पाठ सिक्ने समय
विवश वस्ति
सन् २००७ मा एउटा सन्देशमूलक हिन्दी चलचित्र आएको थियो– ‘चक दे इन्डिया’ । कथावस्तुका हिसाबले उम्दा त्यो फिल्म व्यावसायिक रूपले पनि निकै सफल ठहरियो । बलिउडमा जमेका कलाकार आमिर खानले अभिनय गरेका आधारमा मात्र होइन, बेजोड कथावस्तु र त्यसलाई पस्किने शैलीलगायत अनेक तालमेलले फिल्म चम्कियो । तर, त्यो फिल्म निर्माणको अन्तरकथा भने बेग्लै थियो । एउटा फिल्मलाई उम्दा तुल्याउन निर्देशकलगायत सम्पूर्ण सिनेकर्मीहरूले जति प्रयत्न, सीप र मन–मस्तिष्क परिचालित हुन्छन्, त्योभन्दा कैयौं गुणा बढी मिहिनेत पर्छ, पटकथा लेखकको । फिल्मलाई चम्काउने काम निर्देशकले गरे पनि त्यसलाई एउटा निश्चित आकारमा ढाल्ने मुख्य शिल्पकार नै पटकथा लेखक हुन् भन्दा अत्युक्ति नहोला ।
‘चक दे इन्डिया’ को पटकथा तथा संवाद लेखेका थिए, जयदीप साहनीले । महिला हकी खेलाडीको कथालाई केन्द्रमा राखेर लेखिएको उक्त फिल्म लेख्न साहनीले यति धेरै परिश्रम गरेका थिए, त्यसको रोचक कथा छ । त्यही फिल्म लेख्नकै निम्ति उनले बंगलोरको एउटा महिला हकी प्रशिक्षण केन्द्रमा करिब ६ महिना बिताएका थिए । सो प्रशिक्षण केन्द्रमा शोध–विद्यार्थीको हैसियतमा उनले त्यति अवधि बिताएपश्चात् नै एउटा उम्दा फिल्म लेख्न सके । एउटा फिल्मलाई चाहिने ‘मसला’ का साथै शोधका कारण पनि फिल्म चम्कियो ।
कोरोना–कहरले विश्वका अधिकांश देशहरूका साथै हाम्रो मुलुक पनि केही समययता थिल्थिलो छ । अर्थतन्त्र डावाडोल छ । अझै पनि त्रासको वातावरण पन्छिन सकेको छैन । गएको चैतदेखि लकडाउन सुरु भएपछि शिथिल बनेको सामाजिक परिवेश अझै तंग्रिन सकेको छैन । लकडाउनसँगै बन्द भए सिनेमा हलहरू र प्रदर्शित हुन छाडे नेपाली फिल्महरू पनि । बितेको नौ महिनाको अवधिमा न हलहरू खुल्न सकेका छन्, न त एउटै फिल्म पनि बन्न सकेका छन् । आशा गरौं, कोरोनाको जोखिम कम हुँदै जाला र नेपाली चलचित्र क्षेत्र पूर्ववत् अवस्थामै फर्केला ।
कोरोना–अवधिभन्दा पूर्ववर्ती दिनहरूमा नेपाली चलचित्र क्षेत्रले राम्रै गति पक्रिरहेको थियो । वर्षमा सयौंका संख्यामा फिल्महरू निर्माण हुन्थे । तर विडम्बना, एकाधबाहेक अधिकांश चलचित्रले कहिल्यै सफलताको मीठो स्वाद चाख्न पाएनन् । के कारण अधिकांश नेपाली फिल्महरू असफल ठहरिए त ? कतिपयले तर्क गर्लान्– हाम्रो बजारै सानो छ । अरू पनि तर्कहरू पस्किन सकिएला । तर, चुरो पक्ष त अधिकांश नेपाली फिल्महरूका कथावस्तु र पटकथामा देखिएको कमजोरीपनलाई नै मान्न सकिन्छ । एकाधलाई छाडेर हेर्ने हो भने आम मानिसको भावनालाई प्रतिनिधित्व गर्न असफल र कमजोर कथावस्तु, पटकथामा खँदिलोपन र चुस्तताको अभाव, हिन्दी चलचित्रको ठाडो प्रभावलगायत कारणले अधिकांश नेपाली फिल्महरू दर्शकको रुचि–क्षेत्रभन्दा बाहिर परेको यथार्थलाई स्विकार्न करै लाग्छ ।
पछिल्लो समय, चलचित्र क्षेत्रमा समर्पित केही सिनेकर्मीहरूले भने नेपाली परिवेश र जनजीवनसँग प्रत्यक्षतः जोडिएका मौलिक कथावस्तुहरूको खोजी गर्ने र त्यसलाई सिनेरूपी माला गुथ्ने कार्यमा समर्पण–भाव पोख्दै आएका छन् । त्यसले सफलता पनि दिलाएको छ । तर, बहुसंख्यक सिनेकर्मीहरूमा भने कथावस्तुको खोजीदेखि पटकथा लेखनमा समेत गम्भीर कार्यप्रति न्यूनता देखिन्छ । हुन त, बलिउड–मार्काभन्दा केही पर हटेर चलचित्र निर्माणमा केही नयाँपन दिने प्रयत्न त हुन थालेका छन् । प्रविधिगत समृद्धिले पनि धेरै अवसरहरू दिलाएका छन् । तर, अझै पनि पुरानै ढर्राका फिल्म निर्माण गर्न चाहने पंक्तिकै नेपाली चलचित्र वृत्तमा बोलवाला रहेको हुँदा अपेक्षाकृत रूपमा दर्शकहरूले नयाँ स्वाद र पन भने पाउन सकेका छैनन् ।
हुन त हरेक सिनेकर्मीहरू फिल्मको पटकथा समृद्ध, प्रभावकारी र चुस्त हुनुपर्नेमा एकमत रहँदै आएका छन् । फिल्मलाई सफलताको गोरेटोमा हिँडाउने प्रथम आधार नै समृद्ध पटकथा हो भन्नेमा कसैमा पनि द्विविधा देखिँदैन । तर, व्यवहारमा भने ठीक उल्टो मार्गमा हिँडिरहेका छन्, अधिकांश सिनेकर्मीहरू । एउटा फिल्म बनाउन अरू पक्षहरूमा आँखा चिम्लेर जेजति खर्च गर्छन्, पटकथा लेखनमा भने न त्यति खर्च गर्न नै आवश्यक ठान्छन्, न पटकथा लेख्नेलाई कुनै महŒव नै दिन चाहन्छन् । पूर्ववर्ती समयमा नेपालका अधिकांश पटकथा–लेखकहरूलाई निर्माताहरूले नै हिन्दी वा अरू भाषाका चलचित्रहरूको ‘फोटोकपी’ गर्न सिकाएका हुँदा अझै पनि निर्माताहरूको मानसिकता कस्तो छ भने पटकथा–लेखकहरू भने अरू फिल्मको सारसुर गर्ने पात्र मात्रै हुन् । त्यही कारण, अधिकांश सिनेकर्मीहरू पटकथा–लेखकहरूलाई सीमित पारिश्रमिक दिएर राम्रो फिल्म लेखाउन चाहन्छन् । यो असम्भव कुरा हो ।
आखिर जग हाल्ने काम पटकथा–लेखककै हो । तर, जग नै बलियो भएन भने घरको संरचना बलियो नहुनु स्वाभाविकै हो । स्तरीय कथावस्तुको चयन र त्यसपछि प्रभावशाली पटकथा–लेखनमा ध्यान नपु¥याउने हो भने नेपाली चलचित्रहरूले अहिले जुन दशा भोग्दै आएका छन्, त्यही कैयांै वर्षसम्म कायम रहनेमा दुईमत छैन । तसर्थ, अबका दिनहरूमा आफ्नै परिवेशका मौलिक कथालाई टिपेर र पटकथा–लेखनमा पर्याप्त परिश्रम गर्ने अवस्था तयार भयो भने नेपाली फिल्मले विश्व–बजारमा समेत हस्तक्षेप गर्न सक्नेछ । सिनेकर्मीहरूले पाठ सिक्नैपर्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply