खरिदार सरुवा गर्न आचारसंहिताले रोक्ने प्रधानमन्त्री फेर्न चाहिँ रोकिन्न ?
सुरेन्द्र पाण्डे स्थायी कमिटी नेकपा (एमाले)० सरकारले दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेपछिको अवस्थालाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले कसरी लिएको छ ?
–सरकारले अन्तिम समयमा आएर स्थानीय निर्वाचन दुई चरणमा गर्ने घोषणा गरेको छ । यो घोषणासँगै मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै नयाँ प्रश्नहरु जन्मिएका छन् ।
वर्तमान संविधानले जेठ १५ मा जसरी पनि बजेट ल्याउनै पर्ने व्यवस्था गरेको छ । सरकारले फेरि जेठ अन्तिममा दोस्रो चरणको निर्वाचन गर्ने भनेको छ । निर्वाचनको आचारसंहितालाई ख्याल गर्ने हो भने निर्वाचन अघि बजेट ल्याउन पाइदैँन । कतिपय अवस्थामा निर्वाचन केन्द्रित बजेट हुने र त्यसले निर्वाचनलाई प्रत्यक्ष असर गर्ने भएकाले पनि निर्वाचन आयोगले लगाउने आचारसंहितभित्रै यो पनि पर्छ । यसको स्पष्ट जवाफ सरकारले दिन सकेको छैन । यसकारण पनि बजेटपछि गर्ने भनिएको निर्वाचनले केही प्रश्नहरु जन्माएको छ ।
० सरकारले त मधेसी मोर्चालाई समेत निर्वाचनमा सहभागी गराउनका लागि दुई चरणमा निर्वाचन गर्नुपर्ने अवस्था आयो भन्दै आएको छ नि त ?
–मधेसी मोर्चा निर्वाचनमा आउँछन भन्ने पनि सरकराले स्पष्ट पार्न सकेको छैन । भन्नलाई त सरकारले मोर्चासहितको सहभागितामा निर्वाचन गर्न लागेको हो र त्यसैको वातावरण बनाएको हो भनेको छ । तर, त्यस्तो पनि देखिएको छैन । युसले झन थप आशंका पैदा गरेको छ । अहिले पनि मोर्चाका नेताहरुले निर्वाचन पहिला नै संशोधन प्रस्ताव पारित हुनुपर्छ भन्दै आएका छन् । त्यो पनि गलत छ । मोर्चाको यो अडानले पनि उनीहरु विभिन्न वाहनामा निर्वाचनबाट भागिरहेका छन् भन्ने प्रमाणित हुन्छ ।
० तपाईँले यसो भन्दै गर्दा निर्वाचन आयोगले त दोस्रो चरणको निर्वाचन तालिका नै घोषणा गरेको छ । उसले निर्वाचन अघि बजेट सकेसम्म नल्याउनु भनेर कुटनीतिक रुपमा निर्वाचन अघि नै बजेट ल्याउन बाटो खुला गरिदिएको छ नि ?
–मैले अघि नै भने , त्यहि निर्वाचन आयोग हो,जो मन्त्रीहरुलाई निर्वाचन अघि हेलिकोप्टर नचड्नु, नयाँ आयोजनाहरु सुरुवात नगर्नु, सरकारी साधन–स्रोतको प्रयोग नगर्नु भनेर भन्छ । अहिले त्यही आयोग बजेट ल्याएपछि निर्वाचन गर्दा हुन्छ भने हामीले त्यसको जवाफ के दिने ? निर्वाचन आयोगले भन्नका लागि मात्र आचारसंहिता भनेको हो कि गर्नकै लागि त्यसको हेक्का त आयोगलाई नै होला भन्ने मैले ठानेको छु ।
० सरकारले बजेट पछि सारेर पनि निर्वाचन गर्ने सम्भावना त होला नि ?
–बजेट जेठपछि ल्याउन मिल्दैन । अहिलेको संविधानमा नै जेठ १५ मा बजेट ल्याउने भन्ने स्पष्ट व्यवस्था छ । त्यसैले यी सबै कुराको ख्याल गरेर सरकारले जेठ १५ अघि नै निर्वाचन गर्ने व्यवस्था गर्नुपर्छ । संविधान संशोधन गरेर भए पनि बजेट असारमा ल्याउन त भन्ने हो भने त्यो पनि सम्भव छैन । किनभने निकै लामो अनुभवबाट नै जेठ १५ मा बजेट ल्याउने व्यवस्था गरिएको हो । असारमा बजेट ल्याउदा विकासको काम अघि बढेन, बजेट खर्च भएन भनेर नै यस्तो व्यवस्था गरेको हो । त्यसैले यी कुरामा पनि सरकारको ध्यान जान्छ भन्ने मैले ठानेको छु । सरकारले बजेटलाई नै प्रतिकुल असर गर्ने गरी कामकारवाही अघि बढाउनु हुँदैन । सरकार यो जान्दा–जान्दै पछि फर्किन्छ भने यसले विकास निर्माणमा अझ पछिसम्म प्रतिकुल असर गर्ने सम्भावना रहन्छ । मेरो सरकारलाई आग्रह छ । माथि चड्नका लागि ढोका बन्द रहेछ भनेर झ्यालमा भर्याङ हाल्दा समस्या हुन्छ ।
० मुलुकको पछिल्लो राजनीतिक अवस्थाको सन्दर्भलाई लिएर एमाले स्थायी कमिटीको बैठक पनि बसेको छ । बैठकमा पनि त यो सन्दर्भमा केही निर्णय भए होलान नि ?
– हामीले प्रष्टरुपमा निर्वाचन दुई चरणमा नै गर्ने हो भने पहिलो चरणमा वैशाख ३१ र दोस्रो चरणमा जेठ १० मा गरौँ भनेका छौँ । यो भयो भने बजेट ल्याउनका लागि पनि बाटो खुला हुन्छ र कुनै संशोधन गर्नुपर्ने पनि हुँदैन ।
जहाँसम्म मधेसी मोर्चाको कुरा छ । उनीहरु पनि निर्वाचनमा आउने हुन भने त्यसका लागि पनि बाटो खुला हुन्छ । सरकारमा इच्छाशक्ति भयो भने यो सम्भव छ । सरकार, निर्वाचन आयोग सबै वैशाख ३१ मा निर्वाचन गर्न तयार छ भने १० दिन पछि निर्वाचन गर्न तयार नहुने भन्ने हुँदैन । मोर्चालाई पनि असहज होला भन्ने मलाई लाग्दैन ।
० सरकारले मधेसी मोर्चालाई निर्वाचनमा ल्याउनका लागि दुई चरणमा निर्वाचन गरेको हो भन्दै हल्ला गरेपछि मोर्चाको अवस्था त त्यस्तो देखिदैँन नि ।तपाईँहरुलाई त्यस्तो लाग्दैन ?
– हो, हामीले यही भएर निर्वाचन एकै चरणमा गरौँ भनेको हो । लौ सरकारले पनि दुई चरणमा गर्दा मोर्चा निर्वाचनमा आउने नै वातावरण बन्छ भन्छ भने लौ न त भनेका हौँ । त्यो पनि जेठ १० भन्दा उता गर्ने कुरामा हाम्रो सहमति हुँदैन । तर, मोर्चाको धम्की हेर्दा जति चरणमा गरे पनि उनीहरु निर्वाचनमा आउने भन्दा पनि एकपछि अर्को प्रस्ताव ल्याएर संविधान कार्यान्वयनमै अवरोध गर्ने बढी देखिएको छ ।
मेरो पार्टी एमालेले प्रष्ट रुपमा भनेको छ । कसैले म पनि सहभागी हुन्छु केही समय निर्वाचन सारौँ भन्दा थपथप मान्ने कुरा गलत छ । भोलि विप्लवले सारौँ भन्लान । फेरि अर्को दलले लौ सारौँ न त हामी पनि सहभागी हुन्छौँ भन्लाल के यसरी पटक–पटक सारेर सम्भव हुन्छ ? त्यो निर्वाचन नगर्ने बाहना मात्र हुन्छ । दुई चरणमा निर्वाचन गरौँ भन्ने एमालेको हदैसम्मको लचकता हो ।
० पहिलो चरणको निर्वाचन प्रचण्ड र दोस्रो चरणको निर्वाचन काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रचण्डले नेतृत्व हस्तान्तरण गरेपछि गर्ने चर्चा पनि चलिरहेको छ । निर्वाचनको मुखमा प्रधानमन्त्री फेरवदल गर्ने कुरालाई चाहिँ आचारसंहिताले नछेक्ने रहेछ ?
–यो पनि अचम्मको कुरा हो । एउटा सामान्य कर्मचारी वा खरिदार सरुवा गर्न पनि निर्वाचन आचारसंहिताले दिदैँन भन्ने अनि प्रधानमन्त्री नै फेर्न चाहिँ मिल्ने ? यस्तो हास्यास्पद कुरा सरकार किन गरिहेको छ । हामी सबैलाई अचम्म लागेको छ । यस्ता केटौली कुरा सरकारले नगर्दा नै राम्रो हुन्छ जस्तो लाग्छ । यसले पनि उहाँहरुको सत्तास्वार्थ कति रहेछ भन्ने प्रमाणित गर्छ ।
०काँग्रेस–माओवादीको निर्वाचन परपर धकेल्ने षडयन्त्र संविधान कार्यान्वयन नै हुन नदिने खेल त होइन ?
विभिन्न खाले कुरा गरेर निर्वाचन नै गर्न नदिने षडयन्त्र हो कि भन्ने आशंका त निश्चय नै पैदा भएको छ । स्थानीय निर्वाचन भएन भने अन्य दुई चरणका निर्वाचन त झन हुने सम्भावना नै रहँदैन । यसले देशलाई झन अन्योलतातर्फ धकेल्ने निश्चित छ । यसमा काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुको पनि ध्यान जान जरुरी छ । मुलुकलाई असफलतातर्फ लैजानबाट रोक्नु अहिले सबैको आवश्यकता हो ।
० पछिल्लो समय निर्वाचन हुन नदिनका लागि छिमेकको पनि दवावले काम गरेको छ भनिन्छ नि ?
–हामीले भारत वा अन्य मुलुकलाई दोष दिनु भन्दा पनि फ्रण्टलाइनमा त सरकार नै छ नि । सरकाले चाहने हो भने निर्वाचन हुन्छ, हुनुपर्छ । यसका लागि सरकार नै जवाफदेही हुनुपर्छ । संविधान जारी हुने बेला पनि त त्यस्ता खाले दवाव आएकै हुनु नि तर सबैको बलमा संविधान जारी भयो । त्यसैले अरुलाई दोष दिने होइन सरकार जवाफदेही हुनुपर्छ । सबै राजनीतिक दलहरु मिल्ने हो भने छिमेकको केही चल्दैन ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply