ज्ञानेन्द्र फालेजस्तै केपीको प्रतिगमन पराजित गर्ने नेकपाको उद्घोष
बुधबार डेस्क
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संसद् पुनस्र्थापनाका लागि समयमै कदम नचालिए प्रधानमन्त्री केपी ओलीको हालत तत्कालीन राजा ज्ञानेन्द्रकै जस्तो हुने चेतावनी दिएको छ । पहिलो चरणको सडक आन्दोलनका क्रममा मंगलबार काठमाडौंमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालसहितका नेताहरुले त्यस्तो चेतावनी दिएका हुन् । उनीहरुले एकाध महिनाभित्रै आन्दोलन सफल हुने भन्दै जनभावना बुझेर लोकतन्त्र र संविधान रक्षा गर्ने पक्षमा भूमिका निर्वाह गर्न सर्वोच्च अदालत र निर्वाचन आयोगलाई आग्रह पनि गरे ।
सम्बोधनको प्रमुख अंश
माधवकुमार नेपाल
० २९५ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएका छौं, निर्वाचन आयोगमा जुलुससहित उपस्थित भएर यो सक्कली अनुहार हो, रगत जाँच्नुहोस्, डिएनए जाँच गर्नुस् भनेका छौं । सूर्य चिह्न र नेकपा नाम बहुमतको हुनेछ, सानो गुटको हुँदैन । सयजनाको सेरोफेरमा भेला भएकाले झन्डै साढे ३ सय संख्यालाई चुनौती दिने आधार छैन । त्यसैले कसको पक्षमा नेकपा र चुनाव चिह्न जाने हो भन्नेबारे तपाईंहरु भ्रममा नपर्नुस् ।
० उहाँ बिहान ११ बजे वामदेव गौतमलाई बोलाएर तपाईं अबको प्रधानमन्त्री र पार्टीको एकल अध्यक्ष बन्ने, एक घन्टापछि १२ बजे बोलाएर माधव कमरेड तपाईंले नै अब नेतृत्व गर्नुपर्छ, अबको देशको प्रधानमन्त्री र पार्टीको एकल अध्यक्ष हुनुहोस् भन्नुहुन्छ । ४ बजे प्रचण्डलाई बोलाएर तपाईंबाहेकको विकल्प छैन । तर हामी तीनजना भेला भएपछि भण्डाफोर हुन्छ । राजा ज्ञानेन्द्रमा ठीक यही प्रवृत्ति थियो । मलाई बोलाएर माधवजी गिरिजाप्रसाद त दलाल हो । कम्युनिस्टमा देशभक्तिको भावना हुन्छ, अब तपाईंले नै भूमिका खेल्नुपर्छ भन्थे । फेरि गिरिजाबाबुलाई बोलाएर कम्युनिस्टहरु त तानाशाह हुन्, यिनको नामै फेर्नुपर्छ । तपाईंचाहिँ महान् व्यक्ति हो । तर, हामी दुवैले आपसमा भएको कुरा जम्मा भएर बताउन थालेपछि पोल खुल्न थाल्यो, त्यसपछि हामी जोइन्टली बस्न थाल्यौं । केही पार नलागेपछि ज्ञानेन्द्रकहाँ जानै छाड्यौं । आन्दोलनको सृष्टि ग¥यौं, ज्ञानेन्द्रको शासन समाप्त भयो, गणतन्त्र आयो । अब केपीका कारण केके भुक्तमान भोग्नुपर्ने हो थाहा छैन । सोभियत संघमा पनि त्यस्तै गोर्भाचोभ र यल्तसिनहरु जन्मिएका थिए ।
० उहाँ सुध्रिनुहुन्छ कि भनेर आशा गरेर केन्द्रीय कमिटी सदस्य र पार्टी सदस्यबाट हटाएका छैनौं, अन्तिम मौका दिएका छौं । केही साथीले अझै प्रयास गरिरहनुभएको छ, बालुवाटारको बालुवा पेल्दापेल्दा तेल निस्कियो भने म स्याबास नै भन्नेछु । बांगो पुच्छरलाई तेल घस्दाघस्दा सोझियो भने पनि स्याबास नै भन्नेछौं । अझै पश्चात्ताप गर्नुहुन्छ, गल्ती महसुस गर्नुहुन्छ, असंवैधानिक कदम सच्याएर प्रतिनिधिसभा पुनस्र्थापना गर्न तयार हुनुहुन्छ भने हामी छलफलमा बस्न तयार छौं । नत्र भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन ।
० प्रतिनिधिसभा भंग भइसकेपछि संविधानअनुसार प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन सक्दैन । अब प्रधानमन्त्री कामचलाउ भइसक्नुभो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’
० उहाँ बयलगाडामै हुनुुहुन्छ, धर्मनिरपेक्षा, संघीयताविरोधी प्रगिमनकारी ठाउँमै हुनुहुन्छ, हामीले सच्निुभयो होला भन्ने ठान्यौं तर अहिले अपिल गर्दै गर्दा कहीँ न कहीँ मलाई थोरै अप्ठ्यारो महसुस भएको छ, हामीले ओलीलाई बुझ्न सकिएनछ । यति निर्मम संविधान प्रहार कसैले गर्न सकेको थिएन । हामीले बनाएको प्रधानमन्त्रीले गर्लान् भन्ने सपनामा पनि सोचेका थिएनौं ।
० केपी ओली विधिविधानप्रति, कम्युनिस्ट आचरणप्रति स्खलित भइसकेको, मोहभंग भइसकेको पात्र हुनुहुँदो रहेछ । उहाँले भनेको लोकतन्त्र कति निरंकुश रहेछ भन्ने विघटनबाट देखियो । उहाँ लोकतन्त्रवादी होइन, निरंकुश तानाशाह हो, जसले देशलाई भड्खालोमा हाल्दैछ भन्ने प्रमाणित भएको छ ।
० संविधानको व्यवस्था, धारा ७६ अनुसार चौथो विकल्प पनि भएन भने मात्र विघटनको स्थिति आउँछ । संविधानमा व्यवस्था गरियो तर संविधानको भावना र मर्मविरुद्ध छ । अहिले हुँदै नभएको अधिकार, व्यवस्था प्रयोग गरेर सदन विघटन गलत छ । सदन भंग भएको छैन, जीवित छ । भंग भएको केपी ओलीको सरकार हो । उनले संसद् भंग गरेर इतिहासमा कलंकको टीका लगाएका छन्, त्यो कलंकको टीका कहिल्यै मेटिनेछैन । माफी नमागेसम्म नेपाली जनताले माफी दिनेछैनन् ।
० म भरोसा व्यक्त गर्दछु, सर्वोच्चले संविधानको भावना र मर्म बुझ्दैन भनेर म सोच्न पनि सक्दिनँ । तमाम बुद्धिजीवी र सबै राजनीतिक दलको भावनाविरुद्ध जान्छ भन्ने सोच्न पनि सक्दिनँ । केही असहज छ भने सर्वोच्चका लागि सहजीकरणका लागि हो, जनताले गरेको सहजीकरण हो, आजको प्रदर्शनलाई बुझिदिन अनुरोध गर्छु ।
० यदि संविधानमाथिको निर्मम प्रहार सच्याउने कोसिस भएन भने यो भत्ख्वाउरे मात्र हुनेछ, आन्दोलनको आँधीहुरी आउन बाँकी छ, नेपाली जनता जागिसकेका छन् । छोड्नेछैन, जनताले, प्रतिगमनका पक्षधरलाई खबरदारी गर्छु । जनतालाई झुक्याएसी झुक्किन्छन् भन्ने ठानेको हो भने त्यो ठूलो भूल हुनेछ । तिमीहरुले समयमै सच्याएनौं भने अढाइ सय वर्षको राजतन्त्र फाल्ने जनताले प्रतिगमनकारी र निरंकुश पक्षधरलाई जनताले सजिलै बढार्नेछन् ।
० उहाँले संविधानमाथि प्रहार गर्न खोजेको अहिले मात्र होइन, पोहोर वैशाखमा आफ्नै पार्टी विभाजन गर्ने, अन्य पार्टी विभाजन गर्ने मनशायसाथ अध्यादेश ल्याउनुभो । पार्टीभित्रैको प्रयासबाट खारेज गर्न बाध्य पारियो । देश कोरोनाको कहरले आक्रान्त भएका बेला अध्यादेश ल्याइएको थियो ।
० नियोजित रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानविरुद्ध अभियान चलाएको र एउटा ग्रान्ड डिजाइनअन्तर्गत जनताविरुद्ध प्रहार भएको हो भन्ने प्रमाणित भएको छ । अब यसलाई रोक्ने मुख्य ताकत संविधानको प्रस्तावनामै लेखेका थियौं । अर्थात् हाम्रो संविधानले पहिलोपटक जनतालाई पहिलोपटक सम्पूर्ण रुपमा सार्वभौम सम्पन्न भनेको छ । त्यसैले हाम्रो पार्टीले यो प्रतिगमन, प्रतिक्रान्तिलाई रोक्ने तागत नेपाली जनतामा मात्र छ । सार्वभौम जनतामा जानुबाहेक कुनै विकल्प रहेन । देशभरिका जनतालाई अनुरोध गर्छु, ७२ वर्ष लडेर प्राप्त अधिकारलाई दुईजनाले कुल्चिन मिल्छ ? कदापि मिल्दैन । जरुरी पर्छ भने कठोर संघर्षमा जानुपर्छ पनि भनेका छौं ।
० यो जीवनमरणको संघर्ष हो । भोलि नै अर्को चरणको कार्यक्रम तयारी गर्दैछांै । योभन्दा अलि कडा । म केपीजस्तो ढाँटछल गर्ने मान्छे होइन, सिधासिधा भन्छु, हामी अन्तिमसम्म लड्छौं । तपाईंहरुले तयारी गर्दा हुन्छ, हामी छोड्नेवाला छैनौं । तपाईंहरुले केके गर्न सक्ने हो, गरे हुन्छ । नकारात्मक अर्थमा केपीलाई धन्यवाद पनि भनेको छु, पहिला अन्तरसंघर्ष चल्न थालेपछि मैले आलोचना गरेको भनेर बेसरी रिसाउनुभो, पहिले मेरो उहाँको कुर्ची अगाडि हुन्थ्यो, एक दिन रिसले चुर भएर अगाडि सातजनातिर लगेर राखिएछ । मैले केपीलाई धन्यवाद भने, मलाई उकुसमुकुस भएको थिएँ, सातजनाको मोर्चातिर राखिदिनुभो, हुन पनि त्यस्तै भो, उहाँ प्रतिगमनकारी हुनुभो, हामी क्रान्तिकारी ।
० जसरी केपीले मेरो कुर्ची झिकेर सातजना सचिवालयको मोर्चा बनाउन सजिलो बनाउनुभयो । फेरि सदन भंग गरेर जनताको छोरोका रुपमा जनतामा जान पठाइदिनुभो । हात्ती र हात्ती छाप चप्पल हो कि भन्ने भ्रम थियो, अब जनताको छोरोका रुपमा जनतासँगै बस्ने र हिँड्ने मौका दिनुभो, त्यस अर्थमा केपीलाई धन्यवाद दिएको छु ।
० लडाइँ त हामीले जितिसक्यौं । अहिले पनि भनेको छु, हामीले जितिसक्यौं हामी जनताको साथमा भयौं, उनी प्रतिगमनकारीको साथमा भए । यो सबैभन्दा ठूलो जित्ने आधार हो । यो कदमविरुद्ध के प्रतिपक्ष, के सदनमा भएका राष्ट्रिय दल, के हिजोका प्रधानन्यायाधीश वकिल, कहिले २२ वटा कहिले ५४ संघसंस्था अलोकतान्त्रिक कदमविरुद्ध खडा भएको छ । देशभरका जनता अलोकतान्त्रिक कदमविरुद्ध उभिएको छ ।
० पार्टीको वैधानिकता र सूर्य चिह्नको कुरा हो, दिनको घाम जत्तिकै छर्लङ छ । साढे तीन सयको नहुने, सयको वरिपरिको हुने । एकजनाको सनकमा संसद् भंग, सनकमा एकजनाले १२ सय, कहीँ छलफल छैन ।
० सम्मान गर्ने हो अदालतलाई । हामी आशा गर्छौं, छिटोभन्दा छिटो अलोकतान्त्रिक कदम सच्याउनेछ । तर सबभन्दा ठूलो भरोसाचाहिँ नेपाली जनतामै हो । त्यसकारण हामी आन्दोलनको अभियानमा छौं । धेरै दिन लाग्दैन । कतिपय मान्छेलाई कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भए चुनाव जितिहालिन्छ भन्ने पनि सुनिन्छ, त्यो दुस्वप्न हो । यो हुनेवाला चुनाव घोषणा भएकै होइन । गर्नलाई घोषणा गरिएकै होइन । स्वयं केपी ओलीलाई भरोसा छैन । चुनाव त हुँदैन, जबर्जस्ती लैजाने भन्ने कुरा हो । केपी ओलीलाई कसैले गोटी बनाएको छ भने त्यस्तै हो । वैशाख उता केपी प्रधानमन्त्री पनि हुँदैनन्, पत्तासाफ हुनेवाला छ । हुनेवाला त्यही छ । हाम्रो पार्टी त विभाजन भइ नै हाल्यो । अब संसद् पुनःस्थापना भएर चुनाव पुनस्र्थापना भएन भने चुनाव भए पनि संसद् भंग गर्ने नजिर बस्छ ।
० संविधान बचाइयो भने पो चुनाव पनि जितिएला, पहिला त चुनाव हुँदैन नै । संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, शान्ति, देशै धरापमा जान्छ । यो त सजिलै बुझिन्छ । मानिलिनुस्, वैशाखमा त हुँदैहुँदैन । मंसिरमा अर्को वैशाखमा भयो रे अर्को प्रमले पनि भंग गरिदिन्छ । नजिर त बस्ने भो नि, भंग । नेपाली जनताको, देशको भाग्य र भविष्य के हुन्छ ?
० एकाध महिना आन्दोलन गरियो भने प्रतिगमन सच्चिन्छ, त्यसका निम्ति दृढतापूर्वक अघि बढौं ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply