विश्वविद्यालयमा दौड सुरु
काठमाडौं । मुलुकका सात विश्वविद्यालय हाँक्ने उपकुलपति यही साउन २२ गतेबाट एकैचोटि घर जाने भएपछि त्यो पदमा पुग्न प्राध्यापक तथा डाक्टरहरूले खुट्टो उचाल्न थालेका छन् । चार वर्षअघि झलनाथ खनाल प्रधानमन्त्री र गंगालाल तुलाधार शिक्षामन्त्री हँुदा कार्यकालको अन्त्यतिर सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालयलगायत अन्य छ विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको थियो ।
दुई सातापछि उपकुलपति रिक्त हुने विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत, पूर्वाञ्चल, सुदूरपश्चिम, मध्यपश्चिम, कृषि र पोखरा रहेका छन् । प्रधानमन्त्री र शिक्षामन्त्री दुवै नेपाली कांग्रेसको भए पनि विगतमा एमालेले जस्तै सहकार्य र बाँडचुँडको नीति अघि सानुपर्ने हुनाले यस पटक पनि उपकुलपति भागबन्डाको आधारमा तय हुने सम्भावना रहेको एक प्राध्यापकले बताए । अझ एमाले निकट प्रगतिशील प्राध्यापक संगठनले त एमालेले विगतमा नेतृत्व गरेकै विश्वविद्यालय पुन: आफूले पाउनुपर्ने माग गरेको छ । संगठनका अध्यक्ष यादवप्रकाश लामिछानेले नेपाल संस्कृतलगायतका एमालेको भाग परेका विश्वविद्यालयमा सबैसँग समन्वय गरेर राम्रो काम गरिएकाले पुन: ती विश्वविद्यालय एमालेले पाउनुपर्ने आफूहरूको अडान रहेको बताए ।
अहिले त्रिभुवन विश्वविद्यालयमा प्रा.डा. हीराबहादुर महर्जन, नेपाल संस्कृतमा प्रा शिवहरि मरहठ्ठा, पूर्वाञ्चलमा प्रा. महेश्वरमान श्रेष्ठ, सुदूरपश्चिममा प्रा.डा. जयराज अवस्थी, मध्यपश्चिममा प्रा.डा. पदम देवकोटा, कृषिमा प्रा.डा. कैलाशनाथ प्याकुरेल र पोखरामा प्राध्यापक खगेन्द्र भट्टराई नियुक्त गरिएका थिए । तत्कालीन सरकारले सात विश्वविद्यालयमध्ये एमाले, माओवादी र कांग्रेसलाई कोटा तोकेर भीसी पद बाँडफाँट गरेको थियो । त्यसमध्ये त्रिवि, सुदूरपश्चिम, कृषि र नेपाल संस्कृत एमालेले, पोखरा र मध्यपश्चिम कांग्रेस तथा पूर्वाञ्चल माओवादीले पाएका थिए ।
यस पटक त्रिविको उपकुलपति हुन नेपाली कांग्रेसका तर्फबाट प्रा.डा. तीर्थ खनिया, प्रधानमन्त्रीका सल्लाहकार वसन्त गौतम, प्रा.डा. प्रेमनारायण अर्याल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेललगायत लागेको बताइन्छ । पोखरेल
उपकुलपति हुने निश्चित भएमा राजीनामा दिने भन्दै राजीनामा पत्र खल्तीमा बोकेर हिँडेका छन् भने खनिया आफू मात्र प्राज्ञिक व्यक्तित्व भएकाले आफूसरहको योग्यता पुगेको कोही नभएको भन्दै लबिङमा लागेका छन् । वसन्त गौतम प्रधानमन्त्री सुशील कोइरालाको समर्थन आफूलाई हुने भन्दै ढुक्क छन् भने प्रा.डा. प्रेमनारायण अर्याल देउवाको दैलो चहारिरहेका छन् ।
यस्तै, एमाले तर्फबाट त्रिविको उपकुलपति हुन उच्चमावि शिक्षा परिषद्देखि आयल निगमसम्म भ्याएर ईश्वर पोखरेलसँग सम्धी नाता जोडेका प्रा.डा. उपेन्द्र कोइराला, अर्थशास्त्रका प्रा.डा. महेशराज दाहालदेखि शिक्षा शास्त्रतर्फका प्राध्यापक चिरञ्जीवी शर्मासम्मले दौडधुप बढाएको बताइन्छ । विगतमा भीसीबाहेकका पद रजिस्ट्रार, डिन, डाइरेक्टर र क्याम्पस प्रमुखसमेतमा प्रमुख दलको भागबन्डा गरिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा यही साउन २७ बाट रेक्टर र रजिस्ट्रारको पदावधि पनि सकिँदै छ । त्यहाँ आफ्नो कार्यकालमा राम्रो काम भएको भन्दै कुलसचिव जगतप्रसाद उपाध्याय उपकुलपतिका लागि दौडधुपमा लागेका छन् । उपकुलपति मरहठ्ठा र कुलसचिव उपाध्यायले पार्टीसँग समेत राम्रो समन्वय गरेको भन्दै उनीहरूको भूमिका पार्टीभित्र प्रशंसित भएको बताइन्छ ।
तर, मुलुककै सबैभन्दा बढी साधनस्रोत भएको त्रिभुवन विश्वविद्यालय उपकुलपति महर्जन, रजिस्ट्रार चन्द्रमणि पौडेल र रेक्टर गुणनिधि शर्माका कारण अस्तव्यस्त भएको छ । फरक–फरक पार्टीबाट प्रतिनिधित्व भए पनि विश्वविद्यालय ध्वस्त पार्ने र साधनस्रोत दुरुपयोग गर्ने मामलामा उनी एक–एक भएर लागेपछि विश्वविद्यालय अस्तव्यस्त भएको हो ।
राजनीतिक हानथापले पछिल्लो समय प्राज्ञिक मर्यादा कायम राख्न नसकेका विश्वविद्यालयमा नेतृत्व गर्ने व्यक्तिका कार्यकुशलतामा कमी आएका कारण समस्या उत्पन्न भएको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply