कतारलाई नियाल्ने झ्याल
नयाँ भूगोलमा टेक्दा नौला अनुभूति, उमंग र विचारहरू सल्बलाउनु स्वाभाविक पक्ष हो । हरेक मानिसमा नौलो ठाउँ पुग्दा उमंगका अनेक डोरीहरू बाटिन्छन्, अनगिन्ति उत्सुकताहरू उत्पन्न हुन्छन् र नौलो कुरा सिक्ने जिज्ञासुपन देखिन्छन् । अझ, नियात्रा लेखनमा रमाउने जय छाङ्छाजस्ता स्रष्टालाई त नौलो थलो टेक्दा उत्सुकताका घना बादलले छोप्नु कुनै अनौठो कुरै भएन ।
लामो समय कूटनीतिक सेवामा रहेका छाङ्छाले पछिल्लो पटक खाडी मुलुक कतारमा बिताएका वर्षहरूलाई ‘दोहाको सीधा उडान’ मा आद्योपान्त पस्किन रुचाएका छन् । मरुभूमिहरूको बाहुल्य रहेको खाडी मुलुक कतारमा रहँदा उनमा आफ्नै देश नेपाल र संसारका अरू देशहरूमा व्याप्त हरियालीपनले बेलाबेलामा लोभ्याउँछ र बालुवा र हरियालीबीचको तादाम्य खोज्न तम्सिन्छन् उनी । र, कतारको मरुभूमीकरणलाई उनी व्यंग्यात्मक शैलीमा टिप्पणी गर्न पनि उत्तिकै रुचाउँछन् । लेख्छन्, ‘हरियो हेर्नका लागि कतारमा हरिया रङको चस्मा नै पहिरिनुबाहेक अर्को विकल्प नभएजस्तै लाग्यो मलाई । हरियालीको आभास गराउन भवन रंगाउन हरियो रङ प्रयोग गर्ने नियम कतार सरकारले बनाइदिए राम्रै हुन्थ्यो होला भन्ने लागिरह्यो कताकता ।’
पछिल्लो समय नेपालीहरू कतारलगायत खाडी मुलुकहरूमा श्रमको मूल्य खोज्न जाने गरेका छन् । दिनहुँ सयौं नेपालीहरू उत्पात गर्मीले छोपिएको खाडी मुलुकहरूमा तिनै बालुवाहरूसँग अभ्यस्त हुन जान्छन् । कतार जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने बेलादेखि नै छाङ्छा विदेशी भूमिमा कामदारका रूपमा जानेहरूसँग परिचित हुन थाल्छन् । काठमाडौंमा छँदादेखि उनमा भित्रिएका अनेक तरंग र भावनाहरू कतारमा रहेका समयसम्मै सल्बलाइरहन्छन् । उनको व्यथित हृदय बोल्दछ, ‘आज हामीसँगै अरबका लागि यात्रा गर्ने यात्रुहरूको अबोध अनुहारहरू एकएक गरेर पढ्ने कार्यमा लाग्छु । र, मनमनै पिरिन्छु पनि । आफ्नो देशले रोजगारीको अवसर दिएको भए किन बिदेसिनुपथ्र्यो र ?’
कतारमा बस्दा प्रकृति प्रेममा चुर्लुम्मै डुब्न छाङ्छालाई कसैले पनि रोक्न सक्दैन । मरुभूमि प्रदेशका प्राकृतिक सौन्दर्यले उनलाई विस्तारै लट्ठ्याउँदै लैजान्छ । गर्मी चढ्न थालेपछि फुल्ने खजुरप्रति उनी यति धेरै मोहित हुन्छन् । ‘शब्दचित्रमा दोहा’ मा यसरी लेख्छन्, ‘जाडोले बिदा लिन थालेको छ कतारबाट । खजुर फुल्न सुरु भएको छ कतारको छातीभरि यी दिनहरूमा । निकै रमाइलो लागिरहेको छ खजुर फुलेको देखेर । अम्लिसो फुलेजस्तै गरी झुप्पा परेर पहेंलो रङमा सजिँदै गएका छन् खजुरका बोटहरू । मानौं, जग्गेमा निकाल्न ठिक्क पारिएकी बेहुलीजस्तै लाग्दै छ मलाई खजुरका वृक्षहरू ।’
दुई वर्षभन्दा केही महिना बढी कतारमा बिताएका छाङ्छाले ती अवधिमा कतारका ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्रहरू घुमेर त्यो देशको जनजीवन, संस्कृति र आरोहअवरोहलाई नजिकबाट मात्र नियालेनन्, आफ्नो पसिना पोख्न ४५ डिग्रीको मरुभूमिमा पुगेका नेपाली कामदारहरूका दुःख, कष्ट र समस्याहरूलाई पनि केलाउने काममा खर्चिए उनले । ती सबै प्रसंगहरूलाई छाङ्छाले एक–एक गरी केलाएका छन् । आफ्ना अनुभूतिहरूलाई बिसाउँदै कार्य क्षेत्रमा आफूले गरेका काम र प्रयत्नहरूको बेलिविस्तार पनि उनले उक्त पुस्तकमा लगाएका छन् ।
‘दोहामा सीधा उडान’ लाई छाङ्छाले नियात्रा भनेर उल्लेख गरे पनि केवल नियात्रामा मात्र सीमित देखिँदैन, उक्त पुस्तक । नियात्राका क्रममा बटुलेका अनुभव र अनुभूतिजन्य पक्षहरूलाई त उनले उल्लेख गरेका छन् नै, त्योभन्दा बढी कतारका पर्यटकीय थलो, सांस्कृतिक र धार्मिक स्थलहरूका साथै त्यहाँको जनजीवनका विविध पाटाहरू र नेपाली कामदारहरूको कतार–स्थितिलाई बुझ्न सघाउ पु¥याउनेमा द्विविधा देखिँदैन ।
कृति ः दोहाको सीधा उडान
विधा ः नियात्रा
नियात्राकार ः जय छाङ्छा
प्रकाशक ः साझा प्रकाशन
पृष्ठ ः २१७
मूल्य ः ३००।–
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply