सिर्जन–धरातलभित्र उभिएको धरान
विवश वस्ति
जब कुनै नगर, महानगरको प्रतिविम्ब सामुन्नेमा आउँछन्, त्यसले जीवन्त इतिहास र गतिशीलताको पर्याय–बोध गराउँछ । त्यस्ता नगर, महानगरसँगै प्राचीन सभ्यता, इतिहास र वर्तमान समयका विम्ब र तस्बिरका अनेक दृश्यपटहरू पनि उघ्रिएर आउँछन्, अंकित हुन्छन् । पूर्वको पुरानो सहर विराटनगर होस् वा सुदूरपश्चिमको महेन्द्रनगर । दुवै सहर इतिहासको गर्तमा टेकेर वर्तमान बिन्दुसम्म आइपुगेकामा सन्देह छैन । त्यस्ता सहरहरूले आफ्नै समुदाय वा वर्गका भाषा, साहित्य, संस्कृति, रीतिरिवाज, कलालगायत मानव जीवनलाई गतिशील तुल्याउने अनेक आधारविन्दुहरू प्रदान गरेका हुन्छन् । मानिसहरूले पनि त्यस्ता सहरहरूका जीवन्तता र गतिशीलतालाई समृद्ध तुल्याउन अथक प्रयत्न र भूमिका खेलेका हुन्छन् ।
नगर, उपनगर वा महानगरका थिति वा बेथितिहरूलाई लेखनको धरातलमा उभ्याउने कार्य स्रष्टाहरूले गर्दै आएका छन्, पूर्ववर्ती दिनहरूदेखि नै । प्राचीन सहर एवं राजधानी काठमाडौंलाई विम्बको क्षितिजमा टाँग्ने प्रयत्नमा त धेरै स्रष्टाहरूले शिल्पकारिता पोखेका छन् नै, काठमाडौं बाहिरका सहरहरूलाई पनि गहिराइसम्मै पुगेर बुझ्ने चेष्टामा स्रष्टाहरू अग्रसर नै देखिँदै आएका छन् । कतिपय स्रष्टाले आफू जन्मेको÷हुर्केको सहरलाई बुझ्ने अधिक प्रयत्न गरेका छन्, कतिपयले भने भोगेका आधारमा त्यस्ता सहरहरूलाई छाम्ने प्रयास गरेका पाइन्छन् ।
धरान, पूर्वको सुन्दर सहर । महाभारतको दक्षिणतिर पसारिएको र ब्रिटिस लाहुरेहरूले बसालेको त्यो सानो सहरले झेल्नुपरेका बेथिति, विसंगतिदेखि सुन्दर पक्षहरूलाई समेत धेरै स्रष्टाले शब्दको उचित खर्च गरिसकेका छन् । पचासको दशकतिरै कवि अनिल पौडेलले ‘धरान’ लाई यसरी चिन्न खोजेका थिए– ‘रत्नचोकमा÷बुद्धचोकमा÷भोटेपुलमा या छाताचोकमा÷जताततै÷त्यतिबेला–धरान÷ब्याड राख्न बनाएको÷नर्सरीको माटोजस्तै उर्वर थियो÷वम देवानहरू शीतल छहारी दिएर÷स–साना बिरुवालाई हुर्काउँथे÷गोविन्द विकल र कृष्ण पाख्रिनहरू÷कुटे र पसनीले गोडमेल गर्थे ।÷दिक्पालजी÷भालेहरू मात्र बासे भनेर÷कुन्ताले पोथी गर्जन गर्जेको धरान÷हिजोआज÷घोपा क्याम्पमा डाक्टरहरू मात्रै उमार्दैछ÷कि वेणु आचार्यलाई पनि जाँच्तैछ ?÷देवलाल सरसँगै मलामी गयो÷कि आफ्नो आयु पनि साँच्तैछ ?’–(मधुपर्क, फागुन÷२०५५)
धरानको साहित्य वृत्तमा कुनै समय चम्किएका अनुहारहरूलाई विम्बको मैदानमा उभ्याएर कवि पौडेलले जसरी प्रश्नवाचक दृश्य नियाले, दुई दशकअघि । अझ त्योभन्दा पुरानो धरानलाई बुझ्न पनि स्रष्टाहरू उद्यत रहे । तीन दशकअघि फर्किदा त्यो बेला रमेश केसीले धरानलाई यसरी बुझेका थिए– ‘कोही छन् मस्त महल र होटलहरूमा÷कोही छन् मस्त पेटी र गल्लीहरूमा÷कोही मर्न चाहेर पनि बाँचिरहेछन्÷कोही बाँच्न चाहेर पनि मरिरहेछन्÷यस्तै–यस्तै छन् यहाँका प्राण÷यहाँ मूर्ति चोरी भैसकेर नक्कली ढुंगा राखिएको÷दन्तकाली, बुढासुब्बा÷र पिण्डेश्वर छ÷नेपाली युवालाई निर्यात गर्ने÷र, लाहुर भैसकेर चाउरे भएकाको÷पेन्सन थाप्ने क्याम्प छ ।’
तीन दशकअघिको धरानलाई बुझ्न केसीका यिनै वाक्यहरू पर्याप्त छन् । तर, धरानले इतिहासका पृष्ठहरूमा आफ्ना मौलिक नाम लेखाएको तथ्यलाई बिर्सन उचित हुँदैन । उनी थप्छन्, ‘हो आज पनि धरानहरू÷कवि, कलाकार, सहिद र सपुत जन्माएको छ÷त्यसैले धरान आफ्नै इतिहास र परम्परा बोकेर÷कहिले जुलृुस भएको हुन्छ÷कहिले आवाज भएको हुन्छ ।’
धरानको कविता धरानमा बस्नेहरूले लेखे र धरानमा केही दिन वा क्षणका लागि पाहुना भएर पस्नेहरूले पनि लेखे । अधिकांशले लेखे । निःसन्देह, काठमाडौंपछि धरानकै कविता बढी लेखिए । बदख्वाइँ गर्न होस् वा गुनगान गाउन होस्, स्रष्टाहरूले धरानलाई नै रोजे । कुनै समय, धरानलाई कर्मथलो बनाएका हिक्मत थापाले भने धरानलाई यसरी बुझे– ‘युगौदेखि निश्चल सुब्बा बाजेको÷अस्थिपञ्जर बोकेर÷मलाया र हङकङको यात्रापछि÷थकाइ मार्नमा नै व्यस्त छ,÷फेसन र बोतलको परिवेशभित्र÷जिउँदै लोग्नेका विधवा ऊ÷चुम्बन र आलिंगनमा नै मस्त छ ।’
कवि कृष्णप्रसाद भण्डारीमा भने धरानप्रति अगाध स्नेह र भरोसा छ । सायद, धरानबासी भएकै कारण हुनुपर्छ, उनी आफ्नो सहरप्रति नतमस्तक छन्, धेरै । लेख्छन्, ‘धरानमा के छैन ?÷सबैथोक छ÷कुण्ठा र ईष्र्या छन् त के भयो÷अझै तातेकै छ धरान÷जन्माउँदो छ दिनहुँ धरानले÷नयाँ विचार र अनुहारहरू÷पठाउँदै थियो अस्तिसम्म÷मलाया, बु्रनाई र हङकङ÷खै, आज के भयो धरानलाई÷सुते सुतेजस्तै छ÷ब्युँझने ब्युँझदा छन् धरानमा÷सुत्ने सुतेकै छन्÷आखिर सुत्ने ब्युँझने गर्छ÷ब्युँझने पनि त निदाउने गर्छ ।’
धरानका रैथाने भइहाले, हर्ष सुब्बा त । धरानलाई नै आधार बनाएर साहित्य र पत्रकारितामा जमेका उनले धरानका छिद्रछिद्रलाई छामेका छन्, बुझेका छन् । तर, उनी धरानका बुढाहरूप्रति नतमस्तक छन् । लेख्छन्– ‘बुढाहरू÷धरानका÷तरुनी–तन्नेरी देख्दा÷छक्क पर्छन् ।÷चुुपचाप छन्÷हेर्छन्÷अरू के पो गर्न सक्छन् ?÷कथा सुनाउँछन्÷कथा सुनाउन मात्र सक्छन् बुढाहरू÷धरानका÷आफ्नो कथा÷आफैंलाई सुनाउँछन् र÷बितेको बैंसलाई स्याबासी दिन्छन् ।’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply