‘राजदूत’ का चार नाम मन्त्रिपरिषदबाट फिर्ता
बुधवार डेस्क
‘हुन्न, हुन्न । तपाईंले प्रस्ताव ल्याएर मात्र भएन, अरु कुरा पनि मिलाउनु छ, समावेशी पनि भएन ।’
शुक्रबार मन्त्रिपरिषदको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एकैपटक सात देशमा राजदूत नियुक्त गर्ने प्रस्ताव गर्नासाथ प्रधानमन्त्री केपी ओलीले भन्नुभयो, ‘न महिला छ, न मधेसी छ ।’
प्रधानमन्त्री ओली र उहाँले निकै विश्वास गर्ने भनेर चिनिने परराष्ट्रमन्त्री ज्ञवालीका बीचको यस्तो नमिल्दो सम्वाद सुनेर अरु मन्त्रीहरुले मुखामुख गरेका थिए । किनभने, एक त ज्ञवालीले प्रधानमन्त्रीसँग कुरा नमिलाएर त्यसरी प्रस्तावै ल्याउनुनपर्ने । दोस्रो, ल्याइहालेमा प्रधानमन्त्रीले मन्त्री ज्ञवालीको त्यसरी हुर्मत लिनुनपर्ने ।
अमेरिकामा झापाका युवराज खतिवडा, बेलायतमा स्याङ्जाका लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकामा कपिलवस्तुका निर्मल विश्वकर्माको नाम सदर भए पनि प्रधानमन्त्री कड्केपछि चार जनाको नाम भने यत्तिकै रद्द भएको छ । प्रधानमन्त्रीले बोलिसक्दा पनि ज्ञवाली चाहिँ ‘रुसबाट कोरोनाको भ्याक्सिन ल्याउनुछ, नगरी नहुने छ’ भन्दै हुनुहुन्थ्यो । तर, ओलीले किन हो, मान्नुभएन ।
पार्टीका शीर्ष नेताहरुबीच सल्लाहै नगरी र प्रधानमन्त्रीलाई पनि विश्वासमा नलिएरै मन्त्री ज्ञवालीले राजदूत बनाउन खोजेका नाम थिए, डा. जंगबहादुर चौहान (रुस), निर्मलराज काफ्ले (इजिप्ट), प्रा.डा. कृष्णचन्द्र शर्मा (दक्षिण कोरिया) र यादव खनाल (श्रीलंका) ।
रुसबाट साहित्यमा पीएचडी गरेका चौहान काठमाडौ विश्वविद्यालयमा पढाउँछन् भने दक्षिण कोरियाका लागि भनिएका शर्मा त्रिभुवन विश्वविद्यालयका अंग्रेजी विभागका प्रमुख भइसकेका छन् । उनी एमालेको विदेश विभाग सदस्य थिए । त्यस्तै, इजिप्टका लागि प्रस्ताव गरिएका काफ्ले चाहिँ सिनियर भएर पनि यसअघि राजदूत नपाएका परराष्ट्रका सहसचिव हुन् भने श्रीलंकाका लागि प्रस्ताव लगिएका खनाल चाहिँ झापाली हुनुका साथै प्रधानमन्त्रीका पीए इन्द्र भण्डारीका मामाका छोरा हुन् । परराष्ट्रको उपसचिवबाट अवकाश पाउनासाथ यही नाता लगाएर उनले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक पड्काउनुका साथै इपीजीको निर्णय लेख्ने नाममा रोजगारी पाएका थिए ।
जबकि, ओलीको अघिल्लो कार्यकालमा राजदूतको निर्णय भएपछि सरकार ढलेका कारण संसदीय सुनुवाइ हुने दिन विहान खासुवामा परेका प्रा.डा. खड्ग केसी, युवराज कार्की, अलि अख्तर मिकरानी राजदूत नियुक्तिको चर्चा चलिरहेका बेला मन्त्रिपरिषद्को बैठक बस्दा केही निर्णय भइहाल्ला कि भनेर कान थापिरहेका छन् । युवराज कार्कीले त राजदूत हुन पाइन्छ भने देखा जायगा भन्दा गुट फेरेर शीतल निवास धाउन थालेको नै तीन बर्ष बितिसकेको छ ।
प्रधानमन्त्री ओलीको संकटमोचन गर्ने गरी सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले राजनीतिक नियुक्तिका बारेमा पार्टीमा छलफल गर्ने निर्णय गरे पनि त्यसको खिल्ली उडाएर धमाधम निर्णय हुने क्रम जारी छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply