उपत्यकाको अधिकांश मिनरल वाटर गुणस्तहिन
शन्तराम बिडारी
काठमाडौं । काठमाडौं उपत्यकामा बिक्रीवितरण हुने जार तथा बोतलको पिउने पानीमा गुणस्तरहीन भेटिने गरेको छ । उपत्यकामा बिक्रीवितरण हुँदै आएका जारको पानीमा गुणस्तर समस्या देखिएपछि विभिन्न रूपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा उपभोक्ता हित संरक्षण विभागमा विभिन्न उद्योगविरुद्ध मुद्दा दायर हुने गरेको भए तापनि त्यस्ता मुद्दाको अहिलेसम्म कुनै छानबिनसमेत हुन सकेको छैन ।
हरेक बस्तीमा खानेपानीको कम्पनी खुल्नु उचित होइन, ती क्षेत्रका स्थानियवासी खानेपानीको अभाव खेप्न बाध्य छन्, किनकि पानी व्यवसायीहरूले ठूलो लगानी गरेर डिप बोरिङ खन्छन् पानी निकाल्छन् उद्योग सञ्चालन गर्छन्, निरीह जनता ठूलो रकम खर्चेर बोरिङ खन्न सक्दैनन् र उनीहरू काकाकुल बन्न बाध्य छन्, कुनै पनि पानी उद्योगहरु उपत्यकामा खुल्न वा स्थापना गर्न दिन नहुने विज्ञहरूको धारणा रहेको छ । पानी उद्योग सञ्चालन गर्न निजि क्षेत्रलाई दिने हो भने न्यूनतम २० रोपनी जग्गा सो कम्पनीको हुनुुपर्ने नियमक निकायले मापदण्ड तयार गर्नुपर्ने धारणा विज्ञहरुको रहेको छ ।
उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड
विगत १० वर्षदेखि मनहरा खोलाबाट सीधै पानी तानेर जारमा भर्दै उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै आएको मूलपानीमा रहेको सिद्धिकाली अक्वा पानी उद्योगमा सरकारी निकायले अनुसन्धान तथा अनुगमन नगर्दा गुणस्तरहीन पानी बेच्ने कार्यमा तीव्रता आएको छ ।
सरकारी निकायले अनुगमन र अनुसन्धान नगरि पानी बिक्री गर्ने अनुमित दिएपछि सो अवैध धन्दाले तीव्रता पाएको छ । वर्षौंदेखि गुणस्तहीन पानी बेच्दै आएको सिद्धिकाली अक्वा पानी उद्योगको मालिक सरोज गिरी हुन् । सिधै जमिनमुनीको पानी तानी जारमा भरेर अक्वा फ्रिडम, किंक र गुण नामक ब्रान्डका पानी अहिले बेचिँदै आएको छ । सो पानी गुणस्तरहीन भएको, जारभित्र कीरा फेलापरेको बारेमा समाचार समेत प्रकाशन भएको थियो । सरकारी कर्मचारीलाई कमिसन दिँदै गुणस्तरहिन पानीको बिक्री गर्दै आएको सो कम्पनीको विरुद्धमा सरकारी निकायमा मुद्दा दर्ता हुँदा समेत सरकारले सो बारे कुनै छानबिनसमेत गरेको छैन । दसैंअघि नै परेको सो मुद्दा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले दर्ता गराएका थिए ।
परेको मुद्दालाई बेवास्ता गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको केही पानी उद्योगमा अनुगमन गरे पनि कारबाही भने केही गरेको छैन । विभागले मनमैजुस्थित त्रिशूली मिनरल एन्ड बेभरेज प्रालिलाई कारबाही गरेको जनाए पनि के कारबाही भयो भन्नेबारे भने केही खुलाएको छैन । विभागमा परेको उजुरीका आधारमा अनुगमन गर्दा उक्त कम्पनीले इजाजतबिनै भूमिगत पानी तानेर जार तथा बोटलमा हाली बजार पठाउने गरेको भेटिएको हो । पानी उद्योग सञ्चालनको अनुमति नलिएको र गुणस्तरहीन पानी बेच्ने उक्त कम्पनीलाई विभागले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । अनुगमनका क्रममा उक्त उद्योगले अनुमतिबिनै भूमिगत पानी तान्ने गरेको र उक्त पानी प्रशोधनसमेत नगरी पिउनयोग्य भनी बजार पठाउने गरिएको भेटिएको हो । विभागको टोलीले टोखा नगरपालिकामा अनुगमन गर्दा शुभलक्ष्मी फुड एन्ड बेभरेज प्रालिले उद्योग दर्ता र खाद्य अनुमतिपत्रबिना भूमिगत पानी तानी बिक्रीवितरण गरिरहेको भेटिएको थियो । उक्त कम्पनीले बजारमा पठाएको जारमा लेउ र कीरा भेटिएपछि विभागले अनुगमन गरेको थियो ।
मूल्यमा मनोमानी
सरकारले तोकिदिएको मूल्यलाई लत्याउँदै पानी उद्योगीहरूले जार र बोतलको पानीमा मूल्य बढाउन व्यापारीहरूलाई पठाएको गोप्य पत्र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बरामद गरेसँगै यो अवैध धन्दा सार्वजनिक भएको छ ।
नेपाल बोटल वाटर संघले आफूमातहतका पानी व्यापारीलाई जार र बोतलको पानीमा मूल्य बढाई बजारमा कार्टेलिङ गर्न पत्राचार गरेको भेटिएको छ । चाडपर्वको समयमा अत्यधिक पानीको माग हुने भएको र सोही मौका छोप्दै पानी व्यवसायीहरुले बढी मूल्य निर्धारण गरेर बिक्री गर्दै आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्यस्ता कम्पनीमाथि कारबाही गर्ने तयारीसमेत गरेको छ ।
वाणिज्य विभागका अनुसार गत साउनमा पानीको मूल्यका विषयमा गरेको अध्ययन प्रतिवेदनको पानालाई फोटोकपी गरेर त्यसैका आधारमा मूल्य तोक्न भनेर पत्राचार गरेको भेटिएको छ ।
पानीको मूल्यमा कार्टेलिङ गरेर पानी व्यवसायीलाई पत्राचार गरेको भेटिएपछि विभागले कडा कदम चाल्ने बताएको छ । नेपाल बोटल वाटर संघले आफूखुसी पत्राचार गरेको विषयमा कार्टेलिङ गरेको कसुरमा विभागले कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ । विभागले बजार अनुगमनका क्रममा पानीको मूल्य बढाउन संघका तर्फबाट प्रशान्त डंगोलले हस्ताक्षर गरेको पत्र बरामद गरेको हो । किन मूल्य वृद्धि भएको हो भन्ने विषयमा बजार अनुगमन गर्दा विभागले बजारबाट कार्टेलिङ गर्न दिएको पत्र भेटी बरामद गरेको समेत जनाएको छ ।
पानी व्यापारीलाई मूल्यमा कार्टेलिङ गर्न संघबाट गत असोज १९ गते पत्राचार गरेको भेटिएको छ । सो संघले विद्यमान ऐनकानुनविपरीत पत्र पठाएको ठहर विभागको रहेको छ ।
वाणिज्य विभागले गत भदौ १० गतेबाट लागु हुनेगरी जारको पानीमा प्रतिजार ५० रुपैयाँ र बोतलमा प्रतिबोतल १६ रुपैयाँ अधिकतम खुद्रा बिक्री मूल्य तोकेको थियो ।
तर, बजार मूल्यभन्दा बढी एमआरपी तोकिएको भन्दै प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले उक्त मूल्य कायम नगर्न निर्देशन दिएको थियो । व्यापारीले भने सरकारले निर्धारण गरेको मूल्यलाई लत्याउँदै प्रतिजार ६० रुपैयाँ र प्रतिबोटल ४५ रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् ।
विभागले संघका प्रतिनिधिलाई सात दिनभित्र विभागमा उपस्थित भई स्पष्टीकरण दिएको थियो । विभागले प्रशोधित पिउने पानी बढी मूल्यमा बिक्री गर्नेलाई कारवाही गर्ने भन्दै गत महिनामै सबैलाई पत्राचार गरेको थियो । बिनाअनुमति पानीको मूल्य बढाएको र घटाउन आग्रह गर्दा समेत नटेरेकाले पानी उद्योगी, ढुवानीकर्ता तथा खुद्रा व्यापारीलाई कारबाही गर्ने तयारीसमेत गरेको विभागले जनाएको छ ।
पानी माफियाहरुको कर्तुत
आफूलाई खानेपानी व्यवसायी तथा ठूलो उद्यमी भन्दै परिचय दिने खानेपानी माफियाहरुको कर्तुत छताछुल्ल भएको छ । आफूलाई ठूलो पानी व्यावसायी भएको बताउने जार तथा बोटल पानी उद्योगका व्यवसायीहरुको मात्र नभएर संगठनकै कर्तुत यतिबेला छताछुल्ल भएको हो । खानेपानी व्यवसायीहरूको संगठनका रूपमा स्थापना भएको नेपाल बोटल वाटर उद्योग संघ यतिबेला पानी व्यवसायी नभएर पानी माफियाहरूको संगठनका रूपमा स्थापित भएको बताइएको छ । २०६५ सालमा स्थापना भएको सो संगठन आज ६ वर्षदेखि नवीकरण नगरेकोले संस्था आफंैमा अवैध संस्थाको रुपमा खडा भएको र बैंकमा खातासमेत नभएको संस्थाले आफूलाई ठूलो व्यावसायिक संगठन भन्दै सरकारलाई गुमराहमा पारेको बताइन्छ । सो संगठनले देशभर संगठन विस्तारका नाममा रकम असुल गरी ठगी धन्दा गरेको खुलासा भएको छ । प्रक्रिया नै नपुराई व्यवसायीहरुको भेला बोलाई त्यही भेलालाई अधिवेशन हो भन्दै नयाँ कार्यसमिति गठन गर्नुका साथै विधान विपरीत उपाध्यक्ष तथा उपमहासचिव पद स्थापना गरी अवैध पद वितरण गर्न समेत यतिबेला सो संस्थाका पदाधिकारीहरु सक्रिय रहेको बताइएको छ । संस्थाको नवीकरण र बैंकमा खातासमेत नभएको सो संस्थाका अध्यक्ष सुभास भण्डारी छन् ।
सरकारलाई आवश्यक भ्याटसहितको राजस्व बुझाउँछु भन्दै उद्योग सञ्चालन गर्ने पानी व्यवसायीहरुको हर्कत यतिबेला राज्यलाई थाहा छैन, राज्य उनीहरुबाट मोटो रकम भ्याट आउने आशामा छ, तथापि पानी व्यवासायीहरु बिलबिजक जारी नगरी कारोबार गर्छन्, राज्य लोभमा ठगिएको छ, सर्वसाधारणदेखि स्थानीय र राज्य ठगी गर्नेहरूको लिस्टमा यतिबेला पानी माफियाहरू अग्रपंक्तिमा रहेको बताइएको छ ।
दुई आनामा बोरिङ ः उपत्यकावासी काकाकुल
पानी व्यवसायीहरूले एक दुई आना जग्गा लिने र १०औं लाख बोरिङमा खर्च गरि पानी उद्योग सञ्चालन गर्नेहरुको कारण उद्योग आसपासका बस्तीहरू काकाकुल बन्दै आएका छन् । यसको पीडा पानी उद्योग सञ्चालन भएका आसपासका बासिन्दाले भोग्दै आएको छ, तथापि भ्याटसहितको मोटो करको लोभमा राज्यले आम सर्वसाधाररणलाई काकाकुल बनाई ठगी गर्दा समेत राज्यले पानी माफियाहरुको हर्कतलाई नबुझ्नुले यतिबेला आम जनता सरकारबाट रुष्ट भएको पानी उद्योगका बस्तीहरूका बासिन्दाहरुको भनाइबाट पुष्टि हुन्छ ।
सरकारले पानी उद्योग संचालन गर्ने हो भने आसपासका जनतालाई निशुल्क पानी वितरण गरिन्छ र जनता पीडित वा काकाकुल हुनु पर्दैन । तथापि पानी माफियाहरुले सानो तिनो क्षेत्रफलबाट उद्योग संचालन गदा स्थानियबासीहरु पीडित हुनु स्वभाविकै हो, त्यसैले जल, जमिन, जंगल, जडिबुटी र जैविक उत्पादनमा सरकारको अधिकार रहन्छ, यी क्षेत्रको सर्वाधिकार सरकारमा निहित रहन्छ र रहनुपनि पर्छ । सरकारले एकद्धार प्रणालीबाट उत्पादन तथा वितरण गर्नुपर्ने खानेपानीमा यतिबेला माफियाहरुले राज गरेका छन् र सरकार मुकदर्शक हुनु बाहेक केही भएको छैन् । पिउने जारको पानी समेत पछिल्लो समयमा दूषित भएको पाइएको छ । जारको पानीमा ९७ प्रतिशतसम्म कोलिफर्म र १० प्रतिशतसम्म फेइकल भेटिएपछि शुद्ध मानिएको जारको पानी समेत पिउन योग्य नभएको पाइएको हो ।
सामान्य रुपमा पानी छानेर सिधै जारमा भरी बजारमा पठाएको सिलबन्दी जारभित्र किरा समेत भेटिएको छ । गुणस्तहिन पानी भरी उपभोक्ताहरुको स्वास्थ्यमाथी खेलवाड गर्ने उद्योगलाई सरकारी निकायबाटै उन्मुक्ती र संरक्षण दिएको भेटिएको हो ।
पानीमा मनोमानी गर्ने को को ?
पछिल्लो समय व्यापारीहरुले मिनरल वाटरको गुणस्तरमा लापरवाही गर्दै आएका छन् । धेरै गुनासो पछि सरोकारवालाले गरेको अनुगमनमा गुणस्तरहीन पानी बेचेको भेटिएको हो । त्यस्तो भेटिएसंगै गुणस्तहीन पानी बेच्ने र पानी जस्तो जनस्वास्थ्यसंग प्रत्यक्ष जोडिएको उत्पादनमा लापरवाही गर्नेलाई कारवाही गरिएको हो । गोकर्णेश्वर क्षेत्रमा गुणस्तरहीन पानी बेच्दै आएका ४ उद्योगलाई सिल गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गोकर्णेश्वर क्षेत्रका ४ पानी उद्योगमा अनुगमन गरेको छ । उपभोक्ताबाट आएको उजुरीका आधारमा विभागले अनुगमन गरेको हो । अनुगमन गर्दा ती उद्योगले गुणस्तरहीन पानी बेचेको पाइएको विभागले जनाएको छ ।
दशैं आसपास पानी उद्योग अनुगमन गरिएको थियो । टोलीले पानी उद्योगमा छापा मार्दा ती उद्योगले इजाजत नलिई, खाद्य अनुमती पत्र बिना र ट्रेडमार्क दर्ता नगरी गुणस्तरहीन बोरिङ गरेको पानी उत्पादन तथा बेचबिखन गरेको पाइएको हो । मुलत यो काममा बढी अर्घेल्याँइ डाँफे मिनरल वाटर र गोर्खा वेभरेजको भेटिएपछि तिनलाई शिलबन्दी गरिएको छ । त्यस्तै ब्लुपाइन मिनरल वाटर र सप्रिया ट्रेडर्सलाई बिलबिजक र व्यवसाय दर्ताको कागजातसहित ७ दिनभित्र उपस्थित हुन आदेश दिइएको छ । यता गुणस्तरहीन भन्दै ६ महिनाअघि सिल गरिएको पानी उद्योगबाट निरन्तर उत्पादन र बिक्री भईरहेको खुलेको छ । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको त्रिकोण बेभरेज नामक पानी उद्योगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले लगाएको सिल तोडेर उत्पादन गरिरहेको पत्ता लागेको हो । जनस्वास्थ्यसंग प्रत्यक्ष जोडिएको र जीवन बाँच्नका लागि अत्यावश्यक पानी उद्योगमा सरकारी सिल तोडेर पानी उद्योग सञ्चालन गरिएपछि पानी व्यापारीहरुले के सम्म गर्ने रहेछन् भन्ने एउटा दृष्टान्त स्पष्ट भएको छ ।
पानी प्रशोधन र जारको गुणस्तरमा कैफियत देखिएपछि विभागले गत फागुनमा कम्पनीको आक्वा ९९ नामको पानी बिक्रीमा रोक लगाएको थियो ।
यता काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण विभागले गरेकोे गरेको अनुगमनमा उद्योगले सिल नखुल्दै ती उत्पादन र बिक्रि गरिरहेको पाइएको हो । उद्योगका सञ्चालक सुरेन्द्र श्रेष्ठले अनुगमन समितिसँग अनुमति लिएरै उद्योग सञ्चालन गरेको दाबी गरेपनि कागज पत्र भने देखाउन नसकेको अनुगमन टोलीका एक सदस्यले बताए ।
उद्योग तत्कालका लागि बन्द गर्न निर्देशन दिएर उद्योगीलाई कागज पत्रसहित महानगरमा हाजिर हुन अनुगमन समितिले निर्देशन दिएको छ । यस्तै उद्योगले अनाधिकृत रुपमा जमिनमुनीबाट पानीे निकालीरहेको पनि जनाइएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply