गन्जागोल राजनीति
डा. गोन्दिबहादुर थापा
केही समयदेखि देशको राजनीतिक वातावरण रनभुल्लमा छ । फेरि सत्तासीन पार्टी फुट्ने, सरकार ढल्ने, राजनीतिक अस्थिरता, अराजकता, चौतर्फी अनुशासनहीनता र अराजकता फैलिने आदि अनेक कुरा देशैभरि चर्चामा छन् । अर्कोतिर कोभिड–१९ को आतंक छँदैछ, त्यसले गर्दा अर्थतन्त्र लडखडाउँदो छ र समग्र शैक्षिक क्षेत्र अस्तव्यस्त छ । बेराजगारी र भोकमरीको अवस्था पनि टड्कारो रूपमा देखिएको छ । कोभिड–१९ को आतंकसँग जुध्दै अर्थतन्त्र जागृत पार्नुपर्ने र बेराजगार तथा भोकमरीमा परेकाहरूको उद्धार गर्नुपर्ने यो समयमा सत्तासीन पार्टीभित्रको उग्र विवादले सबैको ध्यान तानेको छ । अहिले के होला, भोलि के होलाको स्थिति छ सत्तासीन पार्टीभित्र । यसले गर्दा अर्थतन्त्रका कुरा त ओझेलमा परेपरे, कोभिड–१९ को महामारीमा समेत बेवास्ता हुँदैछ कि जस्तो महसुस भएको छ । यस्तो अवस्थामा प्रशासनयन्त्रको पनि काम गर्ने मनस्थिति हुँदैन । आपराधिक तŒवले टाउको पनि यस्तै बेलामा उठाउँछन् ।
वर्तमान र पूर्व गरी प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री भइसकेका दर्जनौं नेताहरू भएको विशाल सत्तासीन पार्टीमा केही विवाद हुनुलाई त अस्वाभाविक नमानौं र यस्तो पार्टी सञ्चालन गर्नु पनि कम चुनौतीको कुरा होईन । तर, उठेका विवादलाई सुझबुझका साथ समयमै व्यवस्थापन गर्नमा कमीकमजोरी हुन जाँदा परिस्थिति नियन्त्रणबाहिर जान खोज्दैछ । जान खोज्दैछ मात्र होइन, लगभग गइ नै सकेको छ भन्नुपर्छ । यसमा देशभित्रको तŒव र सञ्चार माध्यम तथा देशबाहिरका शक्तिको पनि भूमिका छैन भन्न सकिने अवस्था छैन । भूमिका जजसको जेजस्तो भए पनि यतिखेर देशको सत्तापक्षीय राजनीति कहालीलाग्दो अवस्थामा पुगेकोे छ ।
विवाद गहिरिँदै गएर गत कात्तिक २८ गतेको बैठकमा दोस्रा अध्यक्षले अप्रत्यासित रूपमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन (आरोपपत्र) पेस गरेपछि विवादले उग्र रूप लिएको छ । सो कथित प्रतिवेदन आएपछि प्रधानमन्त्री र उनका सहयोगी के गरौं र कसो गरांैको स्थितिमा पुगेको कुरा सुरुमा जवाफ नदिने र फिर्ता नगरे संवादसमेत नगरिने भनियो र घनीभूत छलफल र परामर्श गरेपछि लिखित रूपमै प्रतिवाद गरिने भनिएबाट बुझ्न सकिन्छ । साथै प्रधानमन्त्रीले आरोप प्रमाणित भए आफू दण्डित हुन तयार हुने र प्रमाणित नभए आरोप लगाउनेहरू दण्डित हुनुपर्ने कि नपर्ने भनी प्रश्न गरेपछि परिस्थितिले अझ पेचिलो मोड लिएको छ । प्रधानमन्त्रीमाथि लगाइएका आरोपहरू कसले, कसरी र कहिले प्रमाणित गर्ने हो यो यस्ता राजनीतिक बैठकबाट सम्भव नहुने कुरा प्रस्टै छ । साथै अब मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्रीले गर्ने प्रतिवाद र लगाउने आरोपको शृंखलाबाट पनि विवादलाई अझ गम्भीर बनाउने निश्चित छ । बैठकमा ती दुवै प्रतिवेदनमाथि सामान्य छलफल होला । छलफल त के। हो र होइनमा चर्काचर्की होला । साँच्चिकै छलफल गराउने हो भने स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा होला । त्यहाँ पनि दुवैथरीका आरोपहरूको निरूपण हुन सक्नेछैन । त्यसैले, बैठकअघिका दिनहरूमा अनौपचारिक घेटघाट गरी घनीभूत रूपमा छलफल र परामर्श गरेर निकास निकाल्नुपर्ने हुन्छ । अहिले दुई अध्यक्षबीच संवाद शून्यताको अवस्था छ । दुवै पक्षका दोस्रो र तेस्रो तहका नेताहरूले सक्रियतापूर्वक यस्ता छलफल र परामर्श गरी दुई अध्यक्षबीच संवाद हुने वातावरण बनाउनुपर्नेछ र बैठकहरूबाट निकास निकाल्नुपर्छ । यदि त्यसो हुन नसक्ने हो भने स्थिति जतातिर पनि जान सक्नेछ ।
केही महŒवपूर्ण विषयमा दुईथरीमा भिन्नता नभई यस किसिमका विवाद उत्पन्न हँुदैनन् । प्रधानमन्त्रीमा भारतले लगाएको नाकाबन्दीमा अडान लिएको र पूर्वमाओवादी केन्द्रसँग गठबन्धन र एकीकरणको सूत्रधार पनि आफैं भई देशभरि चुनाव जित्ने वातावरण आफूले बनाएकाले यो बहुमतको सत्ता आफ्नो, फगत आफ्नो पौरखले मात्र प्राप्त भएकाले यसको लाभ पनि आफूले मात्र लिनुपर्छ भन्ने धारणा रहेको प्रतीत हुन्छ । चुनावपूर्व त्यो परिपञ्च नमिलाएको भए पार्टीले यस्तो प्रकृतिको चुनाव प्रणालीअन्तर्गत यत्रो बहुमत ल्याउन सक्दैनथ्यो र पार्टीले पहिले पहिलेका चुनावमा झंै नेपाली कांग्रेसको हाराहारीमा मात्र सिट जित्न सक्थ्यो, त्यसैले यत्रो अतिरिक्त सिट पार्टी अध्यक्षको हैसियतमा चुनावपूर्व आफूले मिलाएको तारतम्यबाट मात्र सम्भव भएको हो भन्ने प्रधानमन्त्रीको दाबी रहेको कुरा बुझ्न सकिन्छ । त्यहीअनुसार प्रधानमन्त्रीले सरकार गठनदेखि सरकारले गर्ने सानाठूला प्रायः सबै काम पार्टीलाई बाहिर राखी एक्लै गर्न थालियो । यो भनेको प्रकारान्तरले तिमीहरू कसैले पनि गर्न नसकेको काम मैले गरेर देखाएकाले चुनाव जितेपछि मैले गर्ने काममा कसैले आँखा लगाउन पाउँदैनांै भन्ने नै हो । प्रधानमन्त्रीको अहंकार बढ्नुको कारण पनि यही हुन सक्छ । यो भनेको धेरैको मेहनतबाट तयार भएको फसल (अवसर) एकैजनाले हडपेजस्तै हो । यस्तो कुरा अरू नेताहरूलाई चित्त बुझेन र नबुझ्नु स्वाभाविक पनि थियो । यो विवादको चुरो कुरो यही नै हो भन्दा वास्तविकताको नजिक भइन्छ ।
सामान्य रूपमा हेर्दा जसको पौरख उसैको उपभोग हुनु धेरै सन्दर्भमा स्वाभाविक होला । तर, राजनीतिक पार्टीमा यस्तो हँुदैन र हुनु पनि हुँदैन भन्ने इतर पक्षको भनाइ रहेको पाइन्छ, जसलाई अनुचित भन्न सकिँदैन । किनभने, देशभरि सम्पूर्ण पार्टी कार्यकर्ता व्यापक मात्रामा परिचालित नभई यस्तो आम चुनाव जित्ने कल्पना गर्न सकिँदैन । आम चुनावमा सम्पूर्ण कार्यकर्ता पार्टीका उम्मेदवार जिताउन मरिमेटेर लागे । त्यो बेलामा पार्टीभित्र यो पक्ष र त्यो पक्ष भन्ने कुरा भएन भने चुनाव जितेपछि आफ्नो र अर्काको भनेर पनपक्ष गर्न पाइँदैन भन्ने इतर पक्षको भनाइलाई कसरी अनुचित भन्ने ? दलीय व्यवस्थामा राजनीतिक पार्टी हुनु र पार्टी भएपछि स्थानीयदेखि केन्द्रीय तहसम्म विभिन्न समिति र कमिटी हुनु अपरिहार्य हुन्छ । र, ती सबै कमिटीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न विधान बनाइन्छ र कमिटीहरू त्यही विधानबमोजिम सञ्चालित हुन्छन् । तब नै दलीय व्यवस्था चल्छ र दुनियाँभरिमा दलीय व्यवस्था यही पद्धतिअनुसार चलिरहेको छ । दलीय लोकतन्त्रलाई व्यवस्थित रूपमा सञ्चालन गर्न यो नै सर्वमान्य र विश्वव्यापी परम्परा हो । यसलाई उपेक्षा गर्ने र पार्टीभन्दा व्यक्ति ठूलो ठान्ने प्रवृत्ति दलीय लोकतन्त्रसम्म त मान्न सकिँदैन । प्रधानमन्त्रीको यही सोच र यही शैली यो सबै विवाद र विग्रहको जड हो भन्ने इतर पक्षका नेताहरूको निचोड छ । यसमा इतर पक्षको अर्घेल्याइँ देखिँदैन । किनभने, प्रधानमन्त्रीका सोच र कार्यशैलीका धेरै पक्षबारे सर्वसाधारण त जानकार भइसकेका छन् भने दशकौंसम्म सहकार्य गर्दै आएका नेताहरू त झन्डै शतप्रतिशत जानकार छन् । त्यसैले, माकुरा आफंैले बुनेको जालमा फसेर संकटमा परे झैं प्रधानमन्त्री संकटमा परेका छन् वा संकटमा परेको बहानाबाजी गर्दैछन् । यसबाट प्रधानमन्त्री कति तनावमा छन् वा तनावमै छैनन् भन्न सकिँदैन तर उनीइतरका सबै नेता, कार्यकता र सम्पूर्ण जनता नै धेरैथोरै तनावमा छन्, जस्तो ः जालझेललाई रमाइलो मान्नेहरू अरूलाई तनावमा राखेर आफू बिन्दास रहन्छन् । तर, यी सबै कुराबाट देश, जनता, अर्थतन्त्र र पार्टी पीडित भएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply