सुतुरमुर्ग शैली
विवश वस्ति
एक वर्षअघि हरेक परिस्थिति भिन्न थियो । सामाजिक जीवनका हरेक अंगहरू गतिशील र चलायमान थिए । तर, कोभिड–१९ को विश्वव्यापी यात्रा र त्यसले मानव जीवनमा निम्त्याएको त्रासदी एवं संकटले सिंगो विश्वलाई नै गतिशून्य र दिशाहीन तुल्याइदियो । त्यो महामारीले दैनिक हजारौंको जीवन लुट्यो । समाज यथास्थानमै उभिन बाध्य भयो र अर्थतन्त्रले त्यो महामारीसामु घुँडा टेक्नुप¥यो ।
कोभिड–१९ को चपेटा बेहोर्न बाध्य अधिकांश क्षेत्र÷व्यवसाय अझैसम्म तंग्रिन सकेका छैनन् । कतिपय क्षेत्र÷व्यवसाय उठ्न प्रयत्न गरे पनि सम्पूर्ण रूपमा, उत्साहप्रद ढंगले उठ्न सकेका छैनन् । हामीकहाँ कोभिड–१९ को झट्का बेहोर्न थुप्रै क्षेत्र÷व्यवसाय बाध्य भए । त्यही उपक्रममा देखिन्छ– चलचित्र क्षेत्र पनि । गएको चैतको दोस्रो सातादेखि सरकारले लकडाउन गरेपछि मानिसहरूको बाक्लो उपस्थिति र चहलपहल हुने अरू क्षेत्रहरू जस्तै सिनेमा हलहरू पनि बन्द भए । सिनेमा हल बन्द भएपछि प्रदर्शनको तयारीमा रहेका सिनेमाहरू स्वतः रोकिन पुगे । सिनेमा निर्माणको क्रम पनि रोकिन पुग्यो ।
सिनेमा हलहरू सञ्चालनमा नआएका कारण करिब १० महिनापछि भने हल सञ्चालकहरू हल सञ्चालन गर्न जुर्मुराएका छन् । कोभिड–१९ को महामारीपछि सरकारले तोकेको न्यूनतम स्वास्थ्य मापदण्डलाई पछ्याएर हल सञ्चालन गर्न सञ्चालकहरूले लबिइङ गरिरहेका छन्, अहिले । तर, सरकारले भने अझै हल सञ्चालनको कदमलाई मान्यता दिइरहेको छैन । कोभिड–१९ ले निम्त्याएको त्रासदपूर्ण स्थिति क्रमशः हट्दै गए पनि र अरू क्षेत्रहरूमा मानव–बाहुल्यता देखिँदै गए पनि सिनेमा हलहरू खोल्न दिने सम्बन्धमा सरकारको स्पष्ट धारणा आएको छैन, अझै ।
यद्यपि, सिनेमा हल सञ्चालकहरू भने हल सञ्चालनको प्रयत्नमा छन् । करिब १० महिनादेखि थलिएको चलचित्र क्षेत्र÷व्यवसायलाई तंग्राउने दिशामा उद्यत देखिएका छन् । हुन पनि, १० महिनासम्म कुनै व्यवसायले विश्राम लिनुको अर्थ त्यसले दीर्घकालसम्म असर र प्रभाव बेहोर्नु पनि हो । नेपाली चलचित्र क्षेत्रले पनि त्यस्तो नियति र दुर्भाग्य बेहोर्नुपर्ने देखिन्छ, निश्चित रूपमा ।
सिनेमा हलहरू बन्द भएपछि करोडौं लगानी गरेर निर्माण गरिएका सिनेमाहरू त्यत्तिकै थन्किएर बसेका छन् । निर्माताहरूले गरेको लगानीको व्याजले यो अवधिमा पक्कै पनि आकाश छोइसकेको हुनुपर्छ । कतिपय सिनेमाहरू निर्माणाधीन अवस्थामै छन्÷होलान् । कतिपय सिनेमाहरू निर्माण–घोषणा भएर पनि अघि बढ्न सकेका छैनन् । तर, सिनेमा हलहरू सञ्चालनमा आए भने निर्माण भइसकेका सिनेमाहरू प्रदर्शनमा आउँछन्, निर्माणको चरणमा रहेका सिनेमाहरू पूरा हुने परिस्थितिको विकास हुनेछ र नयाँ सिनेमा निर्माण हुने क्रम बढ्नेछ । समग्रतः नेपाली चलचित्र क्षेत्र र यससँग जोडिएका व्यवसायहरूले गति लिने अवस्था सिर्जित हुनेछ ।
निश्चय नै, एउटा सिनेमा निर्माणमा प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा सयौं मानिस जोडिएका हुन्छन्, उनीहरूले रोजगारीका अवसर पाएका हुन्छन् । बितेको केही दशकयता सिनेमा निर्माणमा दक्ष जनशक्ति र प्रविधिको विकास हामीकहाँ नै हुन थालेको छ । सिनेमा निर्माणका लागि प्राविधिक सहयोग लिन मुम्बई जानुपर्ने अवस्थाको अन्त्य भएको छ र हाम्रै जनशक्तिको निपूणताका कारण बर्सेनि करोडौं रुपैयाँ बाहिरिने अवस्थामा पूर्णविराम लागेको छ । एक हिसाबले नेपाली सिने क्षेत्र आफ्नै दक्ष प्राविधिक र प्रविधिका विकासले आफ्नै खुट्टामा उभिन सक्ने परिस्थिति निर्माण भएको छ । तर, सिने क्षेत्रले अझ थप संकट झेल्दै जाने स्थिति कायम रहिरहने हो भने दक्ष प्राविधिकहरू, सिने क्षेत्रमा आफ्नो सीप, प्रतिभा र समर्पण अर्पण गर्ने निर्देशक÷निर्माताहरूले पलायनको बाटो रोज्ने र अर्कै व्यवसायमा समर्पित हुने परिस्थिति नजन्मिएला भन्न सकिँदैन । तसर्थ, सिने क्षेत्रमा आबद्ध व्यक्ति वा व्यवसायलाई टिकाउन र निरन्तरता दिन जरुरी मात्र छैन, वर्तमान संकटबाट कसरी पार हुने÷लगाउने भन्ने विषयमा राज्यले सोच्नसमेत आवश्यक छ ।
संकटबाट गुज्रिँदै गएको नेपाली चलचित्र क्षेत्रलाई संकटमुक्त तुल्याउन, उकास्न चलचित्र विकास बोर्डजस्ता निकायले पहलकदमी लिनुपर्ने हो, अहिले । चलचित्र क्षेत्रले झेल्नुपरेको संकटबारे विकास बोर्ड पक्कै पनि अनभिज्ञ छैन । तर, यो दिशातिर विकास बोर्डले कुनै प्रयत्न गरेको देखिँदैन । सिनेमा हलहरू सञ्चालनमा ल्याउने विषयमा हल सञ्चालक र राज्यका निकायबीच द्वन्द्वको सूत्रपात हुन पुगेको छ । यस्तो अवस्थामा विकास बोर्डको भूमिका नगण्य देखिएको छ । एउटा प्रश्न निश्चित रूपमा उठ्छ, विकास बोर्डजस्ता निकायले नै सुतुरमुर्ग शैली पछ्याएपछि चलचित्र क्षेत्रले कोभिड–१९ ले निम्त्याएको संकटबाट पार पाउने अवस्था
कसरी आउला र ?
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply