सरकारी जग्गामा मेडिसिटी अस्पताल : नापीका हाकिमहरूको दुहुनो गाई
ललितपुर । अरबौंपति व्यापारी उपेन्द्र महतोले खोलेको अति महँगो मानिने मेडिसिटी अस्पतालले सार्वजनिक जग्गा मिचेर अस्पताल बनाएको छ । साबिक नक्सामा अस्पताल भवनको बीचमा राजकुलो छ । साविक नक्सामा राजकुलो भएकाले हालसाबिक गर्न नापी कार्यालयले आनाकानी गरिरहेको छ । कानुनमा राजकुलोले चर्चेको जग्गाबराबर त्यति नै जग्गा सरकारका नाममा सट्टाभर्ना दिए हालसाबिक गर्न सकिने व्यवस्था छ । तर अस्पतालले जग्गा सट्टाभर्ना नदिई हालसाबिक गराउन खोजिरहेको छ । त्यसका लागि अस्पतालले १ करोड रूपैयाँभन्दा बढी त घुसबापत खर्च नै गरिसकेको छ । तर पनि हालसाबिक हुन सकेको छैन ।
अस्पताल भवन रहेको जग्गाको हालसाबिक (अद्यावधिक) गर्न विगत चार वर्षदेखि नै निरन्तर प्रयास भइरहेको छ । अस्पतालले हालसाबिकको प्रक्रिया थालेदेखि नापी कार्यालय ललितपुरमा तीनजना कार्यालय प्रमुख फेरिइसकेका छन् । चार वर्षअघि बुद्धिमान् जैसी प्रमुख हुँदा अस्पतालले हालसाबिकको कार्य थालनी गरेको थियो, जुन बेलामा नापी विभागका महानिर्देशक थिए नागेन्द्र झा । जैसी र झाले हालसाबिक गरिदिने भनेर २५ लाख जति त घुस नै लिएको स्रोत बताउँछ ।
जैसी अवकाश भएपछि सुरेश जोशी ललितपुर नापी कार्यालयको प्रमुखमा सरुवा भए । उनले पनि मेडिसिटी अस्पतालको जग्गा हालसाबिक गर्न भनेर २० लाख जति घुस लिएको तर काम भने गर्ने आँट नगरेको बताइन्छ । दुई वर्षसम्म आजभोलि भन्दै झुलाएर उनी गत वर्ष कलंकीको नापी कार्यालय प्रमुखमा सरुवा भए । जोशीपछि गत वर्ष नारायण रेग्मी ललितपुर नापी कार्यालयको प्रमुखमा सरुवा भएका हुन् । मेडिसिटी अस्पताल पुनः हालसाबिक गर्न धाइरहेको छ । तर, पहिलाका दुई हाकिमले घुस लिएर पनि काम नगरेको थाहा पाएका उनले त झन् करोडकै माग गरेको स्रोतको दाबी छ । सर्भेक्षक शुभकान्त झामार्फत उनले घुसको डिल गरिरहेको मेडिसिटी अस्पताल स्रोतले बतायो । टोलीमा नापी अधिकृतको दरबन्दी भए पनि सर्भेक्षक झाले कार्यालय प्रमुख रेग्मीलाई दबाबमा पारी आफैं टोली प्रमुखका रूपमा सार्वजनिक जग्गा दर्ता गर्ने कार्यमा संलग्न हुँदै आएका छन् । तिनै झामार्फत मेडिसिटी अस्पतालसँग डिल गर्दै आएका छन् । अस्पतालको जग्गा हालसाबिक गर्ने भनेर गएको असारमा कार्यालय प्रमुख रेग्मीले आफ्नी आमाको उपचार पनि मेडिसिटीमा सित्तैमा गराएका छन् । करिब ५ लाख बराबरको उपचारको रकम पनि हालसाबिक गर्ने आशामा मेडिसिटीले छुट दिएको स्रोतले बताएको छ । नापीका हाकिम रेग्मीको आमाको उपचारमा अस्पतालले भीभीआईपीको भन्दा बढी खातिरदारी गरी डाक्टरहरूको लाइन नै लगाएको थियो । आमाको निःशुल्क उपचारपछि पनि रेग्मीले जग्गाको हालसाबिक गर्न मन नलगाई अड्काएर शुभकान्त झामार्फत घुस डिल गरि नै रहेका छन् ।
यसैगरी, रेग्मीले नापी विभागले दुईजना नापी अधिकृत टोलीका लागि पठाएकोमा दिलीप गिरीसँग पाँच पेटी बुझेर अद्यावधिकमै राखेका छन् । एक नापी अधिकृतलाई भने टोलीमा खटाएका छन् । उनले घुस दिन नसकेपछि टोलीमा खटाएका हुन् । शुभकान्त झा सर्भेक्षक भए पनि उनलाई नापी टोलीमा खटाइएको छ । झा दर्जाले नासु (सर्भेक्षक) हुन् तर भाइको नाममा एक अनलाइन सञ्चालन गरी मिडियाको शक्ति कति हुन्छ, कैलाश सिरोहिया हेरे हुन्छ भन्दै नापी टोलीको प्रमुख भएर सरकारी सार्वजनिक जग्गा दर्ता गर्ने कार्यमा संलग्न रहिआएका छन् । उनी यसअघि ललितपुर नापी कार्यालयमा कार्यरत हुँदा सरकारी सार्वजनिक जग्गा र नदी उकासको जग्गा गैरकानुनी दर्ता गर्ने कार्यमा संलग्न रहेका थिए । उनीसँगै कार्यरत सर्भेक्षक मेघनाथ चौलागाईं घुस लिँदालिँंदै अख्तियारको नियन्त्रणमा परेपछि उनी हतार हतार नागेन्द्र झालाई हारगुहार गरी विभागमा सरुवा भई सेभ भएका थिए । अख्तियारका विवादित आयुक्त राजनारायण पाठकको नाममा तराईका जिल्लामा उजुरी परेको छ भन्दै असुली अभियानमा लागेका झा पुनः ललितपुर नापी कार्यालयमा सरुवा भएका छन् । र, नापी अधिकृत हुनुपर्ने टोलीको प्रमुख भएका छन् । उनले जागिर खाएको छोटो समयमा इमाडोलमा करोडौंको जग्गादेखि गाडीसमेत खरिद गरी करोडौंको मालिक हुन सफल भएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply