मन्त्रीको सक्रियतासँगै ‘भ्रमण वर्ष’ गतिशील
काठमाडौं । भिजिट नेपाल–२०२० को राष्ट्रिय संयोजक तोकिएका व्यापारी सुरज वैद्यले नेतृत्वकारी भूमिका निभाउन नसकेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई स्वयंले नै तत्परता देखाउन थालेका छन् । उचित समन्वय र सक्रियताको अभावमा भिजिट नेपाल–२०२० को काम अलपत्र पर्दै जान थालेपछि मन्त्री भट्टराईले पहलकदमी लिएका हुन् ।
पहिला केन्द्र र प्रदेश तहसम्म सीमित भिजिट नेपाल–२०२० का कार्यक्रमहरू अब भने जिल्ला तहसम्मै पुग्नेछन् । जिल्ला–जिल्लामा समेत पर्यटन प्रवद्र्धनका कार्यक्रमहरू पु¥याउन जिल्ला समन्वय समितिका अध्यक्षको संयोजकत्वमा पर्यटन प्रवद्र्धन समिति गठन भएर परिचालन गरिने भएको छ । केही दिनअघि मन्त्री भट्टराईको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
भिजिट नेपाल–२०२० को प्रदेशस्तरीय कमिटीको संरचनामा पनि फेरबदल गरिएको छ । यसअघि प्रदेश कमिटीको संयोजक केन्द्रीय तहबाट नै तोकिएका थिए । अब भने सम्बन्धित प्रदेशका पर्यटनमन्त्री संयोजक रहने र केन्द्रबाट पठाइएका व्यक्तिलाई सहसंयोजकको जिम्मा दिइने भएको छ । केन्द्रबाट पठाइएका व्यक्तिबाट उचित समन्वय र संयोजन हुन नसक्दा प्रदेशस्तरीय कामहरूले गति लिन सकेको थिएन । यो विषयमा प्रदेश सरकारहरू नै असन्तुष्ट रहेका हुँदा सम्बन्धित प्रदेशका पर्यटनमन्त्रीलाई नै संयोजक तोक्ने निर्णय भएको हो । भिजिट नेपाल–२०२० लाई सफल तुल्याउन मन्त्री भट्टराईले बढी चासो र सक्रियता देखाएसँगै विभिन्न देशका राजदूतहरूका साथै गैरआवासीय नेपालीहरूसँग पटकपटक बैठक र समन्वय भइसकेका छन् ।
भिजिट नेपाल–२०२० को सचिवालयका सदस्य–सचिव नलिनी थापाले अकस्मात् जिम्मेवारी त्यागेपछि अहिलेसम्म पनि नयाँ सदस्य–सचिव नियुक्त हुन सकेका छैनन् । सदस्य–सचिव नहुँदा थुप्रै काम प्रभावित बनिरहेका छन् । भिजिट नेपाल–२०२० को कार्यविधिमा सचिवालयको सदस्य–सचिवमा नेपाल पर्यटन बोर्डको वरिष्ठ निर्देशक रहने व्यवस्था गरेपछि सोही व्यवस्थाअनुरूप थापाले जिम्मेवारी पाएकी थिइन् । तर, उनले छाडेसँगै नयाँ सदस्य–सचिव नियुक्त गर्दा कार्यविधि नै सच्याउनुपर्ने भएको हुँदा अहिलेसम्म सदस्य–सचिव नियुक्त हुन नसकेको बताइन्छ ।
भिजिट नेपाल–२०२० को उपसमितिले राष्ट्रिय संयोजकलाई दुईजनासम्म विज्ञ नियुक्त गर्ने अधिकार भने दिएको थियो । तर, संयोजक वैद्यले समयमै विज्ञ नियुक्त नगर्दा मन्त्री भट्टराई स्वयंले केही दिनअघि दुईजना विज्ञ नियुक्त गरेका छन् । कामलाई गति दिन मन्त्री भट्टराईले विश्वम्भर घिमिरे र पीताम्बर सिग्देललाई विज्ञका रूपमा नियुक्त गरेका हुन् ।
भिजिट नेपाल–२०२० को बजेट पनि बढाइने संकेत देखिएको छैन । राष्ट्रिय संयोजक वैद्यले करिब ६० करोड बजेट चाहिएको माग गरे पनि तत्काललाई सरकारले छुट्याएको १६ करोड बजेटमा नै काम गर्न निर्देशन दिएको छ । वैद्यको संयोजकत्वमा गठित कमिटीले प्रभावकारी रूपमा काम गर्न नसकेपछि सरकारले बजेट बढाउनेतिर चासो नदिएको बताइन्छ ।
सम्बन्धित समाचार
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग
Leave a Reply