अबको मुख्य एजेण्डा सरकारको समिक्षा हो
नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, प्रवक्ता नेकपा० दुई ठुला कम्युनिष्ट पार्टीबीच एकता त भयो तर त्यसयताका गतिवधीहरु त्यती सन्तोषजनक ढंगले अघि बढ्न सकेको छैन भन्ने गुनासो छ नि ?
नेपाली समाज र नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक वस्तुगत आवश्यकता अनुसार हामीले पार्टी एकताको पहल गरेका हौं र सोही अनुसार पार्टी एकता गरिएको हो । पार्टी एकता गरिसकेपछि सैद्धान्तीक–वैचारिक रुपमा सहि दिशा नै लिएको छ । मुख्य त दुइवटा लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर हामीले पार्टी एकता गरेका हौं ।
० ति दुईवटा लक्ष्य के के हुन् त ?
ति दुइ मध्ये एउटा समाजवादउन्मुख समृद्धि वा सामाजिक न्याय सहितको समृद्धिको लक्ष्य हासिल गर्ने हो भने दोस्रो रणनीतिक रुपमा समाजवादमै पुग्ने र समाजवादी नेपालको निर्माण गर्ने भन्ने हो । त्यसकारणले रणनीतिक लक्ष्यको हकमा त अहिले नै हामीले हासिल गर्ने वा त्यहाँ पुग्ने बेला भएकै छैन । त्यो दिशातिर जाने प्रक्रिया अगाडि बढाउने हो । मुख्यत अहिले सामाजिक न्यायासहितको समृद्धिको लक्ष्य हासिल गर्ने काम हामीले सरकारको भूमिका मार्फत मुलत गर्नुपर्ने हुन्छ । त्यो दिशातिर प्रारम्भीक पहलकदमी मात्र भएको छ । यसमा अहिले सन्तुष्ट भएर बस्ने स्थिति भइसकेको भने छैन ।
० पार्टी एकता भएपनि सांगठानिक एकता हुन निक्कै ढिलो भयो नी ?
सही हो । त्यसमा छिटो हुनुपथ्र्याे । अलि ढिलाई भएको कुरालाई हामीले स्विकार गर्नुपर्छ । अब हामीले विधान र नियमावली पारित गरिसकेका छौं । त्यो अनुसार सांगठानिक एकिकरणको प्रक्रिया अब तिव्रतापुर्वक अगाडि बढ्छ । प्रदेश र जिल्लाका पार्टी कमिटीहरु तथा जनवर्गीय संगठनको केन्द्र पनि एकिकरणको प्रक्रियामा अगाडि बढ्छ र यो प्रक्रियालाई हामी तिव्र पार्छौ । सरकारको भुमिका पनि अझ प्रभावकारी पार्नु जरुरी छ ।
० जुन उत्साहका साथ पार्टी एकता भयो, त्यही उत्साहका साथ एकिकरण अघि नबढ्नु र पार्टीले गति पक्रन नसक्नुका कारण के होला ?
यसमा मुल कुरा त विधान र नियमावलीलाई अन्तिम रुप दिने कुरामा भएको ढिलाई नै मुख्य हो । त्यो नभइकन अब पार्टी कमिटी कत्रो बनाउने, लिडरशीप कसरी निर्माण गर्ने, दुबै संगठन कसरी एकिकरण गर्ने भन्ने बारेमा कार्यदलले ठोस निर्णय गर्न सक्ने कुरा भएन । त्यसैले त्यो चाँही हामी लिडरशीप टिमकै कमजोरी भयो भन्नुपर्ने हुन्छ की हामीले समयमै नियमावली विधानलाई अन्तिम रुप दिन सकेनौं ।
एकताकै क्रममा पनि वरिष्ठ नेताहरुको मर्यादाक्रम, केन्द्रीय सचिवालयमा महिला नेतृत्व शुन्य पारिएको जस्ता कुरा त्यतीबेलै उठे, यस्ता कुराले पनि केहि ढिलाई भएको हो कि ?
पार्टी एकता गर्दाखेरी मुलभुत रुपमा दुइवटा अध्यक्ष कमरेड केपी ओली र कमरेड प्रचण्डलाई अध्यक्ष बनाउने र त्यसको वरिपरि सिङ्गो पार्टी हुने अनि वरिष्ठ नेताहरुलाई पनि उपयुक्त भुमिका दिएर सबै नेता कार्यकर्तालाई उपयुत्त, भुमिका दिने र अगाडि बढ्ने भन्ने हाम्रो समझदारी बन्यो । त्यसै अनुसरा हामी अगाडि बढ्ने पहदकदमी त गरिरहेका छौं । तर यसलाई अझैपनि अलि राम्रो ढंगले यसको व्यवस्था गर्न पाए हुन्थ्यो विभिन्न कोणबाट कुरा उठ्नुलाई अस्वभाविक रुपमा लिनु पनि हुँदैन तर अहिले यो पार्टीको केन्द्रीय कमिटी, स्थायी समिति र सचिवालय बन्यो । पोलिट्व्युरोको निर्माण हुन बाँकी छ । यो कामलाई सम्पन्न गर्दै अगाडि बढ्ने क्रममा परिमार्जन गर्दै, सुधार गर्दै जानुपर्ने हुनसक्छ ।
० तपाँइ आफैं पनि वरिष्ठ नेताको हैसियतमा रहेको मान्छे, प्रवक्ता मात्र हुनुभयो । कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
मैले जिम्मेवारी पदलाई अहिले मुख्य बनाएको छैन । मैले पार्टी एकतालाई नै मुख्य बनाएको छु । सरकारको सफलतालाई मुख्य बनाएको छु । त्यसकारणले त्यसमा मेरो त्यती ध्यान गएको छैन । सबै कुराको छलफल गर्दै–समाधान गर्दै जाँउला भन्नेमा हामी छौं तर अहिले चिन्ता चाँही केमा छ भने पार्टीको सांगठानिक एकिकरणको क्रम चाँही ढिलो भयो । अब पनि ढिलो गर्नुहुन्न । त्यसलाई अगाडी बढाइहाल्नुपर्छ । दोस्रो कुरा सरकारलाई सफल बनाउनका लागि हामीले गम्भिर आत्मसमिक्षा गरेर नयाँ कार्ययोजना बनाएर जानुपर्छ । यसैमा ध्यान केन्द्रीत गरिरहेको छु । त्यसैले म चााही यो दुइवटा काम कसरी अगाडि बढाउने भन्नेमा चिन्तनरत छु, अन्य कुरामा मैले चिन्ता गरेको छैन ।
० सरकार गठन हुँदा आम जनतामा उत्साह र अपेक्षा थियो, तर यो बीचमा त्यो अनुरुप काम हुन सकेन भन्ने छ, तपाँइको मुल्याङ्कन के हो ?
पहिलो कुरा त यो सरकार बन्ने क्रमसंगै धेरै ठुलो अपेक्षा जनताको बीचमा रह्यो । त्यो अपेक्षालाई पुरा गर्न त्यती सजिलो त छैन । तर हामीले नै देशको अहिलेको आवश्यकता अनुसार प्रतिवद्धता व्यक्ति गरेको कुरा के हो भने हामी सामाजिक न्याय सहितको समृद्ध मुलुक बनाउँछौं । हर हालतामा हामी नेपाल फेर्छौ । यो कुरा त हामीेले गर्नै पर्ने हुन्छ । यो दिशातिर जाने प्रक्रियामा सरकार अगाडि बढ्न खोजेको त छ तर अहिले नै एक त त्यसको समग्र मुल्याङ्कन गर्ने बेला पनि भएको छैन । र त्यसले केही पनि सकारात्मक काम गरेको छैन भन्ने कुरा पनि होइन । त्यसले राष्ट्रियताको सवालमा सहि नै निर्णय गरेको छ । दुइवटा छिमेकी देशको प्रधानमन्त्रीले भ्रमण गर्नुभयो । त्यो भ्रमण संगसंगैका नीति, निर्णय र परिणामहरुले नेपालले आफ्नो राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र हितलाई केन्द्रमा राखेर दुबै छिमेकी मुलुकहरुसंग समनिकटताका आधारमा कुटनीतिक सम्वन्ध विकसीत गर्न सफलताको दिशातिर अगाडि बढ्ने काम भइराखेको छ । तर पनि नेपाली जनताको अपेक्षा र हाम्रो प्रतिवद्धता अनुसार अझै प्रभावकारी र परिणाममुखी काम गर्नुपर्छ, त्यसको निम्ति आफ्नो कामहरुको गम्भिर आत्मसमिक्षा गर्नुपर्छ भन्ेकुरालाई हामीले सकारात्मक रुपमा लिएका छौं । त्यो आवश्यक छ । अहिले नै हामी सन्तुष्ट भएर बस्ने बेला छैन । हामीले त्यसको लेखाजोखा गरेर जसरी हुन्छ हाम्रो सरकारलाई सफल बनाउने, प्रभावकारी र परिणममुखी बनाउने र जनतामा गरेको प्रतिवद्धतालाई पुरा गर्नेगरी काम अगाडि बढाउन भने हामी नयाँ ढंगले जानुपर्ने हुन्छ । त्यसको आवश्यकता छ ।
० अहिले सरकार आफ्नै तालले चलेको जस्तो अनुभुत भइरहेको छ, सरकारले पार्टीसंग समन्वय नगरेको नभएको हो ?
सरकारको बारेमा छलफल छुट्टै गरौं भनेर पार्टीमा प्रश्तावित छ । हामी सचिवालयको बैठक र स्थायी समितिको बैठक पनि सरकारकै भुमिकालाई मुख्य कार्यसुची बनाएर बस्ने तयारी गरिरहेका छौं । सरकारका सकारात्मक कामहरुको बारेमा सबैलाई सुसुचित गर्ने र त्यसलाई जनतामा सम्प्रेशीत गर्ने काम गर्ने, हाम्रो सकार बनेदेखि नै सामन्त वर्गको बचेखुचेका अवशेषहरु, दलाल तथा नोकरशाही पुँजीपती वर्गहरु र प्रतिक्रियावादी शक्तिहरु कतिपय वैदेशिक एकाधिकार पुँजीवादी शक्तिहरुले पनि कम्युनिष्टहरुको सरकारलाई सहज ढंगले काम गर्न नदिन प्रयत्न गर्छन्, विभिन्न ढंगले कोशिष गर्छन् र हामीमाथी प्रहार र घेरावन्दी गर्न कोशीष गर्छन् भन्ने कुरा हामीलाई थाहा भएकै कुरा हो । त्यसप्रति हामी सचेत छौं ।
त्यासको विरुद्ध हामी एकढिक्को भएर जान अझ नयाँ पहल कदमी अगाडि बढाउनुप¥यो । तेस्रो हामीले सरकारको नीति, कार्यक्रम, बजेट, अहिलेसम्मको कामको गम्भिर समिक्षा गरेर त्यसलाई अझ प्रभावकारी र परिणममुखी कसरी बनाउन सकिन्छ भनेर नयाँ कार्ययोजनाका साथ जानुपर्छ भनेर महशुस गरेका छौं । सरकारको कामहरुबाट हामी अहिले नै ‘अब यस्तै हो ’भन्न हुने बेला छैन । किनभने अहिलेको सरकार असफल भयो भने हाम्रो पार्टी र आन्दोलन असफल हुन्छ, हुन्छ, देशले पनि धेरै ठुलो नोक्सानी, क्षती बेहोर्नुपर्ने हुन्छ । यसले जुन कायापलटको अपेक्षा गरिएको छ, परिवर्तनको अपेक्षा गरिएको छ, त्यो पाउनै नसक्ने ठाँउमा पुग्छ र ठुलो निराशा जनतामा पैदा हुन्छ । तसर्थ यो सरकारलाई सफल बनाउन जरुरी छ । यो सरकारलाई सफल बनाउनकाक निम्ति अहिलेको काम प्रति हामी आलोचनात्मक ढंगले समिक्षा गरेर नयाँ ढंगले काम अघि बढाउनुपर्ने आवश्यकता छ ।
० मन्त्रीहरुको कार्यसम्पादन पनि सन्तोषजनक भएन भन्ने छ, कोही मन्त्रीहरु रेड जोनमा त कोही एल्लो जानेमा भएको कुराहरु आइरहेको छ, अब उनीहरुको कार्यशैलि र कार्यसम्पादनका आधारमा मन्त्रीहरु अदलबदल गर्ने कुरा हो ?
पार्टीले त्यसबारेमा सोचेको छैन । प्रधानमन्त्रीले के सोच्नुभएको छ ? मन्त्रीहरुको कामको मुल्याङ्कन गर्ने, काम बाँडफाँड गर्ने आवश्यकता अनुसार मन्त्रीमण्डलको हेरफेर गर्ने प्रमुख भुमिका प्रधानमन्त्रीको हुन्छ ।स्वभाविक रुपमा पार्टीसंग समन्वय गरेर नै त्यो गरिन्छ । तर अहिलेसम्म चाँही त्यो बारेमा हामी कुनै नयाँ निर्णयमा पुगिसकेका छैनौं । तर सरकारको समिक्षा गर्ने एजेण्डा अब मुख्य बन्छ भनेर मैले भनें । त्यसो गर्दाखेरी मन्त्रीहरुको कामको पनि समिक्षा गर्ने कुरा हुन्छ र आवश्यकताले माग गरेअनुसार पार्टीमा मन्त्रीहरुको फेरबदल गर्न सक्तैसक्तैन भन्ने होइन । तर त्यसबारेमा अहिले हामी कुनै नयाँ निर्णयमा चाँही पुगिसकेका छैनौं ।
० अहिले मुलुकमा कम्युनिष्ट सरकार भएपनि जनतालाई त्यस्तो महशुस भएकै छैन, जनतालाई राहतमुखी योजना आएन, महंगी बढीरहेकै छ, सुलभ ढंगले सर्व साधारणले ग्रहण गर्नेसक्ने गरी शिक्षा र स्वास्थ्यको व्यवस्था छैन, अन्य सरकार र कम्युनिष्ट सरकारमा केही फरक देखिएन नी ?
त्यही कारणले त हामीले कार्यसुची बनाएका छौं की अब सचिवालय र स्थायी समितिको बैठकमा यो बारेमा छलफल गर्नुपर्छ । एकातिर वर्गसंघर्षको नीति नियम अनुसार हाम्रो सरकार आए पछि नै संवैधानिक र विधिवत रुपमा बनेको सरकारलाई पनि काम गर्न नदिने, असफल बनाउने धेरै प्रयत्न र षड्यन्त्रहरु भइराखेका छन् भन्ने तथ्य एकातिर छन् भने अर्कोतिर हामी आफैंले हाम्रो समाजवादउन्मुख नीति र कार्यक्रम अनुसार, हाम्रो घोषणा अनुसार कति काम गर्न सक्यौं, हाम्रा सरकारका सदस्यहरुको आचरण अनुसार काम कति चाँही कम्युनिष्ट नेताको जस्तो, कम्युनिष्ट मन्त्रीको जस्तो भयो र परिणाममा हामीले के दिन सक्यौं भन्ने बारेमा छलफल गर्नुपर्छ , यसैले यो बारेमा हामी गम्भिर नै छौं ।
० तर अरु तत्वले मन्त्रीलाई काम गर्न नदिएको भन्दा पनि तपाँइका पार्टीका मन्त्रीहरु व्यक्तिगत र नाजायज लाभको लागि विभिन्न चलखेलमा संलग्न भएको प्रभावमा परेको कुराहरु त सार्वजनिक भएकै छ,उनीहरुलाई कारवाही गर्नुपर्दैन ?
हामी त्यसबारेमा निश्चीत रुपमा गम्भिर छौं । हामी सबै पक्षलाई सतही आलोचना नगरीकन ठोस र वस्तुगत रुपमा नै प्रमाणसहित कुरा आएको खण्डमा कारवाह्ी नै गर्नुपर्छ भन्ने पक्षमा छौं । त्यसमा गम्भिर पनि छौं । हामी कसैले भ्रष्ट्राचार गरेको र अनियमितता गरेको प्रमाण हुन्छ भने त्यसलाई स्वागत गछौं । आवश्यक कठोर कदम चाल्छौं ।
० एमाले र एमाओवादीबीच त एकता भयो, अब बाँकी रहेका अन्य साना कम्युनिष्ट समुहहरुसंग एकता गर्ने विषयमा के पहल हुँदैछ ?
अहिल्यैं त ठोस रुपमा कुनै वार्ता प्रक्रिया अगाडि बढेको वा ठोस रुपमा कुनै संभावना पैदा भइसकेको स्थिति छैन । तर हामीले पार्टी एकता गर्ने क्रममै प्रतिवद्धता व्यक्त गरेको कुरा के हो भने यो चाँही हामी खाली दुइवटा पुर्व पार्टीहरुबीचको एकता मात्रै होइन, हामीले नेपालका सबै कम्युनिष्टहरुलाई एउटै केन्द्रमा ल्याउने पहल गरिरहेका छौं । यो आवश्यकताको कुरा पनि हो । मुलभुत रुपमा हाम्रो दुइटा पार्टीको एकता भएपछि नेपालमा एउटै कम्युनिष्ट पार्टी बन्यो तर अझै पनि अरु कम्युनिष्ट क्रान्तिकारीहरु जति बाहिर छन्, समुह बनाएर बसेका छन्, वा स्वतन्त्र बसेका छन्, ति सबैलाई पनि हामीले यही पार्टीमा आवद्ध गराउन पहलकदमी गर्नुपर्छ भनेका छौं । विभिन्न ढंगले छलफल त नभएको होइन । तर व्यवस्थित र योजनावद्ध रुपमा पहलकदमी अझैं त्यती भैरहेको स्थिति छैन । त्यो ठोस संभावना बनिसकेको छैन । तर हामी यो पहल प्रयत्नलाई अगाडि बढाउँछौं ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply