आलोक धन्वाको विद्रोही–नाद
विवश वस्ति
‘रेलको चम्किरहेको पटरीको छेउमा
त्यो कपडाको पुरानो जुत्ता थियो
एउटा मानिसले छाडेर गएको थियो त्यसलाई
र, एक पाइलापश्चात् नै अदृश्य भयो
किनकि, जुत्ताको संसार हो, केवल एक पाइलाको ।’
सन् १९७० को दशकयता भारतीय काव्य–परिदृश्यमा कवि आलोक धन्वाको उपस्थिति प्रखर रूपमा रहँदै आएको छ । संख्यात्मक हिसाबले अत्यल्प काव्य सिर्जे पनि उनका हरेक कविताको गुरुत्व शक्ति र सामथ्र्यको कुरै नगरौं । काव्यका चुस्त खेलाडी लाग्छन् उनी । भारतीय काव्य मैदानमा असंख्य खेलाडी छन् । तर, धन्वाले जसरी लेखनमा सशक्त मानवीय भावलाई रेखांकन गर्छन्, गतिशील सामाजिक दृष्टिकोण पक्रिने क्षमता राख्छन्, उनलाई त्यसले मैदानका अरू खेलाडीभन्दा पृथक् तुल्याउँदै आएको छ ।
नेपालका पूर्ववर्ती र समकालीन, दुवै पुस्ताका कविको लेखन सामथ्र्य र धरातल नियाल्दै आएको छु, तीन दशकयता । नेपाली भाषाका दक्ष कविहरूका सिर्जनाको चुल्हा र मझेरीसँग परिचित हुँदाहुँदै हिन्दी भाषाका कविहरू पनि बारम्बार पढिरहेको हुन्छु । खासगरी, हिन्दीका प्रगतिशील वृत्तका कवि, कथा–सर्जकहरूका साथै व्यंग्य–लेखनका प्रख्यात हस्तीहरूका रचना पनि मेरो पठन–क्षेत्रभित्र पर्छन् । व्यंग्यमा त हरिशंकर परसाई, शरद जोशी, विक्रम भट्ट, रवीन्द्रनाथ त्यागी र पछिल्लो पुस्ताका आलोक पुराणिकसमेतलाई पढेको छु । नछुटाई, नबिराई ।
कविहरूमा भने केही यस्ता कवि छन्, जसका कविता म पटकपटक पढ्न रुचाउनेमध्ये पर्छु । भारतीय समाज, राजनीति, सांस्कृतिक पाटोहरूबारे चासो राख्ने आधारका कारण साहित्यको भूगोल पनि छिचोल्न सकिने भएको हुँदा पठन–अनुभव सुखद प्रतीत हुन्छ । केदारनाथ सिंह, राजेश जोशी, मंगलेश डबराल, कुमार विकल, कुमार अम्बुज…। निकै लामो पंक्ति बन्न पुग्छ ।
धन्वालाई भने कमै पढ्छु । किनभने, उनी कमै लेख्छन् । जति लेखेका छन्, सबै नै पढ्न रुचाउँछु । तर, उनलाई पढ्न निकै मिहिनेत गर्नुपर्छ । यति मिहिन कथ्य, संवेदना र अर्थबोध पहिल्याएर लेख्छन् । चाल्नीले नै छान्नुपर्ने हुन्छ, हरेक भाव र विम्बहरू । धन्वाका कविताका कुनै–कुनै हरफले त यति धेरै लठ्याउँछ कि, कुनै लागु पदार्थको नशाले सायद त्यसरी ‘झुम्म’ बनाउँछ होला, मस्तिष्कलाई अचेतनतातिर डो¥याउँछ होला–
‘सरकारले होइन, यो देशको सबभन्दा
सस्तो चुरोटले मलाई साथ दियो…।’
बिहारको एक ग्रामीण बस्तीमा जन्मिए, धन्वा । सन् १९४८ मा । चहार्दै पुगे उनी, उपनगर÷महानगर । महानगरको स्वप्नसँग परिचित भए पनि ग्रामीण बस्ती र जनजीवन छाडेका मानिसहरूले आफ्नो थलोको स्मृति–दंश झेल्न बाध्य हुन्छन् नै । उनको काव्य–सिर्जनामा पनि स्मृतिका गाढा विम्बहरू आउँछन् । उनको लेखनमा अनेक ग्रामीण विम्ब, दृश्य र स्वप्नचित्रहरू रेखांकित हुन्छन् । आँप, जामुन र नीमका रूखहरू, गीत गाउने आमा, भान्सा–घर, आँगन, कुवामा बाल्टिन डुबाउँदा निस्किने पृथक् आवाज, बालीनालीहरू, यस्ता ग्राम–बाहुल्य विम्बहरूले उनको काव्य–संचेतनालाई सुदृढ, सुरम्य र अनुभूतिशील तुल्याएको सहजै देख्न सकिन्छ ।
अरू सर्जकहरूजस्तै समकालीन राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक पक्षहरूमा गहिरिँदो संकट र त्यसबाट निःशृत तुहिएका मूल्यहरूलाई पर्गेल्ने सामथ्र्य उनी आफ्ना काव्यचेत र अनुभूतिद्वारा राख्न खोज्छन् । सन् १९७२ मा उनले लेखे, ‘गोली दागो पोस्टर’ । यो कविताले तत्कालीन समयावधिमा चर्चा÷परिचर्चाको शिखर टेकेको थियो । जुन कवितामा उनले तत्कालीन भारतीय राजनीतिक व्यवस्थाका विशृंखलित मूल्य, अनिश्चय र अराजक स्थितिप्रति सिधै औंला उज्याएका थिए ।
नारी–मुक्ति र स्वाधीनताको प्रश्न पेचिलो रूपमा उठ्दै आएको छ, वर्षौंदेखि । भूगोलका हरेक कुना–कुनामा । सामन्ती समाज व्यवस्थामा नारीमाथिको शोषण, उत्पीडन र हिंसाका जेजस्ता कुरूप तस्बिर खिचिएका थिए, वर्तमान समयमा पनि त्यो तस्बिरको फ्रेम बदलिए पनि दृश्यावलीहरूमा तात्विक भिन्नता आएको छैन । पुँजीवादी प्रणालीले नयाँ स्वरूपमा नारीमाथिको शोषण, विभेद र हिंसालाई प्रश्रय दिँदै आएको छ । धन्वाको कविता ‘भागी हुई लड्किया’ मा मूलतः हिन्दू समाजभित्र नारी वर्गले झेल्नुपरेका यन्त्रणाको सजीव स्केच कोरिएको छ–
‘तिमी
जो, पत्नीलाई बेग्लै राख्छौं
वेश्याबाट,
र, प्रेमिकालाई बेग्लै राख्छौ
पत्नीबाट
कति आतंकित हुन्छौ
जब नारी निडर रूपमा भड्किन्छन्
खोज्दै आफ्नो व्यक्तित्व
एकैपटक, वेश्या र पत्नी
र, प्रेमिकामा… ।’
कुनै सर्जक वा स्रष्टा हुनुको पहिलो सर्त के हुन सक्छ ? निश्चय नै, वैज्ञानिक दृष्टिकोण । जब दृष्टिकोण नै रुढियुक्त, पश्चगामी छ भने त्यस्ता स्रष्टाले अग्रगामी र वैज्ञानिक सिर्जनाका कुवाहरूको कसरी उत्खनन गर्न सक्छन् ? धन्वाको कवितामा पाइने पहिलो तŒव हो, वैज्ञानिक दृष्टिकोण र चेतना । उनका सिर्जनामा वैज्ञानिक दृष्टिकोणका झाँकीहरू प्रस्ट र सहज रूपमा देख्न सकिन्छन् । ‘ब्रुनो की बेटियाँ’ यो शक्तिशाली कविताले नै उनमा निहित चेतनाको सँघारको दृष्टिगोचर हुन्छ । सोह्रौं शताब्दीमा ज्युँदै जलाइएका इटालीका वैज्ञानिक–दार्शनिक ज्योर्दानो ब्रुनोको वैज्ञानिक चेत र विचारको प्रतिनिधित्व गरिएको काव्यसिर्जना हो यो ।
परिर्वतनको दूरस्थ क्षितिजतिर नजर बिछ्याउने स्रष्टाले आफू बाँचिरहेको सामाजिक परिवेशमा व्याप्त विसंगत पक्षहरूप्रति कदापि टाउको पन्छाउन सक्दैनन् । उनीहरू तात्कालिक परिस्थितिप्रति तटस्थ र असम्बद्ध बन्नै सक्दैनन् । यदि कुनै पात्र तटस्थ बस्छन् भने त्यस्ता पात्रहरू कि अबुझ हुन्, कि उनीहरू शून्यताको सिकार भइसकेका छन् । सचेत पात्रहरू आफ्नो रचनात्मक प्रयत्नद्वारा तत्कालीन सामाजिक, राजनीतिक प्रणालीमाथि संवेदनशील दृष्टि राख्न उद्यत् हुन्छन् नै ।
सन् १९७० को दशकमा धन्वा, राजेश जोशी, मंगलेश डबराल, असद जैदीजस्ता कविले विद्रोह, विमतिका अनगिन्ति नाद निकाले । त्यो नाद सिंगो भारतभरि गुन्जियो । त्यो प्रभावकारी काव्य–नाद भारतीय समाजमा आजपर्यन्त गुन्जिँदैछन् । यद्यपि, धन्वाका कविता प्रगतिशील आलोक र चेतले सम्पोषित रहे पनि समीक्षक शैलेन्द्र चौहान भने उनको आलोचना गर्न पछि पर्दैनन् । चौहानले ‘भाषा र शैली अभिजात्य कलावादी प्रभावद्वारा निर्देशित’ भनेर लेखेका थिए, उनको पहिलो काव्यकृति ‘दुनियाँ रोज बनती है’ को समीक्षार्थ क्रममा ।
‘चम्किलो रात’ । धन्वाको यो काव्य–हस्ताक्षर निकै नै चम्किलो लाग्छ मलाई । हरेक पटक पढ्दा पंक्ति–पंक्तिले आत्मीय र गहन स्पर्श गर्छ । र, मस्तिष्कलाई पूरै तन्मयतापूर्वक बिथोल्ने क्षमता पनि राख्छ उत्तिकै । कहिलेकाहीँ धन्वाको यो कविता पढ्दा आफैंमाथि अविश्वास जाग्छ, ‘के म कविता लेख्न सक्षम पात्र हुँ ?’
कविता लेखन निकै नै जटिल र कष्टप्रद कार्य हो । यस्तो लाग्दैनथ्यो, प्रारम्भिक दिनहरूमा कविता लेख्दा । मनमा जे आउँछ, त्यसैलाई उतारे कविता बनिहाल्छ भन्ने भ्रमले घेरिएका रहेछौं । लेखनका प्रारम्भिक दिनहरूमा प्रोल्लास (प्रोल्लास सिन्धुलीय) र मैले कविता लेख्दा लागेको थियो, यो नितान्त सजिलो कर्म हो । चुइगम चपाएजस्तो । तर, होइन रहेछ । धन्वाको कविता पढ्दा त यो निकै गाह्रो मार्ग रहेछ भन्ने लाग्यो । एउटा घुम्ती छिचोलेर नपुग्ने । अनगिन्ति घुम्ती, मोड र नागबेली परेका शब्दहरूका बाटो हुँदै अघि बढ्नुपर्ने शब्दयात्रा रहेछ, कविता लेख्नु भनेको ।
कुनै समय, नेपाल आउँदा नेपाल प्रज्ञा–प्रतिष्ठानको हलमा धन्वाले मञ्चमा नबसी दर्शकदीर्घामै रहेर र पछि मञ्चमा (काव्य वाचन गर्न मात्रै) उक्लिएर कविता वाचन गरेका थिए । मेरो स्मरणले धोका नदिएको भए, त्यो समय उनले त्यही चर्चित कविता वाचन गरेका थिए, ‘भागी हुई लड्कियाँ ।’ पूरै स्तब्ध । र, सन्नाटाका दाँतहरूले चपाएको थियो, प्रज्ञा–प्रतिष्ठानको त्यो हल । जब उनी भन्दै थिए–
‘घरका साङ्लाहरू
कति धेरै देखिन्छन्–
जब घरबाट कुनै केटी भाग्छिन् ?’
अन्ततः धन्वाको बहुचर्चित कविता ‘चम्किलो रात’ का केही हरफतिर म आफूलाई मोड्छु, जसले युद्ध चाहनेहरूको नाभिस्थलमै कटाक्ष गरेको छ ।
‘जब भगतसिंह फाँसीको तख्तातिर सरे
त्यो अहिंसा नै थियो
उनको सबैभन्दा अप्ठेरो सरोकार
यदि उनलाई स्वीकार्य हुन्थ्यो भने
युद्धनायकको न्याय
तब पनि उनी जीवित रहन सक्थे
सहन सक्थे
बिस्तारैबिस्तारै उजाडिँदै र दिनहुँ मर्दै
लाहोरजसरी
बनारस, अमृतसर, लखनउ, इलाहावाद
कानपुर र श्रीनगरजसरी ।’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply