अझै नयाँलाई उपेक्षा गरियो भने कांग्रेस गन्तव्यमा पुग्दैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस० चुनावी परिणामको समीक्षा कसरी गर्नुभएको छ ?
– नेपालको इतिहासमा यो निर्वाचनले हामीले २०६२÷६३ मा गरेको युगान्तकारी परिवर्तनलाई संस्थागत गरेको छ । हामीले जारी गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई संस्थागत गर्दै कार्यान्वयन गर्ने मार्गप्रशस्त गरेको छ । र, यसले विकास र समृद्धिको नयाँ ढोका खोलेको छ । यो निर्वाचनले राष्ट्रिय एकतालाई प्रवद्र्धन गरेको छ । यो संविधानप्रति असन्तुष्टि जनाएर बसेका तराईकेन्द्रित मधेसी दलहरूले स्थानीय तहको निर्वाचनमा सहभागिता जनाए । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि सहभागिता जनाए । यो सहभागिताले अब यो संविधानका प्रति असन्तुष्टि व्यक्त गर्ने कुनै वैधानिक राजनीतिक दल अब बाँकी रहेन । त्यसैले, नेपाललाई नयाँ युगमा प्रवेश गराउने ऐतिहासिक राजनीतिक परिवर्तनको संस्थागत भएको छ ।
० यसमा नेपाली कांग्रेसले ल्याएको परिणाम कस्तो ठान्नुहुन्छ ?
– परिणमबारे केन्द्रीय कार्यसमितिको बैठक बस्छ । त्यसमा यो निर्वाचनमा हामीले अपेक्षा गरेअनुसार परिणाम हाम्रो पक्षमा नआउनुको कारणबारे पक्कै छलफल हुन्छ । यद्यपि, हामीले प्रत्यक्षमा पाएको मत र समानुपातिकमा पाएको मतको अन्तर र अनुपात धेरै फरक छ । जनमत हेर्दा नेपाली कांग्रेसको जनमत बढेकै देखिन्छ । जनमत खस्किएको अवस्था होइन । तर, प्राविधिक रूपबाट हामीले परिणाममा अपेक्षित सफलता प्राप्त गर्न सकेनौं । तर, जित र हारको सन्दर्भ एउटा प्राविधिक कुरा हो । मूलतः हामीले राजनीति जितेका छौं । मुलुकलाई संविधान जारी गरेर हामीले प्रदेशसभा, प्रतिनिधिसभा र स्थानीय तहको निर्वाचन गराएर नयाँ युगमा प्रवेश गराएका छौं । यो आवधिक निर्वाचन हो । भोलि हामीले जनतासमक्ष गएर फेरि आफूलाई प्रस्तुत गर्दा नयाँ ढंगले नयाँ योजनाका साथ गएपछि हामी फेरि निर्वाचन जितिहाल्छौं । त्यसमा दुईमत नै छैन ।
० विगतमा पहिलो रहेको दल एकैचोटि खुम्चिएर तेस्रो हुनुको के कारण ठान्नुहुन्छ ?
– त्यसरी पनि नहेरौं । सिट संख्याको अनुपात हेर्दा हामी दोस्रो नै छौं । विगत १० वर्षकै विवेचना गर्दा ०६४ सालमा पहिलो भएको दल नेकपा माओवादी ०७० मा तेस्रो भयो । ०६४ सालमा तेस्रो भएको एमाले २०७० सालमा दोस्रो भयो ।
० अधिकांश कांग्रेस कार्यकर्ताहरू नेतृत्वको सुझबुझपूर्ण कार्यशैली नभएको कारण यो खालको परिणम आयो भन्छन्, सहमत हुनुहुन्छ ?
– हाम्रो यो परिणाम आउनुको मुख्य कारण त वामहरूको गठबन्धन नै हो । स्थानीय तहको निर्वाचनमा पहिलो भएको पार्टी एमाले र तेस्रो भएको पार्टी नेकपा माओवादी जस्ता मुलुकका दुई ठुला पार्टी एकै ठाँउमा आएर गठबन्धन बनाएर निर्वाचनमा गइसकेपछि सबैभन्दा बढी सिट जित्छौं भन्ने त हाम्रो अपेक्षा नै थिएन । तर, हामीले यति कम जित्छौं भन्ने पनि हामीले सोचेका थिएनौं । वाम गठबन्धन बन्नु नै पहिलो कारण हो भने दोस्रो कारण पार्टीभित्रको अव्यवस्थापन पनि हो । पार्टीभित्र हामीले व्यवस्थित रूपबाट कार्यकर्ता परिचालन गर्न सकेनौं । संस्थागत रूपबाट पार्टीले भूमिका निर्वाह गर्न सकेन । पार्टीको भ्रातृ संस्थाहरूको भूमिका प्रभावकारी भएन । प्रतिपक्षीहरूले हामीमाथि गरेका आक्रमण–प्रहारहरूलाई हामीले प्रभावकारी रूपबाट प्रतिवाद गर्न सकेनौं । प्रचार रणनीति हाम्रो सशक्त भएन । प्रचार संयन्त्रहरू हाम्रा प्रभावकारी भएनन् । हामीले जनताका बीचमा प्रस्तुत गर्ने एजेन्डाहरू प्रभावकारी रूपमा प्रस्तुत गर्न सकेनौं । हामीले प्राप्त गरेका उपलब्धिहरू, देश र जनताका लागि गरेका योगदानहरूको चर्चा गर्न सकेनौं । विपक्षीहरूको नारा बिक्यो । ती वस्तुनिष्ठ र यथार्थको धरातलमा उभिएका विषय होइनन् । ती हवाई र काल्पनिक कुरा हुन् भनेर हामीले प्रतिवाद गरेर जनसमक्ष जान सकेनौं । त्यसैले, आन्तरिक अव्यवस्थापन पनि एउटा महŒवपूर्ण कारण हो ।
० प्रधानमन्त्री शेरबहादुर देउवाकै राजदूत नियुक्ति, आईजीपी नियुक्तिजस्ता विवादास्पद र आलोचित कामका कारण पनि यस्तो परिणाम आउनमा सघाउ पुग्यो भनिन्छ नि ?
– ती प्रश्नहरू निश्चितै रूपमा उठे । उठाइए । सरकार सञ्चालनका क्रममा भएका निर्णयहरूबारे विभिन्न कोणबाट प्रश्नहरू उठाइए । मुख्य प्रतिपक्षले पनि ती प्रश्नहरू उठायो । अरूतिरबाट पनि सार्वजनिक रूपमा प्रश्नहरू उठे । ती प्रश्नहरूको समुचित जवाफ पनि दिन सकेनौं । नत्र, सरकारले गरेका निर्णयहरू विगतका इतिहासलाई हेर्दा यस्तै प्रकृतिका निर्णयहरू भएकै छन् । आठौं वरीयताको लीलामणि पौडेललाई बाबुराम भट्टराईजीले मुख्यसचिव बनाएकै हो । दोस्रो वरीयताका रमेशचन्द ठकुरीलाई वामदेव गौतमले आईजीपी बनाएकै हो । सरकारका कतै विशेषाधिकारहरू हुन्छ । त्यो जसरी उठाइयो, त्यसलाई हामीले प्रतिवाद गर्न सकेनौं । अब अदालतले सरकारसँग द्वन्द्वमा उत्रने एउटा चेष्टा ग¥यो । जवकी अदालत स्वतन्त्र हुनुपर्छ, मर्यादित हुनुपर्छ, अदालतको गरिमा उच्च हुनुपर्छ भनेर हामी स्थापनाकालदेखि नै स्वतन्त्र न्यायपालिकाको मर्यादा गरिमाको पक्षमा लड्दै आएका हामी हौं । र, अदालतले सरकारले गरेका निर्णयहरूलाई अवरोध उत्पन्न गर्ने काम ग¥यो, तर त्यो विषयलाई हामीले प्रस्ट पार्न सकेनौं । महाअभियोगको प्रकरण आयो । महाअभियोग एउटा वैधानिक बाटोबाट ल्याइएको आरोप थियो । त्यो महाअभियोग नै ल्याउन नपाउने हो भने संसदमा त्यो प्रावधान राख्नु जरुरी नै थिएन । अख्तियार प्रमुखको विषयमा आएको महाअभियोग गठबन्धनमा बसेका नेकपा माओवादी प्रतिपक्षी दलसंग गठबन्धन गरेर महाअभियोग ल्याउन लाग्यो । त्यो विषयलाई हामीले सहजै स्वीकार गर्ने कुरा थिएन । त्यसमा हामीले सुझबुझ पु¥याएरै छलफल ग¥यौं । आफ्नो धारणा पनि सार्वजनिक ग¥यौं । त्यस्तै, अरू राजदूत प्रकरणलगायतका विषयलाई पनि हामीले गलत निर्णय भएको छ भन्ने प्रश्न उठ्नेबित्तिकै त्यो निर्णयलाई कार्यान्वयन गरेनौं । त्यसैले, यी विषयहरू सरकार चलाउने सन्दर्भमा विगतका सरकारले पनि धेरै यस्ता विवादास्पद निर्णयहरू गरेका प्रसस्त उदाहरण छनन् । तर हामीले गरेका निर्णयहरूलाई वाश्तवमा इतिहासकै सबैभन्दा गम्भिर त्रुटीको रूपबाट चित्रित गरियो । जनसमक्ष प्रस्तुत गरियो । त्यसलाई पनि हामीले प्रतिवाद गर्न सकेनौं । यसलाई पनि मैले हाम्रो कमजोरीका रूपमा लिएको छु ।
० जुनसुकै कुराको जस वा अपजस नेतृत्वले नै लिनुपर्ने हुनाले पार्टी सभापति शेरबहादुर देउवाले अब नैतिकताका आधारमा राजिनामा दिनुपर्ने हो ?
– यो सार्वजनिक रूपबाट बहस गर्ने विषय होइन । पार्टीभित्रका कुराहरू कमीकमजोरीका विषयहरूलाई केन्द्रीय कार्यसमितिको बैठकमा हामी गम्भीर छलफल गछौं । सुक्ष्म रूपमा विश्लेषण गछौं । कमीकमजोरी भएकै छ । पार्टी नेतृत्वमा बसेको व्यक्तिले कमीकमजोरी भएपछि त्यसलाई महशुस गर्नैपर्छ । आत्मसात् गर्नैपर्छ । आगामी दिनमा सच्याउने प्रतिबद्धता गर्नैपर्छ । मुलत हामी केन्द्रीय कार्य समितिमा छलफल गर्छौ । र निर्वाचनको परिणमको हामी साङ्गो पाङ्गो समिक्षा गछौं । वस्तुनिष्ठ समिक्षा गछौं । तर्कपूर्ण समिक्षा गरिन्छ । पार्टीले कसरी अगाडि बढ्ने, अगाडि बढ्ने हाम्रो मार्गचित्र के हुनुपर्छ, हाम्रो अबको कार्ययोजना के हुनुपर्छ र हाम्रा अघिल्तिर उपस्थित भएका चुनौतीहरूलाई सामना गर्ने हाम्रो तयारी के हुनुपर्छ अब र बदलिएको परिस्थितिमा नयाँ सन्दर्भमा पार्टी कसरी अगाडि बढ्नुपर्छ भन्ने विषयमा केन्द्रिय कार्यसमितिमा गम्भीर छलफल हुन्छ । हामी जहाँजहाँ छौं । मूल जिम्मेवारीमा भएको नेताले त्यस हिसाबले बढी नैतिक जिम्मेवारी लिनुप¥यो । अरू जिम्मेवारीमा भएका हामीले पनि हाम्रो भागमा कतिकति पर्छ, हामीले त्यो जिम्मेवारी लिनुपर्छ ।
० कांग्रेस पुरानो ढर्राबाट चलेकाले यो अवस्था आयो, अब युवाहरूले हस्तक्षेप गर्नुपर्छ भन्ने सवाल छ नि, यो सार्थक होला त तत्कालै ?
– पुरानो ढर्रा र पुरातनवादी सोच र चिन्तन तथा परम्परागत व्यवहार, तदर्थवादी शैलिबाट हामी हाम्रो लक्ष्यमा पुग्न सक्दैनौं । र, पार्टीलाई प्रभावकारी रूपबाट जनसमक्ष हामी प्रस्तुत गर्न सक्दैनौं । विगतको हाम्रो हिँड्ने तरिका, हामीले काम गर्ने तरिका, हामीले गतिविधि सञ्चालन गर्ने तरिका कमीकमजोरीपूर्ण छ भन्ने कुरा हामीलाई महशुस भइसकेपछि र परिणमले पनि त्यो अवस्थामा हामीलाई उभ्याइसकेपछि हामीले आमूल सुधार गरेर, परिवर्तन गरेर नेतृत्वमा नयाँ पुस्ताका प्रतिभाशाली व्यक्तिहरू, योगदान पु¥याउन सक्ने व्यक्तिहरू र जनताले चाहेका र मुलुकले चाहेका व्यक्तिहरू र पार्टीलाई नेतृत्व प्रदान गर्न सक्छन् भन्ने विश्वास भएका व्यक्तिहरूको नेतृत्वमा उनीहरूलाई समुचित भूमिका दिएर अगाडि नबढीकन अब हामी प्रतिश्पर्धाको मैदानमा आफूलाई अब्बल साबित गर्न, सफल साबित गर्न सक्दैनौं ।
त्यसैले अब परम्परागत होइन, नयाँ सन्दर्भमा नयाँ योजनाका साथ, रणनीतिका साथ, नया कार्यक्रमका साथ र नयाँनयाँ ऊर्जाशिल व्यक्तिहरूलाई नयाँ जिम्मेवारी दिएर नयाँ भूमिकामा ल्याएर हामी अगाडि बढेनौं भने हामी अगाडिका चुनौतीहरूलाई सामना गर्न सक्दैनौं ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply