बजार अनुगमनका नाममा नाङ्लो ठटाएर हात्ती तर्साउँदै
शन्तराम बिडारी
पक्राउ परेका अभियुक्तलाई सुटुक्क छाड्न चलखेल शन्तराम बिडारीकाठमाडौं । जबजब दसैं, तिहारजस्ता चाडपर्व नजिकिन्छन्, त्यतिबेला जिल्ला प्रशासन कार्यालय, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभागका केही कर्मचारी र केही उपभोक्तावादी भनिनेहरू बजार अनुगमनका लागि भन्दै दौडधुपमा लाग्छन् । साढे ११ महिना चिरनिद्रामा हुने ती निकायले दसैंको मुखमा गर्ने बजार अनुगमन नाङ्लो ठटाएर हात्ति तर्साउने खेल भएको जानकारहरू बताउँछन् । खासगरी ‘दसैं खर्च’ संकलनका लागि उनीहरूले एकाध ठाउँमा छापा मारेर व्यापारी तर्साउने र गोप्य रूपमा रकम संकलनको मेलो बनाउने गरेको बताइन्छ । आफ्ना निकटका र सबैसँग समन्वय गर्न सक्ने केही बिचौलियामार्फत उनीहरूले डिलिङ नमिलेपछि मात्र छापा हान्ने गरेको र पक्राउ गरिसकेपछि पनि विभिन्न कानुनी छिद्रको अपव्याख्या गर्दै रकम लिएर त्यस्ता उपभोक्ता ठग्ने अपराधीहरूलाई छाड्ने गर्दै आएका छन् । खासगरी कलंकी, कुलेश्वर, बल्खुलगायत क्षेत्रहरूमा प्रहरीका हाकिमहरूले सादा पोसाकका घुमुवा प्रहरीहरू परिचालन गर्ने र केही उपभोक्ताकर्मीसमेतको सल्लाहमा सूचना संकलन गर्ने र एक ठाउँमा छापा हानेर पचासौं ठाउँमा हुने त्यस्ता गलत धन्दावालबाट रकम संकलन गरी आफ्नो ‘धन्दापानी’ चलाउने गरेको खुलेको छ । पछिल्लो समय काठमाडौंमा देखिएको घटनाहरूले पनि त्यस्तै संकेत गरेको छ ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले म्याद गुज्रेका वस्तु बजार पठाउने ठूलो गिरोहलाई रिहा गरिदिएका छन् । हल्लाखल्लाका साथ पक्राउ गरिएको उक्त समूहलाई धुरुधुरु रोएपछि दया लागेर हाजिर जमानीमा छोडिएको तर्क उनले गरेका छन् । अनुसन्धान जारी रहेको भनिए पनि प्रमाण नष्ट गराउने, मुख्य दोषीलाई प्रमाणले सहायक दोषी बनाउने र लेनदेनका आधारमा दोषमुक्त गरिदिने आशंका बढेको छ ।
प्रसंग म्याद नाघेका पौष्टिक पदार्थ र चकलेटजन्य खाद्य वस्तुमा नयाँ उपभोग्य मिति राखेको कसुरमा पक्राउ परेका सातजनालाई वाणिज्य विभागले सामान्य तारेखमा छाडेको विषयको हो । बिहीबार कलंकी र बाफलबाट पक्राउ परेका रिलेबलिङमा संलग्न वितरक कम्पनीकी सञ्चालक पुष्पादेवी अग्रवाससहित सातजनालाई विभागले उधारो धरौटीमा शुक्रबार सुटुक्क हिरासत मुक्त गरेको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले पुष्पादेवी बिरामी भएकाले छाडेको बताएका छन् । उनी बिरामी रहेको र धुरुधुरु रोएपछि छाडिएको महानिर्देशक सुवेदीको तर्क छ ।
पुष्पादेवीका आफन्तले जग्गाको लालपुर्जा विभागमा बुझाएका छन् । आइतबार १ करोड धरौटी बुुझाउने सर्तमा मुख्य आरोपी पुष्पादेवीसहित सातजनालाई सामान्य तारेखमा छोडिएको स्रोतले बतायो । पक्राउ परेका आठजनामध्ये भारतीय नागरिक रोनक बोथ्रा भने प्रहरी हिरासतमै छन् ।
ओरियो बिस्कुट, स्निकर्स, मार्स चकलेट, बर्नभिटा, प्रिंगल्स र युनिलिभरका अधिकांश उत्पादनमा नयाँ लेभल लगाएको भेटिएको थियो । म्याद नाघेको उपभोग्य मिति मेटेर नयाँ मिति राखिरहेको अवस्थामा महानगरीय प्रहरी अपराध महाशाखाले रंगेहात पक्राउ गरेर बिहीबार वाणिज्य विभागको जिम्मा लगाएको थियो । जसमध्ये भारतीय नागरिक बोथ्राबाहेक अरू सबैजना शुक्रबार नै हिरासतमुक्त भएका हुन् ।
हिरासतमुक्त हुनेमा झापा चन्द्रगढी घर भएकी पुष्पादेवी अग्रवाल, रौतहटको गौर नगरपालिका–३ मजकुटिया घर भई हाल काठमाडौंको बल्खु बस्ने मौजिलाल ठाकुरका छोराहरू मुन्ना ठाकुर र पप्पुकुमार ठाकुर, महोत्तरीको बनरा घर भई हाल काठमाडौंको कपुरधारा बस्ने आसाराम सिंहका छोरा श्यामप्रसाद सिंह छन् । यसैगरी धादिङको गल्छी–३ कल्लेरी घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने कान्छा बयलकोटीका छोरा रामबहादुर बयलकोटी, धादिङको नीलकण्ठ नगरपालिका–६ जल्केनी घर भई हाल काठमाडौंको कलंकी बस्ने बुदे उपरकोटीका छोरा सीताराम उपरकोटी र धादिङको सिद्धलेख गाउँपालिका–४ भेडाबारी घर भई हाल काठमाडौंको बाफल बस्ने गुन्जबहादुर थापामगरका छोरा दिलीप थापामगर पनि हिरासतमुक्त भएका छन् । भारत राजस्थान विकानेर श्रीडुङगरगढ ग्राम–१३ घर भई हाल काठमाडौंको बाफल बस्ने मागोलाल बोथ्राको छोरा ३५ वर्षीय रोनक बोथ्रा भने हिरासतमै छन् ।
केक र बेकरीका कच्चा पदार्थको म्याद सकिएपछि पुनः नयाँ लेबल (नयाँ उत्पादन तथा उपभोग्य मिति) राखेर बजार पठाइने गरेको भेटिएको हो । यस्तो धन्दामा संलग्न काठमाडौंको कलंकीस्थित एक गोदामबाट गत आइतबार चारजनालाई प्रहरीले पक्राउ गरेको हो । पाँचतले घर नै भाडामा लिएर एएसटी प्रालिले १४ सय प्रकारका त्यस्ता कच्चा पदार्थमा पुनः नयाँ मिति राख्ने गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायव उपरीक्षक अपिलराज बोहोराले बताए । उक्त गोदाममा कार्यरत अनिलकुमार बंका, आनन्दकुमार अवस्थी, रस्मिता श्रेष्ठ र विनोद ओझालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको डीएसपी बोहोराले जानकारी दिए । पक्राउ परेका अवस्थी लेखापाल, श्रेष्ठ क्वालिटी म्यानेजर र ओझा स्टोर किपर हुन् ।
काठमाडौं जिल्ला प्रशासन कार्यालय र कालीमाटी प्रहरी वृत्तले आइतबार बिहान ९ बजेदेखि थालेको अपरेसनका सो बदमासी भेटिएको हो । पाँच तले घरको तीनवटा फ्ल्याटमा केक र यसका कच्चा पदार्थको पुनः मिति लेख्न व्यवस्थित ढंगबाट काम गर्ने गरेको पाइएको हो । कम्पनीमा अन्य थपको संलग्नताबारे अध्ययन भइरहेको छ, कम्पनी रजिस्टार कार्यालयबाट कागज मगाएर पनि थप अनुसन्धान गरिने बताइएको छ । कर्मचारीहरूलाई घरभित्रै खाने बस्नेसहितको आवासीय सुविधा दिएर रिलेबलिङको काम गराइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत खड्गबहादुर श्रेष्ठले बताए । भुइँ तला, दोस्रो र तेस्रो तलामा यस्तो काम हुने गरेको र माथिको तल्लामा कर्मचारीहरू खाने बस्ने गरेको बताइन्छ । करिब १४ यसभन्दा धेरै प्रकारका वस्तुहरूमा पुनः मिति राख्ने गरेको पाइए पनि सबै वस्तुको परिमाण भने खुलिनसकेको र खोजी भइरहेको बताइएको छ ।
बेकरी बनाउन तथा यसको सौन्दर्यका लागि प्रयोग हुने तेल, केकको पिठो, चेरी तथा चकलेट गोदामबाट ठूलो परिमाणमा फेला परेका छन् । पक्राउ परेका कर्मचारीको सहायतामा प्रहरीले १ सय ४१ प्रकारका वस्तुहरूको पहिचान गरेको छ । अरेन्ज जुस, रेड एप्पल, म्यांगो टम्याटो, स्विट कोकोनट, क्विमन, डेरी घी, भिल्ला नम्बर एक लिक्विड, मिल्क सुपर प्रिमियम, चिज फ्लेवर, सिलिकालगायत वस्तु फेला परेका छन् । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरेर कालोबजारी तथा केही सामाजिक अपराध ऐनअनुसार कारबाही अघि बढाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । बिहीबार मात्रै काठमाडौंको कलंकीबाट ठूलो परिमाणमा पौष्टिक खाद्य आहारदेखि कस्मेटिकजन्य वस्तुमा नयाँ मिति राख्दै गरेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको थियो ।
कोरोना भाइरसको बढ्दो संक्रमणको मौका छोपी बजारमा म्याद गुज्रिएका हर्लिक्स, बिस्कुट, चकलेट र बेकरीसम्बन्धी खाद्य सामग्री पठाउने गिरोह नै सक्रिय भएको खुलेको छ । बजारमा पहिले नै पठाइएका तर हाल डेट एक्सपायर भएका ओरियो बिस्कुट, हर्लिक्स, किन्डर ज्वय, स्निकर्स, वाउन्टी चकलेट, ट्याङ जुससहित म्याद सकिएका बेकरीसम्बन्धी खाद्य सामग्रीमा पुनः नयाँ म्याद राखेर बजारमा पठाइने गरेको पाइएको हो । गिरोहले त्यस्ता सामग्री बजारबाट उठाएर महामारीको मौका छोपी नयाँ उत्पादन मिति र गुज्रने म्यादको मिति राखेर लेभलिङ गरी बजारमा पठाउने गरेको पाइएको छ । उनीहरूले धमाधम ‘नयाँ लेभल’ राख्दै बजारमा सामग्री पठाइँदै आएका हुन् । सो छापा मारिएपछि २५ करोड बराबरका सामग्री गोदामबाटै सिल गरिएको बताइन्छ । तर, त्यसको विवरण भने सार्वजनिक गरिएको छैन । प्रहरीले विशेष सूचना र दुई साताको सूक्ष्म अनुसन्धानपछि आइतबार तथा गत बिहीबार गरेको अप्रेसनका क्रममा राजधानीका कलंकी र बाफल क्षेत्रबाट गरी करिब २५ करोड मूल्य बराबरका सामानमा नयाँ डेटसहितको लेभलिङ गर्दै गर्दा सिल गरिएको जनाएको छ । आइतबार मात्रै कलंकीको एएसटी प्रालिको गोदामबाट करिब ४ करोड मूल्यबराबरको त्यस्ता खाद्य सामग्री बरामद भएको थियो । सो गोदाममा तेल, चेरी, पिठोजस्ता बेकरी सामानमा नयाँ लेभलिङ गर्दैै गरिएको अवस्थामा छापा हानिएको कालिमाटीका डिएसपी अपिलराज बोहोराले जानकारी दिए । प्रहरीले सो कार्यमा संलग्न भएको अभियोगमा चारजनालाई पक्राउ गरेको छ । सो क्रममा बजारबाट म्याद गुज्रिएका सामान ल्याउँदै गरेको मिनीट्रकसमेत नियन्त्रणमा लिइएको थियो । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खालका म्याद गुज्रिएका चकलेट, बिस्कुटजस्ता सामग्री बजारबाट उठाउने र नयाँ डेट राखेर बजारमा पठाउने गरेको पाइएपछि गोदाम नै सिल गरिएको बताए । उनका अनुसार बजारबाट म्याद सकिएका सामान उठाउने र नयाँ लेभल लगाएर पुनः बजारमा नै पठाउने गरिएको पाइयो । ती खाद्य सामग्री बजारमा पठाएर मानव स्वास्थ्यमा गम्भीर खेलबाड गरेको देखिन्छ । गोदाम सिल गरेर थप अनुसन्धान र कारबाही भइरहेको बताइएको छ ।
महाशाखाले गत बिहीबारको अप्रेसनका क्रममा कलंकीस्थित आयन डिस्टिब्युटर्स प्रालिबाट रिलेभलिङ गर्ने एउटा मेसिन र बाफलस्थित अमजोन डिस्टिब्युटर्स प्रालिबाट म्याद गुज्रिएका ओरियो बिस्कुट, स्निकर्स चकलेट, बर्न भिटा, प्रिंगल्सलगायतका खाद्य सामग्री राखिएको गोदाम सिल गरेको थियो । प्रहरीले सो कार्यमा संलग्न सञ्चालक तथा कामदार र सवारी साधनहरूसमेत आवश्यक अनुसन्धान कारबाहीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाएको छ ।
गत बिहीबार भने सो कार्यमा संलग्न आठजना पक्राउ परेका थिए । पक्राउ पर्नेहरूमा झापा चन्द्रगढी घर भई पुतलीसडक न्युप्लाजा बस्ने पुष्पादेवी अग्रवाल, भारत राजस्थान बिकानेर श्रीडुंगरगढ घर भई बाफल बस्ने रोनक बोथ्रा, रौतहट गौर घर भई बल्खु बस्ने मुन्ना ठाकुर र पप्पुकुमार ठाकुर, महोत्तरी भग्रामका श्यामप्रसाद सिंह, धादिङ गल्छी घर भई कुलेश्वर बस्ने रामबहादुर बयलकोटी, धादिङ नीलकण्ठ घर भई कलंकी बस्ने सीताराम उपरकोटी र धादिङ सिद्धलेख घर भई बाफल बस्ने दिलीप थापा मगर छन् । सो क्रममा बा२०च १०९, बा१६च ५७०४ र बा१९च ४९०५ नम्बरका सवारी साधनसमेत नियन्त्रणमा लिइएको छ । पक्राउ परेकाहरूमाथि मानव स्वास्थ्यमा गम्भीर खेलबाड गरेकोसहित कालोबजारीसम्बन्धी कसुरमा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ । तर, कारबाही प्रभावकारी हुन सकेको छैन ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply