कांग्रेस–माओवादीले खोजेको व्यक्ति पनि मै हुँ
बसुद्दिन अन्सारी, मेयरका प्रत्यासी, वीरगन्ज महानगरपालिका, नेकपा (एमाले)० असोज २ मा प्रदेश नम्बर २ मा स्थानीय निर्वाचन हँुदै छ । त्यहाँ तपाईंको पार्टी एमालेको अवस्था कस्तोे छ ?
– प्रदेश नम्बर २ को निर्वाचनको तयारी निकै व्यापक रूपमा अघि बढिरहेको छ । अहिले प्रदेश नम्बर २ का सबै जिल्लामा चुनावी प्रचारप्रसार गर्ने, चुनावका लागि भेला, बैठक गर्ने, संगठनका गतिविधिलाई तीव्र बनाउनेजस्ता काममा सक्रिय बनेका छन् ।
० एमाले प्रदेश नम्बर २ मा कमजोर छ भन्ने चर्चा छ । तपाईं आफूले चाहिँ कस्तो देख्नुभएको छ ?
– अहिले नेकपा (एमाले) लाई तराईविरोधीको हल्ला चलाइएको छ । तर एमाले तराईविरोधी होइन । यो सन्देश एमालेले तराई–मधेसका जनतालाई दिएको छ । एमाले तराईको विकासमा सक्रिय छ भन्ने यहाँका जनताले थाहा पाएका छन् । एमाले राष्ट्रियतका मुद्दामा कमजोर देखिएन । मधेसको विकासमा एमाले नेतृत्वको सरकारले निकै मेहतन ग¥यो यो सबै कुरा यहाँका जनताले थाहा पाएका छन् । पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेले ल्याएको परिणामका कारण पनि प्रदेश नम्बर २ का जनता एमालेको पक्षमा देशव्यापी लहर छ भन्ने कुरामा विश्वस्त बनेका छन् । त्यसैले असोज २ मा हुने प्रदेश नम्बर २ को निर्वाचनबाट एमाले मधेसमा पनि पहिलो पार्टी बन्ने निश्चित छ ।
० प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जबाट तपाईंले एमालेका तर्फबाट मेयरका रूपमा उम्मेदवारी दिनुभएको छ । वीरगन्जबाट एमाले विजयी हुनेमा विश्वस्त हुनुहुन्छ ?
– मैले अघि पनि भनें, प्रदेश नम्बर २ मा एमाले त्यसै पनि बलियो छ । अझ वीरगन्जका जनता निकै सचेत छन् । यहाँका जनता विकास चाहन्छन् । यहाँका जनतालाई विकास चाहिएको छ । त्यसैले एमालेले पनि मलाई यही चाहनाका साथ उम्मेदवार बनाएको हो । मैले व्यक्तिगत रूपमा पनि यो महानगरपालिकामा गरेको विकासले यहाँका जनता प्रभावित भएका छन् । अझ मलाई एमालेका तर्फबाट उम्मेदवारका रूपमा अघि बढाएपछि जनता अब मेयर एमालेले जित्छ र यहाँ विकासले गति लिन्छ भन्नेमा ढुक्क छन् । अझ भन्ने हो भने यहाँका जनताले पार्टीलाई भन्दा पनि विकासप्रेमी व्यक्तिलाई खोजेका छन् । म एमालेका तर्फबाट उम्मेदवार बनेपछि यहाँका जनताले पार्टी र व्यक्ति दुवै ठीक छनोट भएको भन्दै उत्साह व्यक्त गरेका छन् ।
० घरदैलो कार्यक्रम पनि गर्नुभएको होला । कस्तो प्रतिक्रिया पाउनुभएको छ जनताबाट ?
– हामी अहिले दैनिक घरदैलो कार्यक्रममा व्यस्त बनेका छौं । हामी जहाँजहाँ गयौं, त्यहाँत्यहाँका जनताले एमाले र मेरो विषयमा खुसी व्यक्त गरेका छन् । एमाले मात्र होइन, कांग्रेस र माओवादीका साथीहरूले योपटक मलाई विजयी बनाउन चाहेको मैले महसुस गरेको छु । यहाँका जनताले यसअघि निर्वाचित जनप्रतिनिधिले सोचजस्तो काम गर्न नसकेको अथवा उहाँहरू ‘टेस्टेड’ भएको भन्दै अब नयाँ अनुहारको खोजी गरेका छन् । एउटै पार्टी वा दललाई पटकपटक नेतृत्व दिने कुरा राम्रो होइन भन्ने यहाँका जनताले महसुस गरेका छन् ।
० तर, एमालेभित्रै लामो समय काम गरेका, संगठनमा योगदान गरेका व्यक्तिलाई छाडेर तपाईंलाई उम्मेदवार बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेको भन्ने पनि चर्चा छ नि ?
– त्यो गलत कुरा हो । मलाई पटकपटक एमालेकै साथीहरूले तपाईं नेतृत्वमा आउनुपर्छ भनेर आग्रह गरेकाले म एमालेका तर्फबाट उम्मेदवार बनेको हुँ । मैले कमाउन होइन, वीरगन्जको विकासका लागि उम्मेदवारी दिएको हुँ भन्ने पनि धेरैलाई जानकारी छ । मलाई कमाउनुको कुनै आवश्यकता छैन । म मेयर निर्वाचित भएपछि यहाँको विकासमा ध्यान दिनेछु । म मेयर नहुँदै पनि यहाँ मेडिकल कलेज स्थापना गर्नेलगायतका काममा सक्रिय बनेको छु । यो यहाँका जनताले देखेका छन् ।
कांग्रेस–माओवादी र मधेसी दलका मतदाताहरूले पनि यहाँ पटकपटक नेतृत्वमा पुगेर पनि विकास गर्न नसकेको, उहाँहरूले भाषण मात्र गरेको अनुभव राम्ररी प्राप्त गर्नुभएको छ । त्यसैले एमालेले मात्र, होइन कांग्रेस–माओवादीले पनि खोजेको व्यक्ति मै हुँ ।
मैले सत्य कुरा गर्नुपर्छ । म पहिला कांग्रेस थिएँ । त्यसपछि माओवादीले पनि मलाई एकपटक सांसदका लागि उम्मेदवार बनाएकै हो । मैले ती दुवै पार्टीमा बसेर काम गरेको छु । मैले ती दलका नेताहरूलाई राम्ररी बुझेको पनि छु । उहाँहरूमा विकासको चाहना मैले पाउन सकिनँ । एमाले विकासप्रेमी पार्टी हो भन्ने भएपछि मैले एमालेबाट उम्मेदवार बन्ने निर्णय लिएको हुँ । म विजयी भएपछि वीरगन्जलाई कस्तो बनाउने भन्ने योजनाहरू अघि सारेको छु । मेरो योजनाबाट यहाँका जनता उत्साही हुनुभएको छ । उहाँहरू सबैले एकपटक मलाई मेयर निर्वाचित गरेरै छाड्ने योजना बनाएर अघि बढ्नुभएको छ । म मेयर निर्वाचित भएपछि यहाँका जनताको मनोभावनालाई ख्याल गरेर काम गर्नेछु । यो मेरो प्रतिबद्धता पनि हो । मलाई जसरी एमालेका जिल्ला, नगर र वडाका समेत साथीहरूले विश्वास गरेर उम्मेदवार बनाउनुभएको छ । म उहाँहरूको र अन्य मतदाताको समेत शिर उँचो बनाउने गरी काम गर्नेछु । पहिला मैले नेताको मात्र मन जितेकाले चुनाव जित्न सकिन । अहिले सबै कार्यकर्ताको समेत मन जितेर आएको छु । त्यसैले निर्वाचन जित्ने कुरा पनि निश्चित छ । पहिला त्यति नखुलेका एमाले कार्यकर्ता पनि अहिले उत्साहित भएर चुनावी प्रचारमा आएको मैले पाएको छु । यो खुसीको कुरा हो ।
मलाई आशा छ, योपटक यहाँका जनताले मलाई विजयी गराउनुहुनेछ । मलाई जिताएर विकासको सपना पूरा गर्नुहुुनेछ । म यसमा ढुक्क छु ।
० एमालेबाट प्रभावित हुनुको मुख्य कारणचाहिँ के हो ?
– एमाले ‘क्याडर बेस’ पार्टी हो । यो पार्टीका कार्यकर्ता अरू पार्टीको तुलनामा धेरै इमानदार छन् । मैले नेपाली कांग्रेस र माओवादीमा पनि बसेर काम गरेँ । तर, त्यहाँका कार्यकर्ता मैले त्यति इमानदार पाउन सकिनँ । यो पार्टीका कार्यकर्ता इमानदार भएकै कारण पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि एमाले पहिलो शक्ति बन्यो ।
मैले अघि पनि भनें, यहाँका जनताले एमाले मधेसविरोध होइन भन्ने थाहा पाएका छन् । कांग्रेस–माओवादीले मधेसका जनतालाई भुलभुलैयामा राख्ने काम गरे । यो कुरा पनि यहाँका जनताले थाहा पाए । त्यसैले अब मधेसको नेतृत्व गर्ने पार्टी एमाले मात्र हो भन्ने कुरा पनि यहाँका जनताले थाहा पाएका छन् । तराई–मधेसमा बाढी आउँदा होस् या तराईका जनताले चाहेको विकासका सन्दर्भमा नै किन नहोस एमालेले जे गरेको छ । त्यो बाट यहाँका जनता प्रभावित भएका छन् । यी सबै कारणलाई आधार मान्ने हो भने पनि प्रदेश नम्बर २ का सबै जिल्लामा एमाले बलियो छ । स्थानीय निर्वाचनले यो कुराको प्रमाणित गरेर देखाउनेछ भन्नेमा म ढुक्क छु ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply