सिर्जनामा कोरोना–कहर
आर. एम्. डंगोल
समकालीनता बोध र साहित्य
यो समय दोश्रो विश्वयुद्धपछिको सबैभन्दा त्रासदीपूर्ण बन्न पुगेको छ । कोरोना आतङ्कबाट मानव मनस्थिति नराम्ररी प्रभावित छ । पछिल्लो समय कोरोना सङ्क्रमण र मृत्युको ग्राफमा छिमेकी मुलुक भारत अघि लम्किदै छ । यसबाट नेपालको राष्ट्रिय जीवन पनि थिल्थिलो बन्न पुगेको छ । बन्दव्यापारमा ऐतिहासिक मन्दी छाएको छ । प्रशासनिक कामकाजहरू सुस्त छ । शैक्षिक क्षेत्र ठप्प छ । यो समकालीन त्रासदीको क्षण कविहरू के सोच्दै छन् ? उनीहरूले लेखकीय धर्म कसरी धर्म कसरी निर्वाह गर्दै छन् ? यो समयको साहित्यको आत्मसत्यको अन्वेषण अध्ययन र खोजको विषय बन्न पुगेको छ ।
कवितामा कोरोना कहर
चैत्र ११ गतेबाट मुलुकले बन्दाबन्दीको कष्टकर समयबाट गुज्रनुप¥यो । राज्य हुनु र राज्यबाट शासित हुनु अर्थात् निषेध, आदेशको भाषा चुपचाप स्वीकार्नु बाहेक नागरिकस‘ग अन्य विकल्प थिएन । छ महिना लामो बन्दाबन्दीबाट मुलुकले आजसम्म निर्माण गरेको शासकीय र नागरिकी दायित्व तथा राष्ट्रियताको भाष्यका कमजोरीहरू छताछुल्ल हुन पुग्यो । चुपचाप टुलुटुलु घरको कोठामा बन्दी भएर बस्नुपर्दा राष्ट्रिय जीवनमा जे– जस्ता नाटकीय दृश्यहरू देखिए – तिनलाई काव्यिक दैनिकीका रूपमा कविहरूले अभिव्यक्ति दिए । दिँदै आइरहेका छन् । यो समयको यस परिघटनाको सबैभन्दा सुन्दर साक्ष्य हो – वस्तीमा आगो (कविताकृति २०७७)
बासुदेव अधिकारी पेसाले बैङ्कर्स । तर काव्यिक सोचमा यो समयका सबैभन्दा ऊर्जाशील व्यक्तित्व । आफू बाचिरहेको समयको हरहिसाब उनले प्रखर वैचारिकीसहित आफना काव्य कृतिहरूमा प्रस्तुत गर्देै आइरहेका छन् । प्रगतिशील आस्थायात्राको आन्दोलनमा यिनी आन्दोलित भए । आन्दोलनपछि प्राप्त उपलब्धिमा यिनी आलोचनात्मक दृष्टिकोणसहित हिस्सेदार देखिए । यिनी जहा‘ पुगे जीवनको वैषम्यको खोजीमै प्रवृत्त देखिए । यिनीस‘ग असन्तुष्टि, आक्रोश, घुकीर्, विमतिको कवितासोच मात्र होइन आशावादी जीवनबोध, समाधानमुखी लेखकीय दायित्वबोधको कविता सोच पनि छ । बन्दाबन्दी यिनको दृष्टिमा समस्या मात्र होइन, नया‘ जीवनभाष्यको अवसर पनि हो ।
कवितामा वस्तु र समय
अग्नितत्व अर्थात् आगो प्रकृतिप्रदत्त छ । तर यो कहिलेकाहीँ अनपेक्षित भइदिन्छ । यसले वस्तीलाई डढाउँछ, आतङ्कित बनाउ‘छ । कोरोना आगोको प्रतीक । यो डढेलोझैँ फैलिंदो छ विश्वमा । यसमाथिको राजनीति, यसको असरको समाजशास्त्रीय व्याख्या वस्तीमा आगो कविताको मूल कथ्य सन्दर्भ हो । कवितामा तथ्य छ, तथ्याङ्क छ , तर्क छ ,नागरिकी तहको कर्तव्यबोधमाथि प्रश्न छ , शासकीय तहको राजनीतिमाथि शङ्का छ । कोरोना हामीले जाने वुझेको रुघा खोकीको अर्को संस्करण । हामीस‘ग प्राकृतिक उपाय निदानको तर यो परीक्षणीय बन्न सकिरहेको छैन । कवितामा कोरोनाको उद्गमस्थल (चीन), यसको भयावह परिणामस्थल (इटली) हु‘दै विश्व परिभम्रणसहितको भयावह परिदृश्य प्रस्तुत छ ।
कोरोना सन्दर्भमा थोपरिएको विश्वराजनीति सन्दर्भमा उनी भन्छन् ः
कोरोना नागरिक थिएन
बिचरालाई नागरिकता दिइयो रे । (सिम्पल कोरोना, पृ १)
नागरिकी तहको कर्तव्यबोध माथि उनी प्रश्न गर्दै भन्छन् ः
रवीन्द्र समीरहरू
दिनका दुई तीनपटक हामीलाई ब्यु‘झाउँछन्
हामी ब्युँझनुको साटो दिउ‘सै सुत्छौ‘
हामी सधै‘ उत्तेजनामा छौ‘
मानौ‘ रमाइलोमा छौ‘
…..
बिचरा सडक सुनसान छ
त्यै सुनसान हेर्न
हुल हुल बाहिर निस्कन्छौ‘ । ( हाम्रो चर्तिकला, पृ.१०)
शासकीय तहमाथि शङ्का व्यक्त गर्दै उनी भन्छन् ः
प्रिय बन्दाबन्दी
समय नै समय छ अहिले
अवसर नै अवसर अहिले
मौकामा तयारी भइरहेछ
कुर्सीको मल्लयुद्ध । (ब्रोहरू,पृ.२८)
कोरोनाको बन्दाबन्दी अवधिमा राष्ट्रियताको प्रश्न पेचिलो बन्न पुग्यो । विषादीमा राष्ट्रियताको प्रश्न उठ्यो । सीमा मिचिएको बारे गरमागरम वहस भयो , नागरिक सीमा विवादबाट उद्वेलित बने । यहीबेला नया‘ वर्षलाई अङ्कमाल गर्न नसकिनुको पीडा, मजदूर दिवसको ¥यालीमा सहभागी बन्न नसकिनुको उकुसमुकुस, बुद्ध जयन्तीलाई भव्य बनाउन नसकिएको दुखेसो, अनि भुइ‘चालो, सलह प्रकोप, आगलागी र बाढी पहिरोको प्राकृतिक प्रतिकूलता यी र यस्तै द्वन्द्वशील सामाजिक विषय र यस माथिको मानसिक प्रतिक्रियाको डायरी प्रस्तुत छ यस कविताकृतिमा ।
सडकमा अधिकारप्राप्तिको आन्दोलन चलिरहँदा नागरिकी दायित्वबारे कवि संवेदनशील देखिन्छन् । यो फुर्सदको समय हाम्रो जीवन भोगाइ, हाम्रो सांस्कृतिक चिन्तनमाथि आत्मसमीक्षा गरिनुपर्ने उनको जिकिर छ ः
पक्कै ,हामीले धेरै कुरा ग¥यौँ
धेरैलाई गाली ग¥यौ‘
आफूले केही ग¥यौ‘ ?
ठूला क्रान्ति ग¥यौँ
उक्सियौँ
उक्सायौ‘
ध्वंशको गीत गायौ‘
तर आफ्नै माटोमा उम्रिएको
विरल सूर्य जोगाउन सकेनौ‘ । (आत्मसमीक्षा, पृ.४५)
कवितामा पर्यावरणप्रति चासो छ । चराचुरुङ्गी, झ्याउ‘किरीको वासस्थान उजाडिंदै जा‘दा धर्ती कसरी बिरूप बन्दो छ, यसप्रति उनी यस्तो प्रतिक्रिया व्यक्त गर्दछन् ः
प्रिय बन्दाबन्दी
धोएर सफा गरूँ नदीलाई
पखालेर कन्चन बनाऊ‘ हावालाई
फोहोरलाई मल बनाऊ‘
मोटोलाई धन बनाऊ‘
र,त्यहीँ सुन फलाऊ‘ । ( वातावरण दिवसमा , पृ. ६२ )
जीवन जोखिममा छ । तर समाधान पनि हामीसँगै छ । सबैभन्दा सचेत सामाजिक प्राणी हुनुको नाताले मान्छेले कोरोनाबाट बच्न आफ्नो जीवनशैलीमा सामान्य सुधार गरे पुग्छ । कवितामा यसप्रतिको सचेतनाको स्वर तीखो छ । आमाको न्यानो काख पाएसम्म छ, हजुरआमाको खबरदारी हामीले सुनेसम्म रोगव्याधिबाट हामी बच्न सक्छौ‘ । भाइरल बन्दै गइरहेको कोरोनाको जीवाणुबाट बच्न हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, दूरी कायम गर्ने , मास्क नछुटाउने, हाम्रै पराम्परागत सागसब्जी, औषधिमुलो अपनाउने अर्थात् पुदिना, गुर्जो, तुलसी, बेसार, जिम्बु, बाबरीजस्ता जिनिस तथा गुणकारी जडिबुटी, बनस्पतिका प्रयोग गरेरै कोरोनाबाट बच्न सकिने उपाय पनि कवितामा प्रस्तुत गरिएको छ । उनी कोरोनास‘ग लड्न अनुशासन र सचेतनाको आवश्यकता देख्छन् र भन्छन् ः
कोरोनासित
सचेतना नै लड्छ अब । (आखिरी संवोधन, पृ. ९१)
केही समीक्षक चिन्तकले आधुनिक विश्वको इतिहासलाई अब कोरोना उत्तर र कोरोना पूर्व भनेर व्याख्या गर्नुपर्ने मत पनि अघि सारेका छन् । कोरोना उत्तरको विश्वको मानवीय भावदशा के कस्तो हुने हो यसै भन्न सकिन्न । मान्छे समाजविचमा रह‘दारह‘दै र परिवारबिचमा रहँदारहँदै नितान्त एक्लो महसुस गर्दै छन् । जीवनको अङ्कगणित बिग्रदै छ । यस्तो समय कविले आफना विचार र कल्पनालाई कविता सोचको रूपमा अभिव्यक्ति दिएका छन् र यो सोचमा समयको अङ्कन अत्यन्त सुन्दर ढङ्गले प्रस्तुत छ । ११ चैत्र २०७६ बाट बन्दाबन्दीको प्रयोग परीक्षणबाट मुलुक ठप्प थियो । यसअघि नै चैत २ बाट जीवन भोगाइको काव्यिक दैनिकी लेख्न थालेका कविबाट ५ साउन २०७७ सम्म अर्थात् पा‘चमहिना लामो बन्दाबन्दीबिच लेखिएका ६१ वटा कवितामा नेपाली समाज, संस्कृति, राजनीतिको साक्ष्य प्रस्तुत छ ।
कवितामा शिल्प
कविता काव्यमा वस्तु र शिल्प एक आपसमा अन्तर्घुलनको अवस्थामा रहन्छ । नेपाली मनोदशा
तथा समाज सांकृति र राजनीतिजस्ता वस्तु चयनमा शिल्पको सुन्दर र छरितो कालिगढि कवितामा देख्न सकिन्छ । पद विन्यासको क्रममा चयन गरिएका स्ट्याटस हाइपोथेसिस, भाइरस, फेसबुक, भाइरल, पोस्ट गर्नु, टनिक, सिम्पल, स्कोरबोडर्, माक्स, भेन्टिलेटर, सेनिटाइजर, रिपोर्टल्याब, पोजेटिभ रिजल्ट, ग्रिन जोन जस्ता शब्दले कोरोना त्रासदीको विशिष्टता व्यक्त गर्दछन् । सङ्ग्रहका कवितामा जनजिब्रोका शब्दहरूको सरल विन्यास छ । कविता शब्दाडम्बर, प्रयुक्तिगत अस्पष्टताबाट मुक्त छ । यस सङ्ग्रहका अधिकांश कवितामा वाक्यात्मक संरचना पनि छोटा देखिन्छन् । कतिपय पद पदावली, वाक्यहरूको समानान्तर आवृत्तिले लयात्मकता सिर्जना गरेको छ । समकालीन राजनीतिक, ऐतिहासिक, राष्ट्रिय चेतनालाई सरल सामाजिक विम्बले घनत्व प्रदान गरेको छ । कवि आफै भोक्ता र दृष्टा बनेर विषयलाई नाटकीकरण गर्ने कथ्य प्रस्तुतिको पद्धतिले पनि कवित्वमा ओज प्रदान गरेको छ ।
निष्कर्ष
नेपाली कविता परम्परामा समकालीन जीवन भोगाइको काव्यिक दस्तावेजको रूपमा वस्तीमा आगो कविता सङ्ग्रहलाई लिन सकिन्छ । कवितामा मिठो व्यङ्ग्य,तीतो यथार्थता,भद्र असहमतिका साथ जीवनको, आफनो समयको आत्मसमीक्षा गरिएको छ । छोटा छरिता आयामिक संरचना, सरल बिम्व प्रतीक योजना, लयात्मक पदविन्याससहित प्रगतिशील जीबनदृष्टि प्रस्तुतिका दृष्टिले यो कृति उल्लेखनीय र समकालीनता बोधका दृष्टिले पठनीय बन्न पुगेको छ । बन्दाबन्दी सकि‘दा एउटा स‘गालो दिने सोचअनुसार यस कृतिको प्रकाशन भएको र बन्दाबन्दीलाई सम्बोधन गर्दै सिर्जनायात्रा थालेका कवि आफनो उद्देश्यमा सफल देखिन्छन् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply