जुम्लादेखि विराटनगरसम्म देश–चिन्तन
सदैव हिमाच्छादित पर्वत शृंखलाहरूमा रमाउने उत्तरी भेग र दक्षिणतिरका समथर, उत्पादनशील र न्यानो मैदानी भूभाग– नेपाली जीवनका सौन्दर्यलाई थप मोहक र समृद्ध तुल्याउन उत्तर र दक्षिणका भौगोलिक, सामाजिक, सांस्कृतिक विविधता काफी छ । यी दुई भूभागको सेतु विन्दु हो– पहाड । हिमालको चीसो र मधेसको प्रचण्ड गर्मीलाई सन्तुलनमा राख्दै आएको छ, पहाडले । त्यही त, पहाडको सौन्दर्य, गरिमा र मोहकतालाई पनि कम आँक्न सकिूदैन ।
डडेलधुरा, त्यस्तै एउटा पहाडी थलो हो । सुदूरपश्चिमको धनगढीको तातो आवहवा र हिउँदका दिनहरूमा हिउँले छोप्ने खप्तडको सेतुजस्तै आभास हुन्छ, डडेलधुरा । धनगढी, अत्तरियाको गर्मी छल्न होस् वा खप्तडको चीसो मौसमबाट बच्न होस्, डडेलधुराका डाँडाकाडालाई सहजै चयन गर्न सकिन्छ । तर, ‘डडेलधुराको हावा’भने भोग्नेहरूका निम्ति स्मृतिमा छाइरहने हावा हो । नभए, तीन दशकअघि नै बाबुराम लामिछानेले शब्दहरू कुद्दैनथे, यसरी,
‘सिर्जनावा संगीतको धुन
अथवा, कुनै गलाको मधुर गुनगुन पनि
हैन यो हावा
अपशकुनजस्तो हावा, अपशब्दजस्तो हावा
हुनुनुनु हुनुनुनु चलिरहेछ यो हावा
ओठ र गलाको गुराँस टिपेर कुदिरहेछ हावा
चीसो चीसो हावा, रुखो रुखो हावा
कर्कश हावा, क्रुर हावा
डडेलधुराको हावा
प्रिय हुूदैनन्, कतैका पनि हावा । न मुस्ताङमा मध्याह्नपछि चल्ने हावा कसैका निम्ति प्यारो हुन्छ, न उच्च पहाडी भूभागमा चल्ने हावाले नै कसैलाई तृप्त तुल्याउँछ । तर, जहाँ हावा चले पनि त्यसले नेपालको प्राकृतिक विविधता र सौन्दर्यको भने प्रतिनिधित्व गरेकै हुन्छ, गरेकै छ ।
हरेक तह र स्तरमा नेपालको सौन्दर्य मापन हुनेमा प्रश्नचिन्ह सायदै उठ्ला । तराईको समृद्ध सहर विराटनगरले राष्ट्रिय जीवन र सौन्दर्यलाई उच्च राख्न हरेक तहबाट सहयोग गरेको तथ्यलाई कसैले पनि चपरी मुनि पुर्न सक्दैनन् । कवि कृष्णभूषण बलले पनि ‘विराटनगर’लाई यी हरफहरू मार्फत् नबुझेका पक्कै पनि थिएनन्,
‘उत्तरतिरबाट यता दक्षिणतिर हिमालले पनि बस्न बिर्सेको
कोसी–वागमती पनि नेपालबाट बग्दै गएर
मित्र राष्ट्रको बिहारबाट फेरि यतै फर्केको
दैलो उदांगै राखेर घरको सबै सामान चोराएर
यो लठेब्रो विराटनगर
आयातित भतुवा संस्कृतिको पैतालामाथि चिूदै
नेपाली नागरिकताको प्रमाणपत्र खोजिरहेछ आजकल विराटनगर’
कवि बलले विराटनगरलाई त्यति झाँट्न चाहेका होइनन् । विराटनगरमै संघर्षका दिनहरू गुजारेका र विराटनगरलाई अपार स्नेह गर्ने बलले एउटा सहरको दुर्दान्त उतार्न मात्र चाहेको प्रष्ट देखिन्छ । तर, कवि भूपि शेरचनले भने करिब चार दशकअघिको भैरहवालाई अर्कै दृष्टिले हेरेका थिए । आज, भूपिले हेरेजस्तो छैन, भैरहवा । न त ‘मुस्किलले तीस चालीस/घरजस्ता घर/बाँकी कुभिन्डोको गाँड निस्केका/कुप्राझुप्राहरू, डन्डिफोरझैं’ छ, भैरहवा । मध्यपश्चिमको आर्थिक चहलपहल हुने विन्दुमा फेरिएको छ, आजको भैरहवा । तर, कुनै बेला तराईको यो सीमान्त बजार भारततिरबाट व्यापार गर्न आउनेहरू मात्र होइनन्, भोट अर्थात् तिब्बतका व्यापारीहरूको पनि जमघटस्थल थियो भन्ने तथ्य भूपिका यी शब्दहरूले बोलेका छन्–
‘कोही पूर्वका
कोही पश्चिमका
कोही पहाड काँठका
कोही मधेस फाँटका
कोही भारतका, कोही भोटका
तर सब यहाँ भेला भएका छन्
खोजीमा हरिया नोटका’
तराईको भैरहवा र विराटनगरलाई क्रमश: भूपि र वलले आ–आफ्नै दृष्टि र सौन्दर्य परख गर्दै काव्य हरफ र स्वरूप दिए । तर, कुनै बेला विकट मानिने र अहिले पनि यातायातको सुगमताले समृद्ध जुम्ला पनि नेपालकै एउटा भूभाग हो र जुम्लालाई कविता संसारमा उभ्याउने काम तीन दशकपहिले नै कवि विमल निभाले गरेका थिए । तराईमा जन्मेर त्यहीको परिवेश नियाल्दै हुर्केका भए पनि हिमाली सौन्दर्यले युक्त जुम्लालाई उनले यसरी चिनेका थिए, कुनै बेला–
‘के जुम्ला मौन छ ?
रोटीको अनुहार फेरिएको छ
भोकको स्वाद तीतो भएको छ
र पेटभित्रको खालीपन
छचल्किएर
बाहिर निस्किएको छ
यसपालि जाडो धेरै छ
पसिना आइरहेछ
र आगोनेर उभिएको मानिसको शरीर
तामाझंै चम्किरहेछ ।’
डडेलधुरा, विराटनगर, जुम्ला, भैरहवाजस्ता देशको विविध भूभागलाई विभिन्न स्रष्टाहरूले आ–आफ्नै ढंगले अनुभूत गरेर नै देशको समृद्धि नाप्ने आधारशिला तय गरेका हुन् । कतिपय स्रष्टाले भने काठमाडौंलाई पनि आफ्नै हिसाबले हेर्ने गरेका छन् र अनुभूतिको संसारमा उभ्याउने गरेका छन् । कवि आर.एम्.डंगोल काठमाडौंलाई यसरी बुझ्न चाहन्छन्–
‘सपनाका अमूर्त रङहरूझैं
यही रङहरूले कुच्चिएको
धिमेबाजाको स्वर–ताल
डबली–डबलीमा
न्यानो बनाएर ओछ्याइएको
भजनको शास्त्रीय रागताल
अनुष्ठान–अनुष्ठानको
यो व्यंग्यपराकाष्टा
रूपसीको विज्ञापनमा साटिएर
ज्युूदा कुमारीहरूले
परम्परा धानिरहेको
यो काठमाडौं ।’
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply