अग्रिम टिकट बुकिङ खुले पनि उस्तै अनियमितता
काठमाडौं । यातायात व्यवस्था विभागले दसैंमा घर जानेहरूका लागि आइतबारबाट अग्रिम टिकट बुकिङ खुले पनि उस्तै भद्रगोल भएको छ । हरेक वर्ष काठमाडौंबाट दसैं मान्न घर जाने यात्रुहरूको टिकट नपाएर बिचल्ली हुनुका साथै बढी मूल्यमा टिकट लिनुपर्ने बाध्यता छ । यसपटक पनि सुरुवाती दिनबाटै अग्रिम टिकट बुकिङ अस्तव्यस्त देखिएको छ ।
आइतबारबाट लामो दूरीको सवारीका लागि दसैंका अग्रिम टिकट काट्न सुरु भएको हो । कलंकी, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेललगायत स्थानमा अग्रिम बुकिङ सुरु भएको थियो । तर, सबै ठाउँमा अव्यवस्थित टिकट काउन्टर र भद्रगोल कार्यशैलीले टिकट काट्न बिहानैदेखि लाइनमा बसिरहेकाहरू तनावमा परेका छन् । टिकट काट्न नयाँ बसपार्कमा बिहान ५ बजेभन्दा अघिबाटै सर्वसाधारण आएर लाइन बसेका थिए । उनीहरू सबैलाई आफ्नो पालो आउँदासम्म टिकटै सकिने हो कि भन्ने पिरले सताएको अनुभूति हुन्थ्यो । त्यसैले केहीले त नयाँ बसपार्कमा प्लास्टिकको ‘म्याट’ बोकेर आएका युवाको एक समूहले काउन्टर छेउमै रात बितायो । काउन्टर खुल्नासाथै दसैंमा घर जाने टिकट हात पार्नुका लागि कतिसम्म मेहनत गर्नुपर्ने रहेछ भन्ने कुरा यस उदाहरणले प्रस्ट पारेको छ । भीड बढ्दै जाने तर भीडको व्यवस्थापनमा खटिने प्रहरीको संख्या थोरै भएपछि शान्तिपूर्ण वातावरण मिलाउन प्रहरीलाई निकै कठिन हुन थालेको बताइन्छ । दसैंमा घर जाने टिकट अनलाइनबाट काट्न सक्ने सामान्य व्यवस्था पनि सरकारले मिलाउन नसकेपछि भीडले सरकारप्रति पनि आक्रोश पोखेको छ ।
रोकिएन कालो बजारी
यात्रुलाई लाइनमा राखेर काउन्टरभित्रैबाट ‘ब्ल्याक’मा टिकट बिक्री भइरहेको पनि सहभागीहरूले आरोप लगाए । प्रहरी, कम्पनीका कर्मचारी र सरकारी कर्मचारीको मिलेमतोमा भित्रबाट मनलाग्दी टिकट बाँडिएको आरोप लाइनमा बस्नेहरूको छ । तर सरोकारवालाहरू यो कुरा स्विकार्दैनन् । नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला निष्पक्ष ढंगले टिकट वितरण गरिरहेको बताउँछन् । बसपार्कमा टिकट काट्दा धेरैजसो काउन्टरले बस नम्बर र सिट नम्बर खुलाएका छैनन् । बस चढ्ने र झर्ने स्थान पनि नखुलाउँदा यात्रुमाथि अन्याय भएको छ । टिकट काटिए कुन बसमा लैजाने हो भन्ने खुलाइएको छैन भने सिट नम्बर पनि खुलाइएको छैन । काउन्टरमा यसबारे सोध्दा ‘त्यसै दिन आउनुस् अनि थाहा हुन्छ’ भनेर गैरजिम्मेवारीपूर्ण जवाफ दिने गरेको उपभोक्ताको गुनासो छ । बस नम्बर नखुलाउँदा यात्रु टिकट काटेर पनि आश्वस्त हुन सकेका छैनन् । लामो दूरीको यात्रामा राम्रो बस र सिट नपरे धेरै समस्या भोग्नुपर्ने हाम्रो नियति छ ।
त्यति मात्र होइन, अग्रिम टिकट बुकिङ गर्दा व्यवसायीले विद्यार्थीलाई दिनुपर्ने छुट पनि दिएका छैनन् । छुट माग्दा चाडबाडमा केको छुट, टिकट पाउनु नै ठुलो कुरा’ भन्ने जवाफ फर्काएको पीडितहरूको गुनासो छ । त्यसैले प्राय सबैले पुरै पैसा तिरेर टिकट काट्न बाध्य भएको बताइएको छ । उपभोक्ता अधिकारवादीहरू कतिपय कम्पनीले डिलक्स बसका नाममा ५० प्रतिशत बढीसम्म भाडादर लिएर टिकट काटिरहेको बताउँछन् । डिलक्स, सुपर डिलक्स, एसी बस हो भन्दै यात्रुलाई बाध्य पारेर चर्को भाडा उठाइनु जायज होइन । यो त एक खालको कालोबजारी नै भएको उपभोक्ताकर्मी ज्योति बानियाँ बताउँछन् । ‘टिकटमा बस नम्बर पनि छैन, डिलक्स बस हो भनेरै ५० प्रतिशतसम्म बढी भाडा असुलिँदै छ, कुरा उठाउनेलाई त्यसो भए टिकट नलिई फर्किनुस् भनेर जवाफ दिइँदै छ,’ बानियाँ भन्छन्, ‘यति लामो लाइन बसेर टिकट काट्न काउन्टरमा पुगेकालाई झन निरीह बनाएर ठगिँदै छ । यो त चरम काललोबजारीको रूप हो ।’
सहुलियत पाएनन्
लाइनमा बस्दा सहुलीयत पाउनुपर्ने अशक्त, अपांगता भएका र ज्येष्ठ नागरिलाई पनि सहुलीयत नदिएको भन्दै गुनासो बढेको छ । बुढाबुढी मान्छे पनि घन्टौं लाइनमा बस्नुपर्ने अवस्था छ । यसबारे प्रहरी वा कम्पनीका मान्छे कसैले पनि जिम्मेवारी नलिएको बताइन्छ । यस मामलामा सामान्य मानवीयता पनि ख्याल नगरिएकोभन्दै सेवाग्रँहीहरू आक्रोशीत छन् । टिकट काउन्टरहरूको अनुगमन गर्न बसपार्क पुगेका उपभोक्ता अधिकारवादी माधव तिमिल्सना काउन्टरको व्यवस्थापन राम्रोसँग नगर्दा यात्रुले दुःख पाएको बताउँछन् । लाइनको व्यवस्थापन पनि गतिलोसँग नगरिनुका साथै अनियमितता पनि उस्तै भएको उनको गुनासो छ । उनका अनुसार एकैजनाले ४० वटासम्म टिकट काटेको पनि भेटिएका छन् । एकैजनालाई मनलाग्दी तवरले टिकट दिँदा कालोबजारी हुन सक्ने उनको आशंका छ । त्यो टिकट पछि बढी मूल्यमा फेरि बिक्री हुने र उपभोक्ताले बढी मूल्यमा खदि गर्नुपर्ने बाध्यता आइलाग्ने उनको अनुमान छ ।
करिव ३५ लाखले काठमाडौं छाड्दै
आइतबारबाट लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ खुला भएपछि दशैंमा घर जानेको संख्या बढ्न थालेको छ । यो पटकको दशैंमा करिब ३० देखि ३५ लाखले काठमाडौं छाड्ने अनुमान प्रहरीको छ । यसरी घर फर्किनेमा अधिकांश सार्वजनिक यातायातकै प्रयोग गर्नेहरू हुन्छन् । तर, लामो दूरीका सार्वजनिक बस सीमित संख्यामा हुँदा दसैंमा घर जाने यात्रुले असहजता झेल्दै आइरहेका छन् । विगत वर्षदेखि नै यस्तो असुविधा झेल्ने गरेका भए पनि यसमा खासै सुधार हुन सकेको छैन । लामो दूरीको यात्राका लागि आइतबारबाट टिकट बुकिङ खुला भए पनि नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । यात्रु नठगिउन् र सहज ढंगले घर फर्कन पाऊन् भनेर यातायात कम्पनीहरूले टिकट बुकिङ खुला गरेलगत्तै यात्रुहरू आफ्नो सिट सुरक्षित गर्न हतारिने गरेका छन् । यसैबीच, यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष पनि सञ्चालनमा आएको छ । सहायता कक्षले यात्रुलाई पर्ने समस्यामा सहजीकरणको काम गर्ने बताइएको छ तर त्यस्ता कक्षहरू नाम मात्रका भएका र त्यती प्रभावकारी हुन नसकेको बुझिएको छ । यता प्रहरीले भने बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रुले यातायात व्यवस्था विभाग वा ट्राफिक प्रहरीमा उजुरी पनि गर्न सक्ने बताएको छ । तैपनि, अनुगमन फितलो हुँदा उजुरीले पनि प्रभावकारी परिणाम दिने अवस्था नरहेको सेवाग्राहीहरू बताउँछन् । सीमित टिकट भएका कारण यात्रुहरू आत्तिए पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पहिलो दिन भएकाले सर्वसाधारणको घुइँचो लागेको भन्दै यात्रुहरूलाई नआत्तिन आग्रह गर्छन् । यसपालि थप बसहरू पनि प्रवन्ध गरिएकाले टिकट नपाइने हो कि भनेर अत्तालिनुपर्ने अवस्था नभएको सिटौलाको दाबी छ । ‘टिकट नपाएर टीका रोकिने हो कि भनेर डराउनुपर्दैन । हामी दसैंंमा पनि टिकट पाउने व्यवस्था गर्छौं,’ उनले भने, ‘तर हामीले सरकारसँग अवरुद्ध सडक बनाउन आग्रह गरेका छौं । बाटाहरू बिग्रिएर रोकिने अवस्था आयो भने गाह्रो हुन्छ ।’ सोमबार र मंगलबार सर्वसाधारणले टिकट काटेका आधारमा बस थप्नुपर्ने वा विकल्प खोज्नुपर्नेबारे समीक्षा गरेर अघि बढ्ने आफुहरूको योजना रहेको बताए । ‘अब हामी एक÷दुई दिनको अवस्था हेरेर सरकारसँग सल्लाह गर्छौं, विकल्पबारे पनि सोच्छौं,’ उनले भने ।
कहाँ–कहाँबाट काट्न सकिन्छ टिकट ?
महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाइमा सातदोबाटो, कोटेश्वर, गौशाला, जोरपाटी, पुरानो बसपार्क, स्वयम्भू, कलंकी, नागढुंगा र सुन्धारामा नागरिक सहायता कक्षा स्थापना गरिनेछ । दसैंका लागि उपत्यकाबाट बाहिरिने सवारीसाधनको अनुगमन र यात्रुहरूको समस्या समाधानका लागि उपत्यकामा १० असोजबाट विभिन्न १३ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिने भएको हो । गत वर्ष १५ देखि २० लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए । दसैंको समयमा एकैचोटि धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले पहिले नै टिकट काट्ने गरिन्छ । व्यवसायी तथा ट्राफिक प्रहरीले बढी भाडा लिए तथा ब्ल्याकमा टिकट बिक्री गरे ट्राफिक प्रहरीमा खबर गर्न आग्रह गरेका छन् । विभागले आफू जाने ठाउँको भाडादरबारे पूर्वजानकारी राखेर टिकट काट्न अनुरोध गरेको छ । काठमाडौंबाट अन्य समयमा दैनिक १३ देखि १५ सय सार्वजनिक सवारीसाधन बाहिरिन्छन् । ती सवारीसाधनले करिब ३० देखि ४० हजार यात्रुलाई सेवा दिने क्षमता राख्छन् । तर, घटस्थापनादेखि र फूलपातीसम्म दैनिक एकदेखि डेढ लाख र त्यसपछि साढे दुई लाख यात्रु काठमाडौंंबाट बाहिरिन्छन् । निजी सवारीसाधन प्रयोगकर्ता थोरै छन् । घटस्थापनादेखि फूलपातीसम्मका लागि करिब ७० प्रतिशत टिकट बुकिङ हुने व्यवसायीको अनुमान छ । सीमित सिटसंख्या देखाउँदै व्यवसायीले तीन–चार दिनभित्रै बुकिङ बन्द गर्ने तिकडम रच्ने यात्रुको गुनासो छ । टिकट नपाउने यात्रुको मनोविज्ञान बुझेका व्यवसायीले यसको फाइदा उठाएर महँगोमा बेच्छन् । ‘क्षमताभन्दा कम बुकिङमै सकिएको बहाना बनाएर व्यवसायीले कालोबजारीमा टिकट बेच्न थाल्छन् । यसतर्फ आमउपभोक्ता सचेत हुनुका साथै प्रहरी प्रशासन अझ चनाखो हुनु जरुरी छ ।
सम्बन्धित समाचार
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग
Leave a Reply