रौतहटमा किन भयो त्यस्तो ?
काठमाडौं । तराई–मधेसलाई आफ्नै बिर्ताजस्तै ठान्ने केही साना मधेसी दलहरूले संविधानको मस्यौदामा जनमत लिन तराई पुगेका नेकपा (एमाले), नेपाली कांग्रेस र एमाओवादीका शीर्ष नेताहरुप्रति जुन अभद्र व्यवहार प्रदर्शन गरे र जुन ढंगले रौद्र नाच देखाए, अहिले त्यसको सर्वत्र निन्दा भइरहेको छ । नयाँ संविधान नचाहने त्यस्ता सानातिना मधेसी दलहरूले देखाएको रौद्र नाचमध्ये गौरमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालमाथि प्रहार गर्ने र गाडीसमेत तोडफोड गर्ने जुन हर्कत मच्चाए, त्यसको अहिले सबैतिर निन्दा भइरहेको छ ।
सोमबार बिहान सात नबज्दै गौरस्थित नगरपालिकाको हलमा नयाँ संविधानको मस्यौदामा के–के थप्नुपर्छ र के–के हटाउनुपर्छ भन्ने सवालमा जनमत संकलन हुन लागिरहेको थियो । संविधानसभामा रौतहट जिल्लाबाटै प्रतिनिधित्व गर्नुहुने एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री नेपालसहित एमालेका सभासद्हरू वंशीधर मिश्र, रामकुुमार भट्टराई र लालबाबु यादव, एमाओवादीका सभासद् सत्यनारायण भगत र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का सभासद् मुस्ताक राजा जनताको सुझाव सुन्न व्यग्र थिए । बिहान सवा सात बजे त कार्यक्रम सुरु हुनै लागेको थियो । कार्यक्रम सुरु हुनुअघि नै संघीय सद्भावना पार्टीका सभासद् डिम्पल झा र आपराधिक पृष्ठभूमि भएका पूर्वसभासद् बबन सिंह पनि हलभित्रै बसिरहेका थिए । डिम्पल त सभासद्हरूकै रोहबरमा बसिरहेकी थिइन् भने बबन चाहिँ केही पछाडि नै बसिरहेका थिए ।
त्यही बेला हलको दक्षिण ढोकाबाट संघीय सद्भावनाका अध्यक्ष तथा
संविधानसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री नेपालसँग पराजय भोगेका अनिल झा र तराई मधेस लोकतान्त्रिक पार्टीका अनिल सिंह नेपाललाई तथानाम गाली गर्दै भित्र छिर्न खोजे । उनीहरूले नेपाललाई मुखमा जे आयो त्यही शब्द प्रयोग गर्न थाले । सीमाभन्दा बाहिर गएर नेपालप्रति लक्षित गर्दै अश्लील शब्दहरू बर्साउन थालेपछि उनीहरूलाई हल प्रवेश गर्न दिइएन । त्यही बेला रौतहटमा गुन्डागर्दीका लागि नाम कमाएका बबन सिंह एक्कासि पूर्वप्रधानमन्त्री नेपाललाई हातपात गर्न अघि बढे । सिंहलाई एक जना घुमुवा प्रहरीले रोके र नेपालमाथि हातपात हुनबाट जोगाए । सिंहलाई प्रहरीले बाहिर निकाल्नेबित्तिकै हलभित्र भएका कुर्सी तोडफोड गर्न थालियो । कुर्सी तोडफोड गर्नेमा सात/आठ जनाभन्दा बढी थिएनन् । हलभित्र पूर्वप्रधानमन्त्री नेपालमाथि हातपात गर्न नपाएको झोंकमा बबनले बाहिर निस्किएर युवा संघका अध्यक्ष निरज सिंहको टाउकोमा मोटरसाइकलको हेल्मेटले हिर्काए । सिंहले हेल्मेटले हिर्काएपछि निरज पूरै घाइते हुन पुगे । बाहिर भने गाउँ गाउँबाट बटुलेर ल्याएका करिब अढाई सयजति मानिस उनीहरूले भेला पारिसकेको हुँदा केही बेर नाराबाजी गरे र त्यसपछि भने पूरै तोडफोडमा उत्रिए । त्यही क्रममा उनीहरूले नेपालले चढ्ने गरेको बा १३ प १४९१ नम्बरको गाडीमा तोडफोड गर्नुका साथै अरू पाँच वटा गाडीमा पनि क्षति पुर्याए । गौर घटनामा एउटा रमाइलो त के देखिएको थियो भने, हलभित्र एमाओवादीका सभासद् भगत सुरक्षा घेराभित्र बसेका थिए भने बाहिर सोही पार्टीका कार्यकर्ताहरूले असन्तुष्टहरूलाई भरपूर मात्रामा साथ दिइरहेका थिए । गौरको स्थिति तनावपूर्ण भएपछि र प्रहरी–प्रशासनले सुरक्षा दिन नसकेपछि पूर्वप्रधानमन्त्री नेपालसहित सभासद्हरूलाई सुरक्षित हिसाबले चन्द्रनिगाहपुरमा
ल्याइएको थियो ।
सुरक्षा प्रदान गर्ने सवालमा प्रहरी–प्रशासन पूरै असफल रहेको गौर घटनामा कर्तव्य निर्वाह गरेको देखाउन प्रहरीले तोडफोडमा उत्रिएकाहरूप्रति लक्षित गरेर अश्रुग्यास प्रहार गरे पनि उक्त अश्रुग्यास आन्दोलनकारीहरूले हलतिर नै मिल्काइदिएका थिए । कांग्रेसका एक जना पनि प्रतिनिधिको उपस्थिति नरहेको उक्त सुझाव संकलन कार्यक्रममा कांग्रेसले अघोषित रूपमै बहिष्कार गरेको बुझिन्थ्यो । विजयकुमार गच्छदार अध्यक्ष रहेको मजफो (लोकतान्त्रिक)का पनि खासै मानिस उपस्थित भएनन् । सो पार्टीका तर्फबाट सभासद् राजा मात्र सामेल भएका थिए । उक्त घटनाका एक प्रत्यक्षदर्शीले बुधबारसँगको कुराकानीमा भने–‘प्रहरीले सुरक्षा दिन सकेन । कार्यक्रमस्थलमा आएकाहरूले नेताहरूमाथि हातपात गर्लान् र तोडफोड होला भन्ने लागेकै थिएन ।’
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply