कांग्रेसले आफ्ना सांसदलाई राम्ररी परिचालन गर्न नसकेकै हो
अर्जुन नरसिंह केसी, नेता, नेपाली काँग्रेस० नेपाली काँग्रेसको चालु केन्द्रीय कार्यसमिति बैठक बीचैमा किन स्थगीत भयो ?
बैठक सौहार्दपुर्ण तरिकाले अघि बढ्दै थियो । यो पहिलो बैठकको पहिलो एजेण्डाका रुपमा पार्टीको नियमावली प्रस्तुत गरिएको थियो । नियमावली मस्यौदा समितिका तर्फबाट प्रस्तुत धारणहरुका बारे निक्कै छलफलहरु भए । त्यसमा गम्भिर मतभेदहरु पनि नभएका होइनन् । तर त्यसको बावजुद पनि सौहाद्र्धपुर्ण रुपमा आफ्ना दृष्टिकोणहरु प्रस्तुत भएका छन् । ति सबै दृष्टिकोणहरुलाई संयोजन गरेर त्यसलाई अन्तिम स्वरुप दिने भन्ने निर्णय भएको छ ।
० नियमावली मस्यौदाका सन्दर्भमा राजनीतिक रुपमा हुने गरेको नीतिगत वहशलाई पनि आचारसंहिताका नाममा रोक्ने प्रस्ताव ल्याइएको भन्ने रहेछ, कुरा के हो ?
नेपाली काँग्रेस जस्तो लामो लोकतान्त्रिक इतिहास बोकेको पार्टी जहिले पनि विविधताका बीचमा एकताका साथ चल्नुपर्छ । त्यो उसको सबैभन्दा महत्वपुर्ण आधार हो । त्यहाँभित्र विचारमा विविधता हुन्छन् । त्यसको प्रक्रिया हुन्छ । त्यो निरन्तर रहन्छ पनि । त्यस्तो बैचारिक मन्थनद्धारा परिमार्जित गर्दै एउटा सत्यता अथवा पुर्णताको बाटोमा अगाडि बढ्न सक्नुको नाम नै लोकतन्त्र हो । लोकतन्त्रमा विविधताका बीचमा एकता भएजस्तै अरु फासिस्ट पार्टी वा कम्युनिष्ट पार्टीहरुमा चाँही एकरुपताको कुरा हुन्छ । एकरुपता र एकता अत्यन्त धेरै फरक कुरा हो । एकरुपतामा एउटै स्वरुप हुन्छ भने एकतामा विभिन्नता हुन्छ । विभिन्नताको बीचमा अभिन्नता र विविधताका बीचको एकता लोकतन्त्रमा हुन्छ । त्यसकारण यहाँ सैद्धान्तिक विचार विनिमय गर्ने र विमर्श तथा आफ्ना दृष्टिकोणहरु प्रष्ट राख्नेकुरा काँही कुनै ढंगले पनि निशेध गर्नुहुन्न । किनभने नेपाली काँग्रेसभित्रकै इतिहाँस हेर्नुभयो भने एउटै पार्टीमा फरक फरक धारण र दृष्टिकोण प्रष्ट देखिन्थ्यो । सुवर्ण समशेर राजासंग मेलमिलापको लाइनमा हुनुहुन्थ्यो । विपी कोइराला सशस्त्र संघर्षको लाइनमा हुनुहुन्थ्यो । कृष्णप्रसाद भट्टराई भने यि दुइवटै लाइन होइन, देशभित्रैबाट शान्तीपुर्ण आन्दोलनद्धारा नै प्रजातन्त्र स्थापित गर्नुपर्छ भन्नुहुन्थायो । यि तिनवटा विचारधारा समानान्तर रुपले गएका थिए । तर पार्टीले समयसापेक्ष निर्णय ग¥यो र वाश्तवमा भन्ने हो भने अहिंशातमक लाइनले नै विजय प्राप्त ग¥यो ।
० यो त विगतको कुरा न भयो ?
होइन, अहिले पनि पार्टीले हेर्नुपर्न र पढ्नुपर्ने इतिहास त्यही हो । नीतिगत र सैद्धान्तिक रुपबाट आ आफ्ना विचार धारण प्रस्तुत गर्ने छुटलाई नियन्त्रण गर्न सकिन्न । पार्टीको मर्यादा भनेका पार्टीको विधान र महाधिवेशनले पारित गरेका प्रस्तावहरु, त्यसको सिमारेखा र त्यसभित्र अनुशासित हुनैपर्छ । त्यसमा व्यक्तिगत रुपबाट कसैलाई गालि गर्ने, मर्यादालाई आँच आउने खालका कुराहरु निशेध र न्युनीकरण गर्नैपर्छ । तर त्यसको अर्थ वैचारिक भावनाहरु प्रतिवन्धित गराउने खालको कुनै पनि विषयवस्तु लोकतान्त्रिक पद्धतीलाई सुहाउने कुरा होइन । त्यही दृष्टिकोण मै आफुले छलफलको क्रममा राखेको हुँ । ति सबैकुरालाई संयोजन गरेर सन्तुलित ढंगले निर्माण गर्नुपर्छ ।
० आफैभित्र यति धेरै विवाद छ, यसैले पनि काँग्रेसले सवल प्रतिपक्षको रुपमा भूमिका निर्वाह गर्न नसकेको हो ?
जसरी गर्नुपर्ने हो त्यसरी काम गर्न सकेको पक्कै छैन । प्रतिपक्षीय हिसावमा गर्नुपर्ने भुमिकामा कमि त कमि आएकै हो । आन्तरिकरुमैै विषयवस्तुहरुलाई संयोजन गर्न नसक्नु कमजोरी हो । प्रभावकारी ढंगले आफ्ना संसदहरुलाई परिचालन गर्न सकेको अवस्था पक्कै छैन । तर त्यसका वावजुद पनि हुँदै भएको छैन भन्ने कुरा होइन । अहिले जो देखिएका विकृतीहरु र मनपरीतन्त्रहरु छन्, यसको खिलाफमा त आवाज उठेकै छ । विभिन्न विधयेकहरु जस्तै गुठी सम्वन्धी विधयेक, मिडीया काउन्सिल र सुचना प्रविधी सम्वन्धी ऐन जर्वजस्त रुपमा आइरहेको थियो । हामीहरुले विरोध गरेकै कारण सार्वजनिक रुपमा स्थगित गरियो । त्यस्तै सुरक्षा परिषद सम्वन्धी ऐनमा सरकारको एकाधिपत्य सैनिक परिचालनमा पनि देखिने खालको अवस्थालाई हामीले विरोध नै गरिरहेका छौं । त्यसैगरी मानवअधिकार आयोग सम्वन्धमा मानवअधिकार आयोग जस्तो स्वायत्त संस्था जो संवैधानिक अंग पनि हो, त्यसले मुद्दा चलाउने कि नचलाउने भनेर प्रधानमन्त्रीको कानुनी सल्लाहकार महान्यायाधिवक्तससंग अनुमति लिनुपर्ने जस्ता लोकतन्त्रका आधारभुत मान्यता विपरीतका कुराहरु या विभिन्न किसीमका भ्रष्ट्राचारका कुराहरु उठिनै रहेका छन् । तर त्यसलाई जुन डिग्रीमा जसरी उठाउनु पथ्र्यो, त्यसरी उठाइएन भन्ने जनगुनासो यावत रुपमा आएको छ । काँग्रेस पार्टीभित्र पनि मैले जागरण अभियानका शिलशिलामा जुन जुन जिल्ला पुगें, त्यहाँ साथीहरुले भ्रष्ट्राचरका सवालमा जुरी जर्वजस्त रुपमा संसदमा देखिनुपथ्र्यो, त्यो हिसावले देखिएन भन्ने भनाइ पनि नआएका होइनन् । त्यसलाई आगामी दिनमा शसक्त रुपमा अगाडि बढाउनुपर्छ ।
० भ्रष्टाचारको सवालमा त पार्टी सभापति शेरबहादुर देउवा नै पर्ने संभावना भएपछि काँग्रेस चुप लागेको भन्ने सुनिन्छ नि ?
होइन, हामीहरुले त्यस्तो भ्रम पाल्नु हुन्न । वाइड बडी काण्डमा संसदीय समितिले त्यत्रो निर्णय गरेको छ , छानविन समितिले सुझाव दिएको छ । हाम्रो पार्टी सभापतिले यसबारेमा संसदमा बोलिपनि सक्नुभएको छ । यो चाँही सत्तामा रहेकाहरुले कसैको नाममा आफुलाई सुरक्षीत बनाउने खालको मनशायबाट अभिप्रेरीत छ भन्ने मलाई लाग्छ । किनभने कारवाही गर्न त जो हुँदा पनि गरे भैहाल्यो नी । कारवाही गर्न त कसैले रोकेको छैन । त्यसैले कसैको नामलाई सुरक्षा कवच बनाउन सरकारले सबभन्दा ठुलो बहाना पपाएको छ ।
० काँग्रेसको बैठकमा चौधौं महाधिवेशनको प्रक्रिया अघि बढाउने भन्ने एजेण्डा पनि परेको रहेछ, पार्टी महाधिवेश कहिले गर्नु उपयुक्त हुन्छ ?
हामी सकेसम्म चाँडो महाधिवेशन होस् भन्ने चाहन्छौं । महाधिवेशन जति ढिलो भयो, काँग्रेसलाई त्यती नै नोक्सान हुनछ ।किनभने अहिले त स्थानिय निर्वाचन भएको हो । २ वर्ष ३–४ महिना त पुगिसक्यो । आगामी फागुनभित्र महाधिवेशन गरिसक्नुपर्ने हाम्रो सामान्य समयसिमा हो । त्यसलाई अझै एक वर्ष बढाउन सकिने विधानको व्यवस्था त छ । तर असामान्य नभई विशेष परिस्थितिमा भन्ने छ । असामान्य र विशेष परिस्थितिको पनि उपयुक्त परिभाषा दिनुपर्ने आवश्यकता हुन्छ । त्यसैले सकेसम्म चाँडो गर्दा आगामी फागुनभित्र गर्न सकिएन भने चैत, त्यसमा नभए वैशाख, जेठ अर्था त्यहाँ पनि संभव भएन भने असार १५ सम्ममा पनि गर्न सकिन्छ । त्यसमा सकिएन भने असोज–कात्तिकमा गर्न सकिन्छ । तर स्थानिय निर्वाचनको कमसेकम एक वर्ष भन्दा अगाडि नै महाधिवेशन गर्न सकिन्छ । नत्र भने स्थानीय निर्वाचनको बेला अधिवेशन हुँदा गाँउ गाँउमा पार्टीभित्रैकै आन्तरिक प्रतिश्पर्धामा साथीहरु अल्मलीको तिक्ततालाई निराकरण गर्ने अथवा समझदारी सिर्जना गर्ने समय पनि हुँदैन । अर्कोतिर टिकट वितरणमा पनि अहिले हामीले जसरी गरेका छौं, टिकट जुन दिने मनोनयन हुने, त्यसैदिन ४ बजेसम्म पनि परिवर्तन गर्ने जुन थीति छ, त्यो थीति नहुन दिन र वैधानिक रुपले राम्रोसंग संगठित भएर गए । स्थानीय निर्वाचनको कमसेकम एक वर्ष अगाडिअधिवेशन भइसक्नुपर्छ ।
तोकिएकै समयमा हुननसके पनि ४–६ महिना घटबढ हुनसक्छ । तर यसलाई अवधी बढाउनेतिर लाग्नु पटक्कै पार्टी हितको पक्षमा हुँदैन भन्ने हाम्रो सोच हो ।
० नेविसंघ लगायत भातृसंस्थाहरुको अवस्था अस्तव्यस्त छ, विभागहरुलाई पुर्णता दिने कामहरु पनि भएन, यस हिसावले सांगठनिक संरचना अस्तव्यस्त भएको हो ?
सांगठानिक संरचनामा कमजोरी देखिएकै हो । यो कुरा जायजै हो । तर अब भातृसंसंस्थाहरु तदर्थ समिति भन्दा अधिवेशनमा नै लिएर जानुपर्छ र पार्टीको निर्वाचन समिति जुन छ, त्यो समितिले विधानअनुसार महाधिवेश गारेस् भन्ने हाम्रो दृष्टिकोण हो । त्यसैले अब सम्पुर्ण रुपले आगामी अधिवेशनको लागि केन्द्रीकृत हुनुपर्छ । तयारीमा लाग्नुपर्छ । हामी अन्यत्र अलमल गर्नु हुँदैन । अधिवेशन नै केन्द्रविन्दु हो । त्यसपछि पार्टीभित्र समग्र एकता हुन्छ । त्यसले नयाँ उर्जा पनि स्थापना गर्छ । त्यसैमा हाम्रो कोशिस भइरहेको छ ।
० यो बीचमा पार्टी सभापतिले पार्टीलाई सामुहिक छलफल नगर्ने र नियन्त्रणमुखी बनाउने प्रयास गर्नुभयो भन्ने आरोप गुनासो पनि छ नि ?
यसलाई नियन्त्रणमुखी बनाउनु हुँदैन । यो पार्टी लोकतान्त्रिक पार्टी हो । यो पार्टीमा वाद प्रतिवादको ढोका सधैं खुला रहनुपर्छ । काग्रेस भनेको विभिन्नताको बीचमा अभिन्नता सिर्जना गर्दै अगाडि बढ्ने पार्टी हो । काँग्रेसमात्र होइन लोककतन्त्रको आधारभुत सिद्धान्त र पद्दती पनि त्यही हो । त्यसमा देखिएका कमि त्रुटीहरुलाई सुधार्दै सबै पार्टी अघि बढ्नुपर्छ । कार्यशैलीका बारेमा कतिपय सवालमा हामी असन्तुष्ट छौं । कतिपय सवालमा भर्खरै पहिलो बैठकको बेलामा पनि महाधिवेशनको एजेण्डा प्रस्तुत गर्ने कुरामा सहमतीबाटै प्रस्तुत भएको हो । तर त्यो महाधिवेशनको तयारीको सिलसिलामा सबैभन्दा पहिला पार्टीभित्रको विधानको ७२ को ४ अनुसार हतार हतार अन्तरिम व्यवस्थापन गर्नुपर्ने जुन काम हो, त्यतातर्फ सबै केन्द्रीकृत भएर लागौं । हामीहरु सबै मध्ये को कति सफल र को कति असफल, कुन कायैशैली ठिक कुन कार्यशैली बेठिक भन्ने कुरा सबैभन्दा ठुलो संस्था नेपाली काँग्रेसको महाधिवेशनलाई नै तय गर्न दिँउ ।
० तनहुँ जिल्लामा गोबिन्दराज जोशीले समानान्तर जिल्ला समिति र समानान्तर कार्यालय नै चलाएका छन्, यो विवादबारे के भनाई छ ?
त्यो विषय अहिले छलफल भइसकेको छैन । त्यो विषय पनि प्रस्तुत हुँदैछ । तर पार्टीको आधिकारिक संस्थालाई समानान्तर गर्ने छुट कसैलाई पनि हुँदैन । कसरी प्रस्तुत हुन्छ यो विषय, प्रस्तुत भइसकेपछि छलफल होला ।
०केही सेलीब्रेटी र राष्ट्रवादी भनिएका केही काँग्रेसका युवा नेताहरु पनि अमेरिकी सुचना अधिकारीको रुपमा काम गरेको भनेर कुरा आइरहेको छ, नि ?
भ्रमको खेती गर्नेहरुलाई लोकतन्त्रमा जति सत्य र यर्थाथता निर्भिक भएर भन्ने अधिकार लोकतन्त्रले दिन्छ, त्यस्तै भ्रमको खेती गर्नेलाई पनि छुट छ । कहाँ कहिेको कुन सन्दर्भको आधारविहिन कुराहरुलाई अहिले बाहिर ल्याउनुपर्ने निरर्थक मात्र होइन असान्दर्भीक पनि छ । व्यक्तित्व निर्माण गरिसकेका व्यक्तिहरुलाई तेजोवध गर्ने ढंगले आएको हो । यो निर्थक हो भन्ने मलाई लाग्छ ।
० भर्खरै देशव्यापी बाढी र पहिरोले धेरै धनजनको क्षती पुगेको छ, यस्तो बेलामा एक अर्काको आरोप प्रत्यारोपमा भन्दा पनि नेता र राजनीतिक दल एक भएर राहत तथा उद्धारमा जुट्नुपर्ने होइन र ?
अहिले हामी देशव्यापी रुपमो बाढी पहिरोको प्रकोप सामना गरिरहेका छौं । झण्र्ड पाँच दर्जन भन्दा बढीको ज्यान गइसकेको छ भने त्यो संख्या बढ्ने क्रममा छ । हामी अहिले जुन प्रकारको प्रकोपबाट पिडित छौं, यस स्थितिमा कसैले कसैलाई दोषारेपणको खेलमा अलमलीनुभन्दा पनि राज्य र सम्पुर्ण राजनीतिक दलहरु एकिकृत भएर सबैभन्दा पहिले उद्धार, राहत र पुर्नस्थापनाको निम्ति केन्द्रीत हुनुपर्ने आवश्यकता छ । सत्तापक्षले पनि यसमा कुरा मात्रै होइन व्यवहार नै गम्भिरतापुर्वक प्रस्तुत गरोस् । काँग्रेस पार्टीले पन चालु बैठक स्थगित गरेर हरेक तहका नेता कार्यकर्ता यसमा केन्द्रीकृत हुने निर्णय गरेका छौं । हामी सबैले मन, वचन र कर्मले यसैमा समर्पित हुनुपर्ने अहिलेको आवश्यकता छ । म सबैलाई यो राष्ट्रिय विपत्तीमा सबैकुरा भुलेर, आपसी मनोमालिन्य तोडेर देशैभरी खट्न सबैलाई आव्हान गर्छु ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply