निभ्यो आशाको दियो
विवस वस्ती
दुई वर्षअघि स्वर–साधिका उषा मंगेसकरसँग युगल गीत गाएपछि भारतीय संगीत–सागरकी पछिल्लो पुस्ताकी अर्की स्वर–साधिका सञ्जीवनीसँग गीत गाउने रहर थियो, वरिष्ठ गायक जगतमर्दन थापाको । प्रविधिको उच्च विकासको सदुपयोग गर्दै सञ्जीवनीले मुम्बईमै गीति–शब्दमा सुमधुर स्वर अर्पिइसकेकी थिइन् । थापा पनि गाउने तयारीमा थिए । तर, उनको त्यो रहरमा पूर्णविराम लागेको छ । गएको सोमबार बिहान काठमाडौंको आकाशबाट तुवाँलो फाट्दै गइरहेको बेला आफ्ना केही धोको सँगाल्न नपाउँदै ८५ वर्षीय थापाले महाप्रयाणको अनन्त यात्रामा कदम चाले ।
अर्को धोको पनि थियो– आगामी वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुप्रबल जनसेवा श्री (तृतीय) ग्रहण गर्ने । नेपाली संगीत जगत्का अथक÷अनवरत साधक थापालाई पाँचौं संविधान दिवसको अवसर पारेर यही वर्ष राष्ट्रले सम्झिएको थियो । उनी आफ्नो योगदानको कदरप्रति नतमस्तक हुने दिनको प्रतीक्षामा थिए । तर, त्यो धोको पनि पूरा हुन पाएन । न त जीवनको उत्तराद्र्धमा आफ्नो छैटौं गीति–एल्बम निकाल्ने सपनाले नै मूर्त रूप ग्रहण ग¥यो ।
कोरोनाबाट मुक्त भएपछि अचानक बिग्रिएको स्वास्थ्यले उनलाई ब्युँतिन दिएन । अन्तिम सास फेर्न बाध्य भए । नेपाली गीत–संगीत क्षेत्रमा करिब आधा शताब्दी समर्पण गरेका थापा बाँचेका सीमित साधकमध्ये एक थिए । उनको दुःखद अवसानले नेपाली संगीत क्षेत्रले थप पाउनुपर्ने फाइदाहरू गुमाएको छ ।
चालीसको प्रारम्भिक दशकदेखि नै परिचित थिएँ, थापाको गायन–कलाप्रति । तत्कालीन समयमा ग्रामीण इलाकामा सूचना वा मनोरञ्जनको एक मात्र स्थायी माध्यम रेडियो नेपाल थियो । ज्ञान, सूचना र मनोरञ्जनको त्रिवेणी मानिने रेडियो नेपालबाट अनेक गीत घन्किथे । तर, सीमित गीतले मात्रै मन–मस्तिष्कलाई गहन र आत्मीय स्पर्श गर्थे । तिनैमध्ये थापाले संगीत सिर्जना गरेका र लिली सिंहको स्वरमा सजिएको गीत ‘आशाको दियो बालेर…’ प्रिय गीत–संगीतको लहरमा आबद्ध थियो । त्यो समय पुराना र नयाँ दुवै स्वादका गीतहरूले पनि तान्थे तर अधिक नै तान्थ्यो– उक्त गीतले ।
‘आशाको दियो’ को सर्जकसँग एउटा कथाकृतिसँगै परिचय भयो, पछिल्लो चरण । ‘पलाँसको फूल’ को आद्योपान्त अध्ययनबाट थाहा भयो– उनी केवल संगीत–साधक मात्र होइनन्, शब्दका कुशल शिल्पकार पनि रहेछन् । कथा र गीत लेखनमा उनले राम्रै दखल राख्थे ।
अझ, पछिल्लो समय त उनीसँग प्रत्यक्षतः जोडिने अवसर पनि जु¥यो । जोडिने आधार बनेको थियो– उनको जीवनवृत्तको सम्पादन । नेपाली गीत–संगीत, साहित्य लेखनमा सम्बद्धताका साथै सरकारी सेवादेखि जीवनका अनेक आरोहअवरोहलाई शब्दबद्ध तुल्याउने उनको चाहनामा छोरा मोहिनमर्दन थापाले हैंसे गर्न चाहे । करिब ६ महिनासम्म थापाको जीवनवृत्त ‘कर्मशील जीवनयात्रा’ को सम्पादनमा संलग्न हुँदा उनका जीवनका भित्री कथा–व्यथाहरूसँग झनै परिचित हुने अवसर मिल्यो ।
गायनमा उनको अथाह समर्पण र पूर्णताको पक्षधरतालाई एउटा घटना–प्रसंगले पुष्टि गर्छ । मभित्र एउटा रहर पलाइरहेको थियो– मेरो एउटा गीत उनको स्वरमा सजाउने । मुखै फोरेर भन्न सकिरहेको थिइनँ मैले । किनभने अस्वीकृतिको डर थियो । एकदिन मैले धेरै नै तौलेर भनें, ‘म पनि गीत लेख्छु नि, केही गीतहरू लेखेको पनि छु ।’
मैले अझै केही भन्न बाँकी थियो । तर, यिनै शब्दहरू चुहिएपछि थापाले तत्काल भने, ‘मैले तपाईंको आशय बुझें, तपाईंको एउटा गीत म गाउँछु ।’ त्यसपछि मैले थापालाई नै चयन गर्न दिन केही गीत छानेर राखेको थिएँ । अर्कोपटकको भेटमा भने मैले एउटा गीतको रचना गर्भबारे सामान्य भूमिका बाँधे र दुई हरफ स्थायी पनि सुनाएँ । उनले तत्काल त्यो गीत स्वीकार गरे । बाल्यकालीन प्रेमलाई शीर्ष विषय बनाएको त्यो गीत उनले गाए, ‘फूलमायाले हेर्थिन् मलाई फूलैफूलमा लुकी…।’
गएको हिउँदको एक अपराह्न नक्सालस्थित साउन्ड डिजाइन रेकर्डिङ स्टुडियोमा संगीत–सर्जक मनोहर सुनाम, मोहितजीलगायतको उपस्थितिमा त्यो गीत थापाको स्वरमा स्वरबद्ध भयो । स्वरबद्ध भइसकेपछि हामी आ–आफ्नो निवासतिर फर्कियौं । तर, अघिल्लो साँझको स्वरमा अझ निखारपन नआएको प्रतीत भएर हुनुपर्छ, भोलिपल्ट सुटुक्कसँग थापाले स्टुडियोमा पुगेर पुनः त्यो गीतमा स्वर दिएछन् । यो प्रसंगले संगीतप्रति उनको निष्ठा, समर्पण र पूर्णताको गहिराइलाई प्रस्ट पार्छ । संगीतलाई व्यावसायिक दृष्टिले नहेरी एउटा गहन साधनाका रूपमा हेर्ने, स्विकार्ने स्वभावकै कारण उनमा यस्तो समर्पण–भाव उद्घाटित हुन पुगेको सहजै महसुस गर्न सकिन्छ । यद्यपि, गीत गाउनेबित्तिकै पारिश्रमिक लिन पल्केकाहरूबाट यस्तो साधना र समर्पणको अपेक्षा गर्नु व्यर्थ हुन्छ ।
निश्चय नै नेपाली आधुनिक संगीत जगत्मा थापाको अनौठो पकड थियो । उनको बिदाइले नेपाली संगीत क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ । उनको सुललित गायन शैलीको पटाक्षेप हुन पुगेको छ । र, निभेको छ एउटा आशाको भर्भराउँदो दियो । तथापि, अग्रज गायक थापा नेपाली संगीत जगत्लाई समृद्ध तुल्याएर बिदा भएका छन्, आफ्ना सर्जनहरूमार्फत ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply