असंवैधानिक कदम विरुद्ध देशभर कतै सभा–प्रशिक्षण कतै प्रदर्शन
बुधबार डेस्क

काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सनकको प्रतिगामी कदमका विरुद्ध देशभर विशाल प्रदर्शन भइरहेका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले नेतृत्व गरेको आधिकारिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मात्र होइन, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, जनमोर्चालगायतका राजनीतिक दल र नागरिक समाज समेत उक्त प्रतिगामी कदमका विरुद्ध सशक्त रूपले सडक संघर्षका उत्रिएका छन् । पाँच वर्ष सरकार चलाउने जनताको म्याडेडलाई अनेक विकल्प हुँदाहँुदै गैरसंवैधानिक तरिकाले धज्जी उडाएपछि संवैधानिक ‘कु’ विरुद्धको आन्दोलनलाई आम जनताले समेत उत्साहपूर्वक तरिकाले साथ दिएका छन् ।
संसद् विघटनको कदमविरुद्ध नेकपाले गत आइतबार देशभर एकैसाथ राखेकोे अगुवा कार्यकर्ता भेलामामा लाखौं कार्यकर्ताले सहभागिता जनाएका छन् । सहभागिता ज्यादा भएपछि सभाहलमा राखिएका कार्यकर्ता भेला खुला चौरमा आमसभामा परिणत गर्नुपरेको छ ।
हलमा नअटेपछि चौरमा
पार्टी प्यालेसमा राखिएको अगुवा कार्यकर्ता भेलामा हजारौं कार्यकर्ता आएपछि सिन्धुलीको भेलालाई खुला सभामा परिणत गर्नुपरेको थियो । पार्टी कार्यलयबाट निस्केको विशाल जुलुसले प्रधानमन्त्री ओलीको प्रतिगामी कदमका विरुद्ध नाराबाजी गर्दै सहर परिक्रमा गरेको थियो । बजार परिक्रमापछि खम्बे चौरमा आयोजित सभालाई विघटित प्रतिनिधिसभाका सांसद हरिबोल गजुरेल, गणेशकुमार पहाडी, पूर्वसांसद गंगा नेपाल, कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीलगायतले सम्बोधन गरेका थिए ।
वडा तहसम्म विरोधका कार्यक्रम
पूर्वी नवलपरासीको डन्डामा सम्पन्न अगुवा कार्यकर्ता भेलालाई केन्द्रीय सदस्यद्वय किसन शर्मा, रवीन्द्र अधिकारी र कृष्ण पौडेलले प्रशिक्षण दिएका थिए । ५ सय अगुवा कार्यकर्ता सहभागी भेलाले पुस १४ देखि ३० गतेसम्म संघर्षका कार्यक्रम गर्ने र त्यसलाई वडा तहसम्म लैजाने निर्णय गरेको छ । पार्टी विभाजनपछि जिल्लाका अधिकांश नेताहरू नेकपा दाहाल–नेपाल समूहमा देखिएका छन् ।
इतिहासमा ओलीको मूल्यांकन
नेकपा बाँकेले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई पूर्वमन्त्री योगेश भट्टराईले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधानविपरित संसद् विघटन गरेको बताए । उनले पार्टी एकताको मर्म र भावनाविपरीत ओलीले देशलाई बर्बादीतर्फ धकेलेको आरोप लगाउँदै पार्टी एकताको बाँकी काम टुंग्याउने बेला बखेडा झिकेर पार्टीका लागि मात्र नभएर मुलुककै लागि अहितपूर्ण काम गरेको बताए ।
जुन चुनाव चिह्नबाट जितेर प्रतिनिधिसभामा नेकपा पुगेको थियो त्यही प्रतिनिधिसभा विघटन गरेर ओलीले सूर्य चिह्न मासेको उनले बताए । भट्टराईले सूर्य चिह्न नेकपाकै चुनाव चिह्न हुने दाबी गर्दै इतिहासले केपी ओलीको अवश्य मूल्यांकन गर्ने बताए । कार्यक्रमलाई नेकपा नेतृ पुर्णाकुमारी सुवेदी, महेश्वर गहतराज लगायतका नेताले सम्बोधन गरेका थिए ।
वैशाखमा चुनाव कसले पत्याउने ?
तिलोत्तमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले मध्यावधि चुनाव गर्न घोषणा नगरिएको बताए । चुनावमा जाने बाटो, प्रयोजन र प्रक्रिया सबै गलत भएको भन्दै उनले वैशाखमा चुनाव हुन्छ भनेर कसैले नपत्याउने बताए । ‘राजाले विघटन गरेको संसद् त आन्दोलनको बलमा पुनःस्थापना भयो, अहिले नहुने कुरै छैन,’ भुसालले भने, ‘संसद्र पुनःस्थाापना नभए संविधान च्यातिन सुरु हुन्छ र संविधानविरोधीले टाउको उठाउने मौका पाउछन् ।’
पार्टीका सबै कमिटी र संसदीय दलमा समेत अल्पमतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विधिविधानविपरीत संसद् विघटन गरेको उनले बताए । भेलालाई पूर्वसभामुख ओनसरी घर्ती, केन्द्रीय सदस्य एवं प्रदेश सांसद दधिराम न्यौपाने, केन्द्रीय सदस्य हकिकुल्ला खाँ, जिल्ला सचिव निर्मल जिसी, खेम लुइँटेललगायतले सम्बोधन गरेका थिए । भेलामा करिब एक हजार जनाको सहभागिता थियो ।
ओलीको निरंकुशताले निम्तिएको संकट
कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेदेखि नै पार्टी फुटाउन चाहेको बताए । नेता रावलले भने, ‘पार्टी स्थायी समितिको निर्णय नमान्ने, पार्टीको अध्यक्ष भएर पनि बैठकमा नआउने, बरु भागेर हिँड्ने ओलीले आलोचना भएको बहानामा झुटा आरोपसहित १० पेजको प्रतिवेदन ल्याए ।’ ओली निरंकुश हुँदै गएकाले यो अवस्था आएको रावलले बताए ।
उनले भने, ‘पार्टीले लिम्पियाधुरासहितको नक्सा जारी गर्न भन्दा पनि सुरुमा ओलीले मानेका थिएनन्, स्थायी समितिमा उहाँले अध्यादेश ल्याउँदिन भन्नुभयो, पछि ल्याउनुभो, प्रतिनिधिसभा विघटन गर्दिन भन्नुभएको थियो तर एकाएक विघटन गर्नुभयो ।’ ओली यी सबैको एक–एक जवाफ जनतालाई दिनुपर्ने रावलको भनाइ थियो । नेता रावलले ओली नेतृत्वको सरकार काम चलाउ भइसकेको बताउँदै मन्त्री थप्न र कुनै निर्णय गर्न नपाउने बताए । उनले ओलीका स्वेच्छाचारी ढंगका काम कार्वाही आफूहरूलाई सह्य नहुने चेतावनीसमेत उनले दिए ।
समाजवादी पनि सडकमा
जनता समाजवादी पार्टी पनि संसद् विघटनविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रमसहित सडकमा उत्रिएको छ । आइतबारको विरोध कार्यक्रमलाई सो पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अशोक राइलगायत, राजेन्द्र महतो लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्येय निरंकुश शासन गर्ने भएको भन्दै उनले आफ्नो प्रभुत्व कायम गरेको विश्वास नभएसम्म चुनाव नगराउने बताए । भट्टराईले भने, ‘चुनाव हुन्छ र चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी हुन्छ र सरकार चलाउँछौं भन्ने भ्रममा नपर्नुस् । चुनाव भ्रम मात्र हो, आफ्नो निरंकुश शासन गर्ने ध्येयले चुनावको कुरा गरेका छन् । आफ्नो प्रभुत्व पुरै कायम गरेको विश्वास नभएसम्म चुनाव हुन्न ।’
भट्टराईले अदालतबाट संसद पुनर्स्थापना हुन्छ भन्नेमा आफू ढुक्क हुन ननसकेको बताएका छन् । ‘अदालतबाट आशा त गरौं, तर भर गर्ने ठाउँ छैन’ पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने, किनकी अदालत जहिले पनि सार तŒवमा जाँदैन । न्याय दिनेभन्दा पनि विधि प्रमाण पु¥याउनेतिर जान्छ ।’ उनल थपे, ‘कांग्रेस र अरु साथीहरूलाई आग्रह गर्न चाहन्छु, न्यायालयबाट आश गरौं, ढुक्क नबनौं ।’ ओलीको निरंकुश शासन फाल्न संयुक्त जनआन्दोलन गर्नुपर्ने भन्दै उनले सहकार्यका लागि आग्रह गरे ।
जसपाका अर्का नेता अशोक राईले संसदमाथि खड्ग प्रहार भएको टिप्पणी गरेका छन् । उनले प्रतिनिधिसभाको अधिवेशन बोलाउनुपर्ने बेलामा संविधानका व्यवस्थाहरू कुल्चिएर संसद भंग गरिएको बताए । ‘त्यसैकारण खड्ग प्रहार गर्नेहरूबाहेक सबै यसको विरोधमा छन्,’ उनले भने । प्रधानमन्त्री ओलीले पार्टी र संसदीय दलमा बहुमत गएको र संसद बोलाउँदा प्रधानमन्त्रीको कुर्सी असुरक्षित हुने भएकाले प्रतिनिधिसभा भंग गरेको उनको आरोप छ । राईले भने, ‘एउटा मान्छेको अहंकारका लागि, सत्ता लोलुपताका लागि संसद्माथि खड्ग प्रहार गरिएको छ । मुलुकमा आगो लगाइएको छ ।’ असंवैधानिक घोषणा खारेज गर्नुपर्ने र संसदको अधिवेशन तत्काल बोलाउनुपर्ने उनले बताए ।
सम्बन्धित समाचार
-
स्थायी समितिमा सुवास र प्रदीपले भने – राजीनामा दिनु नै उत्तम
- सबैतिर बराबरी हिस्सा
-
विप्लवसँग वार्ता : दाउपेच कि बाध्यता ?
-
विद्रुप शासकका हातमा लोकतन्त्र
-
विद्या– केपीको कदम अवैध ठहर, नैतिकताको आधारमा राजिनामाको माग
-
सुवास नेम्वाङको परिवारवादः मन्त्री, सांसददेखि नियुक्तिमा एकछत्र राज
-
गगनको प्रश्न : केपी ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा ?
-
के हुदैछ आज प्रदेश १ को प्रदेशसभा बैठकमा ?
-
पूर्व प्रधानमन्त्री भट्टराई उपचारका लागि आज भारत जाँदै
-
रोकियो निर्वाचन आयोग जाने नेकपाको कार्यक्रम, १ बजे केन्द्रीय सदस्यहरुलाई ब्रिफिङ
-
नागरिकता बोकेर आयोग जादै नेकपाका केन्द्रीय सदस्य
-
नेकपाको स्थायी कमिटी बैठक जारी
Leave a Reply