प्रदेश नम्बर २ नेपालमै पर्छ भने निर्वाचन एकै चरणमा हुनुपर्छ
नागेन्द्र चौधरी, पोलिटब्युरो सदस्य, नेकपा (एमाले)
० पार्टीको प्रदेश नम्बर २ को भेला बर्दिबासमा गर्नुभयो, कति उपलब्धिपूर्ण रह्यो त्यो भेला ?
– सप्तरीको राजविराज घटनापछि मेची–महाकाली राष्ट्रिय अभियानको निरन्तरता टुटेको थियो, त्यसलाई जोड्ने काम गरियो । कार्यकर्ताहरूको भावना बुझ्ने काम भयो । जिल्ला–जिल्लामा पार्टीका गतिविधिका बारेमा जिल्लागत हिसाबले प्रतिवेदन बुझ्ने काम भयो । त्यसबाट हामी २ नम्बर प्रदेशका जिल्लाहरूमा कुन हैसियतमा रहेछौं भन्ने जानकारी भयो ?
० कुन हैसियत रहेछ त ?
– चुनावी दृष्टिकोणले हेर्दा, प्रदेश नम्बर २ मा नेकपा (एमाले) एक नम्बरको पार्टी हुन्छ । यहाँ गाउँपालिका, नगरपालिका गरेर १ सय २६ स्थानीय तह बनेका छन् । तीमध्ये सय स्थानीय तहमा हामीले जित्ने आँकलन छ ।
० के आधारमा यस्तो आँकलन गर्नुभएको हो ?
– मुख्य आधार भनेकै हाम्रो संगठन हो । त्योबाहेक हाम्रो नेतृत्वको सरकारले तराइ–मधेसको विकासका लागि बजेटमार्फत दिएको कार्यक्रम, पार्टीले राष्ट्रियताका सम्बन्धमा लिएको अडानले पनि एमालेप्रति जनताको आकर्षण बढेको छ । एमालेको लोकप्रियता देखेरै पछिल्लो समयमा तराई–मधेसमा एमालेविरुद्ध जस्ता आरोपहरू लगाइए, ती आरोपहरूलाई नेताहरूले अत्यन्तै मिहिन ढंगले प्रमाणसहित खण्डन गर्नुभएको छ । अस्ति बर्दिबासको भेलामा सहभागी भएका १३ सयभन्दा बढी अगुवा कार्यकर्ताले ती कुरा अहिले जनताको घरदैलोमा पु¥याउनुभएको छ । अहिले कार्यकर्ता तहमा पनि उत्साह आएको छ ।
० पहिलेको पार्टीको योजना प्रदेश नम्बर २ मा झन्डै दर्जन सभा गर्ने भन्ने थियो । तर, राजविराजपछि अहिले बर्दिबासमा भेला गरेर ती कार्यक्रमलाई खुम्च्याउनुभयो, यसले त कार्यकर्तालाई निरुत्साहित बनाएन र ?
– राजविराजमा हामीले हजारौंको सहभागिताका भव्यतापूर्वक कार्यक्रम सम्पन्न ग¥यौं । तर, कार्यक्रम सकिएपछि पाँचजना निर्दोष नागरिकको ज्यान जाने गरी घटना गराइएपछि हामीले त्यो घटनालाई संवेदनशील मानेर तीन दिन कार्यक्रम स्थगन ग¥यौं । ती तीन दिनमा मधेसी मोर्चाका उद्दण्ड कार्यकर्ताको क्रियाकलाप देखेपछि कार्यक्रमको स्वरूप परिवर्तन ग¥यौं र प्रदेशस्तरीय भेला गर्यौं । भेलाअघि हामीले तराई–मधेसमा संविधानका बारेमा उठाइएका भूटा आरोप र भ्रमहरूबारे जनतालाई स्पष्ट पा¥यौं । त्यस्तै, राजविराज घटनाको वास्तविकताबारे पनि प्रस्ट पा¥यौं । साथैं, स्थानीय तहको निर्वाचनका बारेमा आश्वस्त पार्ने काम ग¥यौं । हामी कसरी कसरी चुनावमा जाँदै छौं ? हाम्रा उम्मेदवारको छनोट विधिका बारेमा पनि कुरा ग¥यौं । स्थानीय तहको नयाँ संरचनाअनुसार पार्टी संगठनलाई व्यवस्थित पार्ने काम पनि ग¥यौं । यी गतिविधीले कार्यकर्ता र जनताको तहमा उत्साह छाएको छ ।
० कार्यक्रमको स्वरूप फेरेर एक ठाउँमा भेला आयोजना गर्ने कुराले पहिले कार्यक्रम बिथोल्ने, मधेसमा छिर्न नै दिन्नौं भन्ने मधेसी मोर्चाको उद्दण्ड समूहको नै मनोबल बढाउने काम ग¥यो भनिन्छ नि ?
– त्यस्तो हुने कुरै छैन । हाम्रा कार्यकर्ताहरूमा आक्रोशको भावना छ । हामी पनि जस्तालाई त्यस्तै गरेर जानुपर्छ, प्रतिकार गर्नेको प्रतिकार गर्नुपर्छ भन्ने आक्रोश हाम्रा कार्यकर्तामा छ । उनीहरू ससाना केटाकेटीलाई उकासेर प्रतिकारमा ल्याएर, दुई–चावटा टायर बालेर हाम्रो कार्यक्रम बिथोल्न खोजिरहेका छन् । हाम्रा कार्यकर्तालाई विभिन्न किसिमले अपमानित गर्ने काम गरिरहेका छन्, तिनीहरूका विरुद्ध प्रतिवादमा उत्रनुपर्छ भन्ने माग पनि उठे, तर हामीले त्यस्तोमा नजाने निर्देश गरेका छौं । उनीहरूको चाहना नै एमालेसँग भिडन्त होस् भन्ने छ । राजविराज घटना हाम्रो कार्यक्रम बिथोल्न खोज्ने र त्यसलाई रोक्न खोज्ने सरकारी संयन्त्रको भिडन्तको परिणति हो, त्यो एमालेको सरोकारको घटना होइन । जहाँ प्रतिकार हुन्छ, त्यहाँ हामी सैद्धान्तिक र राजनीतिक रूपले प्रतिवाद गरेर जाने भन्ने छ ।
० तपाईंका पार्टीका नेताका परिवारमाथि दुव्र्यवहार, नेताका घरमा आक्रमण गर्ने काम अझै जारी छ । यो अवस्थामा सैद्धान्तिक र राजनीतिक प्रतिवाद भन्दै चुप लागेर बस्ता कार्यकर्ताको मनोबल घट्दैन र ?
– कार्यकर्ताहरूलाई निरुत्साहित पार्ने, उकास्ने काम पनि उनीहरूले गरिरहेका छन् । राजविराजमा वैकल्पिक केन्द्रीय सदस्य सुमन प्याकुरेलको अनुपस्थितिमा उहाँको परिवारसित दुव्र्यवहार गर्ने काम भयो । त्यो ज्यादै निन्दनीय छ । अझै पनि हामी उनीहरूलाई राजनीतिक ढंगले प्रस्तुत हुन आग्रह गर्छौं । राजनीतिक ढंगले आउनेलाई दुनियाँमा कहीँ पनि जनताको समर्थन रहँदैन । उनीहरू अराजनीतिक भए भन्दैमा हामी पनि अराजनीतिक तरिकाले प्रस्तुत हुन सक्दैनौं ।
० स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै छ, प्रदेश नम्बर २ मा चुनावी माहोल कस्तो छ ?
– नेपाली कांग्रेस पनि आफ्नो तयारीमा छ, एमाओवादी केन्द्रले पनि तयारी गरिरहेको छ । एमाले तयारीमा लाग्ने कुरा त झन् स्वाभाविक नै छ । हामीभन्दा पनि मधेसी मोर्चासँग आबद्ध दलहरू बढी सक्रिय भएर निर्वाचनका लागि अभियान चलाइरहेको हामीले देखेका छौं ।
० तर प्रदेश नम्बर २ मा चुनावी वातावरण छैन भनिँदै छ नि ?
– मधेसी मोर्चाका लागि अनुकूल हुनुपर्छ । उनीहरूले आफ्नो अनुकूलताका निम्ति सबै तयारी गरिरहेका छन् । कसै–कसैका निम्ति प्रतिकूल बनाउन खोजिरहेका छन् । खासगरी एमालेलाई नै प्रमुख टार्गेट बनाएका छन् । एमालेका विरुद्ध सबै शक्ति एक ठाउँमा उभिने हिसाबले उनीहरूले अभ्यास गरिरहेका छन् । अरू कोही नभए पनि मधेसी मोर्चा आबद्ध दलचाहिँ एकजुट भएर जानुपर्छ र एमालेलाई विस्थापित गर्नुपर्छ भनेर लागेका छन् । माओवादी र कांग्रेसको मनोदशा पनि त्यही छ । एमाले कमजोर नभई हामी बलियो हँुदैनौं भनेर उनीहरू पनि एमाले कमजोर बनाउनुपर्छ भनेर लागेका छन् । यो हिसाबले हेर्दा एमालेलाई चुनौती छ, तर एमाले चुनौती स्विकारेरै अघि बढ्ने पार्टी हो, यो अगाडि बढ्छ ।
० निर्वाचन आयोगका पदाधिकारीले पनि प्रधानमन्त्रीलाई भेटेर प्रदेश नम्बर २ मा वातावरण बनाउन आग्रह गरेका छन् भने प्रधानमन्त्रीले पनि त्यहाँचाहिँ निर्वाचन केही दिन पर सार्न अनौपचारिक छलफल चलाएको भन्ने सुनिएको छ, अवस्था जटिल हो कि निर्वाचन नगर्ने बहानाबाजी हो त ?
– सार्वजानिक सञ्चार माध्यमबाट यी कुरा आए, तर भित्री कुरा सरकारका प्रतिनिधि वा निर्वाचन आयोगलाई नै थाहा होला । सञ्चार माध्यमबाट आएका कुरालाई आधार मानेर भन्ने हो भने पनि मुलुकभरि निर्वाचनको वातावरण बनाउने दायित्व नेपाल सरकारको हो । यो मुलुकभित्र प्रदेश नम्बर २ का आठ जिल्ला पर्छन् भने यी ठाउँमा पनि वैशाख ३१ मै एकै चरणमा निर्वाचन गर्नुपर्छ । यहाँ अन्यत्रभन्दा अहिले असहज अवस्था त छ नै, तर यो असहजतालाई सहज बनाउन निर्वाचन आयोगले प्रधानमन्त्रीलाई भन्नु स्वाभाविक नै हो । प्रधानमन्त्रीले यसमा गम्भीरता देखाउनैपर्छ । प्रधानमन्त्रीले केही दिन समय सारौं भन्नुभएको कुरा पनि आएको छ । उहाँहरू त निर्वाचन नै गराउन चाहनुहुन्न । आफू पराजित हुने प्रतिकूल अवस्थामा चुनाव गराएर झन्झट बोक्न उहाँहरू तयार हुनुहुन्न । अपजसको भारी बोक्ने चाहना प्रधानमन्त्रीलाई पनि छैन ।
० एक लाख मतदाता नामावलीमा छुटेकाले त्यसलाई समेट्नुपर्ने मोर्चाको पछिल्लो मागलाई कुन रूपमा लिनुभएको छ ?
– विधिको शासन मान्ने हो भने विधिको शासनअन्तर्गत रहेर गरिएका सबै काम मान्नुपर्छ । निर्वाचन आयोगले मतदाता सूचीमा नाम लेखाओस् भनेरै निश्चित समयसीमा तोकेर विभिन्न कार्यक्रम अगाडि सारेको हुन्छ । जानीजानी कसैले मतदाता नामावलीमा नाम लेखाउँदैन भने कसको के लाग्छ ? फेरि मौका दियो भने पनि उनीहरू आउँदैनन् । तोकिएको म्यादमा नाम नलेखाउने अनि फेरि म्याद थप्ने कुरा गर्नु भनेको यो वैशाख ३१ मा तोकिएको स्थानीय तहको चुनाव नहोस् भनिएको हो । छुटेकाको नाम पर्नुपर्छ, तर यसपछिको निर्वाचनमा ।
शान्तराम बिडारीसम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply