पुस्ता हस्तान्तरण समाधान होइन
डा. अमर गिरी
नेकपाभित्र बढेको अन्तरविरोधको समाधानको तात्कालिक उपाय पार्टीभित्रको शक्ति सन्तुलनलाई हेक्का राखेर अघि बढ्नु, विधि र प्रक्रियालाई अपनाउनु, कमजोरीहरूलाई सच्याउनु र अघि बढ्नु हो । कमजोरीहरू सच्याउने कार्य मुख्य नेतृत्वबाटै आरम्भ हुनुपर्छ । पार्टी र सरकार सञ्चालन दुवैमा कमजोरी छन् । यो अलिकति पनि पछि नहट्नेगरी अडान लिने बेला होइन । यो लचिलो बन्ने र समस्याको समाधान खोज्ने बेला हो । अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रस्तावसम्बन्धी अध्यक्ष ओलीको अडान उपयुक्त देखिन्न । अध्यक्ष र प्रधानमन्त्री पदसम्बन्धी उहाँको अडान पनि उपयुक्त छैन । अध्यक्ष प्रचण्डको प्रस्तावको प्रतिवादमा उहाँले पनि प्रस्ताव पेस गरिसकेपछि त्यससम्बन्धी बहसलाई अघि बढ्न दिनुपर्छ र उहाँ पनि त्यसमा सहभागी हुनुपर्छ । उहाँले भनेजस्तै अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव आरोपपत्र हो कि होइन भन्ने निर्णय स्थायी कमिटीले गर्नेछ, उहाँले होइन । विधि र प्रक्रिया भनेकै यही हो ।
व्यक्तिगत रूपमा अध्यक्ष प्रचण्डको प्रस्ताव उहाँलाई आरोपपत्र लाग्न सक्छ तर व्यक्तिगत रूपमा लाग्ने कुराको पार्टीमा त्यति धेरै महŒव हुन्न । कमिटीले गर्ने निर्णयलाई महŒव दिइन्छ । उहाँले स्थायी कमिटीमाथि विश्वास गर्न सक्नुपर्छ र उहाँलाई चित्त नबुझ्ने निर्णय भएछ भने पनि त्यसलाई मानेर अघि बढ्ने साहस देखाउनुपर्छ । अध्यक्ष पद उहाँले छोड्दा उपयुक्त हुन्छ । यसलाई प्रतिष्ठाको विषय बनाउनुहुन्न र पराजय पनि ठान्नुहुन्न । यसले उहाँलाई नै सजिलो हुनेछ । अन्तरविरोध यो हदसम्म विकसित भइसकेपछि महाधिवेशनसम्म भन्नु कुनै पनि दृष्टिले उचित हुन्न । दुवै कार्यकारी पदहरू सम्हाल्दा काम गर्न नसकिएकै हो, कमजोरीहरू बढेकै हुन् भन्ने कुरालाई स्वीकार गर्ने आँट उहाँले देखाउनुपर्छ । यसै पनि महाधिवेशनले केही समय लिने नै छ । अहिले भनिएजस्तै महाधिवेशन छिट्टै हुने सम्भावना छैन । विषय स्थायी कमिटीमा प्रवेश गरेको छ । त्यसले गर्ने निर्णयलाई मानेर अघि बढ्ने प्रतिबद्धता सबैले देखाउनुपर्छ । स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन गरेको भए सम्भवतः यस्तो स्थिति आउने नै थिएन । अब यस्तो स्थिति दोहोरिनुहुन्न । फेरि पनि पार्टीभित्रका समस्याहरूको समाधान यसको व्यापक रूपान्तरण हो भन्ने कुरालाई बिर्सन हुन्न ।
नेकपामा देखिएका कमजोरीहरूको अन्त्य यसको रूपान्तरणसँग जोडिएको छ । रूपान्तरित भए पार्टी एकढिक्का र बलियो भएर अघि बढ्न सक्छ, नभए विभाजन र क्षयीकरण यसको आगामी तस्बिर हुनेछ । पार्टीभित्रको अहिलेको अन्तरविरोध यसमा रहेका कमजोरीहरूको परिणाम हो । पार्टीभित्र कमजोरीहरू एक्कासि देखापरेका होइनन् । नेकपा बन्नुभन्दा पहिलेदेखि रहेका कमजोरीहरू नेकपा बनिसकेपछि अझ झाँगिए । पार्टीको आकार, प्राप्त जनमत र सरकार बनाउन प्राप्त बहुमतको सुविधाले कमजोरीहरूलाई बढाउन अझ मद्दत गरे । पार्टी र सरकार परिवर्तित परिस्थितिमा अझ गम्भीर, संवेदनशील, इमानदार र मूल्यमा आधारित हुनुपथ्र्याे । तर, यसो हुन सकेन । कमजोरीहरू बढ्दै गए । अन्तरविरोध चर्कंदै गयो । अन्तरविरोध बढ्दै जाँदा पार्टी विभाजनको डिलसम्म आइपुगेको छ । कार्यकर्ता, शुभेच्छुक र समर्थकहरूमा मात्र होइन, जनतामा पनि निराशा बढ्दैछ । ऐतिहासिक अवसर प्राप्त कम्युनिस्ट पार्टीको यो तस्बिर साँच्चिकै दुखलाग्दो छ ।
कमजोरीहरू विचार, दृष्टिकोण, प्रवृत्ति, कार्यशैली आदिसँग सम्बन्धित छन् । शक्तिको समुचित बाँडफाँडबाट मात्र पार्टी जीवनमा देखापरेका समस्याहरूको दीर्घकालीन समाधान सम्भव छैन । दोस्रो पुस्तामा नेतृत्वको हस्तान्तरण पनि समस्याको समाधान होइन । समस्या समाधानको यस्तो सोचाइले कहीँ पुगिँदैन । सन्तुलनलाई ध्यान दिनुपर्छ, शक्तिको उपयुक्त बाँडफाँड पनि गर्नुपर्छ, नेतृत्वपंक्ति तयार गर्ने र नेतृत्व हस्तान्तरण गर्दै जाने विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । तर, यति गरेर मात्र पार्टी जीवनमा पलाएका ऐंजेरुका कारण सिर्जित समस्या समाधान गर्न सकिन्न । आज समस्या समाधान भएजस्तो देखिनेछ तर भोलि समस्याहरू गम्भीर भएर उठ्नेछन् । यसबाट सिंगो पार्टी आन्दोलन अझ गम्भीर रूपमा प्रभावित हुनेछ । नेकपाको आजको दायित्व समस्याका वास्तविक कारणहरू ठम्याउने र समाधान गर्दै अघि बढ्नु हो । कमजोरीहरूलाई छिमल्ने र पार्टीलाई ठीक ढंगले अघि बढाउने यो नै सबैभन्दा उत्तम बाटो हो । नेकपाका नेता कार्यकर्ताहरूको ठूलै पंक्ति अन्तरविरोधलाई पद र शक्ति प्राप्त गर्ने कुरासँग मात्र जोडेर हेर्दैछ । यो त्रुटिपूर्ण हेराइ हो । यसले नेकपाको जीवनमा विषयलाई राजनीतिक वैचारिक ढंगले होइन, अन्य ढंगले हेर्ने र समस्यालाई अझ जटिल बनाउने प्रवृत्तिको विकास कसरी भइरहेछ भन्ने देखाउँछ । यो पार्टी जीवनमा देखिने कमजोरीहरूलाई व्यापक परिप्रेक्ष्यमा हेर्ने चिन्तनमा आएको ह्रासको परिणाम हो । यो नेकपाको जीवनको अर्काे दुःखद पक्ष हो ।
पार्टी एकता नेपालको कम्युनिस्ट आन्दोलनको महŒवपूर्ण घटना थियो । यसकै कारण आज नेकपाको बहुमतको सरकार छ । उसलाई मुलुकलाई नयाँ दिशा र गन्तव्य दिने अवसर प्राप्त छ । एकीकृत हुँदा नेपाली समाजलाई नयाँ दिशा र गन्तव्य प्रदान गर्न सकिन्छ भन्ने बुझाइका कारण दुई पार्टीको एकीकरण भएको थियो । यही कुरालाई ध्यान दिएर नै एकता प्रक्रियाबारे चित्त नबुझ्दानबुझ्दै पनि पार्टी पंक्तिले हार्दिक स्वागत गरेको थियो । यसबाट आमजनता पनि खुसी भएका थिए । धेरैलाई मुलुक परिवर्तनको मर्मसहित अघि बढ्नेछ भन्ने लागेको थियो । यस्तो लाग्नु मुनासिब पनि थियो । तर, आज आफैंभित्रका कमजोरीहरूका कारण बाटो उल्टो दिशातिर मोडिँदैछ । मुलुकले नयाँ दिशा समातेको हेर्न चाहनेहरू निराश बन्दैछन् । यही स्थितिका माझबाट दक्षिणपन्थीहरूले विगतमा भन्दा बलियो गरी टाउको उठाउँदैछन् । ठाउँठाउँमा प्रदर्शनहरू भएका छन्, ‘राजा आऊ देश बचाऊ’ भनिँदैछ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, पार्टी र सरकारको विरोधमा चर्का नाराहरू लाग्दैछन् । दक्षिणपन्थी शक्तिहरूलाई आडभरोसा दिने बाह्य शक्तिहरूको सक्रियता बढेको छ । सत्तारूढ पार्टी र सरकारले आफूलाई सच्याएनन् भने आउँदा दिनहरूमा प्रदर्शनहरू अझ बढ्नेछन् । दक्षिणपन्थी शक्तिहरू वामपन्थी र उदारवादी शक्तिहरूकै कमजोरीमा टेकेर मौलाउँछन् । भारतमा भाजपा र आरएसएसको विस्तार तत्कालीन सत्तारूढ कांग्रेस पार्टीका गम्भीर कमजोरीमाथि टेकेर भएको हो । भारतीय वामपन्थी, उदारवादी र लोकतन्त्रले दक्षिणपन्थीहरूको निसाना कहिलेसम्म बन्नुपर्ने हो यसै भन्न सकिन्न । त्यस्तो स्थिति यहाँ पनि आउन सक्छ । त्यसका निम्ति आधारहरूको निर्माण गर्ने कार्य निरन्तर भएकै छ । वामपन्थी र उदारवादी शक्तिहरूमा विकसित कमजोरी नै यसका आधार हुन् । सत्तारूढ पार्टीका दृष्टिले यसका निम्ति नेकपा अझ जिम्मेवार देखिन्छ । आफ्नै कमजोरीका कारण भीरतिर धकेलिँदै गरेको पार्टी आन्दोलन र चौतर्फी आलोचनाको सिकार बनेको सरकारलाई बचाउने उपाय रूपान्तरण नै हो ।
सामान्यतया रूपान्तरणलाई कम्युनिस्ट आन्दोलनमा सधैं महŒव दिइन्छ । पार्टी सत्तामा पुगेपछि यस विषयमा अझ गम्भीर बनिन्छ । सत्तामा पुगेपछि कमजोरीहरू बढ्न सक्छन्, चरित्र बदलिन सक्छ, बाटो बिराउन सकिन्छ, सामूहिकता हराउन र व्यक्तिवाद बढ्न सक्छ, जनताबाट टाढिने र दरबारमै रमाउने बानीको विकास हुन सक्छ । यी सबै आन्दोलनका बैरी हुन् । यिनले आन्दोलनलाई समाप्त गर्छन् । यही कारण लेनिनले कम्युनिस्ट पार्टीको वास्तविक परीक्षा त अझ सत्तामा पुगेपछि हुन्छ भनेका थिए । यसबाट बच्न कमजोरीहरूका विरुद्ध संघर्ष र रूपान्तरण आवश्यक हुन्छ । नयाँ परिस्थितिमा नेकपाले कमजोरीहरूका विरुद्धको संघर्ष र रूपान्तरणलाई अझ महŒव दिनुपथ्र्याे । पार्टीलाई सबै दृष्टिले नयाँ जिम्मेवारी बहन गर्न सक्ने बनाउन सक्नुपथ्र्याे । ऐतिहासिक अवसरलाई यसैगरी उपलब्धिपूर्ण बनाउन सकिन्थ्यो तर यसो हुन सकेन । कमजोरीहरू झन्झन् बढ्दै गए । पार्टी एकीकरण नै कहिले पूरा हुने हो निश्चित भएन । निर्णय गर्ने तर कार्यान्वयन नहुने स्थिति जन्मियो । हजारौं कार्यकर्ता कमिटीविहीन बने । बनेका कमिटीहरू पनि निष्क्रियजस्तै रहे । सामूहिकता होइन, व्यक्तिवादको विकास भयो । पार्टी विधि र पद्धति पाखा लागे । सरकार र पार्टीबीचको सम्बन्ध टुट्दै गयो । सरकारमा कमजोरीहरू बढ्दै गए । यी सबैको परिणाम आज अगाडि छ । नेकपामा गम्भीर संकट छ । माथिल्ला नेताहरूले नै पटकपटक दोहो¥याइरहनुभएको छ । आजको संकट तलबाट होइन, माथिबाट सिर्जना भएको हो । पार्टी जीवनमा रहेका कैयौं कमजोरी माथिबाट तलतिर झरेका हुन् र झाँगिएका हुन् । व्यक्तिगत कमजोरीहरूलाई पनि पार्टी जीवनका कमजोरीहरूकै अंशका रूपमा लिनुपर्छ । मानौं भोलि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले दुवै पद छोड्नुभयो । म पार्टीको अभिभावक मात्र भएर बस्छु भन्नुभयो । सबै कुरा त्यसैअनुरूप भए । तर, त्यसपछि पनि समस्या पुनः देखा पर्न सक्छ । पार्टीमा कमजोरी रहँदासम्म त्यस्तो सम्भावना रहिरहन्छ । त्यसैले एउटा जीवन्त पार्टीभित्र कमजोरीहरूका विरुद्ध संघर्ष र रूपान्तरणको प्रक्रिया चलिरहन्छ ।
कुनै बेला पार्टी जीवनमा आलोचना–आत्मालोचनाको परिपाटी थियो । त्यो हराएको वर्षौं भयो । सैद्धान्तिक, वैचारिक प्रशिक्षणहरू शिथिल बने । अनुशासन र नैतिकता कमजोर बन्दै गए । छलफल गर्ने र सिक्ने कुरा बिरानोजस्तै भए । उदारवादी राजनीतिक संरचनाभित्रका कैयौं विकृति र विसंगतिहरू पार्टी जीवनमा भित्रिए । कम्युनिस्ट आदर्श, आचरण र मूल्यमा क्षयीकरण सुरु भयो । व्यक्तिवाद र अहंकार बढ्यो । लोभलालच मौलायो । राजनीति जोगी हुन गरिन्न भन्न थालियो । पद, प्रतिष्ठा र सुविधा जीवनका प्राथमिक विषय बने । निम्नमध्यम र मध्यम वर्गबाट आएका नेताकार्यकर्तामा अभिजात बन्ने रहर पलायो । यस्ता कुराहरूको सूची धेरै लामो छ । यी सबैको परिणाम हो आजको नेकपाको अवस्था । यो दुख र विरक्तलाग्दो स्थितिको निर्माण त्यसै भएको होइन । नेकपाले कम्युनिस्ट आदर्श र ध्येय, पार्टीको लक्ष्य, परिवर्तनको मर्म, जनताले गरेको विश्वास, प्राप्त ऐतिहासिक जिम्मेवारी एवं अवसरअनुसार आफ्नो जीवनमा व्यापक पुनःसंरचनाको प्रक्रियालाई अघि बढाउनुपर्छ । महाधिवेशन यससम्बन्धी बहसको महŒवपूर्ण थलो बन्नुपर्छ । व्यापक रूपान्तरणबिना गरिने ठूला कुरा हास्यास्पद मात्र हुनेछन् । रूपान्तरित भईकन नयाँ ढंगले अघि नबढे पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई लामो समय जोगाउन सकिनेछैन । के हामी यसप्रति साँच्चिकै गम्भीर बनौंैंला ?
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply