कामरेड
बाबुराम यात्री
नाकै ठोक्किएलाझैं ठाडो बाटो पहिल्याएर
हुस्सुले निलेको गाउँबस्तीबाट
रोजेर संघर्षको यात्रा
यायावरबीच
गोजीभरिको अलौटे मकै÷गुन्द्रुकको स्वादमा
काटान्कुटुङ चपाएर
निधारभरि पसिना रसाएर
मयलहरू आहाल खेलिरहेको छ
एउटा कामरेडकहाँ ।
अघिअघि डोबहरू छन्
छाडिगएका
देखिन्छ पर क्षितिज छोउलाझैँ
आफ्नो उचाइँ नापिरहेको पहाड
र छेउमा कसैलाई कुरिरहेको वरपीपल
लाग्दो हो, कोही त बसिदेला
तर कहाँ छ समय
कामरेडसँग
उज्यालो नहुँदैदेखि मिर्मिरे साँझसम्म
यात्रा तय हुन्छ
ओकेटोकेमा सम्पर्क टावर फिजाउँदै
एक मुठी पानी च्यापेर घाँटीमा
फिस्स दन्तेलहर खोल्दै
हरेक क्षण मिठो सपना मनभरी पोको पार्दै
पिठ्युँमा झुन्डाएर बन्दोबस्ती
यात्रा गर्नु छ कामरेड
जून फुलेको देशमा
नदीझैँ बेइमानी होइन कामरेड
बिर्सदैन÷हिँड्दा–हिँड्दै बनाएका किनाराहरू
हात फिँजाउँदै बाँडेका सपनाहरू
ढुंगा बालुवासँग छोडेका यादहरू
र, समुद्र भेटेपछि समुद्रमा बिलाउने
कामरेड
अस्तित्वकै लागि होमिएको हो
अजम्बरी नाता गाँस्न
परिवर्तनको बिगुल फुक्न
चुच्चे नाकहरू थेप्चो पार्दै
समानता कडी राख्न
निन्याउरो अनुहारहरूमा
घाम नउदाएको आँगनमा
खुसीका पोकाहरू खोली दिन
हिँडेको हो कामरेड ।
कसैले नभनी दिनु
ए ! सहर जाने हो
कसैले नसराप्नू उसलाई
ज्यानको बाजी मारेर
गाम छाडेको हो
सक्नुहुन्छ भने अलिकति साहस दिनु
खोले र सातु दिनु
शत्रुसँग लड्न काफी हुन्छ
उसको यात्रा भिरैभिरमा छ
न्यायको खातिर ।
हेर ! लड्न एक्लै सिक्ने हो
वन मार्ने वनमाराहरू उखेल्ने हो
लहरा, पहरा र छहरा हुँदै
आफ्नै बाटो बनाउने हो ।
केवल, जिउनुका लागि मात्र
जिउनु जीवन होइन
केही नयाँ
पुरातन सोच बदल्नु भनेको
आफ्नै जिन्दगी खुकुरीको धारमा हिँडाउनु हो
तर सपनाहरू ओइलिनुहुन्न
सोच्नुस्
भीरमा फुलेको पनि फूल हो
सबैको शिरमा कहाँ सजिन्छ फूल ?
हिँड्नुस्÷बाटो नबिराउनुस्
समयले बताउँछ,
भन्नुस्– सत्य सत्य हो
सत्यको जित हुन्छ ।
Leave a Reply