबाहीमा मात्र केन्द्रित भएर स्थायी समितिको बैठक राख्ने निर्णय पनि भएको छ । तर, त्यो बैठक अहिलेसम्म कसेको छैन । त्यो बैठक नबसेको हुनाले छलफलचाहिँ भएको छैन ।
० सरकारअन्तर्गतका विभिन्न नियुक्तिमा संस्थागत छलफल नभई एकलौटी ढंगले आर्थिक चलखेलका आधारमा हुन थाल्यो भन्ने छ नि, कुनै छलफल हुँदैन के कसरी गर्ने भनेर ?
– कुनै बैठक नै बसेको छैन भने कसरी छलफल हुनु ? ती नियुक्तिहरूमा म संलग्न छैन, त्यसो भएकाले यसबारे मलाई थाहा छैन ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

बुधबार २४औं वर्षमा

ShareTweet काठमाडौं । आजबाट बुधबार साप्ताहिक २३ वर्ष लामो यात्रा पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । मिसनसहितको जनपक्षीय पत्रकारिताको आवश्यकता पूरा गर्दै अघि बढेको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जनाको मझेरीमा उपेक्षित किसान

ShareTweet – मधेस सदैव उर्वर भूमि रहँदै आयो । अन्नबालीको प्रचुरता रहेको मधेसका जनताले चिनी कारखाना खुल्न थालेपछि उखु खेतीलाई प्रश्रय दिए । नगदे बालीका रूपमा परिचित- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

उज्यालोको एउटा गीत

ShareTweet अक्सर कविहरूसामु विषयवस्तुको छनोट र बिम्बविन्यासको क्रममा उज्यालो या अँध्यारोमध्ये कुन पक्षलाई प्रधान मान्ने भन्ने विषयमा गम्भीर प्रश्न खडा भइदिन्छ ।- ...
पूरा पढ्नुहोस्

छोटकरीमा