देशलाई केक बनाएर काट्ने कुरा कसरी पचाउनु ?
लिलामणि पोखरेल , स्थायि कमिटी सदस्य (नेकपा)० पार्टी एकता भएको २१ महिना भएको छ, एकतापछिको गतिबाट कति सन्तुष्ट हुनुहुन्छ ?
म सन्तुष्ट छैन । जेठ ३ गते पार्टी एकता भएको हो । तर, त्यो भन्दा अघि असोज १७ गते पार्टी एकता गर्ने घोषणा भएको हो र हामी निर्वाचनमा गयौं । आजको आवश्यकताले हामीलाई त्यो ठाउँमा पु¥याएको हो । हामी भिन्नभिन्न चिन्तन र संस्कृतिमा हुर्केका पार्टीका कार्यकर्ता हौं । माओवादी जनयुद्ध एउटा चिन्तन थियो । म जनमोर्चाको हिजोको अलग चिन्तनबाट हुर्केको । माओवादीसँग हाम्रो एकीकरण भयो । आधारभूत रूपले माक्र्सवाद, लेनिनवाद, माओवादबारे हाम्रा समान सोच थिए । तत्कालीन एमालेले माओवाद त्यागिसकेको स्थिति थियो । सँगसँगै सर्वहारा अधिनायकत्वको प्रश्नमा पनि यो अनुपयुक्त भनेको स्थिति थियो । ती फरकफरक चिन्तनका बीचमा पनि राष्ट्रिय आवश्यकताले हामीलाई एक ठाउँमा ल्यायो । माक्र्सवाद भनेको जडसूत्र पनि होइन, जे व्यवहारमा आएको छ त्यहि नै हो भन्ने व्यवहारवाद पनि होइन । माक्र्सवाद भनेको परिस्थितिमा आएको परिवर्तनलाई ग्रहण गर्दै क्रान्तिकारी दिशा दिने सिर्जनात्मक सिद्धान्त भन्ने बुझेर हामी एकता प्रक्रियामा आयौं । एकता त ग¥यौं, सुरुमा हामीले तीन महिनामा एकता प्रक्रिया सक्ने भन्यौं । अहिले २२ महिना बितिसक्यो तर एकता प्रक्रियाका काम बाँकी नै छन् । मूलभूत कुरा सक्यौं होला तर संगठनहरू चलायमान छैन । बैठक बसेका छैनन्, कलहहरू छन्, गुटबन्दी छन् ।
० त्यो कुरा त अस्तिको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा नै आयो नि, होइन ?
हो, अध्यक्ष आफंैले ती कुरा राख्नुपर्ने स्थिति आयो । गुटबन्दी छ, पार्टी चलेन, व्यवस्थिति भएन भन्ने स्वीकारोेक्ति हो नि त्यो । जुन स्प्रिटका साथ पार्टी एकता गरिएको थियो, आजका चुनौतीलाई जसरी सामना गर्ने भनिएको थियो, विश्व समुदायका बीचमा नेपालले जुन पहिचान दिन खोजिरहेको थियो, त्यसमा हामी चुक्दै गइरहेका छन् ।
० विश्व समुदायमा दिन खोजेको पहिचानचाहिँ के हो ?
विश्व कम्युनिस्ट आन्दोलन प्रतिरक्षात्मक भइरहेको अवस्थामा नेपालमा जसरी विकास भइरहेको थियो, त्यो कुरालाई हामीले या त बुझ्न सकेनौं या हामीले थाम्न सकेनौं । त्यो ग्राभिटी र हाम्रो दायित्वलाई राम्रोसँग बुझ्न नसकेको हो कि ग्रहण गर्न नसकेको हो । त्यसकोअ सर स्वतः सरकारमा जान्छ ।
० पार्टी एकतापूर्वको हतारोले यो सबै कुराले आकार ग्रहण गर्न नसकेको हो भन्ने टिप्पणी पनि सुनिन्छ नि ?
हतारोका कारण यस्तो भएको हो भन्ने कुरा म मान्दिनँ । हुन त त्यसमा वैचारिक, राजनीतिक प्रश्नमा देखापरेका विसंगतिबारे हल गरेर, सांगठानिक रूपमा देखापरेका समस्या हल गरेर अनि एकता गरेको भए राम्रो हुन्थ्यो । तर, एकता भनेको समग्र कुरा सर्लक्क मिलान गरेर हुन्न । हिजो हामीले माओवादीसँग एकता गर्दा पनि त्यस्तै भएको थियो । अहिले त हामीले विचारको त वहनै गरेका छैनौं । अहिले हामी सांगठनिक संरचनालाई एकीकृत गर्ने कुरामा मात्रै छौं । अलमल त्यसैमा छ । पूर्वएमाले र पूर्वमाओवादीका हिजोका वैचारिक मतभेतका ठाउँमा हामी प्रवेश नै गरेका छैनौं । हामी त अन्तर्राष्ट्रिय रूपमा पनि विश्व साम्राज्यवाद र पुँजीवादविरुद्ध स्याटलाइटजस्तो मुलुक नेपालमा कम्युनिस्ट आन्दोलनले यस्तो राम्रो प्रभाव पारेको छ, त्यो प्रभावलाई व्यवस्थित पार्न हामी धेरै उत्साहित थियौं । त्यो तागत हामीसँग पैदा भयो । त्यही तागतले राज्यशक्तिलाई पनि आफ्नो अनुकूलतामा प्रयोग गर्न सक्ने स्थितिमा हामी भयौं है भनेका थियौं तर हामीले व्यवस्थापन गर्न सकेनौं ।
० एकतापछि दुईपटकको स्थायी कमिटी र एउटा केन्द्रीय कमिटी बैठकमा तपाईं पनि सहभागी हुनुभयो, ती बैठकमा सदस्यहरूको अभिव्यक्तिमा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको भाव प्रकट भएको अनुभूति गर्नुभयो कि भएन ?
ठ्याक्कै त्यस्तो पनि छैन । पूर्वमाओवादी केन्द्रभित्र अलिक वैचारिक कुराहरूमा बढी जाने, पूर्वएमालेभित्र दैनन्दिनको राजनीति र संगठनात्मक प्रतिस्पर्धामा केन्द्रित हुने भिन्नताचाहिँ देखियो । त्यो भिन्नता पहिलेदेखिको अन्तरविरोधका कारण त्यसरी व्यक्त भएको हो कि ? वैचारिक प्रश्नमा भन्दा सांगठनिक प्रश्नमा देखापरेका जटिलताहरू, निषेध र गुटबन्दीले पारेको असरहरू अलिक बढी अभिव्यक्त भए ।
० एकताको काम सकिएको छैन तर एकता प्रक्रियालाई विद्रुप पार्ने खालका रूपहरू खासगरी दुई अध्यक्षसँग निकट रहेका नेताहरूवाटै अभिव्यक्त भएको पाइन्छ, यसलाई कसरी लिनुभएको छ ?
त्यस्तो गर्नु उत्तरदायीपूर्ण कुरा हुन सक्दैन । व्यक्तिगत रूपमा कसको कोसँग सामीप्य होला तर हाम्रो दायित्व भनेको सिंगो पार्टी र राष्ट्रको प्रतिनिधित्व गर्ने हो । जसरी सञ्चारमाध्यमहरू, सामाजिक सञ्जालहरूमा एकतालाई विद्रुप पार्ने खालका कुरा आएका छन्, त्यो मलाई राम्रो कल्चर लागेन ।
० यही अवस्थामा जाँदा नेकपा सिद्धिन्छ, एकता भड्खालोमा पर्छ भन्ने टिप्पणी पनि सुनिन्छ, यसको भविष्य कस्तो देख्नुभएको छ ?
हामी जटिल मोडमा चाहिँ छौं । नेकपामा कम्युनिस्ट आन्दोलन, त्यसको प्रभाव, कम्युनिस्ट पार्टीको वर्चस्व संसारको परिवेशमा एउटा टापुजस्तो भएको छ । यो टापुलाई वरिपरि घेरिएको समुद्रले बचाउन निकै जटिलता छ । पुँजीवादी र साम्राज्यवादीहरू यो टापुलाई डुबाउन चाहन्छन् । डुबाउन दिने कि नदिने भन्ने कुरा हाम्रो सचेतनामा भर पर्छ । भर्सेलो परोस् भन्न थालियो र आफूखुसी द्वन्द्वलाई नै सिरानी हालेर त्यसका पनि खुट्टा काट्ने, उसका पनि खुट्टा काट्ने भन्यौ भने हामी डुब्छौं । हामीले सच्याउने कुरामा इमानदार भयौं भने टापु जोगाउन सक्छौं ।
० सच्याउनुपर्ने कुराचाहिँ के हुन् ?
पहिलो कुरा त सांस्कृतिक रूपान्तरण हो । हामी कम्युनिस्ट आन्दोलनका कार्यकर्ता । जनताले कम्युनिस्ट आन्दोलनलाई समर्थन र साथ दिएको छ । अरूभन्दा पृथक् हेर्न चाहेको छ । पृथक् आदर्शयुक्त नेतृत्व हेर्न चाहेको छ । जुन वर्गको प्रतिनिधि भनेको हो, त्यो वर्गको वर्गीय प्रतिनिधित्वको व्यावहारिक रूप हेर्न चाहेको छ । तर, हामी त्यो वर्गको वर्गीय प्रतिनिधित्वको व्यावहारिक रूपभन्दा भिन्न भयौं भने हराउँछौं, डुब्छौं । आमकार्यकर्ताले नेतृत्वलाई ‘नमुना’ खोजेको छ । कार्यकर्ताले हिजो लगानी गरेको छ, बलिदानी गरेको छ, त्याग गरेको छ, नेतृत्वप्रति सम्मान प्रकट गरेको छ, नेतृत्वले भन्नेबित्तिकै मर्न तयार भएको छ । सबै चीज गरेको छ । त्यो नेतृत्वलाई उसले आदर्शका रूपमा हेर्न चाहन्छ । त्यो भनेको आजको पुँजीवादी संस्कृतिले पारेको प्रभावबाट हाम्रो नेतृत्व चोखो छ कि छैन ? आजको विकृत समाजको स्थितिबाट हाम्रो नेतृत्व चोखो छ कि छैन ? त्यो हेर्न खोजेको छ । यो कुरामा हाम्रो नेतृत्व खरो उत्रन सक्नुपर्छ । हामी भ्रष्टाचार नियन्त्रण गर्छौं भन्छौं, त्यसका लागि व्यवहारमा उत्रन सक्नुप¥यो नि ! कसैले भ्रष्टाचार गरेको छ, ऊ पार्टीको जिम्मेवार कमिटीमा छ भने उसलाई जोगाउने होइन, उचित दण्ड दिनुपर्छ ।
० यसको अर्थ प्रत्येक नेताको सम्पत्ति पनि छानबिन गरिनुपर्छ ?
यसमा त कुनै विवादै छैन । यो त केन्द्रीय कमिटीमा उठेको विषय हो । यसको तात्पर्य नेता सधैं भोकै बसोस्, फाटेकै लुगा लगाओस् भन्ने जनताले चाहेको होइन ।
० पार्टी एकताअघि पूर्वमाओवादी केन्द्रले नेताको सम्पत्ति छानबिन गर्नकै लागि कार्यदल बनायो, प्रतिवेदन पनि नेतृत्वलाई बुझाएको थियो तर त्यो कार्यान्वयनको तहमा पुगेन । नेतृत्वलाई यस्तो कुरा पचाउन निकै सकस पर्दोरहेछ, होइन ?
राजनीतिक कुरा सजिलो हुन्छ, चाँडै हल हुन्छ । सांस्कृतिक कुरा जटिल हुन्छ, चाँडै हल हुँदैन । सांस्कृतिक रूपान्तरण हुन नसकेकैले कम्युनिस्ट आन्दोलनहरू धराशायी हुने हो । सांस्कृतिक रूपमा रूपान्तरण हुन नसकेपछि ऊ आफ्नो जीवनशैलीअनुसार सिद्धान्तको व्याख्या गर्न थाल्छ । त्यसो भएपछि सिद्धान्तको आदर्श र जीवनशैलीको अन्तरले ऊ बिस्तारै जानीनजानी जनताको आँखाबाट विद्रुप हुँदै जान्छ । विश्वव्यापी रूपमा कम्युनिस्ट आन्दोलन यसरी नै धराशायी हँुदै गएको हो । यसरी नै समाजवादी सत्ताहरू ढलेका हुन् ।
० विद्यमान राजनीतिक प्रणालीले पनि त सांस्कृतिक रूपान्तरणमा तगारो खडा गरेको होला नि ?
अवश्य पनि । अहिलेको जुन निर्वाचन प्रणाली छ, यसमा अहिले सांसद पद जित्न ५ करोड रुपैयाँ नभई हुन्न । घरमा त्यति सम्पत्ति छ भने त्यो खर्च गर्नुहुन्छ । खर्च गरिसकेपछि जित्नुहुन्छ । जितेपछि त्यो पैसा उठाउनुपर्छ । पारिश्रमिकले त्यत्रो पैसा उठ्दैन । अनि तपाईं विकासका आयेजनाहरूमा लबिङ गर्न थाल्नुहुन्छ । आयोजना पारिएबापत कमिसनका निम्ति पहल थाल्नुहुन्छ । जति बढी आयोजना पा¥यो त्यति चाँडो लगानी उठ्छ । ५ करोड मात्र उठाएर भएन, अर्को चुनावको खर्चको बन्दोबस्त पनि मिलाउनुप¥यो । कार्यकर्ताले पनि त्यो देखेपछि चुनावका निम्ति म कति खाली पेट कुद्ने भन्छ । उसको आवश्यकता पनि पु¥याउनैपर्छ । समाज निर्माण गर्ने हाम्रो आकांक्षालाई धुलिसात गरेर पुँजीवादी समाज निर्माण गर्ने दिशामा हामी आफैं लागिरहेका हुन्छौं । पैसा छैन, तपाईंले टिकट पाउनुभयो भने हुनेले दिन्छन् । तपाईंका हितैषीले दिन्छन्, व्यपारीले दिन्छन् । कालोधन जम्मा पारेकाले दिन्छन् ताकि भोलि उसले आफ्नो संरक्षण खोज्छ । यसरी तपार्इं धाक्रे, छाप्रे, झाप्रेहरूको भोट लिएर जित्नुहुन्छ तर कालाबजारियाहरूको प्रतिनिधि हुनुहुन्छ । यस्तो प्रणालीले हामीलाई बिस्तारै पुँजीवादीहरूको प्रतिनिधि बनाएर संसद्मा उभ्याइदिन्छ । अनि कानुन बनाउने बेलामा चुकिदिन्छौं ।
० नेता यिनै हुन्, नेतृत्व यही नै हो, यी कुरा सच्याएर जाने सम्भावना देख्नुहुन्छ त ?
जनताले संशय प्रकट गरेको छ । रूपान्तरण हुने÷नहुने भन्ने कुरा त्यो नेतृत्वले आफूलाई कति दृढ बनाउँछ, त्यसमा भर पर्छ । सम्भव नै छैन भन्ने कुराचाहिँ होइन । तर, आमरूपमा आजसम्मको इतिहासमा विकृत भइसकेपछि अथवा नेतृत्व पतन भइसकेपछि त्यही नेतृत्व फेरि जमजमाएर उठेको कम छ । तर, यसबीचमा आफूलाई सच्याउने, गर्न सकिने आधार प्रशस्तै छन् । भिजनरी नेतृत्वको भिजनभित्र निष्ठा, अठोट र प्रतिबद्धता पनि हुनुप¥यो ।
० तर हामीकहाँ त नेतृत्व आफंैले पार्टी आचारसंहिता उल्लंघन गरेका खबर बारम्बार आउँछन् । अहिले पनि जन्मदिन प्रकरणको सबैतिरबाट आलोचना भएको सुनिन्छ । यसलाई कसरी हेर्नुभएको छ ?
यसमा म ज्यादै दुखित छु । घरपरिवारमा उत्सव त गर्नुहोला, त्यसलाई घटाउँदै लाने हो । यस्ता निजी उत्सवहरू कम गर्दै लैजाने हो । यो कुरा पाच्य हुन सक्दैन, त्यसमा पनि नेपालको नक्सा बनाएर केक काट्ने कुरा मलाई पचेन । त्यो त नेपाललाई काटेर खाएको भन्ने भयो नि !
० बहुचर्चित एमसीसीबारे तपाईंको धारणाचाहिँ के नि ?
संशोधनमा इन्डोप्यासिफिकको कुरा ल्याइएकोे छ । अमेरिकी पक्षले संशोधन हुन सक्दैन भनिसकेको छ । एक्लै चाहेर पनि संशोधन हुन सक्दैन । मैले यसमा चारवटा कुरा उठाएको छु । पहिलो त यो सम्झौता गरिनु नै गलत छ । सम्झौताको प्रक्रिया नै गलत छ । यसलाई अन्तर्राष्ट्रिय कानुनले निर्देश गर्दैन । यो आन्तरिक कानुनअन्तर्गत गरिने सम्झौता हो । अमेरिकाले दान दिने हो, नेपालले लिने हो । यो सम्झौता अन्तर्राष्ट्रिय कानुनअनुसार गरिएको छ, त्यो नै गलत छ । दोस्रो, यो इन्डोप्यासिफिकको अंग होइन भनेर हिजो हामीलाई ढाँटियो । जबकि उनीहरूको आधिकारिक व्यक्तिहरूले नै हो भने । डकुमेन्टहरूले पनि हो भन्छ । झलनाथजीले भन्दै हुनुहुन्थ्यो, आन्तरिक रूपमै १४ वटा सम्झौता भएका रहेछन् । हामी नेपाली जनतालाई थाहा छैन । तेस्रो, यो योजनामा म सन्तुष्ट छैन । ट्रान्समिसन लाइनको डिजाइन सन् २०१३ मा भएको छ, जुन बेला १८ घन्टा लोडसेडिङ थियो । त्यो बेला विद्युत् बेच्ने डिजाइन गरेर अन्र्तराष्ट्रिय सहायता लिने कुन दिमाग हो, त्यो मैले बुझ्न सकेको छैन । पहिलो कुरा त देशका जनतालाई विद्युत् सेवा पु¥याउने हो । बेच्ने भनेको त बढी भए न हो । यो योजनाको डिजाइनमै त्रुटि छ । चौथो, त्यो सम्झौताका सर्तहरूलाई सहज ढंगले स्वीकार गर्न सकिँदैन । यस्तो सम्झौताको संशोधन कुन कुरामा गर्ने हो, मैले बुझेको छैन ।
० कार्यदलले संशोधनसहित पास गर्ने आशयले प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ, अमेरिका संशोधनका लागि तयार छैन, प्रधानमन्त्री पास भएर छाड्छ भनिरहनुभएको छ, यो अवस्थामा यही विषयलाई लिएर नेकपा फुट्छ भन्ने विश्लेषण पनि सुरु भएको छ नि ? त्यो खतरा देख्नुहुन्छ ?
फु्ट्नुपर्छ भन्ने पक्षमा म छैन । यसमा प्रधानमन्त्रीलाई नै ‘मिसलिड’ गरिएको छ भन्ने मलाई लाग्छ । यसको समग्र अन्तरवस्तु बुझाउने कुरामा प्रधानमन्त्रीलाई गलत व्याख्या गरिएको छ । अर्को कुरा, चीनका राष्ट्रपति सी चिन फिङ आएका बेला उनले ६५ अर्ब रुपैयाँ दिएँ, खै त चर्चा छैन । त्यही पैसाअन्तर्गतको परियोजनाको प्रधानमन्त्रीले नै झापामै भर्खरै शिलान्यास पनि गरिसक्नु भएको छ । त्यसबारे विवाद नउठ्ने, किन यो उठ्नुपर्ने ? किनभने, यहीँनेर यसको पछाडि कुनै रहस्य छ । ५० करोड डलर आएन भने हामी गरिब हुन्छौ त ? देश विकास नै गर्न सक्दैनौ । त्यसमा १३ प्रतिशत त हाम्रै छ । अर्बौंअर्बका कमिसनका कुरा त यही सार्वजानिक भइरहेकै छन् । १२–१३ खर्ब त हाम्रो रेमिट्यान्स नै आउँछ । त्यसलाई राज्यले व्यवस्थापन गर्न सक्दैन ? हामीसँग पैसै नभएको त होइन रहेछ त । अमेरिकाको सदाशयता नै रहेछ भने बिनासर्त देओस् न त ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply