अहंकारले नेकपामा महासंकट, पार्टीपंक्ति एकताको पक्षमा
बुधबार डेस्क
काठमाडौं । करिब दुई तिहाइ जनमत दिँदै आस्था र भरोसाको केन्द्र ठानेर जनताले मुलुकको बागडोर सम्हाल्न सुम्पिएको पार्टी नेकपाभित्रको आन्तरिक किचलो उत्कर्षमा पुगेको छ । खासगरी पार्टी एकतापछि अनेकौंपटक उत्पन्न समस्यालाई अस्थायी व्यवस्थापनबाट समाधान गरेर अगाडि बढ्न खोजिए पनि प्रधानमन्त्री केपी ओलीमा चुलिँदै गएको व्यक्तिवाद र अहंकारमा पूर्ण विराम नलागेका कारण यसपटक भने पार्टी एकता गम्भीर संकटमा परेको छ ।
ओलीले सरकारको नेतृत्व सम्हालेको अढाइ वर्ष गुज्रिसक्दा पनि आन्तरिक समस्याको हल नभएपछि गत २६ भदौमा सम्पन्न स्थायी समिति बैठकले विवाद समाधानका लागि गठित कार्यदलको प्रस्ताव पारित गरेर दीर्घ समाधान खोज्ने निर्णय गरेको थियो । पार्टीलाई विधि र प्रक्रियाअनुसार सञ्चालन गर्ने, सरकार पार्टीको मार्गनिर्देशनमा चल्ने, अर्को चुनावमा अहिलेभन्दा बढी उपलब्धि हासिल हुनेगरी सरकारको काम प्रभावकारी बनाउन केन्द्र र प्रदेश सरकारहरू पुनर्गठन गर्ने, राजनीतिक नियुक्तिहरू पार्टीको परामर्श र निर्णयमा गर्ने र सिंगो पार्टी काम २५ देखि २७ चैतसम्म तोकिएको एकता महाधिवेशनमा केन्द्रित गर्ने स्थायी समिति बैठकले निर्णय गरेको थियो । तर, त्यस निर्णयको स्प्रिटमा पार्टी र सरकार दुवैलाई अगाडि बढाउनुपर्नेमा मूलतः प्रधानमन्त्री ओली तयारै नहुने र कार्यकारी अध्यक्ष प्रचण्ड पनि पार्टीले सुम्पिएको पछिल्लो जिम्मेवारी वहनमा अक्षम साबित हुँदै गएको अवस्थाले नेकपाको अन्तरविरोधले गम्भीर संकट सिर्जना गरेको छ ।
प्रचण्डले स्थायी समितिको निर्णयलाई सामूहिक नेतृत्वका आधारमा पार्टी सञ्चालन गर्नेभन्दा पनि मन्त्री पुनर्गठन र राजनीतिक नियुक्तिमा पूर्वएमाले र पूर्वमाओवादी समूहको ६०÷४० कै भागबन्डाको निरन्तरता हो भन्ने बुझेर ओलीको व्यक्तिवाद र अहंकारलाई थप मलजल गरेकाले पनि अन्तरविरोध पार्टी विभाजन हुन सक्ने तहमा पुगेको पार्टी पंक्तिमा विश्लेषण छ । दुवै अध्यक्षको कमजोरीका कारण नेकपा अल्पमत र बहुमतको अभ्यास गर्ने तयारीसहित फुटको डिलमा पुगेको छ । पछिल्लोपटक सचिवालयका बहुमत सदस्यहरूले बैठकका लागि अनुरोधपत्रै बुझाउनुपर्ने तर ओली टस न मस हुनेजस्ता घटनाक्रमले पनि नेकपा गम्भीर दुर्घटना नजिक पुगेको तथ्यलाई पुष्टि गरेको छ ।
नेकपालाई अहिलेको उपलब्धिको उचाइमा पु¥याउन अग्रज नेताहरू, लाखौं पार्टी नेता–कार्यकताले त्याग र बलिदान गरे पनि पार्टी एकीकरण र सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री ओलीमा आफ्नै कारण सबै उपलब्धि हासिल भएकाले पार्टी र सरकार सञ्चालन जसरी गर्दा पनि हुन्छ भन्ने अहंकार बढ्दै गयो । अर्का अध्यक्ष प्रचण्डले स्थिरताको पक्षमा जनताले व्यक्त गरेको जनमतलाई सम्मान गर्दै अढाइ वर्षमा सरकारको नेतृत्व परिवर्तन गर्ने सहमतिमा लचक बन्दै ओलीलाई नै पाँचवर्षे कार्यकालको प्रधानमन्त्री स्वीकार गरे पनि । तर पनि पार्टीलाई विधि र पद्धतिका आधारमा सामूहिक नेतृत्व प्रणालीका आधारमा सञ्चालन गर्नेभन्दा एकलौटी ढंगले अगाडि बढ्ने, आफ्नै तहको योगदान भएका पूर्वपार्टी प्रमुख भइसकेका नेताहरूलाई बाइपास गर्ने जस्ता ओलीको कार्यशैलीमा ब्रेक भने लागेन । जसले गर्दा पछिल्लोपटक स्थायी समितिको निर्णय उल्लंघन गर्दै गरिएको मन्त्रीहरूको नियुक्ति, कर्णाली प्रदेशमा मुख्यमन्त्री हटाउने प्रयास, पार्टी कार्यकर्ताहरूको हत्यामा संलग्न हुने गुटका कार्यकर्तालाई जोगाउने प्रयास, भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुखसँग पार्टीको जानकारीबिनाको भेटवार्ताजस्ता विषयले ओलीको कार्यशैलीमाथि अनेकौं आशंका जन्मायो । तर, ती सबै विषयमा छलफल गर्न बैठकसमेत नबोलाउने, आफूलाई मै राज्य हुँ जस्तो सर्वेसर्वा ठान्ने ओलीको चिन्तनले पार्टीमा विभाजनको खतरा उत्पन्न भएको छ । यहाँसम्म कि पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई पार्टी फुटाएर जाँदा हुन्छ भन्दै अपमानसमेत गर्ने अवस्थाले ओलीले आत्मालोचनासहित आफ्नो कार्यशैली सच्याउँदै अघि बढ्ने कि जनादेश र पार्टी पंक्तिको भावनाविपरीत पार्टी फुटाउने ? गम्भीर प्रश्न तेर्सिएको छ ।
पछिल्ला दिनमा ओली र प्रचण्डबीचको अन्तरद्वन्द्वका कारण गम्भीर दूरी बढेपछि नेकपाका लाखौं नेता–कार्यकर्ता निराश र चिन्तित बनेका छन् । दुई अध्यक्ष र सचिवालयका नेताहरूबीचको यो अन्तरद्वन्द्वमा आम नेता–कार्यकर्ताहरूले विभिन्न माध्यमबाट एकताको पक्षमा खबरदारी गरिरहेका छन् । पार्टी पंक्ति निराश हुने अवस्थाका कारण पछिल्लो अन्तरद्वन्द्व केवल भागबन्डा र जुँगाको लडाइँका रूपमा अथ्र्याउने अवस्था बनेको छ । उनीहरूमा छाएको निराशासँगै देखिएको मौनताले कथंकदाचित व्यक्तिवाद र अहंकारका कारण पार्टीमा फुट पैदा भए लाखौं कार्यकर्तापंक्ति नेपालको कम्युनिस्ट आन्दोलन विसर्जन भएको अर्थमा निष्क्रिय बन्ने परिस्थिति उत्पन्न भएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply