सस्तो प्रचारबाजीले केही हुँदैन
गत बैशाख १२ को महाभूकम्पले निम्त्याएको विनास लीलापछि सिंगो देश र जनता मर्माहत बन्न पुगेका छन् । राजधानी काठमाडौं उपत्यकाका २० प्रतिशत घर ध्वस्त भएका छन् भने २९ प्रतिशत घरहरु भने मर्मतपछि मात्रै बस्न मिल्ने विज्ञहरुको भनाइ रहेको छ । सिन्धुपाल्चोक, दोलखा, रामेछाप, रसुवा, नुवाकोट, धादिङ, गोरखा, काभ्ेरपलान्चोक, मकवानपुर, सोलुखुम्बु, ओखलढुंगामा सर्वाधिक जनधनको क्षति भएको छ भने ३० भन्दा बढी जिल्ला प्रभावित बन्न पुगेका छन् । करिब १० हजार व्यक्तिको ज्यान गएको छ । सिंगो देशले भोग्नुपरेको पीडा नसेलाउँदै बैशाख २९ गते आएको अर्को ठूलो भूकम्पले थप जनधनको क्षति हुन पुगेको छ ।
भूकम्पको विनासलीलापछि मर्माहत बनेका जनताका बीचमा स्वयंसेवी भावनाका धेरै व्यक्तिहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निजामति र अन्य राष्ट्रसेवक कर्मचारी सबैले साहस र महानतापूर्वक उद्धार र राहत कार्यमा आफूलाई समर्पित गरेका छन् । भारत, चीन, अमेरिका लगायत दर्जनौं मित्रराष्ट्रबाट उद्धार र राहतमा महत्वपूर्ण सहयोग प्राप्त भएको छ । साँचो अर्थमा उद्धार र राहतमा खटिने देश–विदेशका सम्पूर्ण सहयोगी/शुभचिन्तकहरु धन्यवादको पात्र सावित भएका छन् । नेपाल रेडक्रस लगायत विभिन्न संघसंस्थाहरुबाट भएको कार्य उत्तिकै प्रशंसनीय रहेको छ ।
तर केही महाशयहरुले भने यस्तो विनाशकारी/विध्वंसात्मक महाविपत्तिको बेलामा पनि पीडित नेपाली जनताको दु:खलाई आफ्नो प्रचारको माध्यम बनाउन पुग्दा उनीहरुका त्यस्ता क्रियाकलाप आलोचनाको विषय बन्न पुगेको छ । कथित राहत र उद्धारको नाममा महाविपत्तिपछि विस्थापित भएकाहरुको सामु पुगेर कष्टसाध्य शिविर अनि बासस्थानहरुमा बसिरहेकाहरुलाई सामाजिक सञ्जालहरुमा प्रचारको माध्यम बनाउने निम्न स्तरको अभ्यासले पनि पीडित जनताप्रति उपहास गरेको स्वत: पुष्टि हुन्छ ।
महाविनाशकारी भूकम्पबाट ज्यान गुमाएका सम्पूर्ण स्वदेशी–विदेशीहरुप्रति श्रद्धाञ्जली तथा सम्पूर्ण पीडित र मर्माहत परिवारमा सहानुभूति र समवेदना व्यक्त भइरहेको छ । हजारौं सेना र प्रहरी तथा राष्ट्रसेवक एवं स्वयंसेवकहरुले आफूलाई अति जोखिमपूर्ण अवस्थामा राखेरै भए पनि जसरी उद्धार तथा राहत कार्यमार्फत जनतालाई पुनर्जीवन दिइरहेका छन्, ती राष्ट्रसेवकहरु पनि त्यस्तै सस्तो प्रचारबाजी गरेर बसेका भए के हुन्थ्यो ? केही छुद्र र स्वार्थी विदेशी उद्धारकर्ताबाहेक अरु सबैले आफूलाई प्रचारभन्दा माथि उठाएर काम गरेका छन् । बरु ६ अमेरिकी मरिन सैनिक र २ नेपाली सैनिकले उद्धार कार्यकै क्रममा ज्यान गुमाएका छन् । उच्च सम्मानयोग्य ती पात्रहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुको विकल्प छैन । अहिलेसम्म धेरै नेपाली सेना, प्रहरी र राष्ट्रसेवकहरु समेत बेपत्ता भएको अवस्था पनि बिर्सिनु हुँदैन ।
प्रचारका भोका महाशयहरुप्रति सम्पूर्ण पीडितहरुको अपेक्षा छ–यदि तपाईं प्रचारको ज्यादै भोको हुनुहुन्छ भने अहिलेको राष्ट्रिय विपत्तिको बेलामा पनि कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र मूल्यवृद्धि गर्नेलाई पक्राउ गरेर सार्वजनिक गर्न मद्दत गरौं । त्यस्ता व्यक्तिहरुको गोदाम र पसलबारे सरकारलाई जानकारी गराऔं र त्यहि बेला फोटो पनि खिचौं । राहत र उद्धारको क्रममा भ्रष्टाचार गर्ने, पक्षपात गर्ने, साधनस्रोत लुकाउने र अनावश्यक लाभ लिने महाशयहरुलाई नाङ्गेझार पारौं । यातायातमा अत्यधिक भाडावृद्धि गर्ने, पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, होटलमा खानाको चर्को मूल्य लिने, विपद्मा परेकाहरुबाट घरभाडा वृद्धि गर्ने र विस्थापित पीडितहरुको विवरण दिन नमान्ने घरधनीलाई नङ्ग्याएर कारबाही गरौं । फोटो खिचेर फेसबुकमा राख्न गाह्रो परे पनि यो विपद्मा सहर, बजार गाउँघरतिर चोरी र लुटपाट गर्नेहरुलाई कारबाही गरौं र प्रहरी–प्रशासनको जिम्मा लगाऔं ।
सामाजिक सञ्जालमा आबद्ध महाशयहरु † जनतालाई त्रसित पार्ने खालका भ्रमपूर्ण समाचार र भविष्यवाणीहरु शेयर र लाइक नगरिदिएर पनि तपाईंले जनसेवा गर्न सक्नुहुन्छ । यति बेला महिला, बालबालिका र वृद्ध नागरिकहरु, अपाङ्ग, बिरामीहरु झन् धेरै पीडामा छन् । उनीहरुका त्रास र पीडा कम गर्ने कोसिस गरौं । नेपाल र नेपाली जनतालाई संसारभरिबाट प्राप्त भएका सहयोगप्रति प्रशंसा र धन्यवाद दिऔं । र, दुरासयपूर्ण ढंगका विदेशी सहयोग (क्रियाकलाप)को भण्डाफोर गरौं, शेयर र लाइक गरौं अनि तपाईंमा रहेको प्रचारको भोक स्वत: कम हुनेछ ।
राष्ट्रको पुनर्निर्माण, जनताको पुनर्वास र व्यवस्थित पुन:स्थापना के कसरी गर्न सकिन्छ, त्यसबारे चिन्तन र प्रयास गरौं र त्यसै अनुरुप व्यवहार गरौं । यो अकल्पनीय जनधनको क्षतिपछि कसरी व्यवस्थित हुने र समाजलाई समृद्धितर्फ कसरी बढाउन सकिन्छ भन्नेबारे सोचौं । प्रतिकूलताबाट अनुकूलतातर्फ जाने हौसला प्रदान गरौं । यो व्यक्तिगत प्रचारबाजी र दलगत राजनीति गर्ने बेला होइन । कल्पना गरौं, यति धेरै हताहति भएको जनताको संख्याभित्र बाँचेका तपाईं हामी जो पनि भूकम्पमा पर्न सक्थ्यौं । अनि के को व्यक्तिगत प्रचार मोह ? ठूलाठूला घर महल, आलिसान सानसौकत, साधनस्रोत भएका पनि सडक र त्रिपालमुनि आउनुपर्यो । यसलाई एउटा पाठ भनेर बुझौं । देशमा शान्ति, समृद्धि कायम भएमा र जनताको जीवनमा स्वतन्त्रता रहिरहेमा हामी जति पनि राजनीति गरौंला । त्यसकारण विपत्तिलाई प्रचारको माध्यम र राजनीति गर्ने साधन नबनाऔं ।
प्रत्येक नेपालीले पूर्ण परोपकारी र सेवाभावले आफ्नो नागरिक एवं मानवीय कर्तव्य निर्वाह गरेमा मात्र अरुबाट पनि हामी स्वच्छ र स्वार्थहीन सहयोगको अपेक्षा गर्न सक्छौं । विपत्ति र काबु बाहिरको कहालीलाग्दो स्थितिमा राजनीतिक स्वार्थ पूरागर्ने अवसर नसोचौं । जनमतको सम्मान गर्नेहरुले विधिको सर्वोच्चता, कानुनको शासन, आवधिक निर्वाचनको वातावरण पुन:स्थापना गर्न र गराउन सकेमा त्यसैबेला राजनीति गरौंला । तर यतिबेलाको क्रियाकलाप अभिनय मात्रै हुनेछ । जनताले अभिनयको होइन, सेवाको चाहना गरेका छन् ।
अन्तमा सरकार र राजनीतिक दलका महास्वयम्भूहरुले पनि राष्ट्र र जनताको बारेमा ठिक निर्णय लिन सक्नुपर्दछ । सामान्य बेलामा सबै चल्छ, चलिरहन्छ तर असामान्य बेलामा, राष्ट्र संकटमा परेको बेलामा गर्ने जनपक्षीय निर्णय र अगुवाई नै राष्ट्र र जनताको साँचो सेवा हुनेछ । संकटको बेलामा पनि राष्ट्र र जनताको अपमान हुन नदिने, जनताको मानमर्दन हुन नदिने र जनताकै सम्पूर्ण परिचालनमा राष्ट्रको पुनर्निर्माणको अगुवाई गर्न सक्नुपर्दछ । यस्तो कार्य गर्दा कतिपय कटु सत्य निर्णय र आफ्ना प्रियपात्रहरुलाई मन नपर्ने तथा आफ्ना प्रभूहरुलाई मन नपर्ने निर्णय गर्नुपर्ने पनि हुन सक्दछ । यसो गरेर जनताले बुझ्ने गरी अगाडि बढे राम्रो होला । पीडित नेपाली जनताको चाहना पनि यही हो ।
सम्बन्धित समाचार
- नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
Leave a Reply