कांग्रेसमा संसदीय दलको नेता निर्विरोध हुँदैन
प्रदीप पौडेल० तपाईंहरूले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बोलाउनुभयो र बैठक पनि बस्यो । तर, कांग्रेस पराजयको गम्भीर लेखाजोखा भने हुन सकेन नि ?
– बैठकको सुरुवातमै आगामी राष्ट्रिय सभा निर्वाचनका विषयमा केन्द्रित हुन प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले आग्रह गर्नुभयो । बैठकको आधिकारिक र एक मात्र एजेन्डा राष्ट्रिय सभाको निर्वाचन थियो । त्यो मात्र एजेन्डा हुँदाहुँदै पनि चुनावको समीक्षा भने सबैले गरे । संक्षिप्त रूपमा सबैबाट चुनावको समीक्षा भयो । सभापतिले राष्ट्रिय सभाको निर्वाचन सकिनेबित्तिकै अलि लामो समय लिएर समीक्षा बैठक गर्छौं भन्नुभएको छ । त्यो समीक्षा बैठकपछि छिट्टै महासमिति बैठक र त्यसपछि नेपाली कांग्रेसको सांगठनिक संरचनालाई प्रादेशिक संरचनाअनुरूप बनाउने प्रक्रियाका निम्ति विधान संशोधन पनि गर्नेछौं भनेर उहाँले सुरुमै आश्वस्त गर्नुभयो । तर पनि बैठकमा सबै साथीले समीक्षा हुनुपर्ने, त्रुटिहरू केलाउनुपर्ने, सच्चिने दिशातिर कांग्रेस जानुपर्ने भन्ने कुरा राखे ।
० कांग्रेसले निर्वाचनमा जुन खालको पराजय भोग्यो, यसको ठोस जिम्मेवारी कसले लिने भन्ने सन्दर्भमा केही कुरा भएन ?
– मुख्य रूपमा यही विषयमै कुरा भएको हो । हाम्रो तर्फबाट जेजे त्रुटिहरू भए, ती कुरा नै बैठकमा उठेको थियो । निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षाकृत परिणाम प्राप्त गर्न सकेन । त्यसका कारणहरू केके हुन् भनेर केलाउने सन्दर्भमा नै बैठकमा कुराकानी भयो । पराजयको मुख्य दोषीचाहिँ मूल नेतृत्व नै हो । पार्टीको जिम्मेवारीमा रहेका सबै जना कुनै न कुनै रूपमा दोषी हुन्छन् । तर, मूल नेतृत्व नै बढी जिम्मेवार देखिन्छ ।
हामीले जुन प्रभावकारी रणनीति अख्तियार गर्न सक्नुपथ्र्यो, निर्वाचनमा जुन खालको प्रचार शैली अपनाउन सक्नुपथ्र्यो, हाम्रा विषयहरू जनतालाई जसरी बुझाउन सक्नुपथ्र्यो, प्रतिस्पर्धीका बारेमा हामीले जसरी तर्कपूर्ण तरिकाले विषयहरू उठाउन सक्नुपथ्र्यो, ती सबै कुरा हुन सकेन । त्यसकारण, निर्वाचन हाम्रो पक्षमा हुन सकेन भन्ने कुरा नै बढी उठेको थियो ।
० तपाईंहरूले पार्टीमा युवाहरूले भूमिका पाउनुपर्ने माग गर्नुभएको थियो, विश्वप्रकाश शर्मालाई प्रवक्तामा मनोनयन गरेपछि त त्यो माग पूरा भयो होला नि ?
– विश्वप्रकाशजीलाई प्रवक्ता बनाएकोमा हामीले सभापतिलाई धन्यवाद दिएका छौं । तर, विषय त्यति मात्र छैन । कुन व्यक्तिले के जिम्मेवारी पाउनेभन्दा पनि समग्रमा पार्टीका सबै कार्यकर्ताले भूमिका पाउनुपर्छ भन्ने हाम्रो कुरा हो । पार्टीका सबै संरचना क्रियाशील हुनुपर्छ भन्ने विषय हो । मूल रूपमा सैद्धान्तिक पक्षमा हामीले सान्दर्भिकता जोडेर विषयवस्तुलाई परिवर्तन गर्न आवश्यक छ । पार्टीको संगठनात्मक स्वरूपलाई हामीले बदल्नु आवश्यक छ । संगठनको शैलीलाई बदल्नु आवश्यक छ । हामीले पार्टीभित्र नयाँ स्कुलिङको विकास गर्न जरुरी छ । गुटहरू निर्माण हुने सन्दर्भमा व्यक्तिलाई प्रधान बनाएर होइन, नीति, विचार, कार्यक्रम र योजनालाई प्रधान बनाएर चल्नुपर्छ । विधानलाई सर्वोपरि ठानेर विधानले व्यवस्था गरेअनुसार पार्टी सञ्चालन हुनुपर्छ भन्ने मुख्य विषय हो । यिनै विषय हामीले उठाएका छौं र यी विषयहरूमा सम्पूर्ण रूपमा सच्चिने, कार्यान्वयन हुने अवस्था नभएसम्म हामी निरन्तर यी कुराहरू उठाइरहन्छौं ।
० विधि र विधानभन्दा पनि कमिटी र पार्टी निश्चित समूह, झुन्ड र कोटरीबाट सञ्चालित हुन थाल्यो त्यसो भए ?
– पार्टी नेतृत्वले सबैलाई सुरक्षित महसुस गराउन सकेन । सबैको अभिभावक हुन सकेन । गुट विशेषको मात्र चिन्ता गरेको जस्तो देखियो । त्यसैले त्यो खालको व्यवहारबाट पार्टीका सबै खालका कार्यकर्ता नेतृत्वबाट आश्वस्त हुन सक्दैनन् । त्यसकारण, गुटगत प्रवृत्ति बढी हावी भयो भन्ने विषय गम्भीर रूपमा उठेको छ । नेतृत्व त्यो मामिलामा पूर्ण रूपमा सच्चिन आवश्यक छ । तर, हामीले यी सबै विषयबारे समीक्षा गर्न अझै बाँकी छ । हामीले केन्द्रीय कार्यसमितिको बैठक गर्ने, त्यो बैठकबाट महासमितिमा जाने र महासमितिपछि विशेष अधिवेशन वा शीघ्र अधिवेशन गर्नेबारे महासमितिले नै तय गर्छ । हामीले त्यो बाटो अघि बढ्ने सोच बनाएका छौं ।
० पछिल्लो समय चुनावपछि पनि कांग्रेसले सरकार नछोडेर सत्ता लिप्साको चरम रूप देखायो भनिन्छ नि ?
– सरकार कांग्रेसले नछोडेको होइन । सरकार छोड्नेभन्दा पनि हस्तान्तरण गर्ने कुरा हो । हस्तान्तरण गर्न प्रक्रिया पुग्नुपर्छ । अहिले त प्रतिनिधिसभाले पूर्णता प्राप्त गरेकै छैन । समानुपातिकतर्फ सांसदहरू निर्वाचित भइसकेको अवस्था नै छैन । प्रतिनिधिसभाले पूर्णता प्राप्त नगरेसम्म यो प्रक्रिया निष्कर्षमा पुग्न सक्दैन । त्यसैले सरकार हस्तान्तरण गर्ने विषय हो । यसका आफ्नै प्रक्रियाहरू हुन्छन् । ती प्रक्रियाहरू पुरा भएको अवस्था छैन । त्यसैले हस्तान्तरण नै गर्न नचाहेको, बसिरहन चाहेको भन्ने कुराचाहिँ होइन । नेपाली कांग्रेस सत्तामा अब बसिरहन सक्दैन । हामी अब जिम्मेवार प्रतिपक्षको भुमिकामा बस्नुपर्ने अवस्था छ । जनताले हामीलाई त्यो म्यान्डेट दिएका छन् । त्यसैले अब हामी त्यो सबै प्रक्रिया पूरा गरेर छिटोभन्दा छिटो सत्ताबाट बाहिरिने र प्रतिपक्षको भूमिका जिम्मेवार ढंगले निर्वाह गर्ने नै आजको नेपाली कांग्रेसको मुख्य दायित्व हो ।
० जाँदाजाँदै सरकारले विभिन्न ठाउँमा एउटै बाँकी नराखेर नियुक्तिहरू गर्दै छ, निर्वाचनमा पराजय त भोग्यो–भोग्यो, अझै नचेतेर अलोकप्रिय काम गर्दै छ भन्ने टिप्पणी छ नि ?
– दीर्घकालिन असर गर्ने खालका नियुक्तिहरू हुनुहुँदैन । दैनिक कार्यसञ्चालन गर्न रोकिने कामहरूबाहेक अन्य दीर्घकालीन नियुक्तिका विषयहरू हुनुहुँदैन । यो सरकार एक ढंगले कामचलाउ भइसकेकै हो । दीर्घकालीन रूपमा असर गर्ने गम्भीर नियुक्तिहरू भएको जस्तो मलाई लाग्दैन । र, त्यो गर्न मिल्ने अवस्था होइन ।
० कार्यसम्पादन समिति भंग गर्ने वा नगर्ने विवादले कांग्रेसले राष्ट्रिय सभा उम्मेदवार चयन गर्न सकेको छैन, अरू पार्टीले गरिसके, कहिले गर्नुहुन्छ ?
– उम्मेदवार त हामी चयन गर्छौं नै । तर, विधि र प्रक्रियाअनुसार उम्मेदवार तय हुने र गरिने अवस्था फेरि बनेन । कार्य सम्पादन समिति, संसदीय समिति दुवै विधानसम्मत भएन भन्ने कुरा हामीले बैठकमा उठाएका छौं । मलाई लाग्छ, त्यो क्रियाशील हुने अवस्था छैन । सभापतिज्यूले आवश्यक सबैसँग परामर्श गरेर यसलाई टुंग्याउने भनेर भन्नुभएको छ । परामर्शकै क्रममा उहाँ हुनुहुन्छ । उम्मेदवारी दर्ता गर्ने बेलासम्मा सबै टुंगिन्छन् ।
० संसदीय दलको नेताको विकल्प पनि सुरु भएको हो ? प्रकाशमान श्रेष्ठले उमेद्वारी दिने चर्चा सुनिन थालिएको छ त ?
– कांग्रेसजस्तो पार्टीमा दलका नेता चयन गर्दा निर्विरोध त अवश्य हुँदैन । निर्वाचनकै माध्यमबाट यसलाई टुंग्याउने परिस्थिति बन्छ होला । तर, कोको प्रतिस्पर्धामा आउनुहुन्छ, त्यो अहिल्यै भनिहाल्ने स्थिति छैन । मूल रूपमा हामीले अहिले पहिलो तहका नेताहरूलाई अभिभावक बनिदिनोस् भनेका छौं । त्यसकारण, त्यो कुरा स्वेच्छिक कुरा हो । परिस्थिति देख्दा चाहिँ निर्वाचनको माध्यमबाट यो कुरा टुंगिने अवस्था देखिन्छ । तर, प्रतिस्पर्धा क–कसले गर्नुहुन्छ भनेर अहिल्यै भनिहाल्ने स्थिति छैन ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply